आवरणका वामपन्थी

  • वामपन्थमा निहित एउटा महत्त्वपूर्ण विरोधाभास भनेको आफू र आफ्नो समूहले पुँजीवादी सांस्कृतिक मूल्य–मान्यता आत्मसात् गरे पनि त्यसको बाहिरी आवरणमा भने प्रगतिशील देखिने चाहना हो ।

- भास्कर गौतम

वामपन्थप्रति सहानुभूति राख्ने बौद्धिकहरू वामपन्थबारे सैद्धान्तिक बहस हुनुपर्छ भनिरहेका छन् । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाको आह्वानसँगै यस्तो चाहना प्रबल छ । विगत दुई–तीन दशकलाई मात्र फर्केर हेर्दा यस्ता बहस ती वर्षहरूमा किन कम भए ? जे–जस्ता बहस भए त्यसको गहनता कस्तो रह्यो ? त्यस्तो शास्त्रार्थले किन अपेक्षित निरन्तरता पाएन ? उपलब्ध आह्वानमा यी प्रश्नहरूतर्फ घोत्लिने लेठो गरिएको देखिँदैन । सैद्धान्तिक बहस माग गर्नेहरूले गहकिलो विश्लेषण प्रस्तुत गर्दै वैचारिक काल्पनिकीमा हस्तक्षेप गरिरहेको पनि पाइँदैन । 

सैद्धान्तिक स्तरबाट हस्तक्षेप गर्नेहरूमा समेत वामपन्थी दलहरूमा जस्तै स्थितिभ्रान्तिको अवस्था देखिन्छ । यस्तो किन भयो त ? उत्तर सहज छैन । अहिलेसम्म के भनिँदै छ भने, संसारका अन्य भागमा जस्तै नेपालमा पनि वामपन्थीहरू अलमलमा छन् । संसारभर दक्षिणपन्थको प्रभाव विस्तार भइरहेका बेला नेपालमा मात्र वामपन्थ उन्नत हुने स्थिति रहेन । यहाँ पनि दक्षिणपन्थकै मलजल हुने हो । दक्षिणपन्थले नै हाँगाबिगा फैलाउने हो । त्यसैले माओवादी केन्द्र र एमाले रूपमा कम्युनिस्ट हुन्, व्यवहारमा ती दक्षिणपन्थतर्फ नै लम्कँदै छन् । अझ यी दुई दल आपसमा मिलेपछि वामपन्थ फस्टाउने झिनामसिना सम्भावनामा समेत खतरा पुग्छ । अर्थात्, वामपन्थलाई चौतर्फी अप्ठेरो छ । चौतर्फी आक्रमण पनि छ । स्वयं वामपन्थीबाटै खतरा छ । 

यी भनाइहरू धेरै हदसम्म सही छन् । तर, यस्ता टिप्पणीले हाम्रा विचारग्रन्थीहरू खोल्न उति सहयोग गर्दैनन् । वामपन्थबारे सैद्धान्तिक बहसका लागि रचनात्मक हस्तक्षेप पनि गर्दैनन् । 

‘सय माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ’ भन्ने चिनियाँ लोकोक्ति नेपालका कम्युनिस्ट नेताहरूमाझ जस्तै संसारभर प्रसिद्ध छ । पहिलो हरफ यति सशक्त रहेको यस लोकोक्तिको दोस्रो हरफ अझ गहन छ । लोकोक्तिअनुसार ‘सय माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ, तर त्यो यात्री अभागी हो जसले करिब दुई सय माइल हिँडेपछि आफू गलत बाटोमा हिँडिरहेको थाहा पाउँछ ।’ नेपालको वामपन्थ यस्तै बिन्दुमा छ । अघि बढे वामपन्थ नै नरहने पछि फर्कने प्रश्न आफैँमा कहालीलाग्दो देखिने । यस्तो स्थितिभ्रान्तिले हाल खास किसिमको सैद्धान्तिक शून्यता र व्यावहारिक अकर्मण्यता सिर्जना गरेको छ । वामपन्थमा निहित एउटा महत्त्वपूर्ण विरोधाभास भनेको आफू र आफ्नो समूहले पुँजीवादी सांस्कृतिक मूल्य–मान्यता आत्मसात् गरे पनि त्यसको बाहिरी आवरणमा भने प्रगतिशील देखिने चाहना हो । 

