फर्के हराएका पन्छी

  • कोसीटप्पु क्षेत्रमा दुई दशकपछि देखिए संकटापन्न पाहुना चरा

- -वेदराज पौडेल

इटहरी ।। अनिष तिम्सिना कम्ती खुसी देखिँदैनथिए । आफूले पाएको खुसी उनले साझा गर्न चाहे । पुसमध्यतिर आकाशमा राजगरुड देखिन थालेपछि उनी फुरुंग नहुने कुरै थिएन । कोसी बर्ड सोसाइटीको अध्यक्षसमेत रहेका अनिष आफैँ पनि चराचुरुंगीप्रेमी हुन् । झन्डै दुई दशकदेखि नेपाली आकाशमा देखिन छाडेका राजगरुड अचानक हावामा कावा खाँदै गरेको देखिन थाल्यो,कोसी टप्पुवरपर । 

संरक्षणमा लागेका र चरासम्बन्धी चासो दिनेका लागि के चाहियो ? विश्वमा १२ सय वटा मात्र रहेको यो पन्क्षी अति संकाटापन्न पन्क्षी हो । राजगरुडको मात्र के कुरा ! गतवर्ष बर्जु तालमा पाहुना चरा नकटा हाँस पनि देखा पर्‍यो । यो पनि  दुई दशकपछि देखा परेको थियो । हाँस प्रजातिमा अन्य हाँसभन्दा ठूलो हो यो । 

१७ वर्षपछि यस्तै अर्को दुर्लभ घटना पनि भयो । कोसी टप्पु वन्यजन्तु आरक्षभित्र ठूलो सेतोपाटे कल हाँस देखा पर्‍यो । यो पनि अति दुर्लभ प्रजातिमा पर्छ । आएका तीनवटा हाँस दुई महिना बसेर फर्किएका छन् । साइबेरियाबाट आएको यो पन्क्षी नेपालमा कोसी टप्पुबाहेक घोडाघोडी तालमा पनि देखिन्थ्यो । 

चराविज्ञ हेमसागर बराल चरा नभएको भए अहिलेको आधुनिक विश्वको विकास नै नहुने तर्क राख्छन् । भन्छन्,“यदि संसारबाट चरा लोप हुने हो भने बिस्तारै मानव सभ्यता नै मासिन्थ्यो ।” उनका अनुसार चराले प्राकृतिक सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । किरा, फट्यांग्रा, मुसा खाइदिएर प्राकृतिक सन्तुलन कायम गर्नेदेखि परागसेचन गरिदिएर अन्नबाली फलाउनेसम्मको भूमिका चराले निर्वाह गरिरहेको हुन्छ ।  

कोसी टप्पु वन्यजन्तु आरक्षभित्रको सीमसार क्षेत्र चराका लागि ‘आमाको काख’ जस्तो हो । कोसी टप्पुमा मात्र अहिले ५ सय २८ प्रजातिका चरा पाइन्छन् । नेपालमा पाइने ८ सय ७९ प्रजातिमध्ये कोसीमा आधाभन्दा बढी चरा पाइन्छन् । 

वर्षाैँपछि चरा फर्कनुलाई शुभ संकेतको रुपमा लिन्छन् चराविद् जोतेन्द्र ठकुरी । उनका अनुसार विभिन्न कारणले अन्यत्र गएका चराहरू दशकौंपछि फर्कनु सुखद संकेत हो । जोतेन्द्र भन्छन्, “चरा गएको स्थानमा कुनै समस्या भए चराले पुरानो ठाउँको अवस्था कस्तो छ भनेर फर्केर आउँछ ।” यदि आएको पुरानो ठाउँमा खाना र बस्ने राम्रो वातावरण पाए उनीहरूले फेरि पुरानै ठाउँलाई बासस्थान बनाउने विकल्प खोज्छन् । 

चराविद्हरूका अनुसार उपयुक्त बासस्थान र खानाको प्रबन्ध मिलाउन सकिए गएका चराहरू फर्केर आउँछन् । चरा फर्किएर आए वातावरणको सन्तुलन कायम रहन्छ । नेपाल चराविद् संघका पूर्वाञ्चल संयोजक बद्री चौधरी अहिले दशकौंपछि देखिएका चराहरू कस्तो वातावरण छ भनेर बुझ्नका लागि अन्य चराको हुलसँगै आएका हुन् । उनीहरूलाई अहिले बसिरहेको भन्दा यहाँको स्थान मन पर्‍यो भने चरा फर्कन थाल्छन् । पृथ्वीको तापक्रम बढ्दै जानु र त्यसले वातावरणमा पुर्‍याउँदै गएको असरले पाहुना चरा आउने र फर्कने समय भने बदलिँदै गएको छ । कोसी टप्पुमा साइबेरिया, चीन, भारतलगायतका विभिन्न मुलुकबाट हिउँदमा चराहरू आउने गर्छन् । 

