सपना कतिपय, विपना कतिपय

- पिटर जे कार्थक

इन्द्रबहादुर राई सरसँग मेरो पहिलो भेट क्लास रुममा भयो । पाँचफुटे गोर्खा । सुट लगाएका तर टाई नलगाएका । आँखा झिमिकझिमिक गरिरहने । 

सन् १९५६ को कुरा हो यो ।

दार्जीलिङको टर्नबुल हाइस्कुलमा जानुअघि म बस्तीको किसाने ठिटो मात्रै थिएँ । राई सरले मलाई कक्षा ९ र १० मा नेपाली पढाउनुभयो । 

हाम्रै चर्चले चलाएको केटा स्कुलका गुरु पनि नामी–नामी थिए । राई सर त भइहाल्नुभयो । ईश्वरवल्लभ संस्कृत पढाउनुहुन्थ्यो । पछि बल्लभमणि दाहाल आउनुभयो । अम्बर गुरुङ मिडिल लेबलमा पढाउनुहुुन्थ्यो । शिक्षक मात्र किन ? त्यहाँका विद्यार्थी पनि पछि गएर नामी नै भए । शरण प्रधान, कर्म योञ्जन, रञ्जित गजमेर, अरुण थापा, कुमार सुब्बा आदि ।

राई सर त्यतिबेला दियालो पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । भारतीपछिको उम्दा पत्रिका । पत्रिकामा आउने कथा उहाँ कक्षाकोठामा पहिल्यै सुनाउनुहुन्थ्यो, ‘ल केटा हो ! ग्राबियल रानाको कथा आउँदैछ ।’ डा त्रिलोक राईको क्लासिक कथा ‘कलेजियन कान्छी’ त्यतिबेलाकै हो । 

टेक्स्टबुक त रुखोसुखो नै हुन्छ । टर्नबुल हाइस्कुलमा नेपालबाट गएका तीन जना विद्यार्थी थिए । तर, नेपाल भनेको हामीलाई थाहै थिएन । मातृकाप्रसाद कोइरालाको कविता ‘ढुंगाको आत्मकहानी’ र विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘पवित्रा’ पढ्नुपथ्र्यो पाठ्यक्रममा । 

सन् १९६० तिर कोचिङ क्लासमा राई सरले भन्नुभयो, ‘यी दाजुभाइ हुन्, मिल्दै मिल्दैनन् । नेपाली राजनीति गडबड छ । महेन्द्र भन्ने राजा छन्, बीपी भन्ने प्रधानमन्त्री । दुवै कवि हुन् । पोयट्री पनि लेख्ने, पोलिटिक्स पनि गर्ने यो सँगै जाँदैन, मिल्दैन केटा हो ।’ 

१५ डिसेम्बरमा हिउँदे बिदा भयो । २० डिसेम्बरमा राजा महेन्द्रले ‘कू’ गरिहाले । बीपी सिंहदरबारबाट एकैचोटि सुन्दरीजलमा । त्यो भविष्यवाणी म कहिल्यै भुल्दिनँ ।

राई सरले गीत पनि लेख्नुभएको थियो, ‘छोडिदेऊ, छोडिदेऊ... ।’ अम्बर सरले हार्मोनियममा गाउनुभएको थियो त्यसलाई । अम्बर सर के भन्नुहुन्थ्यो भने आईबी राई गीत लेख्ने मान्छे नै होइन । त्यो गीत रेकर्ड पनि भएन । 

एक दिन कुरैकुरामा राई सरले भन्नुभयो, ‘ए केटा हो, ‘नौ लाख तारा... ’ भन्ने गीत त उल्टोपाल्टो पो छ त ! शरद लाग्यो वनमा पनि भन्छ, फूलले प्रीति गाँसेछ पनि भन्छ । यो त मिल्दैन नि !’

उहाँलाई भर्जिनिया उल्फको ‘स्ट्रिम अफ कन्ससनेस’ थाहा नभएको पनि होइन । गुरुसँग मुखमुखै लाग्न मिलेन । तैपनि, मलाई सकसक लागिरह्यो, ‘होइन सर गीतमा त सबै कुरा फटाफट बताउनुपर्‍यो नि !’ उहाँले मलाई कर्के नजरले हेर्नुभयो । अगमसिंह गिरीले १६ हरफमै नेपाली गाथा लेख्नुभएको थियो । अम्बर सरले रेकर्ड गरिसक्नुभएको थिएन त्यतिबेला ।

‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’लाई लिएर राई सरले भन्नुभएछ, ‘यस्तो दुईपैसे गीतले त हाम्रो संगीत उँभो लाग्दैन अम्बर !’ 