विश्वभर नै वामपन्थ स्थितिभ्रान्तिको अवस्थामा रहेको सर्वविदित छ । यस्तो स्थितिमाथि प्रकाश पार्दै हावर्ड विश्वविद्यालयका कानुन तथा दर्शनका प्राध्यापक रोबर्टो उङ्गरले वामपन्थमा निहित स्थितिभ्रान्तिका चार आयाम औँल्याएका छन् । उङ्गर ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डासिल्भाको कार्यकालमा रणनीतिक मामलामन्त्रीसमेत भए । उङ्गर भन्छन्, “वामपन्थ विकल्प हराए, विचारको संसार हराएको, संवाहक हराएको र संकट हराएको अवस्थामा छ ।” नेपालका वामपन्थसँग पनि विकल्प छैन, वैचारिक काल्पनिकी छैन, परिवर्तनको संवाहक हुने जुक्ति छैन र संकटलाई रचनात्मक बनाउने क्षमता देखिँदैन । 

हरायो विकल्प

नेपालमा वामपन्थले विकल्पबारे जडसम्म पुगेर सोचेको देखिँदैन । संसारभर जस्तै नेपालमा गुनासो छ, राष्ट्रिय राजनीतिले दिनुपर्ने विकल्प दिन सकेन । तर, त्यो विकल्प के हो त्यसतर्फ चिन्तन छैन । के जीवन र जगत्प्रति उस्तै दृष्टिकोण राख्ने नेपाली कांग्रेसले सत्ता छोड्दा नेपाल कम्युनिस्ट पार्टीका अनेक उत्तराधिकारी सत्तामा आउनु विकल्प हो ?

के नवीनताको खोज गर्ने विकल्प स्वत: प्रकट हुन्छ ? के समसामयिक टिप्पणी लेख्दा नेताकै शैलीमा लोकप्रिय हुन चाहने लेखकहरूले नवीन विकल्प पहिल्याउने सिद्धान्त र व्यवहारमा योगदान दिइरहेका छन् ? त्यस्तो विकल्प जसले सबैका लागि उत्तम अवसरको कल्पना गरोस् । त्यस्तो चिन्तन र बहस परम्पराको थालनी गरोस्, जहाँ पुराना विचारका सीमा औँल्याउने क्रममा नयाँ अर्थ, नयाँ गुण र नयाँ जीवनबोध गर्ने आधार मिलोस् । जहाँबाट सर्वसाधारणले जीवनका अत्यावश्यक भौतिक र नैतिक मूल्य–मान्यतालाई नयाँ मौका दिने सम्भावना देखून् । त्यस्तो आर्थिक–सामाजिक सम्बन्धको कल्पना गर्ने आधार मिलोस् जसले सबैलाई काम गर्ने मौका दिन सकोस् वा काम गर्न नसक्ने अवस्थामा राम्रो हेरचाह प्राप्त हुने आधार देओस् । त्यस्तो विकल्प, जहाँ आफ्नो समुदायको भविष्य र आफ्नो समाजको उन्नतिमा संलग्न हुने अवसर उपलब्ध होस् । जहाँ जीवनलाई अर्थपूर्ण हिसाबले बाँच्ने आधार होस् । त्यस्तो जीवन जुन आफ्नो नजरमा सम्मानजनक हुन्छ । तर, सार्वजनिक वृत्तमा चलिरहेको विकल्पको चिन्तन यतातर्फ डोरिएको देखिँदैन । 

