[तीन किताब] शोक सन्तप्त नेपाली साहित्य

- कुमार नगरकोटी

कहिलेकाहीँ लाग्छ, कुमार नगरकोटी भनेको किताब हसुर्ने राक्षस हो । म भोकाएको राक्षस जसरी नै किताब पढिसक्छु । किताबमार्फत पोर्नोगाफ्रीदेखि स्पिरिच्युअल आनन्द उठाएको पनि छु । मेरो अफबिट स्टाइल के हो भने थुप्रै पुस्तक सँगसँगै पढ्छु । आख्यान, गैरआख्यान र कविता सात–आठवटासम्म किताब एकसाथ । 

एउटा किताब पढिसिध्याएर मात्रै अर्को थाल्ने मेरो स्वभाव छैन । यसै माचोमा आफूलाई मज्जा लागेका कतिपय किताब पुनर्पठन पनि गर्छु । कतिपय लेखकलाई किताबमार्फत बारम्बार भेटिरहन मन लाग्छ । यस्ता एक आख्यानकार हुन्, होर्खे लुइस बोर्खेस । उनका केही पंक्ति पढ्दा पनि मलाई ऊर्जा आउँछ । अरूका किताब पढ्दा कतै बिर्सी पो हालिन्छ कि भनेर कामु र काफ्काका किताबको धूलो पुछपाछ गर्छु र सप्रेम अँगाल्छु । 

मैले हालसालै जोन केरीको आइविट्नेस टू हिस्ट्री र केभिन ज्याक्सनको कन्स्टलेसन अफ जिनियस पढिसिध्याएँ । जोन केरीको किताबमा ऐतिहासिक घटनाका साक्षीहरूको बयान छ भने ज्याक्सनको किताबमा सन् १९२२ मा जनवरीदेखि डिसेम्बरसम्मका साहित्य, कला, सिनेमा, संगीत र दर्शनसम्बन्धी गहन परिचर्चा छ । त्यस वर्षको पहिलो महिना जेम्स जोयसको उपन्यास युलिसिस आएको रहेछ भने अन्तिम महिना टीएस इलियटको लामो कविता द वेस्ट ल्यान्ड । 

कवितामा मैले पछिल्लो समय अत्यधिक पढेको जलालुद्दिन रुमीलाई हो । जीवन, जगत् र दर्शनसम्बन्धी आत्मिक कविता छन् उनका । रुमीमाथि लेखिएको एलिफ सफकको उपन्यास फोर्टी रुल्स अफ लभ पनि राम्रो लाग्यो । कोलम्यान बाक्र्सको आधिकारिक अनुवादका कारण रुमी संसारभरि चिनिएका छन् । त्यसैले डोनाल्ड ट्रम्पको अमेरिकामा तेह्रौँ शताब्दीका कवि रुमी बेस्ट सेलर भएका छन् । उनका कवितालाई धेरै पर राख्नै सकिँदैन । 

कतिपय किताब समयसँगै विलीन हुँदै जान्छन् । रुमीका कविताचाहिँ समय–समयमा ब्युँझन्छन् । उनका कविताले मनुष्यको आत्माबारे बोल्छन् । भान्सा, बिछ्यौना र शौचालय जताततै राख्न सकिने खालका कविता छन् उनका । रुमीसँगै मैले विशाल भारद्वाजको न्युड र गुल्जारको सस्पेक्टेड पोयम्स पनि पढेको हुँ ।

मैले कवि साथीहरूलाई कि रुमीको पुस्तक उपहार दिएको छु कि रुपीको । अर्थात् रुपी कौरको मिल्क एन्ड हनी । मैले द सन एन्ड हर फ्लावर्स पनि पढेको हुँ । तर, मिल्क एन्ड हनीचाहिँ उनको अच्छा किताब हो । उनका कविता प्राय: दुई–तीन–पाँच हरफका छन् । गद्याख्यान या निबन्धात्मकजस्ता कविता पनि छन् । 

रुपीको कविता न्युयोर्क टाइम्स नम्बर वन बेस्ट सेलर हो । त्यो पढिसकेपछि चार, पाँच पंक्तिमै पनि कति गहन किसिमले लेख्न सकिन्छ भन्ने थाहा हुन्छ । रुपी कवितामा कुनै ठूला र महान् कुरा गर्दिनन्, प्रेम, राग, घृणा, क्रोध, तनाव आदि सामान्य ह्युमन इमोसन्सलाई अभिव्यक्ति दिन्छिन्, बस् । उनका कविताका ढाँचा यस्ता छन्, ‘हरेक क्रान्तिको सुरुआत र अन्त्य मेरो प्रेमीकै ओठबाट हुन्छ ।’ ‘तिम्रो आवाज नै हो, जसले मलाई निर्वस्त्र पारिदिन्छ ।’

