जानकीको भेटीबाट प्रदेशको विकास ?

- सुरेन्द्र लाभ

संघीय प्रदेशहरूको रेखा कोरिँदै गर्दा एक नेताले व्यंग्यात्मक प्रतिक्रिया दिए, ‘प्रदेश–२ को विकास जानकी मन्दिरको भेटीबाट हुने हो ?’ सम्भवत: चुरेक्षेत्रजस्ता प्राकृतिक सम्पदा यस क्षेत्रमा नगाभिएको सन्दर्भमा उनले यस्तो भनेका हुन सक्छन् । उनको यो भनाइमा आधारित भएर त्यसबेला लामै छलफल चलेको थियो । 

जानकी मन्दिरको भेटीबाट स्वयं जानकी मन्दिर चल्दैन भने प्रदेश चलाउने कुरा धेरै टाढा छ । जानकी मन्दिर न भारतको  तिरुपति बालाजी हो, न त साइबाबाको मन्दिर । काठमाडौँको पशुपतिनाथ मन्दिर पनि होइन यो । तसर्थ, प्रदेश–२ ले आफ्नो सामथ्र्यको पहिचान गरी नयाँ ऊर्जा र सोचका साथ आत्मबलसहित अगाडि आउन सक्नुपर्छ ।

विविधता र विकासको मिश्रण 

देशमा संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै सरकारको अस्तित्व अहिले कार्यान्वयनमा आइसकेको स्थिति छ । संघीय सरकारसँग सुन्दर र समृद्ध नेपालको परिकल्पना हुँदैन भने देश सुन्दर र समृद्ध बन्न सक्दैन । स्थानीय सरकारसँग पनि आफ्नो गाउँ–ठाउँको विकासको परिकल्पना हुनु आवश्यक छ । त्यस्तै, प्रदेश सरकारको कल्पनाशीलतामै सम्बन्धित प्रदेशको सौन्दर्य र समृद्धि निर्भर छ । मूलभूत कुरा परिकल्पना नै हो । र, यसलाई विकासको प्रारम्भिक बिन्दु मान्न सकिन्छ । प्रदेश–२ मा पनि सरकारले आफ्नो प्रदेशबारेको परिकल्पना बाहिर ल्याउनुपर्छ ।

 प्रदेश–२ मा आठ जिल्ला रहेका छन् । तीमध्ये सप्तरी सबैभन्दा पुरानो जिल्लामध्येमा पर्छ । यो जिल्लाको भारतीय स्वतन्त्रता संग्रामसँग पनि पुरानो साइनो गाँसिएको छ । सप्तरीको मुख्य नगर राजविराज सहरलाई नेपालको पहिलो व्यवस्थित सहर मानिएको छ । सहर निर्माण गर्दाताका नै राजविराजलाई सुन्दर सहरको परिकल्पना साकार पार्ने प्रयास गरिएको थियो । तर, अचे ल यसको सौन्दर्य विलुप्त भएको छ । फोहोर बढेको छ, बसाइ अव्यवस्थित हुन थालेको छ । फराकिला बाटा साँघुरिँदै छन् । रौनक हराएको छ । र, यसलाई पुन: सौन्दर्यीकरण गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । 

प्रदेश–२ मा एक मात्र औद्योगिक क्षेत्र राजविराजमा छ । तर, यो औद्योगिक क्षेत्रले अपेक्षित गति लिन भने सकेको छैन । यहाँको हवाई अड्डा पनि मृतप्राय: छ । नवगठित पहिलो प्रदेश सरकारले सुस्त गतिका यी दुवै कुरालाई मुख्य प्राथमिकतामा राखी सञ्चालनका लागि पहल गरिहाल्नुपर्छ ।

यस्तै, सिरहा प्रदेश–२ को अर्काे महत्त्वपूर्ण जिल्ला हो । जिल्लाको सदरमुकामको नाम पनि सिरहा नै हो । कुनै बेला प्रशासनिक र शैक्षिक केन्द्रका रूपमा प्रसिद्ध यो नगर अहिले भने क्रमश: रौनकविहीन बनेको छ । र, यसको रौनक फर्काउन प्रदेश सरकारले ध्यान दिनुपर्छ । तर, ठूलो व्यापारिक केन्द्रको रूपमा पूर्व–पश्चिम राजमार्गमा रहेको लहान सहर भने अहिले उदाएको छ । आँखा अस्पतालका लागि यसको प्रसिद्धि सीमा वारिपारि दुवैतिर छ । नजिकै सल्हेश फूलबारी रहेको छ, जहाँ प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने फूल छ । मुसहर जातिका लोकनायक (देवता) सल्हेशको फूलबारी यहाँको संस्कृतिको अभिन्न अंगका रूपमा स्थापित भइसकेको छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा संरक्षण, प्रचार र व्यवस्थापन गर्नु प्रदेश सरकारको दायित्वभित्र पर्छ । यहाँ रहेको बाबा ताल निर्माणपछि जिल्लालाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने अर्को आधार थपिदिएको छ । 

