फेसबुकमा पनि फेस रिकग्निसन

- नेपाल संवाददाता

फेसबुकमा कसैले हाम्रो फोटो अपलोड गरिदिएमा त्यतिबेलासम्म जानकारी हुँदैन, जबसम्म त्यो फोटोमा कसैले हामीलाई ट्याग गर्दैनन् । अब भने हाम्रो फोटो कसैबाट अपलोड भएमा हामीलाई नोटिफिकेसन आउनेछ, फेसबुकको फेस रिकग्निसन विशेषतामार्फत । 

हामीसँग प्रेmन्डलिस्टमा नरहेका प्रयोगकर्ताले अपलोड गरेमा पनि नोटिफिकेसन आउनेछ । तर, ती पोस्टहरु पब्लिक हुनु आवश्यक छ । प्राइभेट वा केही सीमित प्रयोगकर्ताले मात्रै देख्ने गरी पोस्ट भएमा कुनै नोटिफिकेसन आउने छैन । 

यो निकै राम्रो र कामलाग्दो फिचर भए पनि यसको विरोध गर्नेहरु पनि उत्तिकै छन् । किनभने, फेस रिकग्निसनका लागि फेसबुकले प्रयोगकर्ताका सबै फोटोबाट आँखा, नाक, ओठलगायत अनुहारका अन्य भागको नाप लिन्छ र सेभ गर्छ । पछि कसैले यही विवरणसँग मिल्दोजुल्दो अनुहार भएको एकल वा सामूहिक फोटो अपलोड गरेमा फेसबुकले थाहा पाइहाल्छ । यस्ता विवरण प्रयोगकर्ताका बायोमेट्रिक डाटा हुन्, जुन नितान्त व्यक्तिगत हुनुपर्छ । त्यसैले प्रयोगकर्ताको अनुमतिबिना यस्ता बायोमेट्री डाटा राख्नु गैरकानुनी हो । यसको विरोध पनि यही कारणले भएको हो । 

प्रयोगकर्ताले चाहेको खण्डमा यो फिचरलाई जतिबेला पनि अफ गर्न सक्छन् । त्यसका लागि अकाउन्ट सेटिङमा जानुपर्छ । तर, अफ गरिए पनि प्रयोगकर्ताका अनुहारका विवरण फेसबुकमा सेभ भइसकेका हुन्छन् ।

 

प्रकाशित: फाल्गुन २१, २०७४