विश्वकप सपना

  • ‘सुपर सिक्स’ पहिलो लक्ष्य

- विनोद पाण्डे

नेपाली क्रिकेटको जिम्बावे यात्रा विश्वकप छनोटलाई हो । प्रतिस्पर्धी अन्य नौ राष्ट्र यही प्रतियोगितालाई टेक्दै एकदिवसीय विश्वकपमा पुग्ने दाउमा छन् । नेपालले अहिलेसम्म ५० ओभरको विश्वकप खेलेको छैन । त्यसैले एक पाइला मात्र नजिक रहेको अवस्थामा विश्वकपमा पुग्ने सपना देख्नु स्वाभाविक हो । सपना पूरा भएमा त्यो नेपाली क्रिकेटको मात्र नभई नेपाली खेलकुदकै सवैभन्दा ठूलो सफलता हुनेछ । 

महत्त्वाकांक्षा भए पनि व्यावहारिक हिसाबमा नेपाललाई विश्वकपमा पुग्न निकै कठिन छ । हालै अर्को अफ्रिकी भूमि नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा फाइनलमा पुग्दै नेपालको जिम्बावे यात्रा तय भएको हो । उपाधि भिडन्तमा युएईसँग नेपाल ७ रनले पछाडि परेको थियो । त्यसको मतलब जिम्बावेमा नेपाल १० राष्ट्र सहभागी प्रतियोगितामा सबैभन्दा तल्लो वरियता टोलीको रुपमा उत्रने छ । 

विश्वकप छनोटको फाइनलमा पुग्ने टोली अर्को वर्ष इंग्ल्यान्डमा हुने विश्वकपमा पुग्नेछन् । पहिलो पटक छनोटमा टेस्ट मान्यता टोली पनि प्रतिस्पर्धा गर्दैछन् । यसअघिका विश्वकपमा टेस्ट खेल्ने १० राष्ट्र विश्वकपका लागि सोझै छनोट हुन्थे । ८ टोली मात्र सोझै छनोट हुने नयाँ नियममा टेस्ट खेल्ने राष्ट्रले पनि छनोट खेल्नु परेको हो । विश्वकपमा सहभागी हुने १४ राष्ट्रबाट खुम्चाएर १० मा झार्दा एकदिवसीय वरियतामा शीर्ष ७ राष्ट्र सोझै विश्वकप पुगेका थिए । इंग्ल्यान्डलाई आयोजकको हिसाबमा सोझै प्रवेश दिइएको थियो । 

७० को दशकमा पहिलो दुई विश्वकप जितेको वेस्ट इन्डिज र टेस्ट वरियतामा पुछारमा रहेको जिम्बावे शीर्ष ८ मा परेनन् । अफगानिस्तान र आयरल्यान्ड यस वर्षदेखि टेस्ट क्लबमा छिर्दैछन् । एकदिवसीय वरियताबाट यी दुई राष्ट्र पनि सोझै विश्वकप छनोट हुन सकेनन् । पछिल्लो दुई वर्ष नेपालसँगै खेल्दै आएको नेदरल्यान्ड्सले विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता लिइसकेको छ । यिनै वेस्ट इन्डिज, जिम्बावे, अफगानिस्तान, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ, पपुवा न्यु गिनी, युएईसँग नेपालले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दैछ । 

छनोटमा नेदरल्यान्ड्स र नेपालसँग मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुनेछैन । नेदरल्यान्ड्स यस प्रतियोगितापछि मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रमा सूचीकृत हुनेछ । नेपालले अझै ५० ओभरको मान्यता प्राप्त खेल खेल्न सकेको छैन । खासमा नेपालको जिम्बावे यात्रा त्यही एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि हुनेछ । विश्वकपमा नै पुगेमा त्यो बोनस हुनेछ, जसको 