नकटा हाँस

तराई क्षेत्रमा चार प्रजातिका हाँसले बच्चा कोरल्छन् । ती चार प्रजातिमध्ये सबैभन्दा ठूलो हाँस हो, नकटा । सप्तकोसी नदी आसपासको सीमसार सुक्न थालेपछि २० वर्ष अघिबाट नै देखिन छाडेको यो चरा अहिले कोसी टप्पुभन्दा २५ किलोमिटर दक्षिणमा रहेको बर्जु तालमा छ वटाको संख्यामा देखिएको छ । 

विभिन्न हाँसका झुन्डमा रहेर बस्न रुचाउने यो नकटा अन्य हाँसको तुलनामा फरक खालको हुन्छ । बच्चा कोरल्ने बेलामा भालेको ठुँडको माथिपट्टि डल्लो सिउर पुष्ट भएर आउँछ । त्यसबाहेकको समयमा त्यो सामान्य रहन्छ । समुन्द्र सतहदेखि १ सय ५० मिटरको समथर आवासीय क्षेत्र जंगलभित्र रहने तालतलैया यसको बासस्थान हो । 

पश्चिममा घोडाघोडी ताल, शुक्ला फाँटाका तालहरूमा यसले बच्चा कोरल्ने गर्छ । माछालगायत पानीमुनिका वनस्पति र किराहरूको भोजन गर्ने यो हाँस झुण्डमा बस्न रुचाउँछ । यसले स्थानीय बारीमा पाइने अन्नसमेत खाने गर्छ ।

राजगरुड 

समुन्द्र सतहदेखि २ सय ५० मिटरदेखि १५ सय मिटरसम्मको उचाइमा पाइने यो चरालाई स्थानीय भाषामा भुँडीफोर/हाँडीफोर पनि भन्ने गरिन्छ । यो सामान्यतया गाउँघरमा देखिएको भुँडीफोरभन्दा ठूलो हुन्छ । यो चरा १४५ सेन्टिमिटरदेखि १५० सेन्टिमिटरसम्म अग्लो हुन्छ । यसको लम्बाइ भने १ सय ३६ सेन्टिमिटरसम्म हुन्छ । यसको तौल ८ देखि ११ किलोग्रामसम्म हुन्छ । 

मंसिरदेखि माघसम्मको जाडो याममा पोथी राजगरुडले ५० फिटभन्दा अग्लो रुखमा एक देखि तीन दिनमा तीन वटासम्म अण्डा पारेर ओथारो बस्छ । वर्षमा एक पटक मात्र अण्डा पार्ने र ओथारो बस्ने शान्त स्वभावको यो प्रजातिले एक महिनामा अण्डाबाट बच्चा कोरल्छ । 

अहिले यो पन्छीको संख्या कम्बोडिया र भारतमा गरी ८ सयदेखि १२ सय छ । भारतको आसाममा ६ सय ५० देखि ८ सयको संख्यामा छन् । त्यस्तै कम्बोडियामा एक सय ५० देखि २ सयको हाराहारीमा रहेका छन् । विहारमा १ सय ५६ वटा रहेका छन्, जुन आसामबाट आएका हुन् । 

सेतोछाते कल हाँस

 २५ देखि ३० इन्च लम्बाइ,  हुने यो हाँसको तौल एकदेखि तीन किलोसम्मको हुने गर्छ । यो पन्छी युरोप र एसियाको उत्तरमा पाइन्छ । समूहमा बस्न रुचाउने यो पन्छीले एउटादेखि सातवटासम्म अण्डा पार्ने र बच्चा कोरल्ने गर्छ । यो नेपाललगायत भारतमा समेत पाइन्छ । यसले बीउ, अन्न र पानीमा पाइने लेउ खान्छ । यसले ओथारो बसेर बच्चा कोरलेर हुर्काउँदासम्म तीन महिनाको समय लाग्छ ।

यसले जमिनमै ओथारो बसेर अण्डा कोरल्ने गर्छ । साइबेरिया र ग्रिनल्यान्डमा यसले बच्चा कोरल्ने गर्छ । उत्तर अमेरिका र मिसिसिपी नदीको किनारमा यो ठूलोठूलो झुण्डमा पाइन्छ । जोडीजोडी बस्न रुचाउने लामो दूरीसम्म उडेर विचरण गर्ने पन्छीभित्र पर्छ । अन्य हाँसजस्तै हिमालपारिबाट हिउँदमा आउने आगन्तुक चरामा पर्छ । यसले हिमाल पार गरेर खोलाको खोँच हुँदै तराईमा रहेका ताल र सिमसारलाई आफ्नो अस्थायी मुकाम बनाउने गर्छ । पन्क्षीविद्हरूका अनुसार यो चराले अन्यले जस्तो नेपालमा बच्चा कोरल्ने गर्दैन । 

 

 

 

प्रकाशित: फाल्गुन २४, २०७४