अंग्रेजीको हावा

- केदारभक्त माथेमा

ब्रिटिस आख्यानकार जोसेफ कोन्राडले भनेका छन्, ‘ अनौठो छ यो जीवन । यो व्यर्थ उद्देश्यका लागि निर्मम तर्कको रहस्यमय समायोजन । यसबाट हामीले खुबै आशा गर्न सक्ने भनेको आफ्नै बारेमा केही ज्ञान हो, जुन धेरै नै ढिलो आउँछ । कहिले पनि नसिध्दिने पश्चात्तापको यो खेती ।’

जोसेफ कोन्राडजस्तो निराशावादी व्यक्तिचाहिँ पटक्कै होइन म । मैले भन्न खोजेको यत्ति मात्र हो, यदि ममा विद्यमान चिन्तन र युवावस्थाको जोस भइदिएको भए समाजमा देखेका कतिपय विसंगतिसँग जुध्न सक्थेँ होला । जुध्न नसके पनि युवा पिँढीलाई जुध्न हौसला दिन सक्थेँ होला ।  

हाम्रा युवा पिँढीको कुरा गर्दा कहिलेकाहीँ के लाग्छ भने युवाजति जम्मै अमेरिका र अस्ट्रेलियातिर उडे । सोझा खाडीतिर लागे । यी दुईबीच बाँकी रहेका हामी (बूढाबूढी)ले सँगै बस्ने विकल्प रोज्यौँ । गाउँहरू युवाविहीन भएको देख्दा, काठमाडौँका मध्यमवर्गीय परिवारका आमाबाबु सुनसान घरमा छोराछोरीको सम्झनामा न्यास्रो मुख लगाएर बसेको देख्दा, यहीँ बसिरहेका केटाकेटी पनि १० जोड २ को परीक्षापछि बाहिर जान्छु भन्दै आमाबाबुलाई  पिरोलिरहेको देख्दा, हाम्रो समाज कसरी यस्तो भयो, यो समाज कुन दिशातिर उन्मुख छ भन्ने सोचले सताइरहन्छ । 

उच्च शिक्षा हासिल गर्न, उच्च प्राविधिक सीप र ज्ञान आर्जन गर्न, इच्छाएको विषयमा अन्तर्राष्ट्रिय अनुभव बटुल्न विदेश जानु अनौठो कुरा होइन । अहिलेको भूमण्डलीकरणको युगमा अन्तर्राष्ट्रिय बसाइसराइ पनि नौलो कुरा होइन । कतिले बाहिर काम गरेर नेपालको प्रतिष्ठा र इज्जत नबढाएका पनि होइनन् । मजदुर बनेर गएका नेपाली युवाले पठाएको पैसाले नेपालको अर्थतन्त्र धानिरहेको पनि छ । तर, कतिपय युवकयुवती बाहिर जानकै लागि मरिहत्ते गरेको देख्दा अवस्था कसरी आयो भन्ने लाग्छ । उनीहरूलाई यो अवस्थामा पुर्‍याउने जिम्मेवार हामी नै पो हौँ कि ? हामीले उनीहरूको दिमागमा राखिदियौँ– यहाँभन्दा राम्रो विदेशमा छ– पढाइ राम्रो, काम राम्रो, दाम राम्रो, बसाइ राम्रो, सब किसिमले राम्रो । हामीले जानी–नजानी स्कुलदेखि नै केटाकेटीको दिमागमा हाम्रो भाषा, संस्कृति, राज्यव्यवस्था, राष्ट्र आदिबारे गौरव गर्न नसिकाएर बरू हीनताभाव सिकायौँ कि ? 

शिक्षाविद् स्कुल कलेजमा पढाउने पाठ्यक्रमलाई दुई किसिमले बुझ्छन् । एउटा, सरकारी निकाय अथवा विश्वविद्यालयले स्वीकृत गरेको औपचारिक पाठ्यक्रम, जुन बमोजिम कक्षाकोठामा पढाइ हुन्छ र जसको आधारमा परीक्षा लिइन्छ । अर्को, पाठ्यक्रम लिखित हुँदैन । यसखाले पाठ्यक्रम स्कुलको नीति, शिक्षकको व्यवहार, स्कुलभित्र हुने दैनिक चालचलनमार्फत अभिव्यक्त हुन्छ । यसले केटाकेटीको मन–मस्तिष्कमा गहिरो छाप पार्छ । यो पाठ्यक्रमलाई शिक्षाविद्हरू ‘लुकेको पाठ्यक्रम’ अर्थात्, ‘हिडन करिकुलम’ भन्छन् । 