साँच्चै भन्ने हो भने युवा ब्लगर रुपीले कवितामा ताजगी ल्याइदिएकी छन् । कविताको प्रचलित फम्र्याटलाई डिफम्र्याट गरिदिएकी छन् । नेपाली कविता पनि एकनासको भइसक्यो । अब डिफम्र्याट गर्ने बेला भइसक्यो ।

यसबीचमा मैले थुप्रै उपन्यास पढेँ । पछिल्लो पटक पढेको उपन्यासको सूचीमा बब डिलनको ट्यारेन्टुला पनि हो । यो डिलनको पहिलो र अन्तिम उपन्यास हो । नोबेल पुरस्कार पाएपछि कतिपयले भने– गायकलाई के दिएको ? मभन्दा एक वर्ष जेठो रहेछ यो उपन्यास । अर्थात्, सन् १९७३ मा छापिएको । यो किताब काठमाडौँमा सायद मसँग मात्रै छ । एजुकेसनल बुक हाउसले नढाँटेको भए । डिलनले के लेखेको रहेछ भनेर पढेको । ट्याम पासचाहिँ भयो ।

कुनैकुनै किताबको बडा आकर्षक व्यक्तित्व हुन्छ । । म्यान बुकर्स प्राइज प्राप्त जर्ज सन्डर्सको उपन्यास लिंकन इन द बार्डोको दामी लुक्सले मलाई एरेस्ट गरिछाड्यो । धेरै समयपछि उपन्यास पढेर म तृप्त भएको यही हो । यो मेरै शैलीकै उपन्यास हो ।

ऐतिहासिक घटनालाई लेखकले आख्यानमा कसरी आफ्नो बनाएर प्रस्तुत गर्छन् ? त्यसको बेजोड उदाहरण यही उपन्यास हो । सन्डर्सले एकातिर अब्राहम लिंकनको छोरा विली लिंकनको ऐतिहासिक तथ्य दिएका छन् भने त्यसको समानान्तर रुपमा स्वैरकल्पना पनि । तिब्बती मिथकअनुसार मान्छे मृत्युपश्चात् स्वर्ग या नर्क कता जाने भनेर हल्लिरहन्छन् । त्यसमा आत्माहरूको विचित्र गफगाफ छ । 

सिभिल वारपछि ज्वरो थलिएर मरेको विलीले के गुनासो गर्छ भने राष्ट्रपति भएको मेरो बाबु मलाई भेट्नै आएन । यसमा न्यारेटिभ त्यति छैन ।  नाटकको जस्तो छ संवाद । सामान्य विषयवस्तुमा कति अद्भुत किसिमले लेख्न सकिँदो रहेछ भन्ने गज्जब नमुना हो । यसमा लेखकले कथा बुनेको भन्दा पनि बताएका छन् । यसको कथा भन्ने तरिका अलग छ ।

पछिल्लो पटक मैले अमेरिकी लेखक केन लिउको कथासंग्रह द पेपर मेनाजरी धेरै लेखकहरूलाई रिफर गरेँ । फेन्टासी, एक्सपेरिमेन्टल र साइन्स फिक्सनलाई नयाँ उचाइमा पुर्‍याएको किताब । एजुकेसन बुक हाउसमै नारायण ढकाललाई उपहार दिएँ । फिल्मी दुनियाँका वुडी एलेनको कथासंग्रह साइड इफेक्टस् र टम ह्यांक्सको अन्कमन टाइप पनि पढेँ । दुवै जना लेखकका रुपमा पनि गज्जब देखिएका छन् । मुराकामीको म्यान विद्आउट वुमनको इम्प्रेसन के हो भने उनी धेरै फरक छन् । लेखनी, विषय छनोटमा विविधता छ । कथावाचनको शैली मौलिक छ ।

नेपाली साहित्यका किताब मैले त्यति पढिरहेको छैन । अन्य लेखकलाई पनि जतिसक्दो अंग्रेजी किताब नै सुझाएको छु । अर्चना थापाको कठपुतला कोठामा त्यत्तिकै थन्किरहेको थियो । एक्सिडेन्टली पढेको थिएँ, एक्सिडेन्ट्ली मन पर्‍यो ।

मलाई कठपुतला किन मन परेको भने यो नेपालीमा लेखिएको किताब हो । फरक कोणबाट लेखिएको कथा । आख्यानमा आएको उल्लेखनीय पुस्तकका रुपमा मैले थुप्रै लेखकलाई कठपुतला सिफारिस गरेको छु । हाम्रो आख्यानको लेखन एकदमै परम्परागत छ । लेखकको मौलिक हस्ताक्षर लगभग भेटिँदैन । कठपुतलाको विषय छनोट र कथावाचनमा अर्चनापन छ । यो नै यसको सुन्दर र दुर्लभ पक्ष हो । घनचक्करको उप्रेतीयनपन जस्तै  । 

