घुम्ने मेचमाथि दूरदर्शी मान्छे

- लुकुवा बाजे

हाम्री महामहिम राष्ट्रपतिको देव–देवालय भ्रमण, पूजा–अर्चनाबारे मानिसहरुले बाह्र– सत्ताइसका कुरा काटे । धर्मनिरपेक्ष मुलुककी प्रमुखले यस्तो कार्य गर्नु राजपरम्पराको कुबाटो भनेर उनलाई खसाले । तर, चारवर्षे यस्तो कठोर तपस्याको रहस्य खुल्दा सबै ट्वाँ छन् । राष्ट्रपतीय पदमा बसेर गरेको लामो साधना र धार्मिक–आध्यात्मिक तपस्याले उनको ‘भित्री आँखा’को ढकनी खुलेछ । यति मात्र हो र !

यसबारे उनी प्रवचन दिनसक्ने भइछिन् । पुन: सोही कुर्सीमा बसेर आफ्नो साधना र तपस्यालाई निरन्तरता दिने तयारी गर्दागर्दै उनले भनिन्, ‘हे बालक कांग्रेसजन हो ! मेरो भूमिकालाई बाहिरी आँखाले होइन, भित्री आँखाले हेर्नू । अनि मात्र वास्तविक संसार देख्नेछौ । नत्र तड्पिएर मर्नुपर्नेछ ।’ 

अध्यात्मवादकी प्रखर पालक खासमा बाटो बिराएर नास्तिक बनिन् । तपस्या र साधना गर्ने उपयुक्त थलो ‘कुर्सी’मा पद्मासन मुद्रामा बसेपछि आफ्नो मूल चरित्र ‘स्वामी कमरेड’ प्रकट भइहाल्यो ।

महामहिमको यस्तो रुपान्तरण देखेका भए कवि भूपी शेरचनसमेत आफ्नो ‘घुम्ने 

मेचमाथि अन्धो मान्छे’ कविता संशोधन गर्नतिर लाग्ने थिए होलान् । 

प्रकाशित: फाल्गुन २९, २०७४