[अनुभूति] अन्धविश्वासमा विश्वास

- शार्दूल भट्टराई

म रुद्रको नयाँ घर हेर्न नयाँ बस्ती पुगेको थिएँ । पहिले धान, आलु र काउली फल्ने त्यो फाँटमा अहिले नयाँनयाँ घरहरू फलिरहेका छन् । विशेषगरी जोरपाटी, बौद्ध र गोठाटारका मानिसले लहलह धान झुलाउने फाँटका रूपमा चिनिँदै आएको त्यो ठाउँ नयाँ घरहरू बन्न थालेदेखि नयाँबस्तीको नामले चिनिन थालेको हो । त्यही नयाँ बस्तीमा बनेका र बन्दै गरेका नयाँ घरहरू हेर्दै म रुद्रको घरमा पुगेको थिएँ । 

गोठाटारमा रहेको पुरानो घरमा धेरै पहिले, पटक–पटक पुगे पनि रुद्रको नयाँ घरमा म पहिलो पटक गएको थिएँ । उनले फोनमा बताएअनुसार म उनको नयाँ घरमा पुगेको थिएँ । घरको गेटमा पुग्नेबित्तिकै सुनँे – भित्र कोही भट्याइरहेको छ । गेटमा रहेको घन्टी थिचेँ तर बजेन । मैले गेट ढ्याकढ्याक गरेँ । रुद्रका छोरा रविन आएर ढोका खोले । म बैठक कोठामा पुगेँ । 

चर्को स्वरमा भट्याउने व्यक्ति रुद्र नै रहेछन् । टाउकामा ढाका टोपी ढल्काएर उनी जोडले चिच्याइरहेका थिए । उनको एउटा हातमा बाट्याधूप बलिरहेको थियो भने अर्को हात पत्नी पवित्राको टाउकोमा थियो । मैले देखेँ, उनी पिनासको कथा पढेर पत्नी पवित्राको टाउको दुखेको निको पार्ने काममा लागेका रहेछन् । 

त्यो दृश्य देखेपछि मलाई कुबेलामा आएजस्तो लाग्यो । कल्पना नै नगरिएको परिस्थितिसँग साक्षात्कार गर्नुपर्दा अलिकति दिक्क पनि लाग्यो । 

काठमाडौँमा जन्मिएका र हुर्किएका व्यक्ति हुन् रुद्र । आफ्नो जन्मस्थान गोठाटारबाट पछि जोरपाटीको नयाँ बस्तीमा सरेका उनी पढेलेखेका मानिस हुन् । बीस–बाइस वर्षअगाडिसम्म गोठाटारका केही पढेलेखेका मानिसमध्येमा आफू पनि पर्ने दाबी गर्थे उनी । पछि उनीभन्दा बढी पढ्ने मानिस त्यहाँ धेरै भएपछि उनले त्यस्तो दाबी गर्न छाडेका थिए । 

मानविकी र कानुनमा स्नातक गरेका रुद्र आफूलाई निकै जान्नेसुन्ने, सभ्य, संस्कारयुक्त र आधुनिक पनि ठान्थे । लोकसेवा आयोगको परीक्षा पास गरेर खरिदार पदबाट सरकारी जागिरमा छिरेका उनी पछिल्लो पटक मैले भेट्दा शाखा अधिकृतसम्म भएका थिए । 

***

नेपाली कथा विधामा पहिलो छोटो कथाको विशेषता पाएको पिनासको कथाको लेखन एकै खालको छैन । विभिन्न व्यक्तिले भिन्नाभिन्नै ढंगले यो कथा लेखेका छन् । यसको निश्चित विषय र सीमा छैन भन्ने कुरा पनि विभिन्न खालका पिनासका कथालाई हेर्दा थाहा हुन्छ । 

यस कथाको प्रमुख चरित्रमा कसैले एकादेशका अनिरुद्र पाँडेको नाम उल्लेख गरेका छन् भने कसैले हस्तनापुर नगरका एक राजाको कुरा गरेका छन् । त्यस्तै कसैले कुनै एक देशका एक ब्राह्मणको कुरा गरेका छन् त कसैले अज्ञात ठाउँका अज्ञात व्यक्तिको कुरा । जसु चण्डालले खबर गरेर ब्राह्मणले राजाकी छोरीको पिनास निको पारेको कथा जोड्नेहरू पनि छन् । राजा, अनिरूद्र पाँडे, रातो पाँडे, जसु चण्डाल आदिलाई लिएर कथिएका कथालाई हेर्दा पिनासका कथाहरू कुनै लहडमा लेखिएझैँ लाग्छन् । 

