कति खाँचो नयाँ शक्तिको ?

  • चुनावी पराजयको समीक्षामै दुईवटा बृहत् बैठक

- माधव बस्नेत

जितेकाहरू ढुक्क हुन्छन्, हारेकाहरूलाई पीडा र हतारो बढी हुन्छ । यही कथनलाई पुष्टि गर्छ, बाबुराम भट्टराईको धपेडीले । ९–१२ फागुनमा आयोजित नयाँ शक्ति पार्टी नेपाल संघीय परिषद्को लुम्बिनी बैठक त्यसकै दृष्टान्त थियो ।

नयाँ शक्तिका ५ सय ८६ सदस्यको त्यो चौथो विस्तारित बैठकअघि १८–२० पुसमा त्यस्तै प्रकृतिको अर्को बैठक भइसकेको थियो । कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङ होमस्टेमा आयोजित महाधिवेशन आयोजक समिति बैठक पनि संघ, प्रदेश चुनावकै पराजयको समीक्षामा केन्द्रित रह्यो ।

ठूला दलहरूलाई चुनावी समीक्षामा घोत्लिने समय छैन, भट्टराईले भने दुई–दुईवटा बृहत् बैठक भ्याइसके । नयाँ शक्तिले संघीय संसद्मा प्रत्यक्षबाट एक र प्रदेश सभामा प्रत्यक्षबाट दुई तथा समानुपातिकबाट एक गरी चार सिट जितेको छ । जबकि, संघीय संसद्मा प्रत्यक्षतर्फ ८० र प्रदेश सभामा १ सय ६८ सिटमा जीत हासिल गरेको एमाले तथा केन्द्रीय संसद्मा २३ सिट प्रत्यक्ष र झन्डै सय सिट प्रदेशसभामा विजय हासिल गरेको नेपाली कांग्रेसले अझै पनि निर्वाचनको समीक्षा बैठक राम्ररी गरेका छैनन् । तर, राष्ट्रिय पार्टीसमेत बन्न नसकेको शक्तिले चाहिँ हतार–हतार किन राष्ट्रिय स्तरका भेला गरिरहेको छ त ? 

“निर्वाचनमा नमीठो पराजय भोगेपछि भट्टराईजी हतोत्साहित हुनुहुन्छ,” नयाँ शक्तिबाट माओवादी केन्द्रमा फर्किएका सांसद देवेन्द्र पौडेल भन्छन्, “हतप्रभ मनस्थितिलाई रूपान्तरण गर्न यस्ता कार्यक्रम गरेको हुनुपर्छ ।” ल्वाङ बैठकलाई नयाँ शक्ति पार्टीले ‘डाइग्नोसिस’ (रोग पत्ता लगाउने) र लुम्बिनी बैठकलाई ‘अप्रेसन’ (चिरफार/उपचार)को नाम दिएको थियो ।  

लुम्बिनी बैठकमा त रोचकै भयो । अरू बेला माक्र्स, लेनिन, माओका ‘कोटेसन’ भट्टयाउने भट्टराई यसपटक बुद्धवाणी सम्झिरहेका थिए । बुद्धको भनाइबाटै बैठक आरम्भ गरे र समापन पनि । बैठकमा सहभागीलाई लुम्बिनी संकल्प ०७४ को सपथ खुवाउँदै भट्टराईले भने, ‘आजभन्दा २५ सय वर्षअगाडि गौतम बुद्धले भन्नुभएको थियो– दु:ख छ । दु:खको कारण छ । दु:खको निवारण छ । ज्ञान, शील र समाधिको अष्टमार्गबाट दुखको निवारण गर्न सकिन्छ ।’ अनि थपे, ‘देशमा समस्या छ । समस्याको कारण छ । समस्याको निवारण छ । नयाँ शक्तिका ‘पाँच स’को मार्गबाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ।’ 

खासमा पार्टी स्थापनायता स्थानीय हुँदै प्रदेशसभा र संघीय संसद्को निर्वाचनसम्म आइपुग्दा जुन बाटो अख्तियार गरिएको थियो, त्यो असफल भयो भन्ने निष्कर्षमा पुगेर नयाँ गन्तव्य तय गर्न भट्टराईले ल्वाङ र लुम्बिनीमा बैठक गरेको बुझ्न कठिन छैन । अर्थमन्त्री र प्रधानमन्त्री हुँदा गरेका कामले बनेको व्यक्तित्व, अन्तर्राष्ट्रिय छवि, योजना बनाउन सक्ने नेताको पहिचान आदि कारण एक्लै अघि बढे पनि आफू नेतृत्वको संगठन राष्ट्रिय पार्टी बन्छ भन्ने भट्टराईको आकलन थियो । तर, निर्वाचनसम्म आइपुग्दा उनको त्यो बुझाइले काम गरेको देखिएन । र, नै भट्टराई नयाँ योजना अघि सार्न छट्पटिएका हुन् ।

