[स्मरण] गाउँका समस्या गाउँमै

- डा मृगेन्द्रराज पाण्डे

पुस ०४३ को कुरा हो । मुलुकका प्रबुद्ध विद्वान्, राजनीतिज्ञ, बुद्धिजीवीहरू सहभागी एउटा भेला आयोजना गरिएको थियो, काठमाडौँको मुटुमा रहेको एक पाँचतारे होटलमा । विषय थियो, ‘नेपालका गाउँहरूलाई कसरी उठाउने ?’ 

 

तीन दिनसम्म छलफल चल्यो । ठूलठूला विद्वान्ले कार्यपत्र पेस गरे । राम्रै रकम खर्च भएको थियो, कार्यपत्रका लागि । भव्य भोज चल्यो । ककटेल पार्टीमा मस्त विद्वान् हरूले विदेशी मदिरापान गर्दै गाउँलेका समस्याबारे जमेर छलफल गरे । कतिपय विदेशी र स्वदेशी विज्ञहरूलाई होटलमै बस्ने व्यवस्था पनि थियो । मलाई पनि उक्त कार्यक्रममा निम्तो गरिएको थियो । 

 

मनमा नाना प्रकारका विचार खेलिरहेका थिए । गाउँका नाममा जुन पैसा त्यहाँ खर्च भइरहेको थियो, त्यो देख्दा मनै दुख्यो एकपटक । त्यहाँ खर्चेको पैसा कुनै निश्चित गाउँमा लगानी गर्न पाए त्यो गाउँको कायापलट हुन कति समय लाग्थ्यो होला र भन्ने पनि लाग्यो । यति पैसाले त कुनै एउटा मौलिक गाउँ नै बनाउन सकिन्थ्यो ।

 

हामीकहाँ बुद्धि र विद्वान्को खाँचो छैन । प्रतिबद्धतासहित जनताका निम्ति जनताकै घरदैलोमा गएर जनताकै विकास गरुँ भन्ने भावनाको मात्र कमी छ । यो कुरालाई आत्मसात् गर्न सके धेरै काम हुन सक्थ्यो । तर, मैले त्यो गोष्ठीमा दुई दिनसम्म केही बोलिनँ । एक आमन्त्रित श्रोताका रूपमा सबै कुरा सुनेँ, हेरेँ ।

 

कार्यक्रम समापनका दिन जब ‘कसैलाई केही भन्नु छ कि !’ भनेर आयोजकका तर्फबाट कुरा राखियो, मैले पनि केही बोल्नु उचित ठानेँ । भनेँ, ‘यत्रो पैसा खर्चेर काठमाडौँको पाँचतारे होटलमा कार्यक्रम गर्नुभन्दा गाउँमै गई कुनै ठोस कार्यक्रम गर्न पाए राम्रो हुने थियो कि !’

 

मेरा कुरालाई कसैले प्रतिवाद गरेनन् । तर, गम्भीर ढंगले लिएजस्तो पनि लागेन । त्यसपछि मैले मृगेन्द्र सम्झना चिकित्सा गुठीका कार्यसमिति सदस्य प्रा यदुनाथ खनालजीलाई सम्झिएँ । कूटनीतिज्ञ एवं बेग्लै छविका कारण समाजमा उहाँको नाम–प्रतिष्ठा थियो । यस विषयमा उहाँसँग छलफल गर्नु श्रेयस्कर लागेर भेटेँ । लामै कुराकानी पनि गरेँ । समाज र ग्रामीण जनताका बारेमा उहाँको बेग्लै सोच रहेछ । उहाँ पनि गाउँलेका समस्या तारे होटलमा छलफल गरेर समाधान गर्न सकिँदैन भन्नेमा प्रतिबद्ध हुनुहुँदो रहेछ । ‘गाउँलेका नाममा तारे होटलमा गरिने यस्ता छलफल र गोष्ठी त पैसाको बर्बादी मात्रै हो’ भन्ने कुरामा उहाँको र मेरो समान मत पाएँ । 

 

त्यसपछि काठमाडौँको सुन्दरीजल क्षेत्रका ६ वटा गाविसका बासिन्दालाई भेला गरेर एउटा गोष्ठी गर्‍यौँ, ‘ गाउँको विकास कसरी गर्ने ?’ भन्ने विषयमा । खनालजीका अतिरिक्त स्रोत व्यक्तिका रूपमा केके पाण्डेलगायत समाजका स्थापित व्यक्तिहरूलाई गोष्ठीमा आमन्त्रण गरेका थियौँ । १० माघ ०४३ मा गाउँलेसमेतको सहभागितामा गरिएको त्यस भेलामा सयौँको उपस्थिति थियो । कार्यक्रमको एउटै सन्देश थियो, ‘जसका लागि काम गर्ने हो, उसको पहुँचमा कार्यक्रम पुग्दा त्यसले परिणाम पनि सकारात्मक दिन्छ ।’ 

 

मीठाराम सापकोटा, रवीन्द्र पण्डित, चक्रबहादुर नगरकोटी, प्रा ऋषिराम पोखरेल, चक्रबहादुर ठकुरीलगायत त्यस क्षेत्रका जनप्रतिनिधिसहित करिब ३३ जना व्यक्तिका विचार र त्यस कार्यक्रमको सार समेटेर पछि हामीले पुस्तकको रूप दियौँ । अचम्म लाग्छ, त्यो कार्यक्रम र पुस्तक प्रकाशित गर्दा समेत हाम्रो जम्मा खर्च एक हजार रुपियाँ भएको थियो । यति सानो रकममा ६ गाउँका जनता जम्मा पारेर गोष्ठी/भेला सम्पन्न गर्न सकिन्छ भने त्यत्रो रकम खर्च गरेर तारे होटलमै कार्यक्रम गर्नुपर्ने के छ र ? सानै प्रयासले यस्तो काम गर्न सकेकामा म आफूलाई धन्य सम्झन्छु । र, यस्तो सोच र कार्यक्रम गर्न प्रोत्साहन र हौसला प्रदान गर्ने प्रा खनालजस्ता व्यक्तित्वलाई सदा सम्झिरहन्छु ।

प्रस्तुति: ईश्वरी ज्ञवाली

प्रकाशित: फाल्गुन २३, २०७४