[तीन किताब] किताब किन्ने, तन्ना नकिन्ने

- सुविना श्रेष्ठ

किन पढ्ने भनेर सोध्यो भने मलाई हाँसो उठ्छ । नपढी त जिन्दगीको के अर्थ ? जिन्दगी बर्बादै होलाजस्तो लाग्छ । म धेरै किसिमका किताब पढ्छु । एउटै विधामा अड्किएर बस्दिनँ । जतिबेला जेमा रुचि हुन्छ, त्यही पढ्छु । पछिल्लो एक महिनामा मैले स्कटिस लेखक अलि स्मिथको उपन्यास अटम पढेँ । यसको विषय छ– ह्वाट टाइम इज ? हाउ वी एक्पेरियन्स इट ? हाउ आर वी ? ह्वाट आर वी मेड अफ ? यसको खोजी यत्ति हो ? २०१६ को शरद ऋतु कस्तो होला ?

समयलाई परिभाषित गर्न गाह्रो छ । शताब्दी पुगेको पुरुष ड्यानियल र १९८४ मा जन्मेकी युवती एलिजाबेथबीचको सम्बन्धमार्फत समयलाई चित्रित गरिएको छ उपन्यासमा । उपन्यासमा चार ऋतुका अध्याय छन् । शीर्षकचाहिँ शरद हुन गएको छ । बेलायतका समस्या पनि यसले राम्ररी उठान गरेको छ । हरेक हरफ उत्तिकै मीठोसँग लेखिएका छन् । यति सुन्दर लेखन छ कि पठनमा कतै अवरोध आउँदैन ।  

अलि बिसन्चो हुँदा म जासुसी उपन्यास पढ्छु । यसपटक सोफी हन्नाहको जेलर एन्ड वाटरहाउस मिस्ट्री द ट्रुथ–टेलर्स पढेँ । यसमा ट्वीस्टी थ्रिलर छ । प्रोटागानिस्टको प्रेमजीवन चर्चमा गएर बलात्कारमा अन्त्य भएको छ । अहिले नेपालमा देखिएका बलात्कार, हिंसाका घटना बढोत्तरी भएका छन् । अपराध कसरी हुन्छन् ? राम्रोसँग उजागर गरेको छ उपन्यासले । यति गजब शैली छ कि यसपछि के हुन्छ भन्ने 

कौतूहल जगाइरहन्छ ।

अर्को किताबचाहिँ पढ्नै परेर पढेकी हुँ । तर, पढ्दापढ्दै रमाइलो लाग्यो । नढाँटी भन्ने हो भने एउटा फिल्मको रिसर्चका लागि पढेकी हुँ । मेरिट तोड कोकले केही दशक पहिले गरेको मानवशास्त्रीय अध्ययन, द पीपल अफ निस्याङ : आइडेन्टिटी, ट्रेडिसन एन्ड चेन्ज इन द नेपाल तिब्बत बोर्डर ल्यान्डमा माथिल्लो मनाङका परम्परा, पहिचान र परिवर्तनबारे लेखिएको छ । 

म पञ्चायतकालमा हुर्किएँ । इतिहास भनेपछि अलि झ्याउ लाग्ने । मनाङको समाजबारे बडो मिहिन ढंगले खोतलिएको छ यसमा । म एकेडेमिक मान्छे पनि होइन । पहिलो पटक एकेडेमिक किताब बडो रमाइलोसँग पढेँ । मनाङबाट फर्केपछि यो किताब पढ्दा आनन्द आयो । मनाङेहरू किन यस्ता भए ? उनीहरू ठमेलमा किन धेरै बस्छन् ? मनाङबारे आद्योपान्त अध्ययन छ ।

किताबको सोख सानैदेखि बसेको हो । स्कुलमा त्यति रमाइलो लाग्दैनथ्यो । क्लासमा अल्छी लागेपछि बिरामी भएको बहाना गरेर लाइब्रेरी जाने र एउटा उपन्यास समातेर बस्ने बानी नै भयो । सानो छँदा बुबाले ब्रिटिस लाइब्रेरीबाट किताब ल्याइदिनुहुन्थ्यो । एवान (अमेरिकन) लाइब्रेरीको पारिवारिक सदस्यता लिएपछि एकैचोटि १३ वटासम्म किताब ल्याउन घरमा पाइन्थ्यो । र, मजाले पढिन्थ्यो । किताब समातेपछि बजैले घरको काम पनि नलगाउने । 

पछि गएर बिहे पनि किताब लेख्ने मान्छेसँगै भयो । मेरा पति थोमस बेलको पुस्तक पनि आएको छ, काठमान्डु । नयाँ किताब आएको आयै । किनेको किन्यै । बजार, अनलाइन र किन्डल संस्करण यसका माध्यम हुन् । मेरो घरमा काम गर्ने दिदी भनिरहनुहुन्छ– तन्ना फाटेको मतलब छैन । किताब मात्रै किनेर बस्छन् ।

उपन्यास एकैचोटिमा दुई–तीनवटासम्म पनि पढिन्छ । एकेडेमिक किताबचाहिँ एउटा मात्रै पढ्न सकिन्छ । कतिपय जासुसी उपन्यास एकै बसाइमा सक्छु । एउटा सिरिजका चारवटा किताब पाएपछि मैले आफूलाई रोक्नै सकिनँ । अफिसबाट छुट्टी लिएँ, बच्चाहरूलाई समेत बाहिर खेल भनेर पठाएँ र ढोका थुनेर पढिसिध्याएँ । 

नेपाली किताब अलिअलि पढ्छु । नेपाली पढ्ने बानी छुट्यो । जटिल भाषा भएका किताब पढ्न समय लाग्छ । छोराछोरीका लागि अहिले प्रवीण अधिकारीले अनुवाद गरेका लोककथाहरू (कैलाश, तिसे र खाङ रिम्पोछेका कथा) पढाइरहेकी छु । साथीहरूले किताब लेखेका छन्, जबर्जस्ती पढ्नैपर्‍यो । नारायण वाग्ले दाइले कुट्लान् भनेर पल्पसा क्याफे पढेँ । गिरीश गिरीको वीरगन्ज किताब पढ्नैपर्‍यो । नयनराज पाण्डेको उलार प्लेनको फ्लाइट सुरु हुँदा थालेको ल्यान्ड नहुँदै सकियो । मलाई अलि सजिलो भाषा भएको किताब चाहिन्छ । 

अलजजिरा संवाददाता, काठमाडौँ 

प्रकाशित: फाल्गुन २८, २०७४