सुरुमा पिनासको कथा जसरी आयो, अहिलेसम्म त्यस्तै रूप र शैलीमा छैन । यसको कथावस्तु, पात्र, स्थान र भाषामै पनि परिवर्तन भएको पाइन्छ ।

नेपालीमा पहिले यो गद्यमा थियो, पछि श्लोकमा आयो । पहिले अनिरूद्ध्र भन्ने पात्र थियो भने त्यो अनिरूद्र पाँडे हुँदै रातो पाँडेमा फेरिएको छ । पहिले हस्तनापुर वा कुनै एकादेशको कुरा गरिएको हुन्थ्यो भने पछि सुरपुर, पुरपुर हुँदै पाटनको कथा भन्न थालियो । त्यस्तै पहिले कुनै एउटा नदीमा स्नान गर्ने कुरा थियो । पछि वाणगंगाको नाम थपियो । हुँदाहुँदा पछि त तिनाउ खोला नै जोडिन पुगेको छ यो कथामा । 

यसरी यो कथामा धेरै कुरा बदलिए पनि यसलाई पढ्ने मानिसको मन भने बदलिएको देखिँदैन । यस कथाको रूप बदलिए पनि कथानक रुढिहरू भने बदलिएका छैनन् । यस कथाको भाषाशैली परिवर्तन भए पनि यसको वाचन गरेर पिनास निको पार्छु भन्ने मानिसको दिमाग बदलिएको छैन । जस्तै : रुद्र पुडासैनी । 

***

रुद्र पिनासको कथा कण्ठस्थै भएझैँ निरन्तर भट्याइरहेका थिए । उनी बेलाबेलामा अल्मलिएजस्तो पनि देखिन्थे । एउटा पंक्ति भन्नुपर्ने अर्कै पंक्ति भनिए जसरी एउटै पंक्तिलाई अगाडि–पछाडि दोहोर्‍याएर पनि भट्याइरहेका थिए । पिनासको कथा ठूलो स्वरमा, चिच्याएरै भन्नुपर्छ भन्ने लागेको रहेछ रुद्रलाई । त्यसैले उनी चर्कै स्वरमा भट्याइरहेका थिए : 

अनीरुद्र आगो जसू बाँण खोलो 

पिनाशलाई साढी दुहेलो दुहेलो 

नखान दही दूध रुघाखोकी माहाँ 

पिनाशले उसै सक्छ जोड गर्न काहाँ ।

वाचन सक्नेबित्तिकै मैले रुद्रलाई सोधेको थिएँ, ‘कसले लेखेको पिनासको कथा हो यो ?’

‘खोइ, त्यो त थाहा छैन ।’ उनले जवाफ दिए । 

‘शम्भुप्रसाद ढुंग्यालको हो ?’ मैले थप प्रश्न गरेँ ।

उनले अनकनाउँदै भने ‘उहिल्यै कण्ठ पारेको, कसको हो थाहा छैन ।’

‘नेपाली भाषामा यो शैलीमा पिनासको कथा लेख्ने त पतञ्जलि गजुरेल, शिखरनाथ सुवेदी र शम्भुप्रसाद ढुंग्याल त हुन् नि । यीबाहेक अरूको होइन होला ।’ मैले थपेँ । 

‘जोसुकैको होस्, कथा पढेर पिनास निको भए भैहाल्यो नि ।’ उनले अलि रुखो पारामा जवाफ दिए । 

नेपाली विषयमा स्नातकोत्तर तहको अध्ययन गर्दा मैले पनि प्राथमिककालीन नेपाली कथाको विकासक्रमका सन्दर्भमा पिनासको कथा पढेको थिएँ । तर, मलाई यो कुनै कथाजस्तै लागेन । यसमा कथाका आवश्यक तत्त्वहरू छँदा पनि छैनन् । तैपनि, किन हो यसलाई ‘कथा’ मानिएको छ । 