साहित्यका रूपमा राई सरको कुरा ठीकै पनि हो । तर, गीतमा साहित्य मात्रै हुँदैन । साहित्यकारले संगीतकारलाई नबुझेपछि गीत दुई पैसे भइहाल्छ । पप इन्टरटेन्मेन्टका लागि तेस्रो आयामको गीत त पक्कै खोज्दैन श्रोताले । 

राई सरलाई म्युजिकल नोट थाहै रहेनछ । उहाँले भाषाको रूप मात्रै हेर्नुभयो । साहित्यमा तेस्रो आयाम हल्ला गरेर आयो । संगीतमा नयाँ आयाम अम्बर गुरुङले चुपचाप थपिदिनुभयो ।

हामी भएको भए राई सरसँग ग्याङ भएर फाइटै गथ्र्यौं । अम्बर गुरुङ, मानवीर सिंह, किशोर सोताङ, कपिलदेव सुब्बा, गगन गुरुङचाहिँ सडकमा फाइट नगर्ने, गीतमै जुहारी खेल्ने । पछि अम्बर सरको आत्मालोचना आयो गीतमै, ‘तारा टिप्ने माया छैन, जून झार्ने पिरती छैन, घाम–जून पञ्च राख, सम्हालेर राख... ।’ अम्बर सरले आफ्नो पुस्तकमा इन्द्रबहादुर राईले दुईपैसे गीत भनेपछि चेतना आएको चर्चा गर्नुभएको छ । 

राई सरका अक्षर छापाका जस्तै थिए । तर, केरमेट–केरमेट भइरहँदा एउटा पाण्डुलिपि रञ्जित गजमेर, शरण प्रधान, मेरा दाजु ललितकुमार तामाङ, मलगायतले सारिदिएका थियौँ । सरले सोध्नुभयो, ‘यसको नाम के राखौँ केटा हो ?’ हामीले भन्यौँ, ‘सपना कतिपय, विपना कतिपय ।’ ‘ल म विचार गर्छु’ भन्नुभएको थियो । पछि सुनाउनुभयो, ‘त्यो टाइटल त लामो भयो रे बनारसको प्रेसलाई । विपना कतिपय मात्र राख्छु ल !’ 

त्यसरी जन्मेको थियो, विपना कतिपय । 

रिङ्क र क्यापिटल भन्ने दुइटा सिनेमा घर थिए दार्जीलिङमा । स्कुलको छुट्टीमा यसो हेर्दा आईबी सरलाई देख्यौँ । पछिल्तिर नगरपालिकाको हेड अफिस थियो । उहाँसँग भन्टाङभुन्टुङ छोराछोरी रहेछन् । नगरपालिकाले कम्प्लिमेन्ट्री टिकट पाउँथ्यो, फस्ट क्लासको । छोराछोरीलाई राजारानी र मन्त्री चिनाइदिन उहाँ पनि सिनेमा घरमा पस्नु हुँदोरहेछ । १५ मिनेटजति त्यो राजा, त्यो रानी, त्यो मन्त्री भनेर चिनाउनुभयो र अब कथा बुझ्यौ भनेर सोध्नुभयो । अनि, छोराछोरीलाई त्यहीँ बसाएर आफू काममा निस्कनुभयो ।

तेस्रो आयामका अभियन्ता राई सर, बैरागी काइँला र ईश्वरवल्लभले त्यतिबेला ज्यादै पिए । कान्छा भए पनि मातेपछि वल्लभ अलि कचेडा गर्थे । राई र लिम्बू दाजुले सम्झाइबुझाइ गर्थे । कान्छा बिते, सबभन्दा पहिले । अब जेठा पनि गए ।

राई सर र मबीच सदैव गुरुचेलाको सम्बन्ध रह्यो । टाढैबाट नमस्कार टक्र्याउँथेँ, बस् । अम्बर गुरुङको आर्ट एकेडेमीमा आउजाउ गर्दा ईश्वरवल्लभ, भूपी शेरचन, शंकर लामिछाने र बैरागी काइँलासँग मेरो परिचय भएको थियो । 