कुनै मूल्य नै हुने छैन । 

“विश्वकप छनोट निकै कठिन प्रतियोगिता हो । सबै टोलीको लक्ष्य विश्वकपमा पुग्नु छ । दुई वटा टिम मात्र विश्वकपमा पुग्छन् । हरेक टोली उतिकै राम्रा छन् । चार टेस्ट खेल्ने राष्ट्र र च्याम्पियनसिपका शीर्ष चार राष्ट्र तथा नेपाल र युएई त्यही छन्,” कप्तान पारस खड्काको यही भनाइले नेपाल अहिलेसम्मकै सबैभन्दा कठिन प्रतियोगिता खेल्न गइरहेको प्रस्ट हुन्छ । उनी अगाडि भन्छन्, “विश्वकपमा पुग्न पाए नेपालीलाई त्यो सबैभन्दा ठूलो क्षण हुनेछ । यथार्थमा भन्नुपर्दा हाम्रो पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने हो । सुपर सिक्समा पुगिसकेपछि विश्वकपको सपना देख्न सक्छौँ । तर, त्यो त्यत्ति सजिलो हुने छैन । कति टिमले त विश्वकपमा पुग्ने भनेर २ वर्षअगाडि नै तयारी सुरु गरिसकेका थिए । त्यसैले अहिलेको लक्ष्य भनेको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु हो । मैदानमा गएर राम्रो खेल्न सक्नुपर्छ, त्यसभन्दा अगाडि केही भन्न सकिन्न ।” 

नेपालले समूह चरणमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्यु गिनी र युएई छन् । एउटा समूहबाट शीर्ष तीन टोली सुपर लिगमा पुग्ने छ । समूह चरणको अंक सुपर लिगमा पनि जोडिने छ । जस्तो जिम्बावे र आयरल्यान्डमाथि विजय हात पारेमा तथा यी दुई टोलीसँगै समूह चरणमा अगाडि बढेमा नेपालसँग चार अंक हुनेछ । यस्तोमा नेपालले सुपर लिगको तीनमध्येको एक खेल मात्र जितेमा मात्र पनि सेमिफाइनलमा पुग्न सक्छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता लक्ष्य छुन नेपाललाई सुपर लिगमा पुग्न जरुरी छ । अर्को विकल्प समूह चरणका सवै खेल हारे पनि प्लेअफको पहिलो खेल जितेमा रहने छ । 

विश्वकप छनोटमा नेपाल तेस्रो पटक सहभागी हुँदैछ । विगततर्फ फर्किने हो भने नेपालले यसपटक पनि कठिन चुनौती पाउने निश्चित छ । सन् २००१ मा क्यानाडामा भएको विश्वकप छनोटका लागि आयोजना गरिने आईसीसी ट्रफीमा नेपालले जिब्राल्टार र जर्मनीसँग विजय हात पारे पनि नेपाल समूह चरणबाट माथि जान सकेन । त्यसयता आईसीसी ट्रफी विश्वकप छनोटको नामले आयोजना हुँदैछ । नेपालले क्यानाडापछि एकै पटक २०१४ को विश्वकप छनोटमा सहभागिता जनायो । विश्व क्रिकेट लिग डिभिजन ४ र ३ जित्दै विश्वकप छनोट खेल्न न्युजिल्यान्ड पुगेको थियो । सहभागी १० राष्ट्रमा नवौँ भएपछि नेपाल रेलिगेसनमा पर्दै डिभिजन २ मा झरेको थियो । 

न्युजिल्यान्ड पुग्नुअघि नै पारस, सुवास खकुरेल घाइते भएका थिए । प्रतियोगिता चलेसँगै त्यो सूचीमा जितेन्द्र मुखिया पनि थपिए । सुरुको खेल गुमाएका पारस मैदानमा त फर्किए । तर, उनी पूरा तंग्रिन सकेका थिएनन्, जसको असर उनको प्रदर्शनमा देखिन्थ्यो । पारस त्यो प्रतियोगितालाई अहिलेको टोलीसँग तुलना गर्दै भन्छन्, “पछिल्लो विश्वकप छनोटमा हाम्रो केही सीप लागेन । ३–४ जना प्रमुख खेलाडी घाइते भएपछि हामीलाई पुनरागमन गर्न गाह्रो भयो । हाम्रो टिम त्यो स्तरका लागि अलिकति अपरिपक्व पनि थियो जस्तो लाग्छ । हामीले त्यत्तिखेर पहिलो पटक डिभिजन १ का टोलीसँग प्रतिस्पर्धा गरेका थियौँ । २०११–१२ देखि हामी निरन्तर माथिल्लो स्तरमा पुगेर खेल्दै आएका थियौँ । पारस आगडि भन्छन्, “तर, एक पटक त्यो स्तरमा खेल्दा गाह्रो भएको थियो । बिस्तारै बिस्तारै हामी फेरि त्यो स्तरमा पुगेका छौँ । २–३ वर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो स्तरको टिमसँग खेल्यौँ । त्यसबाहेक राम्रो स्तरका टिम र राम्रो प्रतियोगिता खेलेकाले पहिलाको भन्दा अहिले हामीलाई एक्सपोजर बढी छ ।”