औपचारिक पाठ्यक्रमले हाम्रो राष्ट्र सुन्दर छ, भाषा र संस्कृति हाम्रा गौरव हुन्, हामी देश विकासमा सरिक हुनुपर्छ आदि भन्छ भने ‘लुकेको पाठ्यक्रम’ले नेपाली भाषा कमजोर पारेरै भए पनि अंग्रेजी भाषामा जोड दिनुपर्छ, हाम्रो राष्ट्रभन्दा विदेश सुन्दर र लायक छ, हाम्रो संस्कृतिभन्दा पश्चिमी संस्कृति अनुकरणीय छ आदि भनिरहेको छ ।

नेपाली भाषामा पढाएको भन्दा अंग्रेजी भाषामा पढाएको शिक्षा गुणस्तरीय हुन्छ भन्ने मनोविज्ञान अहिले देशमा चलेको छ । यसले सीधासाधा अभिभावकलाई मात्र प्रभावित गरिरहेको छैन । भर्खरै मात्र एक नवनिर्वाचित मेयरले आफ्नो नगरपालिकाभित्रका सम्पूर्ण स्कुलमा अंग्रेजी माध्यमबाट पढाइन्छ भनेर घोषणा गरेका छन् । मानौँ, अंग्रेजीमा पढाएपछि शिक्षा गुणस्तरीय भइहाल्छ । 

अंग्रेजी अवश्यै पनि एउटा अति महत्त्वपूर्ण अन्तर्राष्ट्रिय भाषा हो । यसको दक्षताले हाम्रा युवासामु उच्च शिक्षा र रोजगारका ढोका खोलिदिन्छ । त्यसैले यसको पढाइमा जोड दिन निश्चय नै आवश्यक छ । तर, अंग्रेजीमार्फत हुने पढाइमा जोड दिँदा मात्र शिक्षा राम्रो हुन्छ भन्नु गलत हुन्छ । 

स्कुले शिक्षामा अंग्रेजी माध्यमको हावा यति चलेको छ कि सबै निजी र केही सार्वजनिक विद्यालयसमेतले सामाजिक शिक्षाजस्तो विषय पनि अंग्रेजी भाषामा पढाउने गरेका छन् । सामाजिक शिक्षा भनेको असल नागरिक तयार पार्ने विषय हो । यो विषयमा आफ्नो परिवार, धर्म–संस्कृति, जातजाति, समाज, राज्यव्यवस्था आदिबारे अध्ययन गराइन्छ । यो कण्ठ पार्ने विषय पटक्कै होइन । प्रश्नोत्तर, छलफल, बहसद्वारा पढेका कुराहरू विचार पुर्‍याएर मनन गर्ने विषय हो । यस्तो महत्त्वपूर्ण विषय अंग्रेजी माध्यमबाट पढाउने गर्दा शिक्षकको पढाइ र विद्यार्थीको बुझाइ नै कमजोर हुन पुगेको छ । विदेशी भाषा माध्यम भएका कारणले न शिक्षकले गहिरो कुरा गर्न सक्छ, न त विद्यार्थीले प्रश्न गर्न नै । आफ्नो पृथक विचार राख्न पनि सक्दैनन् । 

कतिपय स्कुलमा सामाजिक शिक्षाको पढाइ अंग्रेजीमा सोधेको प्रश्नको घोकेर दिएको उत्तरमा सीमित भएको छ । आफ्ना विचार र भावलाई खुला रूपमा व्यक्त गर्न नसक्ने भाषा केटाकेटीमाथि बलपूर्वक थोपरेर उनीहरूको अभिव्यक्ति अधिकार हनन गरिरहेका छौँ भन्ने महसुस गर्नुपर्छ । यस्तो प्रचलनले गर्दा केटाकेटीमा सोच्ने, समस्या समाधान गर्ने, पृथक विचार राख्ने क्षमताको विकासमा अवरोध गर्छ । अंग्रेजी भाषा सिकाउने नाममा केटाकेटीमा यी सीपको विकास हुन नदिनु कतिको जायज हो ? त्यो त शिक्षाविद्हरूले नै भन्लान् । तर, मुख्य कुरा के हो भने अंग्रेजी राम्रोसँग बोल्न सक्नुभन्दा महत्त्वपूर्ण सूक्ष्म किसिमले विचार गर्ने शक्ति विकास गर्नु नै हो । 

