विमान दुर्घटना: दोष दिँदै, पन्छिदै

  • एटीसी–यूएस बंगलाबीच आरोप–प्रत्यारोप

- माधव बस्नेत

यूएस बंगला एयरलाइन्सले ढाका–काठमाडौँ उडान १ चैतबाट बन्द गर्‍यो । एयरलाइन्ससँग विमान अभाव भएको भन्दै ढाका–काठमाडौँ उडान केही समयका लागि रोकेको यूएस बंगलाले जनाएको छ । चालक दलका चार सदस्यसहित ७१ जना सवार यूएस बंगलाको विमान २८ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दिउँसो २ बजेर १८ मिनेट जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा ४९ जनाको निधन भइसकेको छ । विमान कसरी दुर्घटनामा पर्‍यो ? नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा ६ सदस्यीय छानबिन आयोग बनाएको छ । दुर्घटनाकै भोलिपल्टबाट यसले काम थालिसकेको छ ।

 

यूएस बंगला एयरलाइन्सले नेपालको एटीसी (एयर ट्राफिक कन्ट्रोलर) र एटीसीले यूएस बंगलाको विमान तथा चालक दलका सदस्यलाई दोष लगाइरहेका छन् । विमान दुर्घटना भएको एक घन्टा नबित्दै एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीच भएको संवाद युट्युबमार्फत ‘ भाइरल’ भएको थियो । त्यही अडियो सुनेर यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी इमरान असिफले विमान दुर्घटनामा पर्नुमा नेपाली एयर ट्राफिक कन्ट्रोलरलाई दोष दिएका थिए । असिफले एयर ट्राफिक कन्ट्रोलरलाई दोष दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले २९ फागुनमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सका प्रमुख कार्यकारीको आरोप आधारहीन भन्दै खण्डन गर्‍यो । “यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारीको भनाइमा आधार छैन । उनले जे मन लाग्यो, त्यो भन्न पाउँदैनन्,” प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्, “हामीले पनि पाइलटको गल्ती भनेका छैनाैँ । दुर्घटना हुँदा देखिएको अवस्थाबारे मात्र अभिव्यक्ति दिएका हौँ । यो विशुद्ध प्राविधिक कुरा हो । आयोगको अनुसन्धानपछि मात्रै विस्तृत कुरा भन्न सकिन्छ ।”

 

ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीच भएको संवादको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले गम्भीर आपत्ति प्रकट गरेको छ । प्राधिकरणले २८ फागुनमै युट्युबलाई इमेलमार्फत उजुरी दियो । संवाद युट्युबबाट हटाउन पत्र मात्र लेखेन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धान गर्न पत्राचारसमेत गर्‍यो । “एटीसी र पाइलटको संवाद सार्वजनिक गर्न मिल्दैन । यो गम्भीर विषय हो,” महानिर्देशक गौतम थप्छन्, “हामीले यो अडियो सार्वजनिक भएको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई आग्रह गरिसकेका छौँ ।” अडियो सुन्ने अधिकार प्राधिकरणका महानिर्देशक र दुर्घटना भएमा जाँचबुझ आयोगलाई मात्रै हुने गौतमको जिकिर छ ।

 

विमान दुर्घटना कम्तीमा पनि तीन कारणले हुन्छ । पहिलो, विमानमा आउने गडबडी । दोस्रो, मौसम र तेस्रो, पाइलट । जानकारहरूका अनुसार जुन बेला विमान दुर्घटना भयो, त्यसबेला मौसममा कुनै समस्या थिएन । हावाको चाप पनि ठीक थियो । बादल–कुहिरो पनि थिएन । तसर्थ, गडबडी कि पाइलटमा थियो कि विमानमा । विमानका क्याप्टेन अविद सुल्तान सन् १९८४ मा वायु सेवामा प्रवेश गरेका थिए । उनले सैनिक जहाजसमेत उडाएका थिए । उनी विमान चालकका प्रशिक्षक समेत हुन् । ६ मे २०१५ बाट उनले यूएस बंगलामा काम गर्न थालेका थिए । काठमाडौँ विमानस्थलमा उनले झन्डै सयपटक अवतरण–उडान भरिसकेका थिए । उनीसँग पाँच हजार घन्टाभन्दा बढी समय विमान उडाएको अनुभव थियो । त्यस दिन क्याप्टेन सुल्तानको पाँचौँ फ्लाइट थियो, ढाका–काठमाडौँ । ढाका–काठमाडौँको दूरी १ घन्टा १५ मिनेटको छ । स्रोतका अनुसार को–पाइलटको भने काठमाडौँ अवतरण पहिलोपटक थियो । 