नेपालीमा पिनासको कथाका गद्य र पद्य दुवै शैली प्रचलित रहे पनि शिखरनाथ सुवेदीको कथा नै बढी प्रचलित देखिन्छ । उनले पद्यमा लेखेको पिनासको सानू कथा श्लोक भएर पनि होला, पिनासको कथाका वाचकहरू कण्ठै सुनाउने गर्छन् । 

***

श्रीमतीको टाउको समाएर पिनासको कथा पढिसकेपछि रुद्र ठूलै काम सम्पन्न भएको अनुभव गरिरहेका थिए । उनी मसँगै सोफामा बस्न आइपुगे । म केही बोलिरहेको थिइनँ । उनको घरपरिवारबारे केही सोधिरहेको पनि थिइनँ । उनले नै आफ्नो परिवारबारे बताउन थाले । अत्यन्तै ठूलो र महत्त्वपूर्ण समाचारको रूपमा उनले भने– ‘थाहा पाउनु भयो, मेरी छोरी रिमा त डाक्टर बन्ने भई नि !’

जुन व्यक्ति घरमा पिनासको कथा पढेर श्रीमतीको टाउको दुखाइ निको पार्ने काममा लागिरहेको छ, उही व्यक्ति छोरीलाई डाक्टरी पढाउँदै छ । यो कुरा मेरो दिमागले बुझ्न सकिरहेको थिएन । तैपनि, औपचारिकता पूरा गर्दै मैले भनेँ – ‘ए, राम्रो भएछ ।’ 

‘तर पैसाचाहिँ भसक्कै लाग्ने भयो । साठी लाख नै पुग्लाजस्तो छ ।’ उनी दु:ख व्यक्त गरेझैँ गरी बोले । 

बोल्न मन नलागे पनि मैले फेरि पनि औपचारिकता पूरा गरेँ –‘अँ, मेडिकल साइन्स पढ्ने कुरा अलि महँगै पर्छ क्यार ।’

‘हुन त केचाहिँ महँगो छैन र अहिले ? बाँच्नै गाह्रो भैसक्यो । यो बहुदल र गणतन्त्रको उपहार नै बनेको छ नि महँगी त !’ उनी बडो गर्वका साथ बोले । 

देशको महत्त्वपूर्ण राजनीतिक परिवतर्नको उपहास गर्ने उनको भ्रष्ट अभिव्यक्तिबाट मलाई झनक्कै रिस उठ्यो । म प्रतिवादका रूपमा केही बोल्ने प्रयत्न गर्दै थिएँ । तर, सकिनँ । उनको घरमा उनीसँगै के विवाद गर्नु भन्ने पनि लाग्यो । चुपचाप उनका कुरा सुनिरहेँ । उनी भन्दै थिए– ‘छोरालाई पनि डाक्टर नै बनाऊँ भनेको अलि सकिएन, इन्जिनियरचाहिँ हुने भयो । अहिले भर्खरै इन्जिनियरिङमा भर्ना भएको छ । सरकारी कलेजमा के पढाइ हुन्छ र, प्राइभेटमा पढाउँदा पन्ध्र–बीस लाख त उसलाई पनि लाग्ने नै भयो ।’

मलाई बोल्न अलि कठिन नै भएको थियो । तैपनि, फेरि पनि औपचारिकतावश बोलेँ ‘ए ! राम्रो भएछ ।’ 

मलाई कतिबेला त्यहाँबाट उठेर हिँडूँ भइरहेको थियो । रुद्रले ढाका टोपी फुकाले । उनको लामै टुप्पी रहेछ । म छटपटाउँदै उठ्न खोजेँ तर रुद्रले मलाई फेरि सोफामै थचारे । उनी आफ्नो लामो टुप्पी हातले सुमसुम्याउन थाले । 

‘तपाईं त परिवर्तन हुनु भएछ नि, रुद्रजी । किन, के पर्‍यो त्यस्तो ?’ मैले उनको लामो टुप्पीतिर हेर्दै सोधेँ । 