विश्वकप छनोटबाट रेलिगेसनमा परेकाले नेपालले डिभिजन २ खेल्नु परेको थियो । डिभिजन २ मा चौथो भएसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पायो । च्याम्पियनसिपको ८ मध्येको शीर्ष ४ टोली विश्वकप छनोटमा पुग्थ्यो । नेपाल नामिबियाभन्दा मात्र अगाडि रहेपछि पुन: रेलिगेसनमा पर्दै डिभिजन २ मा झरेको थियो । डिभिजन २ को फाइनल पुगेपछि नेपाल अहिले फेरि विश्वकप छनोटमा पुगेको हो । पारसको भनाइ नेपालले डिभिजन २ लगत्तै विश्वकप छनोट खेल्नुपर्दा अन्य टोलीले जस्तो तयारी गर्न नपाएको भन्ने पनि छ । 

पारसको भनाइसँग खासै फरक मत छैन प्रशिक्षक जगत टमाटाको । “हाम्रो पहिलो लक्ष्य सुपर सिक्समा जाने छ । त्यसमा सम्भावना पनि छ । हामीलाई केही डर छैन । तर, हाम्रा प्रतिद्वन्द्वीलाई त्योभन्दा बढी डर छ । नेपाल कुनै पनि समयमा क्लिक हुनसक्छ भन्ने उनीहरूलाई छ,” टमाटा भन्छन्, “अहिलेसम्म राम्रो खेल्दै आएका छौँ, अब अझ राम्रो खेल्नु पर्छ नतिजा निकाल्न । राम्रो खेल्न हामीले विश्वकप छनोट जस्तो उत्कृष्ट प्लेटफर्म पाएका छौँ । डिभिजन २ बाट हामी विश्वकप छनोटमा पुगेका पनि छौँ । तर, सजिलो केही छैन । डिभिजन २ को प्रदर्शनले यस्तो प्रतियोगितामा नपुग्न सक्छ । आगामी दिनमा अझ कठिन मिहिनेत गर्नुपर्छ । चुनौती धेरै छन् ।” 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन पनि नेपालले ब्याटिङमा निकै सुधार गर्नुपर्ने हुन्छ । ओपनिङ जोडी ज्ञानेन्द्र मल्ल र दिलिप नाथ अझै जम्न सकेका छैनन् । नेपाली ब्याटिङ कप्तान पारस खड्कामा धेरै भर पर्नुपरेको छ । युवा ब्याट्सम्यानद्वय आरिफ शेख र रोहित पौडेलले डिभिजन २ मा नेपाली ब्याटिङलाई नयाँ आशा दिएका थिए । डिभिजन २ मा नेपालले ४ मध्येको दुई खेल जित्दा वसन्त रेग्मी र करण केसीको ब्याट चम्किएको थियो । जबकि, उनीहरू प्रमुख रूपमा बलर हुन् । वसन्त र सन्दीप लामिछाने नेपालको बलिङको प्रमुख आधार बन्न सक्छन् । सन्दीप १७ विकेट लिँदै डिभिजन २ मा म्यान अफ द सिरिजमा चुनिएका थिए । सोमपाल कामी र करणको तीब्र बलिङ पनि आशा गर्ने ठाउँ हो । 

अनुभवी ब्याट्सम्यानहरू पारस, ज्ञानेन्द्र, शरद भेस्वाकरका साथै युवा जोश दीपेन्द्रसिंह ऐरीले लय लिएमा नेपाल विपक्षीका लागि ठूलो प्रतिद्वन्द्वी बन्नसक्छ । हङकङसँगको अभ्यास खेल वर्षाले बिथोलिए पनि युएईसँगको अभ्यास खेलमा नेपाली ब्याटिङले केही आशा देखाएको छ । त्यसैले नेपाली क्रिकेटका बारेमा केही भन्न सकिन्न । डिभिजन २ मा नेपालले चारमध्येको तीन खेल अन्तिम ओभरमा जितेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता लक्ष्य भए पनि यस्तै नतिजा आएमा नेपाल विश्वकपमै नपुग्ला भन्न सकिन्न । 

प्रकाशित: फाल्गुन २१, २०७४