वामपन्थसँग सार्थक विकल्प छैन । रुसी क्रान्तिपछि देखिएको महत्त्वपूर्ण प्रयास केन्द्रीकृत र सरकारद्वारा निर्देशित अर्थतन्त्र हो । निर्देशित अर्थतन्त्रले प्रारम्भिक दशकहरूमा ठूलै स्वीकारोक्ति पायो । त्यो सही बाटो होइन भन्ने दृष्टान्त आफैं सतहमा आए । चीनका पछिल्ला अनुभवले यसलाई थप प्रमाणित गरे । मूल कुरा रुसी वा चिनियाँ अनुभवभन्दा धेरै बृहत्तर तहमा ज्ञानमा आधारित अर्थतन्त्रले जटिल बाटो समातिरहेको अवस्था छ । विश्व अर्थतन्त्रमा देखिएको परिवर्तनले भन्छ, सरकारद्वारा नियन्त्रित र निर्देशित अर्थतन्त्रले काम गर्दैन । अर्थतन्त्रलाई केवल विभिन्न किसिमले वितरणमुखी माध्यमका रूपमा हेर्दा आधारभूत समस्या सम्बोधन हुन सक्दैन । उदाहरणका लागि क्षतिपूर्तिउन्मुख वितरण (शान्ति–प्रक्रियाको समयमा र भूकम्पछि टड्कारै देखियो), सामाजिक सुरक्षामा आधारित वितरण (स्थानीय समूहले स्रोत–साधनमा पाएको न्यूनतम सुविधा, नि:शुल्क विद्यालय शिक्षा, वृद्धभत्ता आदि) र स्रोतको अव्यवस्थित वितरण (पार्टीविशेषबाट हुने राज्य कोषको दुरुपयोग, समन्वयहीन विकास खर्च, भ्रष्टाचार) जुन भइरहेको छ, त्यसले अर्थतन्त्रमा रहेको बडेमानको असमानता, असुरक्षा र वहिष्करणलाई घटाउँदैन । बरु थप बढाउँछ । यस्तो आर्थिक अभ्यासले अर्थतन्त्रमा विद्यमान पदानुक्रमलाई संस्थागत गर्छ । विभेदकारी संरचनालाई मलजल गर्छ ।

लामो समयदेखि आर्थिक असमानताका कारण सामाजिक रूपमा असुरक्षित रहेकाहरू भारत जाने र पछिल्लो केही दशकयता वैदेशिक श्रममा जानेक्रम बढिरहेकै छ । देशभित्र पनि अर्थतन्त्रको पिँधमा रहेका भुइँ तहका समुदायको विद्यमान आर्थिक संरचनासँग असमान सम्बन्ध छ । वितरणमुखी अर्थतन्त्रबाट आर्थिक असमानता सम्बोधन हुने सम्भावना छैन । यस्तोमा अर्थतन्त्रमा निहित संरचनागत विभेद निरुपण गर्ने कार्य धेरै टाढाको विषय हो । 

वितरणमुखी अर्थतन्त्रले जुन अवहेलना भुइँ तहको जनतामा सिञ्चित गरेको छ, त्यसको निरुपण सरकारी तवरबाट निर्देशित अर्थतन्त्रबाट हुने देखिँदैन । सरकार त अझ नियन्त्रित निर्देशनको आंकाक्षा राख्छ । यस्तोमा वामपन्थको तत्कालीन र दीर्घकालीन कार्यभार के हो ? वामपन्थले कस्तो विकल्पसहित आफ्नो औचित्य स्थापना गर्न सक्छ ? त्यसका लागि वामपन्थी चाहना र आवश्यकतालाई ध्यानमा राख्दै अर्थतन्त्रमा के–कस्ता प्रयोगको कल्पना गर्न सकिन्छ ? अर्थतन्त्रमा गर्न सक्ने कस्तो हस्तक्षेपले असमानता र असुरक्षाको स्थितिमा तात्विक फेरबदल ल्याउन 

