[तथ्य/टिप्पणी] मण्डले महिमा

  • बिस्तारै हराउँदै गएको 'मण्डले' शब्दले १८ असोज ०५९ पछि फेरि पुराना पञ्चहरू शासनमा एकलौटी ढंगले उदाउन थालेपछि राजनीतिक वृत्तमा फेरि भाउ पायो ।

- हरिबहादुर थापा

अचेल यो शब्द कतै सुनिँदैन । नत्र कुनै बेला राजनीतिक वृत्त र समाजका निम्ति त्रासदी–सूचक शब्द थियो, ‘मण्डले’ । राजनीतिमा संलग्नदेखि चासो राख्नेहरूसम्मका मुखमा अल्झिएको थियो यो शब्द । कहीँ–कतै बदमासी र गुण्डागर्दी भएछ भने ‘मण्डले’ कै काम हुनुपर्छ भनिन्थ्यो । तीसको दशकपछि कलेजका भित्ता सधँैभरि रंगिएका हुन्थे, मण्डलेबिरुद्धका शब्दले । कलेज–विद्यालय या समाजमा नाजायज चुरीफुरी देखाउने युवा मण्डलेको सूचीमा दर्ज हुन्थे ।

 

त्यही कारण, यो शब्दले प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा समेत ठाउँ पायो । जहाँ ‘मण्डले’ शब्दलाई अथ्र्याइएको छ, ‘छुल्याहा, बदनामी कमाएको, अरूको अहित चिताउने, उपद्रवी ।’ अर्थात्, उक्त कालखण्डमा सत्ताइतरका निम्ति भय, त्रास र आतंकको पर्याय मानिन्थ्यो, ‘मण्डले’ ।

 

खासमा त्यो विद्यार्थी संगठनको नाम थियो, पञ्चायती व्यवस्था समर्थित । नेपाली कांग्रेसको ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ), कम्युनिस्टका अनेक फुर्का जोडिएका ‘ अखिल’ भनिएझैँ पञ्चायती शासन समर्थित विद्यार्थी संगठन थियो, ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल ।’ कांग्रेस समर्थित नेविसंघ स्थापनाको छ महिनापछि खुलेको थियो, यो संगठन । 

 

मण्डललाई स्थापना गर्नेदेखि अघि बढाउने पात्र हुन्, पदम ठकुराठी । यद्यपि यो नाम उनले जुराएका होइनन् । उनले त ‘नेपाल विद्यार्थी संगठन’ राख्न चाहेका थिए । उनले जुराएको नाम राजा महेन्द्रका निम्ति जचेन । उनैले नामाकरण गरिदिए, ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ । कलेज–विद्यालय तहमै कांग्रेस, कम्युनिस्टविरुद्ध माहौल सिर्जना गर्ने र खाँटी पञ्चहरू निर्माण गर्ने योजनाअनुरुप खुलेको थियो यो संगठन । दरबारकै आड–भरोसा र आर्शीवादमा खुलेकाले यसमा संलग्नहरू तुजुक र उन्मादले उन्मक्त हुनु स्वाभाविक थियो ।

 

ठकुराठीले राजनीतिक सुझबुझ र संस्कार बसाउन चाहेका थिए । तर, पञ्चायती शासकहरूले यसलाई इतर विचारवाला सिध्याउने औजारमा रुपान्तरित गरे । यससँगै विद्यार्थी मण्डलको चल्तीको नाम बन्न पुग्यो– ‘मण्डले’ । अनुदारवादी र उपद्र्याहा पञ्च उत्पादन गर्ने केन्द्र बन्न पुग्यो त्यो । ठकुराठी, त्यही संगठन खुलाएको पृष्ठभूमिमा युवा उमेरमै राष्ट्रिय पञ्चायत सदस्य बन्न पुगे ।