मैले स्कुलमा दिने शिक्षाको माध्यमबारे धेरै बोलिरहनुपर्छ जस्तो लाग्दैन । यति मात्र भन्न खोजेको हुँ, अंग्रेजी माध्यम थोपरिँदा केटाकेटीमा आफ्नो भाषा, संस्कृतिपट्टि सकारात्मक सोच बढाउन मद्दत गर्दैन । अंग्रेजी माध्यममा पढाइ हुने स्कुलका अधिकांश विद्यार्थी नेपाली वा आफ्नो भाषामा कमजोर हुन्छन् । आफ्नो भाषामा पढाइ नहुँदा केटाकेटीले आफूबारे, आफ्नो परिवार, समाज, राज्यव्यवस्थाबारे जुन किसिमले सोधपुछ, छलफल गरी बुझ्नुपर्ने हुन्छ, त्यो पनि हुन सक्दैन । त्यसैकारण होला, माध्यमिक तहको अन्तिम परीक्षामा केटाकेटीले सबैभन्दा कम अंक ल्याउने विषयमा सामाजिक शिक्षा पनि पर्छ ।

यसरी हुर्काइएका केटाकेटीहरू ठूला भएपछि स्वाभाविक रूपमै आफ्नो देशको संस्कृति, विकास, देशले सामना गरेका चुनौतीबारे खासै चासो नराख्ने हुन्छन् । यो विषयमा नेपालमा खासै अनुसन्धान भएजस्तो लाग्दैन । तर, मेरो अनुभवले के बताउँछ भने नेपाली माध्यममा पढेर सार्वजनिक स्कुलबाट उत्तीर्ण भएका केटाकेटीहरू अंग्रेजी माध्यममा पढेर पास भएका विद्यार्थीभन्दा आफ्नो देशबारे बढी चासो राख्छन् र जानकार पनि हुन्छन् । त्यसैले पनि होला, लोकसेवा आयोगको परीक्षा पास गरी सरकारी सेवामा जाने धेरैजसो युवकयुवती सार्वजनिक विद्यालयबाट उत्तीर्ण भएका नै हुन्छन् । 

हामीले हाम्रा केटाकेटी, युवालाई माध्यमिक स्कुलपछि पनि उपयुक्त शिक्षा दिन सकेका छौँ जस्तो लाग्दैन । केटाकेटीलाई १० जोड २ देखि नै विज्ञान पढ्ने कि, मानविकी पढ्ने कि, व्यवस्थापन पढ्ने भनेर छुट्याउँछौँ । यसले गर्दा विज्ञान र व्यवस्थापन पढ्ने विद्यार्थीले लिबरल आर्ट्स (मानविकी र समाजशास्त्र) पढ्ने मौकै पाउँदैनन् । यसले गर्दा उनीहरूमा विश्व इतिहास, मानवीय ज्ञान र सभ्यताको जानकारी कम हुन्छ । आफ्नो देशको इतिहास, प्राकृतिक र सामाजिक बनोट, अर्थ–राजनीति, देशले सामना गरिरहेका चुनौती आदिसम्बन्धी ज्ञान पनि अपर्याप्त हुन्छ । हाम्रो शिक्षाले हाम्रा युवालाई आफ्नो देशप्रति जति संवेदनशील बनाउनुपर्ने हो, त्यति बनाउन नसकेको हो कि ? 

यस दृष्टिले हेर्दा विश्वविद्यालय स्तरमा पनि सिकाइ र पढाइ त्यति सन्तोषजनक ठान्न सकिन्न । विद्यार्थीले प्राध्यापकबाट ज्ञान र केही सीप पनि हासिल गर्छन् । तर, प्राध्यापकले विद्यार्थीलाई आफ्नो विषयप्रति गहिरिएर ज्ञान दिन छाडेका हुन् कि भन्ने लाग्छ । हाम्रा विश्वविद्यालयका विभाग राष्ट्र तथा  नागरिकसँग प्रत्यक्ष सम्बन्ध भएका महत्त्वपूर्ण मुद्दामा प्राय: मौन देखिन्छन् । केही महिनाअघि शिक्षा ऐनको नवौं संशोधनबारे धेरै हल्ला भयो । पत्रपत्रिकामा समाचार र लेख आए । तर, विश्वविद्यालयका शिक्षा विभागका प्राध्यापकबाट यसबारे कुनै प्रतिक्रिया आएन । त्यस्तै अहिले काठमाडौँका सम्पदाबारे ठूलो छलफल, नागरिक अभियान चलिरहेको छ । तर, हाम्रा विश्वविद्यालयका संस्कृति विभाग यसबारे मौन छन् । मानौँ, यी सब कुरामा उनीहरूको कुनै सरोकार छैन । अथवा यसबारे उनीहरूको कुनै सोच नै छैन । काठमाडौँ उपत्यकामा अहिले सार्वजनिक स्थल अभाव र निर्माणाधीन रिङरोडबारे पनि बहस चलिरहेको छ । तर, यसमा इन्जिनियरिङ र वातावरण विभागका प्राध्यापकको कुनै सहभागिता देखिँदैन । 

बेलायतका समाजशास्त्री तथा न्यु लेफ्ट रिभ्यु म्यागजिनका संस्थापक स्टुवार्ट हलले भनेका छन्, ‘यदि विश्वविद्यालयले आलोचनात्मक चेत राख्दैन भने त्यो विश्वविद्यालय 

के विश्वविद्यालय ?’

