सोखिन सेवक

  • पशु प्रेममा समर्पित जीवन

- विभु लुइटेल

मंसिर, २०७१ । गढीमाई पर्वको विरोध गर्न बारा जिल्ला पुगेका रघु आदित्य, ३२, का आँखामा त्यतिखेरको समय अझै ताजै छ । विरोध गर्न गए तर सुनिदिने कसले ? गढीमाई पर्वका लागि सुरक्षामा खटाइएका प्रहरीले पनि उनलाई घर फर्किन आग्रह गरे । तर, उनले टेरेनन् । हातमा एउटा ब्यानर लिएर चुपचाप मूलद्वारमा उभिइरहे । एक्लै थिए, त्यसैले भित्र गएर आवाज उठाउने आँट पनि थिएन उनमा । आफूले आपैँmलाई संसारकै सबैभन्दा निरीह मान्छे महसुस गरिरहेका थिए त्यतिबेला उनी । हरियो चौर रातो भइसकेको थियो । मुसा, परेवा, कुखुरा, हाँस, राँगाका आन्द्राभुँडी भुइँभरि छरिएका थिए । बान्ता गर्नेसम्मको अवस्थामा पनि मानिस भट्याइरहेका थिए, ‘जय गढीमाई, जय गढीमाई !’ 

चौरमा लाचार भएर हेर्दै गर्दा बलि दिन लागिएको एउटा परेवा उनका अगाडि आइपुग्यो । त्यसलाई उनले शरणको मरण गरेनन् । आफूसँगै इमाडोल, ललितपुरमा रहेको आफ्नो घर ल्याए र नाम दिए, सानुमाया । अहिले उनको प्रिय सानुमाया संसारमा छैन । तर, त्यो परेवाले रघुमा पशुपन्छीको सेवा तथा उद्धारमा निरन्तर लागिरहने ऊर्जा भने थपिदिएको छ ।

केही वर्षअघि रघुले बाटोमा एउटा कुकुरलाई नाजुक अवस्थामा भेटे । त्यो नाजुक अवस्था सम्झेर अहिले पनि उनको आङ सिरिङ्ग हुने गर्छ । उनले सुनाए, “कति जनावर घरमा पहिलेदेखि नै थिए । एउटा अर्को थप्न पर्याप्त ठाउँ पनि थिएन ।” त्यसैले उनले साथीहरूसँग सहयोग माग्नुपर्‍यो । बाटामा फेला परेको हुँदा त्यसलाई पाल्न सबै हिचकिचाए । अन्त्यमा केही सीप नलागेपछि त्यो कुकुरलाई उनले पाल्नुपर्‍यो । घरमा पालेको कुकुरलाई उनले नयाँ नाम दिए, चिम्पु । र, अहिले चिम्पु रघुको ‘बेस्ट फ्रेन्ड’ बनेको छ । उनले आफ्नो साइकलमा एउटा बाकस पनि जोडेका छन् । जहाँ जाँदा पनि उनी चिम्पुलाई त्यसमै राखेर हिँड्छन् । बाकसमा बचेको ठाउँमा बाटोमा भेटिने अन्य रोगी कुकुरलाई राख्छन् र अस्पताल पुर्‍याउँछन् । जनावरका फोटो राखेर हातैले बनाइएका ‘ग्रिटिङ कार्ड’ बेच्नु नै उनको पेसा हो । नाफा धेरै छैन । जति छ, त्यो पनि रोगी तथा भोका पशुपन्छीको उपचारका लागि खर्चिने गर्छन् उनी ।

कहिले पाटन दरबार क्षेत्रमा कार्ड बेचिरहेका, कहिले कुनै स्कुले विद्यार्थीलाई आफ्ना कथा सुनाइरहेका अवस्थामा भेटिने रघु बोल्न नसक्ने जनावरका आवाज हुन्, उनीहरूका मसिहा हुन् । उनी आफ्नो पूरै जिन्दगी यस्तै पशुपन्छीको सेवामा समर्पित गर्न चाहन्छन् । 

पशुपन्छीको सेवा गर्दा पाइने आनन्दबारे उनले यसरी बेलिबिस्तार लगाए, “म डिप्रेसनमा थिएँ । यिनै जनावरको साथ नै मेरो औषधि रहेछ, म भने अस्पताल चहारिरहेँ । यिनै जनावरले मलाई डिप्रेसनबाट निकालेका हुन्, यही नै हो मेरो उपलब्धि ।” आफ्ना भनाइ राख्दै रघुले चिम्पुलाई बेस्सरी अंकमाल गरे । 

‘संसारमा यति धेरै मान्छे भोकभोकै मरिरहेका छन् । तँ भने जनावरलाई खुवाएर बस्,’ यस्ता कटु वचन रघुले दिनहुँजसो सुन्दै आएका छन् । सबैलाई उनी एकै उत्तर दिन्छन्, “कम्तीमा मान्छेसँग त मागेर खाने सामथ्र्य  छ । यी बिचराले कसरी मागून् ? 