त्यही मण्डलकै उत्पादन हुन्, राजनीतिका खेलाडी कमल थापा । हेटौंडामा विद्यालय तहमै छँदा राष्ट्रवादी मण्डल खुलाउँदै अध्यक्ष बनेका थिए उनी । पञ्चायती व्यवस्थाका हस्ती निरन्जन थापा र दीपक बोहरा पनि मण्डलबाट उँभो लागेका हुन् । विसं २०३५–०३६ को विद्यार्थी आन्दोलन दबाउन मण्डल समर्थित विद्यार्थीहरूले कलेजमा उपद्रो मच्चाए । नेविसंघ र अखिलका विद्यार्थीहरूमाथि क्रूर आक्रमणमा उत्रिएपछि राम्रै ‘कुख्याति’ मात्र कमाएन कि त्रासदी सूचकमा पनि परिणत भयो यो संगठन ।

 

इतर विचारवाला मात्र नभई राष्ट्रवादी विद्यार्थी मण्डलको क्रियाकलापबाट पञ्चायतकालीन मन्त्रीहरूसमेत प्रताडित हुन्थे । जनमत संग्रहपूर्व आन्दोलनका बेला गृहमन्त्री थिए, कवि केदारमान व्यथित । आन्दोलन दबाउन पर्याप्त भूमिका खेल्न नसकेपछि उनलाई ‘नपुंसक गृहमन्त्री’ को दर्जा दिए, तिनै मण्डलआवद्ध विद्यार्थीहरूले । व्यथितकै शब्दमा, ‘राष्ट्रवादी विद्यार्थी मण्डलले नाजी तरिकाले काम गर्दैथियो । जे कुरामा पनि बलजफ्ती हस्तक्षेप गर्ने उनीहरूको चरित्र सरकारका लागि समस्या बनेको थियो ।’ (देशान्तर साप्ताहिक ०४२ चैत १०)

 

जनमत संग्रहपूर्व आन्दोलनकारीको प्रमुख मागमध्ये थिए, राष्ट्रवादी विद्यार्थी मण्डल र ‘गाउँ फर्क’को खारेजी । कुख्यातिकै पृष्ठभूमिमा ०३६ मा दुवै वैधानिक तवरमै खारेज भए । तर, समाजले खारेज गरेन । छुल्याहा पञ्चहरूलाई ‘मण्डले’ नामाकरण गरिरह्यो ।

 

०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा मकवानपुर जिल्लाभर ‘ मण्डलेबाट होसियार’ कविता पर्चाको रूपमा वितरित भयो । जसका रचयिता थिए, रुपचन्द्र विष्ट, जो कमल थापासँग चुनावी प्रतिस्पर्धामा थिए । कविताका शब्द थिए, ‘पापीलाई लाभले, लोभीलाई आशले, डराउनेलाई त्रासले र मूर्खलाई भ्रमले । अधीन गरेर, संगठन गरेर, अपराध गर्न छुट पाएका मुलुकमारा–गरिबमारा मण्डले ।’

 

त्यही कविता छ महिनापछि ०४३ असोजमा विमर्श साप्ताहिकमा छापियो । कमल थापाले कवितासँग बदला लिने मौका चुकाउन बाँकी राखेनन् । त्यसपछि पञ्चायती शासकहरूले पत्रिकाका बूढा सम्पादक केशवराज पिँडाली र विष्ट दुवैलाई जेल कोचियो । दसैँ मनाइरहेकै बखत ७१ वर्षीय सम्पादक पिँडाली र विष्ट ‘राजद्रोही सिदा’ खाँदै सात महिना चिसो छिँडीमा बिताउन वाध्य भए ।

उता, अनुदारवादी मण्डलेहरूकै सिकार हुन पुगे, स्वयं पदम ठकुराठी । पञ्चायतभित्रकै अनुदारवादीहरूको योजनामा उनीमाथि गोली हानियो, ०४३ भदौमा । लामो उपचारपछि एउटा आँखा गुमाउँदै गहिरो दागसहित ‘मण्डले’ लाई विस्मृतिमा राख्दै जीवन बिताइरहेका छन् उनी ।

 