यो सबै कुराले के संकेत गर्छ भने हामीले युवकयुवतीको देशसँगको सम्बन्धलाई अझ घनिष्ट बनाउन खासै कोसिस गरिरहेका छैनौँ । 

अचेल भेला र छलफल कार्यक्रममा नागरिक समाज सक्रिय नभएकोबारे चर्चा–परिचर्चा गर्छौं र सुन्छौँ । एउटा कार्यक्रममा यस्तै टिप्पणी सुनेपछि मैले सोधेँ, ‘नागरिक समाज जति सक्रिय हुनुपर्ने हो, त्यति किन भएन  ?’ 

जवाफ आयो, ‘युवा सहभागिता कम भएर ।’ मैले फेरि सोधेँ, ‘किन युवा सहभागिता कम भएको त ?’ जवाफ आयो, ‘देशको समस्याप्रति युवा चासो कम भएर ।’ मैले शिक्षाकै कारण युवा चासो कम भएको बताएँ । 

हामीले स्कुल, कलेज र विश्वविद्यालयमा प्रदान गर्ने शिक्षाले केटाकेटी र युवकयुवतीमा आफ्नो देशप्रति बढी उत्सुकता जगाउन सकेन होला, उनीहरूलाई उत्साहित गर्न सकेन होला, संवेदनशील बनाउन सकेन होला, समृद्ध नेपालको कल्पना गराउन सकेन होला । आफ्नो सुन्दर भविष्य आफ्नै देशमा कल्पना गराउन पनि सकेन होला । 

सबै दोषको भारी हाम्रो शिक्षा, शिक्षा प्रणाली र शिक्षा प्रसार गर्ने शिक्षक, प्राध्यापकमाथि मात्र थोपर्न खोजेको होइन । हाम्रो अस्थिरता, उदासीन विकास, भ्रष्ट कर्मचारीतन्त्र र न्याय व्यवस्था, शिक्षामा चरम राजनीतीकरण, अक्षम राजनीतिक नेतृत्व, सर्वत्र पार्टीकरणको बिगबिगी आदिले युवालाई अवश्यै पनि निरुत्साहित गरेको छ । तर, शिक्षाको उद्देश्य युवालाई आफूले भोगिरहेको संसारलाई चुनौती दिन, त्यससँग जुध्न, त्यसलाई परिवर्तन गर्ने हुनुपर्छ, विद्यमान परिस्थितिबाट भागेर पलायन हुनु होइन ।

तर, हामीले हाम्रा विद्यार्थीलाई संसारसँग जुध्न त परै जाओस्, यसलाई राम्ररी बुझ्न पनि सिकाउन सकेनौँ । 

कहिलेकाहीँ लाग्छ, हामी हतारमा छौँ । हामीले हाम्रा केटाकेटी, युवालाई बजारमा चाहिने सीप र ज्ञान दिएर उनीहरूलाई जागिरतिर धकेल्न आतुरी देखाइरहेका छौँ । ‘बितेका कुरा पढेर के फाइदा ? आफ्नो भाषा, समाज र अर्थतन्त्र त यसै बुझिहालिन्छ नि, यसमा गहिरो अध्ययन किन चाहिन्छ र ? साहित्य झन् यथार्थभन्दा टाढाको कुरा । यसको आधुनिक जीवनसँग कुनै सरोकार नै छैन ।’ हाम्रो यस्तो सोचले युवा जमातलाई आफ्नो इतिहास, संस्कृति, देश र आफैँलाई चिन्न मद्दत गरिरहेको छैन । यदि शिक्षाको बृहत्तर उद्देश्य आफूलाई चिन्न सक्ने बनाउनु हो भने यसमा हामी धेरै सफल भएजस्तो लाग्दैन ।

एक टर्किस कवि भन्छन्, ‘शिक्षा भनेको बुझ्नु हो, आफू को हो भनेर । आफू को हो भनेर नै बुझ्न सक्दैनौँ भने त्यो शिक्षाको के काम ?’ 

(शिक्षाविद् माथेमाद्वारा मृगेन्द्र सम्झना चिकित्सा गुठीमा दिएको विद्वत् प्रवचनको अंश ।

प्रकाशित: फाल्गुन ३०, २०७४