थोरै भए पनि नेपाली साहित्यको फ्रेम एन्ड फम्र्याटलाई भत्काउने अर्चनाको प्रयास प्रशंसनीय छ । यसमा स्वैरकल्पना, विज्ञान र सामाजिक विषयवस्तु छन् । नयाँपन के छ भने कथासंग्रहको नामै कठपुतला छ । कठपुतलीमात्रै किन ? कथाहरू प्रयोगशील पनि छन् । विमर्द, विवस्त्र रामायण, परमात्मा समाहिता, सेतो बास्ना आदि नामधारी कथा छन् । मलाई मनपरेको कथा भने सेतो बास्ना हो । उनको कथाकारिता लगामविहीन छ । फम्यार्टमुक्त छ । उनको कथामा यथेष्ट मौलिकता र ताजापन छ । 

म लेखनमा महिला र पुरुषको लिंग हेर्दिनँ । हेर्ने हो भने त महिलाको लेखन ध्वस्तै छ । तर, अर्चनामा आख्यानको चेतना प्रबल छ । एक्काइसौँ शताब्दीमा नयाँ किसिमले कथा लेखिनुपर्छ भन्ने उनलाई थाहा छ । 

अब प्रश्न उठ्छ, यी किताबको खोजी कसरी भयो ? कसले कसरी सिफारिस गर्‍यो ? म बुक हन्टिङ गर्छु पनि । कतिपयको लुक्सले नै तान्छ । मिल्क एन्ड हनी मा भएको त्यही हो । त्यसअघि मैले रुपी कौरको नामै सुनेको थिइनँ । बुकर प्राइजको सूचीलाई म पछ्याउँछु । लगभग सबै पढेको छु ।

लिंकन इन द बार्डोको रोचक प्रसंग के छ भने बुद्धिसागरले एजुकेसन बुक हाउसका रमणलाई भनेका रहेछन्, ‘नगरकोटीले बुकर प्राइज पायो ।’ मलाई जानासाथ सुनाइहाले । मिस्टिका स्टाइलमै रहेछ उपन्यास । तत्काल मन परिहाल्यो । अर्का पाठक पनि ‘यो किताब त नगरकोटी स्टाइल रहेछ, पढिँदैन’ भनेर बटारिएर हिँडेका रहेछन् ।

किस्सायुक्त किताब बन्यो, लिंकन इन द बार्डो । मैले तेस्रोपल्ट किनेको किताब मात्रै पढिसिध्याएँ । पहिलोपटक किनेको किताब गनेस पौडेललाई दिएर पठाएँ । दोस्रो किताब १० पृष्ठ मात्रै पढेको थिएँ, बानेश्वरको एउटा क्याफेमा अनुप बरालले एउटा गीत सुनाए । त्यस्तो बेजोड संगीत मुफ्तमा सुन्नु हुँदैन भनेर मैले उनलाई नै उपहार दिएँ । 

तीनवटा किताबमध्ये मिल्क एन्ड हनी एकै बसाइमा पढिसकिन्छ । यसले पाठकको धैर्यको परीक्षा पटक्कै लिँदैन । वार एन्ड पिस पढेजस्तो कुनै तपस्या गर्नुपर्दैन । लिंकन इन द बार्डोमा अलिकति समस्याग्रस्त हुन सक्छ पाठक । सामाजिक यथार्थवादी शैलीमा बानी परेका पाठकलाई नयाँ चीज स्वीकार्न अलि गाह्रो हुन्छ । कठपुतलाको पठन बिस्तारैबिस्तारै जान्छ ।

मैले चर्चा गरिबसेका यी सबै किताबमा धेरथोर प्रयोगशील आग्रह छन् । मलाई कतिखेर खिन्नता लाग्छ भने नेपाली किताबमा यस्तो विविधता पटक्कै छैन । रुवाबासी मात्रै छ जताततै । नेपालीमा पनि यस्ता किताब लेखिए हुन्थ्यो ।

म आफैँ पनि आख्यानमा अनेक गरिरहेको छु । तर, जे लेखिरहेको छु, चित्त बुझेको छैन । घोर असन्तुष्टि छ ममा । कम्तीमा म शोक सन्तप्त नेपाली साहित्यबाट बहिर्गमन खोजिरहेको छु । 

कुराकानी : राजकुमार बानियाँ

प्रकाशित: फाल्गुन २१, २०७४