'गाजाबाजा'मा ठीक्कको खुराक

  • यत्तिको फिल्म हेर्दा समय र पैसा खेर गएको महसुस नहोला ।

- गोकर्ण गौतम

वर्ष २०७४ मा धेरै निर्देशकले फरक कथालाई भिन्न शैलीमा भन्ने जमर्को गरिरहेका छन् । कति सफल भए, कति असफल । अलग पाटो हो । तर, नवीनतालाई पछ्याउनु सह्रानीय छ । गाजाबाजा यही प्रयासको पछिल्लो कडी हो । गाजाको ‘ट्रिप’ नपाएर भौतारिरहेका दुई केटामा केन्द्रित यस फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । अधिकांश नेपाली फिल्ममा झैँ न यसमा भयंकर कथा छ, न त सुकिलामुकिला हिरो–हिरोइन नै । न रोमान्स छ, न आइडम डान्स, न दर्जनौँ गुन्डा सखाप हुने फाइट । तैपनि, फिल्मले कम्तीमा ‘इन्गेज’ गर्छ । क्यानभास सानो भए पनि त्यसको प्रस्तुति एक हदसम्म रोचक छ । भलै लेखकसमेत रहेका निर्देशक पाण्डे ठाउँ–ठाउँमा नबरालिएका होइनन् । खासगरी सहायक पात्र र कथामा पकड देखिन्न । अपरिपक्व दृश्यको खडेरी छैन । मुख्य कलाकारद्वय अनुपम शर्मा र सुशील सिटौलाले फिल्मको शोभा बढाएका छन् । 

दुई मिल्ने साथी डढे (अनुपम) र गोरे (सुशील) गाँजा तान्न नपाएर तड्पिएरहेका छन् । घरी कता पुग्छन्, घरी कता । तर, मरि गए गाँजा फेला पर्दैन । बरु एकपछि अर्को फसाद आइलाग्छ । उता, भाका नाघिसक्दा पनि ऋण नतिरेकाले डुडे (रवीन थापा) सँग भागीभागी हिँड्नु परेको छ । घरमा किचकिच मात्र गर्छन् । गोरेकी त प्रेमिका पनि रिसाएकी छिन् । यस्तो अवस्थामा फसेका डढे र गोरेले कस्तो हविगत बेहोर्नुपर्ला ? फिल्म यसकै वरपर दौडन्छ । क्लाइमेक्सको ‘इभेन्ट’ कथाको प्रवाहभन्दा परको लाग्छ । 

जम्माजम्मी एक दिनको कथा हो, गाजाबाजा । जहाँ दुई थरीको दुई वटा मिसन छ । दर्शकको ध्यान तानिरहने चाहिँ डढे र गोरेले गाँजा खोज्न गरेको संघर्षले नै हो । लाग्छ, गाँजा खान पाउनु नै उनीहरूको जिन्दगीको सबैभन्दा ठूलो उपलब्धि हो । उनीहरूको गाँजा–भोक दर्शकसम्म सञ्चार हुने अनेक दृश्य छन् । साथी सर्कल, उनीहरूको हाउभाउ, हुलिया, गफ गर्ने शैलीमार्फत निर्देशकले साँच्चै गजेडीका रूपमा पात्रलाई स्थापित गरेका छन् । तर, समस्या उनीहरूसँग जोडिएको ऋणको उपकथामा छ ।

जोसँग ऋण लिए, न त्यो पात्रको चारित्रीकरण विश्वनीय छ, न त ऊ त्यति रुखो हुनुको पृष्ठभूमितिर निर्देशकको ध्यान पुगेको छ । ‘बाजा’ मिसन खडा गर्नुको पछाडि उसलाई सिध्याउनुबाहेक अर्को ध्येय छैन । त्यो मिसन र त्यसमा संलग्नको गतिविधि आफैँमा निरस लाग्छ । भुल्नु हुन्न, विनाअर्थ र कारण कथालाई पार लगाउन मात्र कुनै पात्र र घटना जन्माइन्छ भने त्यो पूरै फिल्मका लागि प्रत्युत्पादक हुन्छ ।

