एन्फा निर्वाचन: कर्मा कि मणि ?

- हिमेश बज्राचार्य

धेरैले धेरैपछिसम्म दोहर्‍याएर सम्झिने छन्, गणेश थापाको हालैको एउटा भनाइ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को दस वर्ष प्रतिबन्ध झेलिरहेका थापा एकाएक दृश्यमा देखापरे र भने, ‘नेपाली फुटबलमा नराम्रो भइरहेको म टुलुटुल हेरेर बस्ने छैन ।’ प्रतिबन्धबीच उनले यसरी बोल्न मिल्छ कि मिल्दैन ? त्यो अर्को विषय हुनेछ । तर, एउटा तथ्य तय छ, १४ चैतमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव उनकै वरिपरि घुम्नेछ, भलै उनी प्रत्यक्ष रूपमा अगाडि छैनन् । 

सबैभन्दा पहिले केही वर्षपछाडि फर्केर नेपाली फुटबलको इतिहास पल्टाउनुपर्ने हुन्छ, यस प्रसंगमा । जतिबेला उनी खेलाडीका रूपमा नेपाली फुटबलमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेका थिए, त्यतिबेलादेखि कि त एन्फा पूर्णत: उनकै पक्षमा रह्यो, होइन भने उनको विरोधीको हातमा । त्यसको सुरुआती दिनमा एन्फा नेतृत्व उनकै सहोदर दाइ कमल थापाको नेतृत्वमा रह्यो । त्यतिबेला उनले जे चाहन्थे, लगभग त्यस्तै हुन्थ्यो । 

उनको खेल जीवनको अन्त्यतिर एन्फा विरोधीको हातमा गयो, त्यतिबेला उनी राष्ट्रिय टिमबाटै फालिए । त्यही सेरोफेरोमा त हो, सन् १९९३ मा नेपालले ढाकामा भएको दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जितेको । खेल्न छाडेको केही वर्षमै ०५१ तिर उनी एन्फा नेतृत्वमै पुगे र दशकौँ समय एकछत्र राज गरे । त्यसैले नेपाली फुटबललाई नजिकबाट नियालिरहेकाहरू ठोकेर दाबी गर्ने गर्छन्, एन्फाको फुटबल राजनीति भनेकै यही हो, थापासहितको या थापारहितको । 

साँच्चै यसपल्ट पनि यस्तै हुनेवाला छ, एन्फाको चुनावमा । चुनावमा दुई समूह छन्, पहिलो संस्थापन पक्ष । त्यसको नेतृत्व गरिरहेका छन्, मणि कुँवरले । कुँवर को हुन् ? चाहेर पनि नचाहेर पनि उनको परिचय बनेको छ, थापाको सालाका रूपमा । एन्फाको पछिल्लो कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष थिए । एक वर्षअगाडिको विशेष साधारणसभाको चुनावमा उनले राम्रै मतान्तरले यो पद जितेका थिए । त्यतिबेला अध्यक्ष चुनिएका थिए, नरेन्द्र श्रेष्ठ । 

यसपल्ट उनी चुनावमा छैनन्, उनले केही समय विश्राम लिने घोषणा गरेका छन् । तर, उनी चुनावअगाडिसम्म खुलेर कुँवरकै पक्षमा प्रचार गरिरहेका छन् । अब अर्को पक्ष, जसको नेतृत्व गरिरहेका छन्, कर्माछिरिङ शेर्पाले । फिफाभित्रको अन्तर्राष्ट्रिय राजनीतिले जस्तै भूमिका खेले पनि थापालाई दस वर्षको प्रतिबन्धसम्म पुर्‍याउन उनको भूमिका पनि खास रह्यो, यति श्रेय उनलाई दिनैपर्छ । पछिल्लो चुनावमा उनी अध्यक्ष पदका प्रत्याशी थिए, श्रेष्ठसँग पराजित भए । 

यसपल्ट उनी फेरि अध्यक्षका लागि प्रत्याशी भएका छन् र दाबी गरिरहेका छन्, अब त जित तय छ । उनको नारा नै रहेको छ, नेपाली फुटबलमा परिवर्तन । त्यो कस्तो परिवर्तन त ? त्यसलाई व्याख्या गर्ने उनीहरूको आफ्नै तर्क छ । अझ उनीहरूले यसलाई ठीकसँग व्याख्या पनि गर्न सकिरहेका छैनन् । अझ सुनिन्छ, शेर्पाले मिलाएर बोल्न जानेन भनेर उनलाई धेरै नबोल्न पनि भनिएको छ । जेहोस्, सीधासीधा यो परिवर्तनको नाराको सार हो, थापाबिनाको एन्फा । 

