रानी ऐश्वर्यको त्यो दबाब

- डा मृगेन्द्रराज पाण्डे

लामो समय राजपरिवारका सदस्यहरूको निजी चिकित्सक भएर काम गरेपछि जनसाधारणको स्वास्थ्य समस्याप्रति पनि केही योगदान पुर्‍याउन सकिन्छ कि भनेर घोत्लिन थालेँ । त्यतिबेला सर्वसाधारणबाट शुल्क उठाएर स्वास्थ्य सेवा सञ्चालन गर्न सम्भव थिएन । फेरि, व्यक्तिगत रूपमा भनेर आर्थिक सहयोग/चन्दा दिन पनि को नै तयार हुन्थ्यो र ! त्यसैले ६ फागुन ०३२ मा आफू बसिरहेको जमलस्थित निजी घर एकाएक मृगेन्द्र चिकित्सा गुठी (हृदयघातबाट छोरी सम्झनाको निधनपछि उनको नाम पनि थपियो) स्थापना गरी गुठीकै नाममा रजिस्ट्रेसन पास गरिदिएँ । र, त्यहीमार्फत काठमाडौँको सुन्दरीजल क्षेत्रका जनसाधारणलाई स्वास्थ्य सेवा र सहयोग पुर्‍याउन सुरु गरेँ । 

बुबा, श्रीमती र भाइ देवेन्द्रराज पाण्डेका अतिरिक्त प्रसिद्ध साहित्यकार बालकृष्ण सम, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद घिमिरे, समाजसेवी भीमबहादुर अधिकारीजस्ता व्यक्तित्वको साथ र सहयोग नपाएको भए त्यो गुठी स्थापना र सञ्चालन सम्भव हुने थिएन । उनीहरूको नि:स्वार्थ सेवाभावबाट म ज्यादै प्रभावित छु । अर्कोतर्फ, निजी सम्पत्ति बेचेर चिकित्सा सेवामा योगदान पुर्‍याउने चलन मुलुकमा खासै नफस्टाएकाले पनि होला, मानिसहरूले मलाई त्यतिबेला बहुलाएको समेत आरोप लगाए । डीपी भण्डारीले त लेख नै लेखे ‘बौलाहा काठमाडौँको बौलाहा डाक्टर’ शीर्षकमा ।

त्यतिबेला संस्थागत समाजसेवाका क्षेत्रमा राजपरिवारका सदस्यले मात्र प्रत्यक्ष हात हाल्ने चलन थियो । त्यसमा पनि अधिराजकुमार हिमालय शाहकी पत्नी अधिराजकुमारी प्रिन्सेप शाह समाजसेवाका काममा तल्लीन भएर लागेको देखिन्थ्यो ।

रेडक्रसलगायतका संस्थामार्फत उनी सक्रिय थिइन् । विसं ०३४ को अन्त्यतिरको कुरा हो । उनले मलाई एक दिन बेलुकाको खानामा बोलाइन् र एकाएक मेरो नाममा स्थापना भएको चिकित्सा गुठीका कामलाई लिएर असन्तुष्टि व्यक्त गरिन् ।

खाना खाइसकेपछि कुराकानीको सुरुआतमै उनले भनिन्, “यो मृगेन्द्र चिकित्सा गुठी राजपरिवारमा बुझाइदेऊ ।” म त ट्वाँ परेँ । एकाएक यस्तो कुरा कहाँबाट आयो ? मैले प्रतिक्रिया जनाउनै पाएको थिइनँ, उनैले फकाउने शैलीमा अगाडि भनिन्, “यो गुठी हाम्रो सञ्चालनमा आयो भने हामी यसलाई अनुसन्धान र औषधोपचारका लागि विश्वप्रसिद्ध अमेरिकाको मेयो क्लिनिकजस्तो बनाइदिन्छौँ ।”

गाउँलेको सहयोगमा उनीहरूकै लागि सञ्चालन भइरहेको गुठीलाई दरबारमा बुझाउन म राजी भइनँ । त्यसपछि एक–दुई दिनको फरकमा तीन दिनजस्तो मलाई बेलुकाको खानाका लागि डाकिन् र सोही कुरा दोहोर्‍याइरहिन् । आखिरी दिनमा त उनले धम्कीकै भाषा प्रयोग गरिन्, “तपाईंले मैले भनेको मान्नुभएन भने मभन्दा माथिबाट आदेश आउनेछ । त्यसपछि नमानेर सुख !”

म थप चकित परेँ । माथि भनेर उनले कसलाई संकेत गरेकी होलिन् ? केही दिन सोचमग्न पनि भएँ । यत्तिकैमा एक दिन तत्कालीन बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहले मलाई दरबारमा बोलाएर सोधिन्, “त्यो गुठी किन खोल्नुभयो ? यसमार्फत के गर्न खोज्नुभएको हो ?” मैले सबै कुरा बताएँ । त्यसपछि उनले भनिन्, “तपाईंले गुठी चलाउन त चलाउनूस् तर यो गुठीलाई सुन्दरीजल क्षेत्रबाट सारेर कतै लगेर चलाउनूस् ।”

मैले भनेँ, “हजुरहरूको कुरा काट्न सक्ने म को नै हुँ र ? तर, यो बाहुनको छोरा आफ्नो पैसा वाग्मती किनारमा बसेर दान गर्न चाहन्छ । मैले धेरै वर्ष सरकारहरूको काम गरेँ, अब मलाई यस ग्रामीण क्षेत्रका मानिसका निम्ति स्वास्थ्य सेवा प्रदान गर्ने मौका पाए हुन्थ्यो !” त्यसपछि रानी ऐश्वर्यले कुनै प्रतिक्रिया जनाइनन् । चुप रहिन् । 

दरबार सुन्दरीजल क्षेत्रका गाउँले जनतालाई गुठीमार्फत स्वास्थ्य सेवा पुर्‍याएकामा भन्दा सुन्दरीजल जेलमा थुनिएका राजनीतिक बन्दीलाई स्वास्थ्य सेवाका नाममा राजनीतिक सेवा पो गर्छ कि भनेर भयातुर रहेछ । त्यसैले त्यो गुठीलाई सुन्दरीजल क्षेत्र आसपासबाट हटाउने दरबारिया चाहना रानी ऐश्वर्यबाट व्यक्त भएको बुझ्न मलाई कठिन भएन ।

सौभाग्य नै भनौँ ! त्यसपछि भने दरबारबाट यस विषयमा खासै चासो व्यक्त भएन । सैनिक निगरानी भने भइरह्यो । ग्रामीण जनताको सेवा गर्न पनि हामीले छाडेनौँ । निरन्तर त्यो गुठी सुन्दरीजल क्षेत्रमा अद्यापि क्रियाशील छ । पछिल्लोपल्ट १९ फागुनमा शिक्षाविद् केदारभक्त माथेमालाई एक लाख रुपियाँ नगदसहित सम्मान प्रदान गरिरहँदा गुठीलाई दरबारमा बुझाउन प्रिन्सेप शाह र रानी ऐश्वर्यले दिएको दबाब भने झलझली सम्झना आइरह्यो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: फाल्गुन ३०, २०७४