‘अपांगता लुकाएर अगाडि बढ्न सकिँदैन’

- मनबहादुर बस्नेत

सात वर्षअघिसम्म सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका रामबहादुर तामाङको परिचय सामान्य डकर्मीको थियो । विसं ०६७ मा सिन्धुपाल्चोकको तातोपानीबाट फर्किंदा चौवन्न किलो भन्ने ठाउँमा आफू चढेको बस दुर्घटनामा परेपछि भने उनको परिचय मात्रै बदलिएन, जीवनले नै कोल्टे फेर्‍यो । कम्मरमुनिको आधा भाग नचल्ने (मेरुदण्ड पक्षाघात) भए पनि जीवनको अर्को प्रहरमा उनले थुप्रै उपलब्धि चुमे । राष्ट्रपति ह्विलचेयर म्याराथन सिल्ड–०७३, नेपाल मजदुर किसान पार्टीले आयोजना गरेको ह्विलचेयर म्याराथन–०७२ र ह्विलचेयर पौडी तीनवटै प्रतियोगितामा दोस्रो भए । ह्विलचेयरमै काभ्रेको नमोबुद्धदेखि लुम्बिनीसम्म यात्रा गरेका उनी हालै ५ सय ५३ किलोमिटर लामो लुम्बिनीदेखि भारतको बोधगया पुगे । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी :

ह्विलचेयरमा यात्रा गर्ने चाहना कसरी जन्मियो ?

अपांगता भएकाहरू घरबाहिर ननिस्कने, घरपरिवार र आफन्तको शरणमा मात्रै बस्ने गरेको देखेर मलाई ‘हाम्रो शरीर पो अपांग भएको हो, मन त जस्ताको तस्तै छ’ भन्ने लाग्यो । बाँच्न पैसा चाहिन्छ । पैसा कमाउन बाहिर निस्कनुपर्छ । अनि हामीजस्ताले पनि आफ्ना लागि आफैँ काम गर्नुपर्छ, अपांगता लुकाएर अगाडि बढ्न सकिँदैन भनेर यात्रामा निस्केको हुँ । 

यात्राका अविस्मरणीय क्षण केही छन् ?

नेपाल एकदमै गरिब मुलुक भन्छौँ । तर, भारतमा गरिबी विकराल रहेछ । बिहारको सासामुसा, साहेबगन्ज र पटनाभन्दा नौ किलोमिटर अगाडि घरमा पराल ओछ्याएर सुतियो । 

बुद्धको जन्मस्थलबारे बेलाबेला गलत प्रचार हुन्छ । यस विषयमा कस्तो अनुभव रह्यो ?

‘गौतम बुद्धको जन्मथलो वैशालीमा यहाँलाई स्वागत छ’ भनेर लेखेको देखेपछि मैले गौतम बुद्ध त नेपालको लुम्बिनीमा जन्मिएको भनेँ । त्यसपछि मलाई मानिसले घेरिहाले । एक जनाले त्यहाँबाट फुत्काएर मलाई पठाए । 

यात्राअघि र पछि आफूमा के परिवर्तन आयो ?

यात्रामा धेरै थरीका मानिस, उनीहरूका अलग जीवनशैली र प्रकृति देखेँ । यसबाट जीवनलाई बुझ्ने र हेर्ने अर्को आँखा खुल्यो । पक्कै पनि जीवन सहज छैन । तर, चाह्यो भने सहज बनाउन सकिने रहेछ भन्ने बुझेपछि नयाँ ढंगले जिउन सिकियो । 

जीवन के रहेछ त ?

म पहिले दिनभर डकर्मी काम गर्थेँ । बेलुका भट्टीमा पस्थेँ । टन्न पिउँथेँ । जिन्दगी रमाइलो लाग्थ्यो । तर, अहिले जीवन अर्कैै रहेछ भन्ने लाग्छ । परिवार, श्रीमती र प्रेमको जीवनमा के महत्त्व र अर्थ रहेछ भन्ने बल्ल चाल पाएँ । स्वर्ग र नर्क यही रहेछ । 

आफ्नो कम्मरमुनिको भाग नचल्ने भएको पहिलोपटक थाहा पाउँदा के सोच्नुभयो ?

यो कुरा कानमा पर्दा संसारमा बाँचेर काम छैन, अब केही गर्न सक्दिनँ भनेर निसास्सिएँ । मैले परिवारका ९/१० जना पाल्नुपथ्र्यो । अब जम्मैको दु:ख हेरेर बाँच्न सकिन्न भनेर मर्ने कोसिस गरेँ । 

त्यो चरम निराशाको चरणबाट कसरी माथि उठ्नुभयो ?

भक्तपुरकी एक नर्सले मलाई ‘मर्न मरिहालिन्छ । तर, अहिले किन मर्ने ?’ भनेर धेरै सम्झाउनुभयो । त्यसपछि मलाई स्पाइनल इन्जुुरी पुनस्र्थापना केन्द्र साँगामा लगियो । यहाँ आइसकेपछि मजस्तै व्यक्ति ह्विलचेयरमा बसेर गुल्डुङगुल्डुङ गुडेको देखेँ । यसो हेर्छु,, उनीहरू गीत गाउँछन्, नाच्छन् । अनि पो मैले सोचेँ, मरेको भए !

यस्ता व्यक्तिको आत्मबल उकास्न के कुरा चाहिने रहेछ ?

उनीहरूले गर्न खोज्ने काममा बाधा पुर्‍याउनु हुँदैन । उसले इच्छाएका काम गर्न सक्छ भनेर समाज र परिवारले आडभरोसा दिनुपर्छ । चाहेको अवस्थामा काममा लगाइरहनुपर्छ । एक्लोपनमा राख्नुहुन्न । समुदायमा घुलमिल गराएर सामान्य मानिसजस्तै व्यवहार गरिए उसले आफ्नो बाटो आफैँ पहिल्याउँछ । 

यदि त्यो दुर्घटनामा नपरेको भए आफू अहिले कस्तो अवस्थामा हुन्थेँ जस्तो लाग्छ ?

ठेकेदारसम्म बन्थेँ । तर, पहिलेको जीवनभन्दा अहिलेको जीवनबाट म धेरै खुसी छु । मेरो प्रगति अहिले पो भयो । जीवनका खुड्किला चढ्न पाएँ । भाग्यमानी ठान्छु । 

अब तपाईंको लक्ष्य के छ ?

मेरुदण्ड पक्षाघात भएकाहरूले आफ्नै शरीर कुहिँदासमेत थाहा पाउँदैनन् । गाउँमा मेरो दुई रोपनी जग्गा छ । केही रकम जम्मा गर्न सकेमा त्यहाँ मेरुदण्ड पक्षाघात भएकाहरूका लागि आश्रयस्थल बनाउने लक्ष्य छ । 

प्रकाशित: फाल्गुन २४, २०७४