चुनावमा कुँवर पक्षले जित्ने हो भने पक्काजस्तै छ, एन्फाको महासचिव अथवा सीईओ पदमा आउनेछन्, थापाकै छोरा गौरव थापा । एन्फा एकेडेमीको पहिलो ब्याचका गौरव उनका बुबामाथि दस वर्ष प्रतिबन्ध लाग्दा त्यसको प्रमुख कारणजस्तै बनेका थिए । किनभने, त्यतिबेला सेप ब्लाटरका विरोधी रहेका मोहम्मद विन हमामले उनकै नाममा बैंकमा एक लाख डलर जम्मा गरिदिएका थिए । यो नै प्रमुख कारण साबित भयो, थापालाई प्रतिबन्ध लाग्नुका पछाडि । 

भनिन्छ, यसमा गौरवको कुनै व्यक्तिगत दोष थिएन, जे भयो बुबाकै इच्छा र योजनामा भएको थियो । एसियाली फुटबल महासंघ (एएफसी)मा कुनै समय जागिरे भएका गौरव फुटबल व्यवस्थापनमा कुशल नै मानिन्छन् । तर, अध्यक्षमा कुँवर अनि दोस्रो प्रमुख पदमा छोरा गौरव आए भने एन्फा पूर्णत: थापा परिवारकै कब्जामा जानेछ, यसमा कुनै शंका छैन । यही एक कारणका लागि पनि एन्फामा नेतृत्व फेरिनुपर्छ भन्ने तर्क राख्ने र यस पक्षमा सहानुभूति राख्ने उत्तिकै छन् । 

शेर्पा पक्ष पनि यो चाहँदैन, एन्फामा संस्थापन पक्ष नै कायम होस् भनेर । र, उनलाई अचम्मले यसपल्ट साथ दिइरहेका छन्, कुनै समय थापा नजिकैको अर्को पक्षले । यो सूचीमा पर्छन्, पूर्वसीईओ इन्द्रमान तुलाधरदेखि किशोर राई, वीरबहादुर खड्का, रत्नकुमार श्रेष्ठ, राजेन्द्र नेउपानेदेखि लिएर उपेन्द्रमान सिंहसम्म । थापा एन्फामा रहुन्जेल र बाहिरिएपछि पनि उनीहरूले एन्फाबाट राम्रै फाइदा लिए । अहिले विरोधी भएका छन् र शेर्पा समूहका प्रमुख खेलाडी पनि । 

शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दा प्रमुख वक्ता नै थिए, तुलाधर । त्यतिबेला उनले भनेका थिए, ‘एन्फामा एउटा अदृश्य शक्तिले सधैँ काम गरिरहेको छ । यसले अरूलाई काम गर्न दिँदैन ।’ उनले त्यतिबेला नाम लिएनन् तर त्यो अदृश्य शक्ति अरू नभएर थापा नै थिए । शेर्पा समूहमा उनीहरूको प्रवेशमा प्रश्न उठाउने पनि उत्तिकै छन्, अनि आलोचना गर्ने पनि । तुलाधर र उनका साथीहरूको समूह परिवर्तनलाई अवसरवादीका रूपमा पनि लिइयो, जहाँ फाइदा देखियो, उतै लाग्ने । 

खासमा कुँवरले अध्यक्ष जित्ने हो भने त्यतिबेला महासचिव अथवा सीईओ नै हुने थिए । कम्तीमा संस्थापन पक्ष यस्तै दाबी गर्छ । तुलाधर जतिबेला शेर्पा पक्षमा गए, त्यो उनीहरूका लागि अप्रत्याशित र स्तब्धपूर्ण थियो । तुलाधर अहिलेका अध्यक्ष श्रेष्ठका निकै नजिक थिए, उनले यसरी छाड्ने छन् भनेर श्रेष्ठ भावनात्मक रूपमा तयार थिएनन् । ‘जेन्टलम्यान’ छवि बनाएका श्रेष्ठले तुलाधरले छाडेका बेला आँसु लुकाउन पनि सकेनन् र कतिसम्म भने बिरामीजस्तै भए । 

जेहोस्, अहिले श्रेष्ठ त्यसभन्दा अगाडि बढिसकेका छन् र अहिले शेर्पा पक्षको विरोधमा बोलिरहेका छन् । कुँवरको उम्मेदवारी घोषणाका बेला उनले भनेका थिए, ‘जुन साथीले अदृश्य शक्तिबारे आवाज उठाउनुभयो, उहाँसँग मैले दुई वर्ष काम गरेँ । आफ्नो कामको जिम्मेवारी आफैँ लिनुपर्छ । अदृश्य शक्तिको आभास गरेका थिएनौँ । आफ्नो असफलता वा चाहेको भएन भनेर कसैले उम्किन मिल्दैन ।’ श्रेष्ठको भाषामा तुलाधरको समूहले जे गर्‍यो, त्यो ठीक गरेन । 