सन् १९६५ मा काठमाडौँ आएँ, १९७८ मा यतैको नागरिकता लिएँ । म त जिप्सी मान्छे । युनिभर्सिटीको जागिरमा नागरिकता नलिई धरै पाइनँ । दार्जीलिङ मेरो मृगतृष्णा थियो । काठमाडौँ आएपछि किन–किन गोरुको पुच्छरको रौँजति पनि सम्बन्ध रहेन । 

सन् १९७६ मा म बस्तीमा कागजपत्र मिलाउन गएको थिएँ । चौरस्तामा जम्काभेट भयो, कृष्णचन्द्रसिंह प्रधान र ध्रुवचन्द्र गौतमसँग । उहाँहरूलाई तुङसुङको ओरालैओरालो राई सरको घर लगेँ । नेपालबाट आएको पाहुनापातलाई सिटिङ रुममै एक–डेढ घन्टा पर्खाइदिनुभयो । बाहिर निस्कँदा पनि उहाँको मुड ठीक थिएन । 

साझा प्रकाशनको केही रोयल्टी बुझाएर हामी फक्र्यौं । त्यसको १०–१२ दिनपछि मकहाँ आएर भन्नुभयो, ‘पिटर † यो किताब प्रज्ञा–प्रतिष्ठानमा पुर्‍याइदेऊ ।’ कथास्थाको बन्डल रहेछ । सूर्यविक्रम ज्ञवाली, लैनसिंह वाङ्देल, सत्यमोहन जोशी, विजयबहादुर मल्ल, कृष्णचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी आदिलाई दिएँ । 

पछि मैले पाटन कलेजमा पढाउने रत्नध्वज सरलाई सोधेँ, ‘सर ! किताब पढ्नुभयो ?’ उहाँले भन्नुभयो, ‘पढेँ नि † उहाँ त ज्यादै क्लिष्ट हुनुहुँदो रहेछ ।’ कृष्णचन्द्रसिंह प्रधानले पनि भन्नुभयो, ‘खोइ बुझिएन । कोसिस गरेको त हो, सकिएन ।’

हुन पनि राई बूढाले संस्कृतमा यहाँका पण्डितहरूलाई नै उछिन्नुभएको रहेछ । नेपाली उपन्यासका आधारहरू, सम्पूरक आदि समालोचनामा जति संस्कृत शब्द हाले पनि केही छैन । आख्यानमा ‘भेन्टिलेसन’को ठाउँमा ‘वायुद्वार’ राख्दा हलुवामा बालुवा भइहाल्छ । भाषा भनेकै जनजिब्रो न हो । 

आज रमिता छ उपन्यास त नेपालीमै अनुवाद गर्नुपर्ने अवस्था छ । उपन्यासमा नेपाली बोली र भाका छैन । त्यसैले प्रत्येक ठाउँ : प्रत्येक मान्छेमा म सम्हालिएँ । 

मेरो बुझाइमा दार्जीलिङको मदनमणि दीक्षित इन्द्रबहादुर राई हो, काठमाडौँको इन्द्रबहादुर राईचाहिँ मदनमणि दीक्षित । माधवीका दुई हजार संस्कृत शब्दलाई अथ्र्याएर नयाँ संस्करण आउन लागेको सुनेको छु । उहाँ जटिल हुनुको कारण तेस्रो आयामपछि दार्शनिकतातिर ढल्कँदै जानुभयो । उहाँको संस्कृत बुझ्न हामी सक्षम भइसकेका छैनौँ ।

अविस्मरणीय के छ भने मेरो उपन्यास प्रत्येक ठाउँ, प्रत्येक मान्छे (०३४, साझा प्रकाशन) इन्द्रबहादुर राई, अम्बर गुरुङ र गोपाल योञ्जनलाई समर्पण गरेको छु । मैले त्यत्तिकै यी त्रिमूर्तिलाई समर्पण गरेको होइन । राई सर मेरा गुरु त हुनुहुन्थ्यो नै, ठूला विद्वान् पनि हुनुहुुन्थ्यो । राई सरलाई मैले नेपाली साहित्यका ठूला राक्षस मानेको छु । अम्बर सर र गोपाल योञ्जन पनि विशेष व्यक्ति हुन् ।  