भट्टराई निकटस्थ नेता गंगा श्रेष्ठका अनुसार चुनावपछिको नयाँ परिस्थिति आकलन गर्दै संगठन निर्माणमा नयाँ प्रयोग गर्न लुम्बिनी बैठक गरिएको हो । “बैठकले भिजन पाँच र मिसन पाँच नामक सांगठनिक पुनर्गठन प्रस्ताव पारित गरेको छ,” उनी भन्छन् “बैठकबाट हामीले विगतमा केही गल्ती भए भनेर स्वीकार गरेका छौँ । तर, गल्तीको समीक्षा गरी नयाँ योजना र उद्देश्यसहित अघि बढ्ने निर्णय गर्नुलाई हतोत्साहित भएर यस्ता कार्यक्रम गरेको भनेर अर्थ लगाउनु भएन ।”

भट्टराईलाई माओवादी केन्द्रका नेताहरूले निरन्तर अस्वीकृत गर्दै आए । आफ्नो क्षमताको पूर्ण प्रयोग माओवादीको संरचनामा हुन नसक्ने ठहर गर्दै उनी असोज ०७२ मा पार्टीबाट बाहिरिए । त्यसअघिसम्म संगठन प्रचण्डले हाँके पनि माओवादी भट्टराईकै वैचारिक मार्गमा डोरिएको थियो । उनकै ‘रोडम्याप’ अनुसार माओवादीको ‘सेफ ल्यान्डिङ’ भएको थियो । तर, नयाँ पार्टीको प्रभाव विस्तार सोचेअनुरूप बिल्कुलै हुन सकेन । 

आन्तरिक भन्दा बाह्य पक्ष प्रभावी भएकाले सोचेको स्तरमा पार्टी विस्तार हुन नसकेको पार्टीका 

नेताहरूको बुझाइ छ ।  

पार्टी निर्माणको दुईवर्षे कार्यतालिका असफल भएको निष्कर्षमा पुगेरै भट्टराईले अर्को निर्वाचनसम्मलाई लक्षित गरी पाँचवर्षे योजना अघि सारेका छन् । पाँच वर्षमध्ये पहिलो दुई वर्ष पार्टीलाई मजबुत बनाउन संगठन सुदृढ गर्ने, ७ सय ५३ वटै स्थानीय तहसम्म पुग्ने/कमिटी निर्माण गर्ने, महाधिवेशन गरी नयाँ नेतृत्व छनोट गर्ने, पार्टीको नाम बदल्ने, जतिसक्दो धेरै युवालाई पार्टी संगठनभित्र भित्र्याउने उसको योजना छ । 

त्यसपछिका दुई वर्षमा वैकल्पिक भनिने शक्तिहरूसँग कार्यगत, पार्टीगत एकता गर्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा ठूलठूला आन्दोलन उठाउने र अन्तिम एक वर्ष अर्को निर्वाचनको तयारीमा घनीभूत रूपमा जुट्ने संकल्प लुम्बिनीको बैठकले पारित गरेको छ । साथै, पार्टीमा ‘टल फिगर’भन्दा जतिसुकै बेला परिचालित हुन तयार युवा शक्तिलाई समेट्ने र उनीहरूलाई विश्वास गर्ने नीति पनि अघि सारेको छ । रामेश्वर खनाल, रामचन्द्र झा, देवेन्द्र पौडेल, गणेश राईलगायत ‘टल फिगर’ले धोका दिएको निष्कर्षका साथ नयाँ शक्तिले युवालाई समेट्ने नीति अघि सारेको हो । “अब हामीलाई टल फिगरसँग धेरै विश्वास छैन । त्यही भएरै लुम्बिनी बैठकबाट ४० वर्षमुनिका ५३ प्रतिशत युवा केन्द्रीय समितिमा आएका छन्,” नेता डम्बर खतिवडा भन्छन् “लुम्बिनी बैठकअघि केन्द्रीय समितिमा ४० वर्षमुनिका युवा २५ प्रतिशत मात्र थिए ।”

पाँच वर्षपछि पनि यही अवस्था कायम रहे के होला त भट्टराई नेतृत्वको पार्टी ? नेता खतिवडाका शब्दमा जनताले बहिष्कार गरिरहे भने त्यही संगठनलाई कुरेर बसिरहनुपर्छ भन्ने छैन । यसर्थ यसपछि उनीहरू पार्टी विघटन गर्न पनि तयार हुनेछन् । “अहिले हामीलाई मत नदिएका जनताले समेत तिमीहरू चाहिँदैन भनेका छैनन् । तिमीहरू ठीक छौ, सशक्त वैकल्पिक शक्तिका रूपमा आएका छौ । तर, पत्याइहाल्ने बेलाचाहिँ भएको छैन । हामीले कसीमा राखेका छौँ है भनेका छन्,’ खतिवडा भन्छन्, “त्यसैले हामी अर्को चुनावसम्म हेर्छौं ।”