अनि, परिवर्तनको नारालाई लिएर उनको भनाइ छ, “कस्तो परिवर्तन ? के परिवर्तन ? किन परिवर्तन ?” फेरि दोहोर्‍याएर थापाकै दाबीमा फर्कने हो भने अहिले जति पनि नेपाली फुटबलमा छन्, ती सबै उनैले हुर्काएका हुन् । भन्छन्, “अहिले चुनावमा जति अनुहार छन्, ती सबैले मसँग कुनै न कुनै मोडमा काम गरे । कर्माछिरिङ पनि मेरा मान्छे हुन् । तर, उनी अध्यक्ष पदमा जित्छन् भने त्यसले नेपाली फुटबललाई राम्रो गर्दैन, म यो तथ्य ठोकेर भन्छु ।” 

लगभग चुनाव हुन एक महिना बाँकी छँदा कुन पक्ष बलियो छ ? अर्को महत्त्वपूर्ण प्रश्न । तुलाधर शेर्पा समूहमा गएपछि काठमाडौँका ए डिभिजनका क्लब बढी त्यतातिर ढल्केका छन् । जिल्लामा भने कुँवर पक्ष बलियो देखिन्छ । चुनावमा कुल ७७ मत रहेको छ । त्यसमा ४५ मत जिल्लाको छ । अनि, ए डिभिजनका क्लबको १४, बी डिभिजनका क्लबको नौ र सी डिभिजनका क्लबको पाँच मत । थप चार मत खेलाडी, प्रशिक्षक, रेफ्री र महिला कमिटीको छ । 

अध्यक्ष एक, उपाध्यक्ष चार र १२ सदस्यका लागि चुनाव हुनेछ । महासचिव र सीईओजस्ता पद पछि नियुक्त हुनेछन् । चुनावका लागि बाँकी रहेको समयमा ठूलै चलखेल हुनेछ । डर छ, कतै आर्थिक लेनदेन त हुने होइन ? उम्मेदवारी घोषणाका बेला प्रस्तुत गरेका कार्यक्रम सुन्ने हो भने शेर्पाका प्रतिबद्धता महत्त्वाकांक्षी छन्, धेरैभन्दा धेरै गर्ने उनको दाबी छ । कुँवरको दाबी सीमित छ । चुनावमा यी तथ्यले धेरै महत्त्व भने राख्ने छैनन्, खालि मतबल हुनेछ, कसलाई मत दिँदा आफूलाई फाइदा हुन्छ भन्ने सोच । 

यी सबैबीच अर्को प्रश्न, के चुनाव हुनेछ ? शेर्पा आफैँले चुनाव हुन नदिने षड्यन्त्र भइरहेको छ भनेर दाबी पनि गरेका छन् । चुनाव तोकिएको समयमै भएन भने के हुनेछ ? त्यतिबेला एएफसीले ‘नरमलाइजेसन’ कमिटी बनाउनेछ । र, यसले नै केही समय एन्फा चलाउनेछ । यसका लागि केही मौका कुरेर पनि बसेका छन् । यसलाई अहिलेको एन्फा राजनीतिमा तेस्रो पक्ष भने हुन्छ । चुनाव भए, यो पक्ष त्यसै हराएर जानेछ । अन्त्यमा फेरि थापाकै प्रसंग । 

तुलना गर्न त मिल्दैन तर उनको भनाइ कतै न कतै, कुनै न कुनै मोडमा पूर्वराजा ज्ञानेन्द्रसँग मिल्छ । कुनै समय पूर्वराजाले पनि भनेका थिए, ‘मैले टुलुटुलु हेरेर बस्ने छैन ।’ पछि केही वर्षको अन्तरमा तत्कालीन राजा ज्ञानेन्द्र सधैँका लागि नेपाली राजनीतिबाट हराउने स्थितिमा पुगे । त्यसो भए, थापाको स्थिति आउने दिनमा के हुने हो ? अबको एन्फा चुनावले यही उत्तर दिनेछ, कि त उनी सधैँका लागि नेपाली फुटबलबाट हराउने स्थितिमा पुग्नेछन्, होइन भने झन् बलियो हुनेछन् । भलै चुनावमा जो जितोस् वा हारोस् । 

प्रकाशित: फाल्गुन ३०, २०७४