कोसँग मागून् ?” परिवारमा बूढा तथा रोगी सदस्यलाई बाटोमा लगेर फालिँदैन । पशुपन्छीलाई चाहिँ अलपत्र छाड्ने कुराले उनी आक्रोशित हुन्छन् । 

काठमाडौँकी बिना पन्त, ४७,  पनि रघुजस्तै पशुहरूको सेवामा आफ्नो बाँकी जीवन बिताउन चाहन्छिन् । पशुपन्छीप्रति उनको आशक्ति नयाँ भने होइन । निकै पहिलेदेखि हो सेवा गर्न थालेको । समय त उनी आपैँmलाई पनि ठ्याक्कै सम्झना रहेनछ । नाम र पैसाका लागि मात्र पशु सेवामा लागेको भन्दै उनलाई आरोप लगाउने पनि अनगिन्ती छन् । त्यसमाथि पागलको संज्ञा दिने पनि कम्ती छैनन् । तर, उनको महत्त्वाकांक्षा ठीक विपरीत छ । उनी चाहन्छिन्, कम्तीमा एक जना भए पनि उनीबाट प्रेरित–प्रभावित होऊन् । तर, सहयोग गर्ने भन्दा खुट्टा तान्नेको संख्या धेरै रहेको बुझाइ उनको छ । प्रश्न गर्छिन्, “यदि कसैको घरमा पालेको राम्रो नस्लको जनावरलाई असल व्यवहार गरिन्छ भने सोही व्यवहार बाटामा फालिएका जनावरलाई मैले किन गर्न नहुने ?” पशुपन्छी मात्र नभएर असहाय मानिसका लागि पनि केही गरौँ भन्ने अठोट छ उनको । त्यसैले बेलाबेला केही संघ–संस्थालाई सक्दो आर्थिक सहयोग पनि गर्छिन् । 

बिनाले परिवारको पूर्ण साथ पाएकी छन् । सडकमा पशुलाई खाना खुवाउन उनका दुई छोरीले पनि साथ दिने गर्छन् । उनी चाहन्छिन्, सबैको परिवार यस्तै होओस् । कसैले बाटोमा भेटेजति सबै रोगी जनावरको सेवा गर्छु भन्नु सम्भव नै छैन । भन्छिन्, “सबैले कम्तीमा एक असहाय मानिस अथवा पशुपन्छीको हितका लागि एकथोक मात्र गर्दा पनि समाज कति सुन्दर हुने थियो ।”

पशुपन्छीलाई आयआर्जनको स्रोत बनाइने गरेकामा पनि उनको गुनासो छ । हात्ती, घोडा, गधा आदिलाई यातना दिएर सवारीका रूपमा प्रयोग गर्ने प्रचलन बन्द गर्नुपर्छ भन्दै उनले विभिन्न ठाउँमा आवाज पनि उठाउँदै आएकी छन् । 

‘यी सब यसले पब्लिसिटीका लागि मात्र गरिरहेकी हो । जनावरलाई खान दिएमा मात्तिन्छन् है नानी,’ यस्ता रूखा टिप्पणी अभिनेत्री ज्योत्स्ना योगीका लागि नौला होइनन् । पहिले–पहिले रिसाउँथिन्, जवाफ फर्काउँथिन् । चर्काचर्की बढ्दै गएपछि ती मानिससँग उनको झगडा पनि पथ्र्यो । अचेल भने उनी प्रतिक्रियाविहीन हुने गर्छिन् । आफू १२ वर्षे हुँदा कसैले घरबाट निकालिदिएको एक कुकुरलाई सहयोग गरेको क्षण सम्झिन्छन् उनी । भन्छिन्, “त्यतिबेला त्यो कुकुर कम्ती खुसी भएको थिएन । आफ्नो पनि कोही छ भन्ने थाहा पाउँदा को खुसी नहोला र ?” उनले बाटोमा बेवारिसे छाडिएका कैयौँ कुकुर, बिराला तथा गाईवस्तुको उद्धार गरी वासस्थान खोजिदिन थालेको पनि वर्षौं भइसकेको छ । प्रोजेक्ट ह्युमन नेपालले उनलाई आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । सामाजिक सञ्जालका माध्यमबाट उनले पशुअधिकारका निम्ति आवाज उठाइरहन्छिन् । 

