युट्युब लाइभमा अटो क्याप्सन

- नेपाल संवाददाता

युट्युबमा लाइभ भिडियोका लागि अटो क्याप्सन फिचर थपिएको छ । तर, हालका लागि अटो क्याप्सन अंग्रेजी भाषाका लागि मात्रै उपलब्ध हुनेछ । सम्भवत : पछि यो फिचर अन्य भाषाका लागि पनि उपलब्ध हुनेछ । 

केही वर्षयता गुगलले स्पिच रिकग्निसन टेक्नोलोजीमा गरेको प्रगतिका कारण यो लाइभ भिडियोमा अटो क्याप्सन फिचर थप्न सम्भव भएको हो । तर, क्याप्सनमा कैयौँ त्रुटि पनि भेटिन सक्छन् । यो फिचर प्रयोगसँगै ती त्रुटि पनि कम हुँदै जाने अनुमान छ । 

युट्युब लाइभमा थपिएको अर्को फिचर हो– भौगोलिक लोकेसनको ट्याग । भिडियो लाइभ स्ट्रिमिङ गर्नेले अब त्यो ठाउँलाई पनि ट्याग गर्न सक्नेछन्, जसले गर्दा अन्य प्रयोगकर्ताले ठाउँअनुसार पनि भिडियो सर्च गर्न सकून् । 

लाइभ भिडियोमा अबदेखि कमेन्ट पनि सेभ हुनेछन् । र, लाइभ सकिएपछि भिडियो हेर्दा पनि ती कमेन्ट भिडियोको त्यही बेला देखिनेछन्, जुन बेला कमेन्ट गरिएका थिए । अर्थात्, रियल टाइममा कमेन्ट देखिनेछन् । यसका अरु फाइदा होलान्, नहोलान्, लाइभ सकिएपछि पनि भिडियो हेर्नलाई अझै लाइभ नै हेरिराखेको अनुभूति पक्कै हुन्छ ।

 

प्रकाशित: फाल्गुन २३, २०७४