होन्डाले ल्यायो डब्लुआरभी

- नेपाल संवाददाता

नेपालमा होन्डाको नयाँ डब्लुआरभी मोडलको कार सार्वजनिक भएको छ । नेपालमा यो कारको मूल्य ४१ लाख २५ हजार रुपियाँबाट सुरु हुन्छ । र, यो विभिन्न ६ रंगमा उपलब्ध छ । 

ग्राहकले यो गाडी डिजेल वा पेट्रोल जुनसुकै इन्जिनमा किन्न सक्छन् । पेट्रोल इन्जिन भएको डब्लुआरभीमा १२ सय सीसीको इन्जिन हुन्छ । यो इन्जिनले अधिकतम् ८९ ब्रेक हर्षपावरको शक्ति निकाल्न सक्छ । र, यसको टर्क क्षमता एक सय १० न्युटन मिटरको छ । पेट्रोल इन्जिन भएको डब्लुआरभीमा पाँच गियरको गियरबक्स हुन्छ । 

डिजेल इन्जिनमा यो गाडीको क्षमता अलि फरक छ । यसमा १५ सय सीसीको इन्जिन हुन्छ, जसले ९९ ब्रेक हर्षपावर शक्ति निकाल्छ । डिजेल भेरिएन्टको अधिकतम् टर्क क्षमता दुई सय न्युटन मिटरको हुन्छ । र, यसमा ६ गियरको गियरबक्स छ ।  

डिजेल र पेट्रोल भेरिएन्टमा इन्जिनको क्षमतालगायत केही अन्य फिचर फरक परे पनि आधारभूत फिचर भने उस्तै छन् । जस्तै, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन आदि । यो गाडीमा फ्रन्ट एयरब्याग र रियर अर्थात् पार्किङ क्यामेरा सुविधा पनि छ । 

प्रकाशित: फाल्गुन २७, २०७४