भट्टराईको पाँचवर्षे योजनामा एकपछि अर्को चुनौती थपिरहेका छन् । भट्टराईले जुन खाली ठाउँ देखेर वैकल्पिक शक्ति निर्माण गर्ने कदम चालेका थिए, त्यहाँ विवेकशील साझा पार्टीको पनि उदय भएको छ । 

बेला–बेलामा भट्टराईले चाल्ने कदमले पनि माओवादी केन्द्रको आरोपलाई अझै मजबुत बनाइरहेको छ । स्थानीय निर्वाचनदेखि संघीय संसद्को निर्वाचनसम्म आइपुग्दा भट्टराईले चारवटा पार्टीसँग तालमेल गर्न पुगे । यही कारण पनि आफ्नो पक्षमा जनलहर घटेको निष्कर्षमा पुगेका छन् पछिल्ला दिनमा । माओवादी नेता पौडेलका शब्दमा केही न केही तुरूप फालेर चर्चामा आइरहने बाबुराम भट्टराईको स्वभाव छ । 

के त्यसो भए भट्टराईले दोस्रो योजना पनि जोखिमकै चालेका हुन् त ? कार्यकारी सदस्य श्रेष्ठ स्वीकार्छन्, “राजनीतिक योजना जहिले पनि जोखिममै हुन्छ । मुलुकलाई नयाँ विचार, नयाँ योजना दिन हामीले जोखिमकै यात्रा गरिरहेका छौँ । यस्तो यात्राको सुरूमा जो कोहीले आलोचना गर्छन् र अन्त्यमा मात्र समर्थन गर्छन् ।” 

नाम फेर्ने कसरत

भन्न त भनिन्छ, ‘नाममा के छ ?’ तर, नामले नै संसारमा हरेक वस्तुृलाई चिनाइरहेको हुन्छ । बाबुराम भट्टराई नेतृत्वको पार्टी पनि नयाँ शक्ति नेपालका नामले चिनिंदै आएको थियो । भट्टराईले नेपाल साप्ताहिकमै खाँचो नयाँ शक्तिको’ शीर्षकमा लामो आलेख लेखेर नयाँ बहस छेडेका थिए । (हेर्नुस्, २५ फागुन ०७०) 

त्यसको झन्डै डेढ वर्षपछि ९ असोज ०७२ मा उनले ३८ वर्षदेखि आबद्ध माओवादी पार्टी नै परित्याग गरिदिए । त्यसबेला भट्टराईले मुलुकमा अब नयाँ शक्तिको खाँचो रहेकाले त्यो निर्माण अभियानमा लाग्ने भनेका थिए । ३० जेठ ०७३ मा दशरथ रंगशालाबाट पार्टी घोषणा गर्दा उनले त्यसको नाम नै नयाँ शक्ति पार्टी नेपाल राखेका थिए । 

लुम्बिनी बैठकबाट पार्टीले आफ्नो नाम फेर्ने विषय सार्वजनिक गरेको छ । एक वर्षभित्र प्रथम राष्ट्रिय महाधिवेशन गरिसक्ने र त्यहीँबाट नाम परिवर्तन गर्ने निर्णय भएको डम्बर खतिवडा बताउँछन् । जुन नामले अहिलेसम्म त्यो पार्टी स्थापित भयो, त्यसलाई किन फेर्नुपर्‍यो त ? 

“स्थापनाको एउटा अवधिसम्म यो पार्टी नयाँ थियो, त्यसैले नयाँ शक्ति नाम राख्नु उचित नै थियो,” गंगा श्रेष्ठको कथन छ “स्थापनाको चार/पाँच वर्षसम्म पनि तिमीहरूको पार्टी नयाँ भइरहन्छ भनेर भोलि कसैले प्रश्न सोध्यो भने के जवाफ दिने ? त्यसैले महाधिवेशनसम्म पुग्दा पार्टीले बोकेको विचारधारालाई सही ढंगले विम्बित गर्ने गरी नाम परिवर्तन गर्न लागेका हौँ ।” 

नयाँ नाम के जुराउने ? कोही पनि टुंगोमा पुगिसकेका छैनन् । एक वर्षसम्म सर्वसाधारणका बीचमा र त्यसपछि महाधिवेशनको हलमा बहस गरेर नाम जुराउने नेताहरूको भनाइ छ । नवसमाजवादी पार्टी, समाजवादी एकता केन्द्र, नेपाल श्रमिक पार्टी, नेपाल विकल्प पार्टी जस्ता नाममा अहिले छलफल चलिरहेको छ । “अहिले छलफलमा रहेका तीन/चारवटा नाममध्ये कुनै एक राखिन्छ,” महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज परिमार्जन समितिका सदस्यसमेत रहेका खतिवडा भन्छन् “हामीले अन्य पार्टीभन्दा बढी प्रगतिशील, लोकतान्त्रिक र सुशासित धार निर्माण गरिरहेकाले नाम पनि त्यही सुहाउँदो हुनेछ ।”

 

प्रकाशित: फाल्गुन २१, २०७४