मेरो उपन्यासको भूमिकामा शंकर लामिछानेले एउटा कुरा पक्डिनुभयो, दार्जीलिङ लाप्चेको आदिभूमि हो भनेर । सायद त्यसैलाई लामिछानेले बंग्याएको ठान्नुभयो राई सरले । तर, उहाँले लाप्चेको अस्तित्वलाई कुनै सिर्जना र समालोचनामा स्वीकार गर्नुभएन । 

कतिसम्म भने आज रमिता छमा काठमाडौँमा जन्मिएकी सीताको समेत दार्जीलिङ हामीले कमाएको ठाउँ हो भन्ने संवाद छ । नेपाली इतिहास त दुई सय वर्षको मात्रै हो । जनजातिको त्यो पुरानो इतिहासको स्वीकारोक्ति राई सरमा पाइँदैन । बालुवामा महल बनाउन त सकिएला तर त्यो टिकाउ हुन्न । राई सर खालि नेपाली, नेपाली भन्ने । अब त गोर्खाली भइसक्यो । लाप्चे मुठी–मुठी माटोको रोयल्टी पर्खिरहेका छन् । 

पछि राई सरले मलाई समर्पण ग्रहण गरेको पत्र पठाउनुभयो र आफ्नो शिष्यलाई दुख्ने गरी धाप दिनुभयो । भ्रमर, मुलुकबाहिर, मंगली, आज रमिता छ, मनेपछि दार्जीलिङे नेपाली जीवनलाई लेख्ने कान्छो तर धेरै खाइखाँदो औपन्यासिक कृतिका रूपमा । उपन्यासको पछिल्लो संस्करणमा मैले त्यसलाई समावेश पनि गरेको छु । 

आफ्नै उपन्यासको अनुवाद गरेँ, एभ्री प्लेस, एभ्री पर्सन । पठाइदिनू है पठाइदिनू भन्नुभएको थियो । किताब भनेपछि उहाँ मरिमेट्नुहुन्थ्यो । केके गुरुङ भन्ने साथीकहाँ पठाइदिएको थिएँ, तुरुन्तै हाजिर हुनुभएछ । अंग्रेजी संस्करणको प्रतिक्रिया भने मैले पाइनँ । 

सन् १९७७–७८ तिर अम्बर सरको रिहर्सल चलिरहेको थियो काठमाडौँमा । आईबी सर त्यहाँ आउनुभयो । मैले नमस्कार सर भन्दा पनि फर्काउनुभएन । उल्टै झोँक्किनुभयो, ‘त्यो गुमाने यहाँ आएको थ्यो रे नि त † त्यो अगमे पनि आएको थ्यो रे !’ अगमसिंह गिरी मेरो छिमेकी हुनुहुन्थ्यो, गुमानसिंह चामलिङ मेरी धर्मदिदीको मामा ।

त्यतिबेलासम्म हाम्रो नेपाल भनेको दार्जीलिङ हो, सिक्किम हो, आसाम, देहरादून, भाक्सु हो भन्ने बुझाइ थियो उहाँको । 

एकपटक ‘झ्याल’ कथाबारे मञ्जुश्री थापाले मार्टिन चौतारीमा कार्यक्रम राख्नुभएको थियो । विमल निभा, गोविन्द वर्तमान, श्यामल, प्रत्यूष वन्तले साहित्यिक गुन्डागर्दी गरिहाले, किन त्यस्तो नबुझ्ने लेख्नुभयो ? दार्जीलिङमा भएको भए त म ठटाउँथे तिनीहरूलाई । राई सरले भन्नुभयो, ‘होइन सजिलै छ त ?’ पछि आज रमिता छबारे मञ्जुश्रीसँग मेरो घम्साघम्सी नै पर्‍यो । 

राई सरकै नेतृत्वमा सन् १९६१ मा भाषा मान्यता आन्दोलन भयो दार्जीलिङमा । त्यसको परिणाम भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले मान्यता पनि पायो । त्यतिबेला उहाँका सहयोगी बलिया थिए, तारकबहादुर कार्की, जोनाथन थापा, गुमानसिंह चामलिङ, गणेशलाल सुब्बा, कुमार प्रधान, एडोन रोङगोङ आदि । दिल्लीमा हस्ताक्षर गर्न उहाँ नै जानुभएको थियो । 

