रेड: खुराकसहितको मनोरञ्जन

- गोकर्ण गौतम

साधारण कथालाई असामान्य, निरस लाग्ने कथालाई रसिलो र खासै उतारचढाव नभएको कथालाई कसिलो शैलीमा पर्दामा पस्कने प्रयास बलिउडमा विस्तारै सुरु हुँदैछ । नो वन किल्ड जेसिकामा यही शैली पछ्याएका निर्देशक राजकुमार गुप्ताको नयाँ फिल्म रिलिज भएको छ, रेड । मसलाको संक्रमणबाट करिब मुक्त यस फिल्ममा एक कर्तव्यनिष्ठ र निर्भीक सरकारी अधिकृतलाई मुख्य पात्रका रूपमा उभ्याइएको छ । ८० को दशकमा भारतको उत्तरप्रदेशमा कालोधनमाथि छापा मार्ने कामले तीव्रता पाएको थियो । गुप्ताले सोही समयको कथालाई रेडमा सापटी लिएका छन् । भारतीय मिडियाका अनुसार यो फिल्म लखनउमै घटेको सत्य घटनामा आधारित छ । प्रमुख भूमिकामा अजय देवगन छन्, जसका लागि कानुनभन्दा माथि केही छैन । अजय र गुप्ताको सहकार्य प्रतिफलमूलक नै छ । 

सात वर्षमा ४९ पटक सरुवा भइसकेका आयकर विभागका अधिकृत अमय पटनायक (अजय) लखनउ आइपुगेका छन् । उनलाई शक्तिशाली नेता राजाजी (सौरभ शुक्ला) ले ४ सय २० करोड भारुबराबरको कालोधन लुकाएर राखेको गोप्य सूचना प्राप्त हुन्छ । त्यसैले अमयले ठूलै दबाब झेलेरै भए पनि राजाजीको घरमा छापा मार्छन् । राजाजीको मुख्यमन्त्री मात्र होइन, प्रधानमन्त्रीसम्म पहुँच छ । आपराधिक पृष्ठभूमिका यिनै राजाजीको पञ्जाबाट कालोधन फुत्काउन र सजाय दिलाउन अमय सफल होलान् ? कि, अमय आपैँm भड्खालोमा पर्छन् ? यिनै प्रश्नको केन्द्रमा घुमेको छ फिल्म । 

रेड झन्डै चार दशक अगाडिको कथा हो । यस्ता ‘पिरियडिक ड्रामा’को मुख्य चुनौती तत्कालीन समयको सेटिङ र सामाजिक मनोदशालाई जीवन्त उतार्नु हो । यो मामलामा फिल्ममा खोट लगाउने खास ठाउँ छैन । पात्रहरूको हुलिया, लबज, लोकेसनमार्फत सोही कालखण्डमा लैजाने प्रयास गरिएको छ । फेरि फिल्मको घटनाक्रमको अवधि लामो छैन । जम्मा तीन–चार दिनमा सीमित छ । छापा मार्ने लामो शृंखला छैन । एउटै घरमा मात्र हो । यसरी कथाको समय र परिवेश साँघुरो भए पनि दर्शकलाई ‘होल्ड’ गर्न निर्देशक गुप्ता सफल छन् । किनभने, फरक मनोविज्ञानका पात्र, उनीहरूबीचको समीकरण र द्वन्द्वले मूल कथामा तनाव सिर्जना गरेको छ । एउटै घरभित्रका अनेक सदस्य र तिनीहरूसँग आयकर विभागका कर्मचारीको व्यवहारले पनि ध्यान खिच्छ । उही लोकेसन र पात्रमा अल्झाइरहँदा पनि दर्शकको मोहभंग नहुनु उल्लेखनीय उपलब्धि मान्नुपर्छ । यसको जस पटकथाकार रितेश शाहलाई पनि जान्छ । छोटा तर निकै चोटिला संवाद छन् फिल्ममा । कति त नोट गरेरै राख्न मन लाग्ने ।

फिल्ममा नाटकीय र अपत्यारिला दृश्य/घटनाक्रमको रास नभएको होइन । अमयको सनककै भरमा राजाजीलाई घर बाहिर निस्कन दिएको, राजाजीले मुख्यमन्त्रीलाई गरेको व्यवहार, राजाजीकी आमाको उपस्थिति, अमयले सूचना पाएको तरिका र स्रोतहरू यथार्थपरक फिल्ममा पचाउन मुस्किल हुन्छ । अमय र नीताको रोमान्सले विरक्ति पैदा पर्छ । ‘फ्याम्ली ड्रामा’ घुसाउने नियतमा राखिएका रोमान्सका दृश्य मूल कथाको बहाव बिथोल्न पर्याप्त छ । नीताको पतिप्रेम अतिरञ्जित लाग्छ । अमयको इमानदारी स्थापित गर्न अनावश्यक समय खर्चिएको छ । बरु छापा मारिरहँदा राजाजीको घरभित्रको माहोलले मन जित्छ । घुस र अपराधमार्फत कमाएको सम्पत्ति कसरी सञ्चय गरेर राखिएको हुन्छ ? त्यस्ता व्यक्तिले सामान्य नागरिकमा आफ्नो देवत्वकरणका लागि कस्तो भ्रम छरेका हुन्छन् ? रेड हेरेपछि छर्लंग भइन्छ । एउटा अधिकृतमा रहेको निर्भीकताको बहुआयामिक प्रभाव फिल्मको रोचक पक्ष हो । 

यस्तो इमानदारी र साहसले भरिएको पात्र अजयका लागि नौलो होइन, केवल यसपटक प्रहरीको बर्दी लगाएका छैनन् । यस अर्थमा अजयका लागि यो ‘रेगुलर’ फिल्म हो । तैपनि आफ्नो साख गिर्न दिएका छैनन् । फिल्मको आकर्षणको अग्रभागमा छन्, राजाजी अर्थात् सौरभ शुक्ला । अक्सर हिन्दी फिल्ममा देखिने भिलेनभन्दा फरक छन् उनी । तर, उनका स–साना ‘एक्स्प्रेसन’ले दर्शकमा दरिलो प्रभाव जमाउँछ । सीधा भन्दा, सौरभको अभिनय उत्कृष्ट छ । इलियाना डिक्रुजको चरित्र र अभिनय ठीकठाक मात्र हो । पापोनले गाएको ‘झुक नपाउंगा...’बाहेकका गीत सान्दर्भिक लाग्दैनन् । कथा अनुसार दृश्य सिर्जना र घटनालाई ‘ट्रयाक’मै तानिरहन निर्देशक गुप्ताको दख्खल देखिन्छ ।

अजयका प्रशंसकले त हेर्ने भइहाले । खुराकयुक्त मनोरञ्जन खोज्नेले पनि रेड नछुटाउँदा वेश हुन्छ ।

 

प्रकाशित: चैत्र २, २०७४