निरन्जन थापाको खुब प्रिय शब्द थियो, ‘मण्डले’ । उनी त्यसको संस्थापक केन्द्रीय सदस्यदेखि सभापतिसम्म भए । जनमत संग्रहताका विद्यार्थी आन्दोलन दबाउने हर्ताकर्ता यिनै थिए । त्यसैबाट राजनीतिक हैसियत बढाउँदै ०३८ मा राष्ट्रिय पञ्चायतमा मनोनीत भए । ०४३ मा रुपन्देहीबाट चुनाव पनि जिते । त्यसपछि गृह राज्यमन्त्री बन्दै ०४६ को जनआन्दोलन दबाउने हर्ताकर्ता भए । विद्यार्थी मण्डल पृष्ठभूमिकै कारण दीपक बोहराले अधिक राजनीतिक लाभ उठाए ।

 

‘मण्डले’ शब्दकै कारण पञ्चायतकालभरि खेलकुद परिषद् शंकास्पद थलो बनिरह्यो । खेलाडीलाई राजनीतिक अस्त्र बनाई इतर शक्ति दबाउन प्रयोग गरिएकाले समाजमा उनीहरूप्रति नकारात्मक धारणा गढिरह्यो ।

पञ्चायतविरोधीका मनमा धेरैजसो खेलाडी ‘मण्डले’ हुन् भनी बास गरेको थियो । खेलकुद र राजनीतिको कुनै सम्बन्ध नहुनुपर्ने हो । तर, परिषद्का सदस्य–सचिव शरदचन्द्र शाह र कमल थापाले खेलाडीलाई औजार बनाउँदै पञ्चायतविरोधी सिध्याउन उपयोग गरिरहे । ०४६ को आन्दोलनताका खेलाडीहरू आन्दोलनकारीविरुद्ध खुला रुपमा उतारिएको थियो । त्यसैको बदला लिँदै आन्दोलनकारीहरूले खेलकुद परिषद्का सदस्य–सचिव शाहको डिल्लीबजारस्थित निवासमा तोडफोड गरेका थिए ।

 

०४६ मा आन्दोलनकारीहरूले चार ‘महामण्डले’ नामाकरण गरी पर्चा–पम्लेट छरेका थिए । ती ‘महामण्डले’ हरू थिए, मरिचमानसिंह श्रेष्ठ, नवराज सुवेदी, कमल थापा र निरन्जन थापा । जतिबेला श्रेष्ठ प्रधानमन्त्री, सुवेदी राष्ट्रिय पञ्चायत र पञ्चायत तथा जाँचबुझ समितिका अध्यक्ष, कमल थापा सञ्चार राज्यमन्त्री र निरन्जन थापा गृह राज्यमन्त्री थिए ।

 

फरक विचार सुन्न या ग्रहण गर्न नसक्ने र आक्रामक रुपमा प्रस्तुत हुनेलाई पञ्चायतकालमा भन्ने गरिन्थ्यो– ‘कस्तो मण्डले चरित्र’ को रहेछ । पञ्चहरू स्वयं पनि एकले अर्काेलाई ‘मण्डलेकरण’ गरेको अभियोग लगाउँथे । अनुदारवादी पञ्च चिनाउनु परे ‘मण्डले’ शब्द प्रयोग गर्थेे ।

 

पञ्चायतकालीन पत्रकारितामा यो शब्द निकै खेलाउनेमध्ये पर्थे, पत्रकार हरिहर विरही । उनकै भाषामा, ‘सत्ताविरुद्ध बोल्न नदिने र बोल्नेविरुद्ध हिंसात्मक शैलीको कारवाही उत्रनेविरुद्ध मण्डले प्रयोग गरिन्थ्यो । पञ्चायती सत्ताबाट संरक्षण र सुविधा लिई इतर पक्षलाई दमन गर्न उत्रने उद्दण्डहरूको समूहलाई बुझ्ने प्रतीकको रुपमा यो शब्द प्रयोग गरिएको हो ।’

 