हाल धनुषाको जनकपुरधाम प्रदेश–२ को अस्थायी राजधानी हो । जनकपुरधाम आफैँमा महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । राजा जनक र सीताको जन्मभूमि जनकपुरधाम हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिन्छ । जानकी मन्दिर, राम मन्दिर, विभिन्न कलाकौशलबाट निर्माण गरिएका मन्दिर र साना कुटी तथा पोखरीले जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक सौन्दर्यलाई अझ ओजपूर्ण बनाएको छ । तर, पछिल्लो समय नगरमा बढेको फोहोर र अव्यवस्थाले गर्दा आन्तरिक तथा धार्मिक पर्यटकको आकर्षणमा कमी आउन थालेको छ । प्रदेश सरकारका लागि यहाँको पर्यटन विकास ठूलो अवसर हो । धनुषाधाम पर्यटकका लागि गन्तव्य स्थल बन्दै गएको छ । राजनीतिक आन्दोलन र शिक्षाको केन्द्रका रूपमा रहेको धनुषा सबै क्षेत्रबाट आफैँमा महत्त्वपूर्ण मानिन्छ । यसको ऊर्जालाई विकासको मार्गमा रूपान्तरण गर्नु प्रदेश सरकारका लागि चुनौती र अवसर दुवै रहेका छन् ।

प्रदेश–२ को अर्को जिल्ला महोत्तरी पनि पुरानोमध्येमा पर्छ । तर, जिल्ला सदरमुकाम जलेश्वरले भने यतिखेर आफ्नो रौनक गुमाएको छ । जलेश्वर सदरमुकाम भए पनि यसको विकास निर्माणको गति सुस्त हुँदै गएको अवस्था छ । बरू, महोत्तरीकै पूर्व–पश्चिम राजमार्गमा रहेको बर्दिवास चम्किँदै गएको छ । प्रसिद्ध जलेश्वरनाथ महादेवको मन्दिर रहेको यो सहरलाई पहिलेकै अवस्थामा फर्काउनु पनि नवगठित प्रदेश सरकारका लागि चुनौती हो । विभिन्न खाले इतिहास र संस्कृति बोकेको जिल्ला हो यो । नेपालका पूर्वराजपरिवारसँग महोत्तरीका मैथिल बाहुन परिवारसँगको वैवाहिक सम्बन्ध रहिआएको छ । जैन सम्प्रदायका २३औँ र २४औँ तीर्थङ्करको जन्मस्थान यहीँ रहेको बताइन्छ । 

सर्लाही प्रदेश–२ को मध्यभागमा पर्छ । जिल्लामा पर्यटन विकासको आधारका रूपमा नरेमन ताल करिब ५० बिघामा फैलिएको छ । यस क्षेत्रको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिए प्रदेश सरकारको आम्दानी बढ्न सक्छ । यहाँका स्थानीय उत्पादन गोलभेडा, तरुललगायतका तरकारीले काठमाडौँ उपत्यकामा समेत बजार लिएको छ । साहित्यकार कृष्णचन्द्रसिंह प्रधानले आफ्नो उपन्यास एक चिहानमा सामाजिक सद्भाव कायम गर्न काठमाडौँको एउटा चेलीको विवाह सर्लाहीको मधेसी परिवारका युवासँग गराएको चित्रण गरेका थिए । 