नेपालमा विकसित नस्लका कुकुर तथा बिराला उत्पादन गर्न अत्यन्तै अमानवीय तरिका अपनाइन्छ । तिनीहरूलाई थुनेर निकृष्ट रूपमा दु:ख दिई सन्तान जन्माउन लगाइन्छ र उच्च मूल्यमा बजारमा बेचिन्छ । ज्योत्स्ना यस्ता ब्रिडिङ सेन्टरहरूको खुलेर विरोध गर्छिन् । भन्छिन्, “कति पशुपन्छी बस्न राम्रो स्थान नपाएर भौँतारिइरहेका छन्, तिनलाई पाल्दा हुन्न ? हजारौँ रुपियाँ खर्चेर त्यस्ता पशु खरिद गर्नुभन्दा बाटोमा बेवारिसे अवस्थामा भेटिएकालाई पाल्दा पशु संरक्षणमा सहयोग पुग्छ ।” 

०५३ मा महानगरपालिकाले विष छरेर विभिन्न स्थानमा भुस्याहा कुकुर मार्ने काम गरिरहेको थियो । त्यही कार्यको विरोध गर्दै डिल्लीबजारकी चन्द्रमाया लामा (रोमी) पशु हक अधिकारका लागि लड्न थालेकी हुन् । नेपालमा कतिपय पशुपन्छीलाई पूजा गरिने हुँदा यस्ता क्रियाकलाप स्वीकार्य नहुने उनको भनाइ छ । सबै छिमेकीले उनलाई ‘पागल आईमाई’ भन्ने गरेका छन् । यति मात्र नभई, उनलाई त्यहाँ कुकुर नपाल्न वा आफ्नो घरै छाडेरै जान दबाब पनि आउने गर्छ । कुकुरलाई मानिसजस्तै माया गर्ने हुँदा छाड्नै सक्दिनन् उनी । त्यसैले केही समयपछि उनी चन्द्रागिरि सर्ने प्रक्रियामा छिन् । भन्छिन्, “छिमेकीले नै छाडिदिएका बूढा तथा रोगी कुकुर पालिरहेकी छु । तैपनि, छिमेकीले घर छाडेर अन्तै जा भन्छन् भने गइदिन्छु ।” जनावरप्रतिको असीम मायाभाव व्यक्त गर्दा उनका आँखामा आँसु टिलपिलाए । उनले धेरै कुरै गर्न चाहिनन् । 

माछापोखरीकी अन्जनी थापा (एनी), २६ । केही वर्षअगाडि आफ्ना साथीसँग मिलेर एसिड छ्यापिएको एक कुकुर घरमा ल्याएर पालिन् । “बुहारी हुँ, त्यसैले केही बन्धन छ । यसलाई सोचेजस्तो सेवा गर्नै पाइरहेकी छैन,” उनले दु:खेसो पोखिन् । तैपनि, सकेसम्म निरीह पशुपन्छीलाई केही न केही सहयोग गरिरहन्छिन् उनी । 

उनका ससुरा बुहारीको जनावरप्रतिको लगाव देखेर बेलाबेला विरक्तिन्छन् । तर, एक न एक दिन ससुराले कसो नबुझ्लान् भनी आफ्नो उद्देश्यमा अडिग छिन् उनी । उनी चाहन्छिन्, सडकमा अलपत्र परेर कुनै पशुले पनि आफ्नो ज्यान गुमाउन नपरोस् ।

पशु अधिकारका लागि लडिरहेका रघु, विना, ज्योत्स्ना, चन्द्रमाया र एनी त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरूजस्तै जनावरलाई प्रेम गर्ने मानिस समाजमा औँलामा गन्न सकिने मात्र छन् । पशु पनि प्राणी हुन्, यिनलाई माया गर्नुपर्छ भन्ने धारणा समाजमा फैलिन केही समय लाग्न सक्छ । नेपालमा एनिमल्स नेपाल, क्याट सेन्टर, स्नेहाज केयर, एसपीसीएजस्ता पशुकेन्द्रित बग्रेल्ती सामाजिक संस्था छन् । तिनीहरूले बेलाबेला जनमानसमा सचेतना जगाउनेदेखि लिएर रोगी पशुपन्छीको नि:शुल्क उपचार पनि गरिदिन्छन् । पशुपन्छी सुरक्षाका लागि महात्मा गान्धीको एउटा भनाइ सान्दर्भिक लाग्छ, ‘एउटा देश कति महान् छ भनेर थाहा पाउन त्यस देशमा जनावरहरूलाई कस्तो व्यवहार गरिन्छ भनी हेरे पुग्छ ।’ 

प्रकाशित: फाल्गुन २९, २०७४