‘मण्डले’ शब्दले १० वैशाख ०४७ मा विभत्स रुप धारण गर्‍यो । प्रजातन्त्र बहालीको साता नाघ्दैथियो, आममानिसमा ‘ प्रजातन्त्र’ खोसिन्छ भन्ने त्रास पनि सँगै थियो । दरबारिया र अनुदारवादी पञ्चहरूद्वारा ‘बहुदल’ विरुद्ध प्रति–क्रान्तिको आशंका व्याप्त थियो । त्यस दिन टेकुमा शंकास्पद शैलीमा एउटा गाडी देखापर्‍यो । जसमा ड्रेससहित र सादा पोशाकमा पुलिस थिए । त्यो गाडी भीडको घेराभित्र पर्‍यो । एकाएक यिनीहरू ‘भिजिलान्ते मण्डले’हरू हुन् भन्दै भीडले आक्रोश पोख्न थाल्यो । गाडीमा सवारमध्ये छ प्रहरीहरूलाई कुटी–कुटी त्यहीँ हत्या गरियो । तिनको शव र घाइतेलाई गाडामा राखेर काठमाडौँ घुमाइएको थियो । एक जनालाई कालीमाटीको महेन्द्र शालिकमा बाँधेर राखियो, मण्डलेको अभियोगमा । भीडले विवेक गुमाएको त्यो बेला सुरक्षा संयन्त्र पनि मूकदर्शक बनिरह्यो । 

 

प्रजातन्त्र बहालीपछि कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइरालाले फेरि यो शब्दलाई ब्युँताए । ०४७ असारताका उनले भनेको ‘ माले, मशाले–मसाले, मण्डले एकै हुन्’ भन्ने वाक्य बहुचर्चित बन्यो । ‘माले’ ०४७ पुसमा माक्र्सवादीसँग एकता गर्दै एमालेमा रुपान्तरित भयो भने ‘मशाल’ एकता केन्द्र हुँदा माओवादी बन्यो । त्यतिखेर मशाल पनि मोटो ‘श’ र पातलो ‘स’मा विभक्त थिए । पातलो ‘मसाल’का नेता मोहनविक्रम सिंहले चलाइरहेका थिए । पुराना पञ्चहरूका निम्ति ‘मण्डले’ शब्द काफी थियो । त्यही कालखण्डमा कोइरालाले आफूलाई ‘म’ विरोधी राजनीतिक पहिचान बनाए । ‘घोर’ कम्युनिस्ट विरोधी पात्रका रुपमा चिनिन्थे मण्डले ।

 

०४८ मा जब कोइराला प्रधानमन्त्री भए, तब कम्युनिस्टहरूले ‘मण्डले’ शब्दलाई जीवन दिए । एमालेको उक्साहटमा कर्मचारी आन्दोलन चलिरहँदा कांग्रेस समर्थित नेविसंघको शक्ति प्रदर्शनमा उत्रियो, ‘आधा तलब खान्छाँै, हामी देश चलाउँछौँ ।’ त्यसपछि कम्युनिस्ट विद्यार्थीले नेविसंघलाई ‘ मण्डले’ को संज्ञा दिए ।

 

बिस्तारै हराउँदै गएको यो शब्दले १८ असोज ०५९ पछि फेरि पुराना पञ्चहरू शासनमा एकलौटी ढंगले उदाउन थालेपछि राजनीतिक वृत्तमा फेरि भाउ पायो । राजतन्त्रको समाप्तिसँगै औपचारिक रुपमा यो शब्दको पनि अवसान भयो ।

 

तर, राजनीतिक वृत्त र समाजमा ‘मण्डले–प्रवृत्ति’ भने अन्तर–कुन्तरमा अझै जीवित छ । शासकहरूबाट फाइदा लुट्नेहरू तथ्यगत आलोचकलाई त्यसरी नै खेदिरहेका छन्, जसरी पञ्चायतकालमा खेदिन्थ्यो । खासमा नव–मण्डलेहरूका निम्ति नाम ‘क्वाइन’ मात्र नभएको हो । रुप–शैली मात्र फेरिएको हो, प्रवृत्ति यथावत् छ । 

प्रकाशित: फाल्गुन २२, २०७४