फेरि सकस

- नेपाल संवाददाता

आठ वर्ष लामो करिअरमा वेनिशा हमालले सम्भवत: पहिलो पटक चुनौतीपूर्ण भूमिका पाइन्, दृष्टिविहीनको । फिल्म ब्लाइन्ड रक्समा उनी दृष्टिविहीन सृष्टि केसीको चरित्रमा देखा परिन् । मिलन चाम्स निर्देशित यस फिल्मको ‘ हिरो’ भन्नु नै वेनिशा थिइन् । सफलताको व्यग्र प्रतीक्षा थियो उनलाई । किनभने, स्वरबाट सँगै फिल्मी यात्रा सुरु गरेकी केकी अधिकारी नम्बर वान नायिकामा दर्ज भइसक्दा उनलाई ‘मार्क’ हुनै हम्मेहम्मे परिरहेको छ । त्यसैले दिलोज्यान दिएर फिल्ममा काम गरिन् ।

प्रचारप्रसारमा खुलेर लागिन् । तर, यसपटक पनि वेनिशाको आशा पूरा भएन । १८ फागुनबाट प्रदर्शित यस फिल्मले सुरुआतबाटै दर्शकको खडेरी सामना गर्नुपर्‍यो । फिल्मले उतिविघ्न सकारात्मक प्रतिक्रिया पाएन । उनको अभिनयले चाहिँ तारिफ बटुल्यो । यसले थोरै भए पनि राहत महसुस गराएको छ । तर, फिल्मी करिअर साँच्चै संकटमा छ । 

 

प्रकाशित: फाल्गुन २९, २०७४