दूरदर्शी डाक्टर

- छुल्याहा गुरु

काठमाडौँको एउटा ‘दामी’ अस्पतालका डाक्टरहरुले बिरामीको दायाँ घुँडाको अपरेशन गर्दा बबाल मच्चाइयो । हो, अस्पताल पुर्‍याउँदा बिरामीको बायाँ घँुडामा समस्या थियो । तर, खासमा दूरदर्शी परेछन् डाक्टरसाब । भविष्यको विचार गरेरै उनीहरुले यसो गरेका हुन सक्छन्, कुनै गल्तीले होइन । पाइलैपिच्छे खाल्डाखुल्डी, मान्छे खस्ने भ्वाङ, हिलोमैलोसहितका सडक भएको काठमाडौँजस्तो सहरमा कुनै पनि बेला कतै दुर्घटना हुन सक्छ । फितलो ट्राफिक नियमका कारण कुनै पनि बेला तपाईंलाई तीव्र गतिमा हुइँकिएको बाइक वा गाडीले हान्न सक्छ । तपाईंको खुट्टा भाँचिन सक्छ । जानिफकारहरु भन्छन्, रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस । खुट्टा भाचिनुभन्दा पहिल्यै उपचार गरेर खुट्टा दरिलो बनाइराख्दा झन् राम्रो हो । यस्ता दूरदर्शी डाक्टरहरुलाई सम्मान नगरी किन क्षतिपूर्ति भराएका होलान् बिरामीका आफन्तले ?

प्रकाशित: फाल्गुन २२, २०७४