गोर्खाल्यान्ड आन्दोलनका क्रममा उहाँका तीनवटा घर जलाइए र तीनवटा खेत सखाप पारिए । राई सर निर्वासित हुनुपर्‍यो सिलिगुडी, मेथीबारीमा । कहिले कोलकाता, कहिले काठमाडौँ गर्नुपर्‍यो । राजनारायण प्रधान पनि काठमाडौँ आउनुभयो । डिस्ट्रिक मजिस्ट्रेट रहिसकेका इन्द्र सुन्दास दार्जीलिङ कहिल्यै फर्किनुभएन । 

नीलो चोली मार्का पप साहित्य लेख्ने सुवास घिसिङको अगुवाइमा ‘एन्टी इन्टेलेक्चुअल’ भयो दार्जीलिङ । गोर्खाल्यान्डका गुन्डाहरूले ६ इन्च घटाइदिने अर्थात् गर्धन काट्ने धम्की दिए उहाँलाई । जति कष्ट भए पनि राई सरको लेखन निरन्तर चलिरह्यो । त्यतिबेला म पनि सिलिगुडी गएको थिएँ । तर, मेथीबारी नै भुलेछु । खोर्सानीबारी कहाँ छ भनेर सोध्दा नेपालीलाई पनि थाहा छैन, बंगालीलाई पनि थाहा छैन ।

ब्रिटिस पालाको गोल्ड मेडलिस्ट भए पनि राई सरले गाउँको स्कुलमै पढाएर सामान्य गुजारा चलाउनुभयो । पछि तुङसुङको कमिस्नर र नगरपालिकाको उप–प्रमुखसम्म हुनुभयो । कुनै ओहोदामा अतिरिक्त आशक्ति देखाउनु भएन । 

काठमाडौँ आएका बेला एउटा कार्यक्रममा राई सर मसँग एकछिन गफिनुभयो, ‘पिटर ! परालको आगोको आकृष्टता काम लाग्छ ? त्यसलाई अर्को तरिकाले किन लेखिएन ? यदि पृथ्वी घुम्छ भने यो वाग्मती त पोखिनुपर्दैन ? सगरमाथा त उत्तानो हुनुपर्ने होइन ?’ मज्जाले सुन्दै थिएँ, कमल दीक्षितले राई सरलाई तानिहाल्नुभयो । उहाँको भ्रान्ति र लीला–लेखन भनेको यस्तै हो । उहाँले गुरुत्वाकर्षण नै भुल्नुभएछ ।

त्रिवि उपकुलपति तीर्थराज खनिया राई सरलाई महाविद्यावारिधि दिन दार्जीलिङ नै गएछन् । दार्जीलिङ क्रोनिकल्समा मैले प्रश्न गरेँ, ‘बौद्धिक चोरबाट सम्मान लिने ? आईबी सरलाई सुनाएन कसैले ?’ हाम्रो हिरोलाई सम्मान गरेकामा रिसाउने भनेर उल्टै साथीहरूले मलाई सम्झाए । आखिर जे भए पनि चोरबाट सम्मान लिनुहुन्छ त ?

राई सरसँग अन्तिम पटक महाकवि देवकोटा शताब्दी महोत्सवमा भेट भएको थियो मेरो, अनमोल क्याटरिङ थापागाउँमा ०६६ तिर । विमल निभाले अन्तर्वार्ता लिइरहेका रहेछन्, मैले धपाइदिएँ । म सरको बडीगार्ड बसेँ । सरले भन्नुभयो, ‘अब ता नसकिने रहेछ पिटर । अब आउन सकिन्न । दार्जीलिङबाट सिलिगुडी, सिलिगुडीबाट काठमाडौँ ।’ मैले ठट्टा गरेँ, ‘म सवारी चलाइदिन्छु नि सर ! हवाईजहाज हुन्छ कि बस ?’

मैले सवारी चलाउनै परेन ।

त्यसको अढाई महिनापछि राई सर फेरि टुप्लुक्क आइराख्या । 

(कुराकानी : राजकुमार बानियाँ)

कुमार आलेले खिचेको तस्विरमा तेस्रो आयामका ईश्वरवल्लभ र बैरागी काइँलासँग इन्द्रबहादुर राई (बीचमा)

प्रकाशित: फाल्गुन २८, २०७४