 

विमान काठमाडौँ उपत्यका छिरेदेखि नै अस्वाभाविक गतिविधिमा रहेको कुरा त्यसको पछि–पछि आएका बुद्ध र यती एयरलाइन्सका चालकहरूले एटीसी र प्राधिकरणका अधिकारीहरूसमक्ष बताएका छन् । काठमाडौँ विमानस्थलको धावनमार्ग (रनवे) दक्षिण–उत्तर छ, जसलाई एटीसी भाषामा जिरो टू भनिन्छ । अवतरणका लागि विमान धावनमार्ग नजिकै जडीबुटी–कोटेश्वरको आकाशमा आइसकेको थियो, जहाँबाट अवतरण गर्न एटीसीले समेत अनुमति दिइसकेको थियो । तर, अवस्था कस्तो भने स्वाभाविक मार्गबाट अवतरण गर्ने बिन्दुमा आई पुगेर, अनुमति पाएर पनि विमान तीनकुने हुँदै बौद्ध, साँखुतिर मोडियो । एटीसीले यो कुरा जानकारी पाएपछि विमानलाई ‘होल्ड’ गर्न र उत्तर–दक्षिण धावन मार्गबाटै भए पनि अवतरण गर्न अनुमति दिएको थियो । त्यति हुँदाहुँदै पनि दुर्घटना भएरै छाड्यो । 

 

भौगोलिक हिसाबले काठमाडौँ विमानस्थल निकै जटिल किसिमको मानिन्छ । कतिसम्म भने यही कारण देखाएर एक समय भारतीय विमानहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राती उडान–अवतरण गर्दैनथे । केही वर्षअघिबाट कतार एयरलाइन्सले रात्रि उडान भर्न सुरु गरेपछि मात्र अन्य विमान कम्पनीहरू पनि त्यही ‘लाइन’मा आए । सन् २०१६ मा भएको एक र्‍याङकिङ अनुसार त्रिभुवन विमानस्थल संसारका १० असुरक्षित विमानस्थलभित्र पर्छ । भलै, वार्षिक झन्डै ६० लाख हाराहारी यात्रुलाई यस विमानस्थलले उडान–अवतरण भरिरहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ‘ आइकाओ’ले मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तीन वर्ष गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । आइकाओले यस्तो सूचीबाट हटाएको केही महिना मात्र हुँदैछ । युरोपेली युनियन ‘ईयू’ले त नेपाली आकाशलाई असुरक्षित भन्दै चार वर्षयता कालोसूचीमै राखिरहेको छ । यही बेला एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्रै यूएस बंगलाको विमान दुर्घटना हुनुले सुरक्षा चासो अझ बढेको छ । यद्यपि, यसपटकको दुर्घटना भने पूर्वाधार र उपकरण अभावले नभएको प्राधिकरणका अधिकारीहरू दाबी गर्छन् । “यात्रु र उडानको दबाब अनुसार पूर्वाधारको स्तरोन्नति महसुस भएको पक्कै हो,” महानिर्देशक गौतमको कथन छ, “तर, २८ फागुनमा भएको दुर्घटना कमजोर पूर्वाधारका कारण भएको हुँदै होइन ।”

 