रौतहट, प्रदेश–२ को विकास र सामाजिक रूपमा सबैभन्दा पछि परेको जिल्ला हो । मानव विकास सूचकांकले यो तथ्यलाई प्रमाणित गरिसकेको छ । तर, यहाँ मुलुकका सबै जिल्लामा भन्दा बढी इँटा उद्योग सञ्चालनमा छन् । यहाँबाट उत्पादित इँटा बढीजसो काठमाडौँ उपत्यकामा खपत हुने गरेको छ । धेरै मुस्लिम बस्ती रहेको यो जिल्लामा शिक्षाको अभाव छ । खासगरी मुस्लिम महिलाको अवस्था चिन्तनीय छ । दलित जाति विभिन्न विभेदका सिकार भइरहेका छन् । केन्द्र तथा प्रदेश सरकार दुवैले यस्ता विषयलाई प्राथमिकीकरण गर्नु आवश्यक छ । गौर सदरमुकाम रहेको जिल्लाले देशलाई धेरै नेताहरू पनि दिएको छ ।

प्रदेश–२ कै बारा र पर्सा मूलत: औद्योगिक करिडोरका रूपमा विकसित भएका जिल्ला हुन् । निजी क्षेत्रबाट विकसित ‘ पथलैया–वीरगन्ज’ करिडोर नेपालमै प्रसिद्ध रहेको छ । वीरगन्ज भन्सारलाई नेपालको मुख्य नाका मानिन्छ । वीरगन्ज, कलैया, सिमरा आदि यस क्षेत्रका मुख्य सहर हुन् । ‘सिम्रौनगढ’ मिथिलाको प्राचीन राजधानी पनि हो । नयाँ सरकारका लागि सिम्रौनगढ संरक्षणको दायित्वका साथै आर्थिक क्रियाकलापमा अग्रणी यी जिल्लाका लागि कस्तो औद्योगिक नीति लिने भन्ने चासो पनि अगाडि छ । करमा छुट, तेस्रो मुलुकबाट आउने कच्चा माल पैठारीमा सुविधा, निकासीमा सरलता, उद्योगधन्दा सञ्चालनमा सहजतालगायतका मुख्य विषय सम्बोधन गर्नु सरकारको कर्तव्यका साथै चुनौती पनि हो । 

संवाद–सहकार्य

प्रदेश–२ सरकारले आफ्नो विकास एजेन्डा अगाडि बढाउन दुई स्तरमा संवाद र सहकार्य गर्नुपर्ने देखिन्छ । एउटा, संघीय सरकारसँग र अर्को, स्थानीय सरकारसँग । केन्द्रले स्थानीय स्रोत–साधनमा आधारित विकास मोडललाई अपनाउन स्थानीय सरकारहरूसँग सहकार्य र संवाद थालिहाल्नुपर्छ । स्थानीय स्रोत–साधन पर्याप्त नहुने हुँदा संघीय सरकारसँग पनि संवाद र सहकार्य गर्नुपर्छ । प्रदेश–२  मुख्य रूपमा कृषिमा आधारित भएको हुँदा, सिँचाइमा विशेष जोड दिनुपर्छ । खासगरी सुनकोसी–कमला–मरिन डाइभर्सनको चर्चा धेरै वर्षदेखि चले पनि अहिलेसम्म राष्ट्रिय गौरवको आयोजना बन्न सकेको छैन । यसका लागि प्रादेशिक सरकारले संघीय सरकारसँग अविलम्ब पहल थाल्नुपर्छ ।

निजगढमा बन्ने अन्तर्राष्ट्रिय हवाई अड्डा राष्ट्रिय गौरवको आयोजना भए पनि काम सुस्त गतिमा भइरहेको छ । हुलाकी सडकको अवस्था पनि सन्तोषजनक छैन । यो प्रदेशमा पूर्वाधार निर्माण बढाउनुपर्छ । यो प्रदेशबाट नेपालमा सबैभन्दा बढी विदेशिने युवा रहेकाले रेमिट्यान्स ठूलो पुँजीका रूपमा रहेको छ । तर, यसको उपयोग उत्पादनभन्दा उपभोगमा भइरहेको छ । प्रदेशमा भित्रिने रेमिट्यान्सलाई उत्पादन क्षेत्रतिर डोर्‍याउन सकिन्छ । श्रमशक्तिको पलायनलाई हतोत्साहित गरेर कृषिलाई रोजगारीको व्यवसाय बनाउन पहल गर्नुपर्छ । प्रदेश–२ मा माछापालनको सम्भावना ठूलो छ । यहाँ ठूलठूला पोखरी, नदी र तालतलैया छन् । यस्ता तालतलैयामा व्यवस्थित रूपमा माछापालन गर्न सकिए प्रदेश सरकारका लागि राजस्वको स्रोत बढाउन सकिने देखिन्छ । 

प्रकाशित: फाल्गुन २९, २०७४