अवैध मानिने गाँजाको लतमा फसेका तन्नेरीको कमी छैन हामीकहाँ । जसलाई जसरी हुन्छ, गाँजा चाहिन्छ । न परिवारको चिन्ता हुन्छ, न पढाइ र पेसाको । त्यसैले डढे र गोरे पराई लाग्दैन । प्रहरी अधिकृतको छोरो, प्रेमिकाको खप्की खाइरहेको केटो, गाँजा छोडेर कलाकारितातिर लागेको ठिटो, सुरेश दाइ, गोरेकी प्रेमिका, डढेको बच्चैदेखिको साथीलगायतका पात्र पनि स्वाभाविक लाग्छन् । यी पात्रको उपस्थितिले मूलकथालाई बलियो बनाउन कतै न कतै भूमिका खेलेको छ । तर, निर्देशकले कथालाई किन जर्बजस्ती एकैदिनमा खुम्चाए ? भेउ पाइन्न । तीन–चार दिनमा भनेको भए पनि बिग्रने केही थिएन, बरू थप प्रभावकारी हुनसक्थ्यो । क्लाइमेक्स ‘सस्पेन्स’ नै रहोस् । तर, त्यसअगाडिका कतिपय लोकेसनमा अमिल्दो ‘चिटिङ’ भएको छ । केटीले डढेलाई फसाउने र पैसा भरिएको ब्याग लुट्ने दृश्य आलोकाँचो लाग्छ । 

पात्रअनुरुपका संवाद फिल्मको प्रशंसनीय पक्ष हो । द्विअर्थी लाग्ने संवाद पनि बग्रेल्ती छन् । तर, अस्वाभाविक लाग्दैन । थिएटर पृष्ठभूमिका अभिनेता अनुपमको उपस्थिति साँच्चै अनुपम लाग्छ । उनी चरित्रको ‘ट्रयाक’ भन्दा एकइन्च बाहिर गएका छैनन् । असल स्टार हुने ल्याकत भएका अनुपमप्रति पक्कै निर्देशकको नजर पर्नेछ । सुशील सिटौलाले पनि आफ्नो चरित्रलाई आत्मसात गरेका छन् ।

उनीबाट थप सशक्त भूमिका र जीवन्त अभिनय अपेक्षा राख्न सकिन्छ । तर, बाँकी प्राय: सबै कलाकारको अभिनय बनावटी छ । गोरेका बुबा र डढेकी आमा त अझ ‘लाउड’ । सहायक कलाकारको यस्तो उपस्थिति चामलमा ढुंगा भेटिएसमान हुँदोरहेछ । फिल्ममा समावेश एक गीत कथाको भावअनुसारकै छ । मञ्जरीमा एक बंगाली फिल्मबाट ‘फ्रेम टु फ्रेम’ कपी गरेर काफी आलोचना खेपेका निर्देशक पाण्डेले यसपटक आफ्नै परिवेशको कथा रोजे । र, त्यसलाई पर्दामा पस्कन आंशिक सफलता चुमेका छन् ।

त्यसैले वाहवाही नगरे पनि धाप मार्न किन कन्जुस्याइँ गर्नु ? सबैभन्दा महत्त्वपूर्ण पक्ष, नामका कारण फिल्म विकास बोर्डले गाजाबाजा टिमलाई लामो समय औधी दु:ख थियो । तर, कन्टेन्ट केलाउँला फिल्मलाई रोक्नुपर्ने वा तनाव दिनुपर्ने कारण रत्तिभर छैन । बोर्डको नियतमै खोट देखियो ।  

आमदर्शकलाई न नभनौँ, युवापुस्ता र फरक स्वाद खोज्नेका लागि ठीक्कको खुराक हो, गाजाबाजा । कमजोरीमुक्त त होइन । तर, यत्तिको फिल्म हेर्दा समय र पैसा खेर गएको महसुस नहोला ।

प्रकाशित: फाल्गुन २५, २०७४