‘अँ, समय अनुसार चल्नै पर्‍यो नि ।’ उनले सामान्य पारामै उत्तर दिए । 

‘टुप्पी पनि पाल्न थाल्नुभएछ । यो त समय अनुसारको कुरा होइन होला ।’ मैले थपेँ ।

‘अँ, टुप्पी पाल्न थालेँ । टुप्पी पाल्दा मस्तिष्कको सन्तुलन राम्रो हुने लाग्यो । एकजना बाबाले नै टुप्पी पाल्नोस्,तपाईंलाई राम्रो हुन्छ भनेका थिए । नभन्दै टुप्पी पाल्न थालेदेखि सबै कुरा राम्रो हुँदैछ ।’ उनले उत्तर दिए । उनलाई टुप्पी पाल्न पाएकोमा गर्वबोध भइरहेको रहेछ । टुप्पी पाल्न थालेदेखि नै उनी धनधान्य भएका रहेछन् । पहिले, विद्यार्थीकालमा अखिलको आन्दोलनमा लाग्ने क्रममा टुप्पी काटेर ठूलो गल्ती गरेको महसुस उनलाई भइरहेको रहेछ । 

आफन्त, चिनेजानेका मानिस, साथीभाइ, छरछिमेक हरेकलाई आफ्नो घर देखाउने र त्यही घरकै बलमा आफ्नो मान–प्रतिष्ठा बढाउने काममा उनी लागेका रहेछन् । उनले मलाई पनि आफ्नो नयाँ घरको चोटाकोठा देखाए । अढाईतले घरका कोठा, बाथरुम, भान्छा, पूजाकोठा सबैतिर घुमाए । पढ्नु छ पिनासको कथा, बस्नु छ यस्तो घरमा π’ मैले मनमनै सोचेँ – ‘हुन त पैसा हुने र नैतिक–अनैतिक जेजसरी भए पनि पैसा कमाउन चाहनेहरूको के कुरा गर्नु र π रुढि र अन्धविश्वास पनि मानेकै छ । अत्याधुनिक घरमा पनि बसेकै छ । पुरानो सोच बोकेर आधुनिक शैलीमा भ्रष्ट काम पनि गरेकै छ ।’

चाकडी र चाप्लुसीमा कहलिएका रुद्र जागिरमा पनि राम्रै प्रगति गर्नेमा गनिँदा रहेछन् । उहिले हुलाकको खरिदारबाट जागिर सुरु गरेका उनले कार्यालय परिवर्तन गर्दै भन्सारदेखि संसारसम्मै भ्याइसकेका रहेछन् । उनका धाकधक्कुका कुरा सुन्दासुन्दा मेरो पनि टाउको दुख्न थालिसकेको थियो । 

‘अहिले जागिर कहाँ छ त, रुद्रजी ?’ मैले जिज्ञासा राखेँ । 

‘अहिलेको ठाउँ त्यति राम्रो छैन भन्या ।’ निराशाजनक पारामा उनले भने ।

‘तैपनि कुन मन्त्रालयमा छ भनेर सोधेको ।’ मैले आफ्नो जिज्ञासा पूरा गर्ने उद्देश्यका साथ भनेँ ।

‘त्यही क्या, विज्ञान–प्रविधि भन्ने छ नि....!’ उनले बोल्नै गाह्रो मानेझैँ गरी उत्तर दिए । उनको कुरा सुनेपछि मलाई त्यहाँ अरू समय बस्न मन लागेन । म रुद्रको नवनिर्मित भव्य घरबाट बाहिरिएँ । 

गेटसम्म पुर्‍याउन आएका रुद्रले मलाई बिदा गर्दै भने – ‘ल त भट्टराईजी, आउँदै गर्नोस् न है ।’

गेटबाट बाहिर निस्किँदै मैले भनेँ – ‘खोइ के हुन्छ, पछिको कुरा पछि नै विचार गरौँला ।’

उनको घरबाट निस्किएदेखि नै मलाई एउटा प्रश्नले घोचिरह्यो । लामो न लामो टुप्पी पालेर घरमा पिनासको कथा पढ्ने रुद्र पुडासैनीले अफिसमा विज्ञान र प्रविधिको बारेमा के काम गर्लान् ? 

प्रकाशित: फाल्गुन २३, २०७४