एटीसी (एयर ट्राफिक कन्ट्रोलर) र चालकबीच जहिल्यै द्वन्द्व हुन्छ । चालकहरूले एटीसीले अनुमति नदिने, ढिलो दिने, लापरबाही गर्ने गुनासो हमेसा गरिरहन्छन् । विडम्बना के भने विमानमा आएको खराबी, एटीसीको गल्तीले दुर्घटना भए पनि अन्तिममा मृत्यु भइसकेको पाइलटको थाप्लोमा दोष थोपरिन्छ । “हाम्रो पेसा मरेर गए पनि जस नपाउने पेसा हो,” एक वरिष्ठ पाइलट भन्छन्, “हरेक दुर्घटनापछि छानबिन समिति बनाइन्छ । तर, प्रतिवेदनहरू पहिले नै ठीकठाक तयार पारिएका हुन्छन् । त्यसैमा फूलबुट्टा भरेर पाइलटको मानवीय कमजोरीले दुर्घटना भयो भन्ने रिपोर्ट बनाइन्छ ।” 

 

विमानमा आएको खराबीले दुर्घटना भएको प्रतिवेदन बनेमा सम्बन्धित कम्पनीहरूको अर्बौं नोक्सान हुन्छ । त्यसैले विमान कम्पनीहरूले लाखौँ खर्चेर भए पनि पाइलटकै कमजोरी देखाउने प्रतिवेदन तयार पार्न लगाउँछन्,” अर्का वरिष्ठ पाइलटको भनाइ छ, “यसपटक पनि पाइलटकै कमजोरी देखाउने खतरा बढ्दो छ ।” उनका अनुसार यसपटक त पाइलटको थाप्लोमा दोष थोपर्न झन् सजिलो छ । किनभने, जहाज साबिक रुटबाट आएको छैन । साबिक रुट छाडेकैले दुर्घटना भएको दाबी गरिँदैछ । विश्वमा हवाईजहाज कम दुर्घटना हुने सवारी साधनभित्र पर्छ । भनिन्छ, विमानमा यात्रारत एक करोड यात्रीमध्ये एक जना मात्र दुर्घटनामा पर्ने सम्भावना हुन्छ । तर, नेपालमा भने बर्सेनिजस्तो साना–ठूला दुर्घटना भइरहेका छन् ।

 

नेपाली भूमिमा विदेशी विमान दुर्घटना भएको यो आठौँ घटना हो भने विमानस्थलभित्रै भएको चाहिँ पहिलो ठूलो घटना हो । फागुन ०७१ मा विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको थियो । तर, त्यहाँ मानवीय क्षति भएको थिएन । १२ असोज ०४९ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना भयो । नेपाली आकाशमा भएको अहिलेसम्मको ठूलो दुर्घटना यही हो । जहाँ विमानमा सवार १ सय ६७ जना यात्रुको मृत्यु भएको थियो । यसपटकको दुर्घटनामा विज्ञहरूको अनुमानचाहिँ के छ भने को–पाइलटले उडान भरेको हुनुपर्छ, जो पहिलोपटक नेपाली आकाशमा आउँदै थिइन् वा जहाजमै समस्या आएको हुनुपर्छ । एटीसीको कमजोरीले यो विमान दुर्घटना भएको होइन । 

 

त्रिभुवन विमानस्थलका पूर्वमहाप्रबन्धक त्रिरत्न मानन्धरका अनुसार यूएस–बंगला विमान अचम्मसँग दुर्घटना भएको छ । धेरैले विमानस्थल साँघुरो भएकाले दुर्घटना भएको भनिए पनि विमानस्थलका कारणले घटना नघटेको मानन्धर बताउँछन् । “अरू जहाजहरूलाई परपर होल्ड गराइएको थियो । त्यसबेला विमानस्थलनजिक त्यही एउटा जहाज मात्र थियो,” उनी भन्छन्, “मानवीय त्रुटि हो वा मेकानिकल फेलियर ? अनुसन्धान आयोगले पत्ता नलगाउन्जेल अहिले नै भन्न सक्ने अवस्था छैन ।” 

प्रकाशित: चैत्र २, २०७४