सक्छ ? स्थितिभ्रममा अलमलिएका कारण वामपन्थी वृत्त यस्तो बहसमा पसेको छैन । आधारभूत प्रश्नप्रति नघोत्लिँदा विद्यमान बजारमुखी अर्थतन्त्रमा हस्तक्षेप गर्न सरकारद्वारा निर्देशित अर्थतन्त्र आवश्यक छ भन्ने अवस्था आउँछ । वामपन्थको दृष्टिकोण राज्यमुखी मात्र बन्छ । होइन, सामाजिक हकाधिकारको रक्षा गर्न अर्थतन्त्रलाई वितरणमुखी बनाउँदै सार्वजनिक खर्च बढाउनुपर्छ भन्न पनि सकिन्छ । यसले वामपन्थको दीर्घकालीन उद्देश्यको दायरालाई आफै संकुचित बनाउँछ । यी दुवै आर्थिक दृष्टिकोणले काम गरेको खण्डमा समेत हामी केवल आर्थिक वृद्धि र सार्वजनिक लगानीमा रुमल्लिनेछौँ । यसैलाई प्रगतिशील अर्थतन्त्र भन्न थाल्नेछौँ । तर, वृद्धि र सार्वजनिक लगानीको दायराभन्दा बाहिर प्रगतिशील अर्थतन्त्रबारे कल्पना गर्ने कोसिस गर्ने छैनौँ । 

वैचारिक सारथी

वामपन्थसँग विद्यमान स्थितिभ्रान्तिलाई पुनर्विचार गर्ने विचारका थप सारथी छैनन् । वैचारिक सारथीको अभावमा विद्यमान समाज जस्तो किसिमको संस्थागत अवधारणा र प्रबन्धमा फसेको छ, त्यसबाट निस्कने सजिलो सूत्र छैन । एकातर्फ ज्ञानको काल्पनिकी नै विदेशी स्रोत–साधन र चिन्तनको प्रभावमा फसेको छ । अर्कोतर्फ समसामयिक समाज विज्ञान र ज्ञान–उत्पादनको समग्र संसार नै आफ्नो औचित्य–स्थापना र असुरक्षामा बाँचिरहेको अमानवीय अवस्थालाई मानवीयकरण गर्ने यज्ञमा फसेको छ । ज्ञानका सीमालाई आत्मसात् गर्दै नवीन खोज नगर्ने प्रभावशाली परिपाटी सर्वत्र हावी छ । परिणाम विद्यमान परिपाटीलाई इन्कार गर्ने र पुनर्विचार गर्ने संघर्षको अभियान सहज छैन । अझ ज्ञान–उत्पादनको समसामयिक परिपाटी र संस्थागत व्यवस्था शंकालुसमेत रहेकाले वैकल्पिक खोज र चिन्तनलाई त्यस्ता प्रबन्धहरूले थप निरुत्साहित गर्छन् ।

समाज विज्ञानमा हावी औचित्य–स्थापनालाई र ज्ञानको उल्झनलाई धेरैले वैज्ञानिकीकरण वा युक्तिकरण भन्न रुचाउँछन् । औचित्य–स्थापनाको विधिले विद्यमान जटिल व्यवस्थाहरूको व्याख्या गर्न कम सघाउँछ । यस्तो किनभने सामाजिक जटिलतामा प्राकृतिक र नैसर्गिक जडता निहित छ । तर, पश्चिमा समाजबाट आयातीत वैचारिक अवधारणा हाम्रोजस्तो समाजमाथि लाग्दा ती मान्यता भुत्ते देखिन्छन् । त्यसैले उदाहरणका लागि, संरचनागत विकल्पबारे माक्र्सवादले विरासतमा लिएका विचार केही अनुमानित मान्यतामा आधारित छन् । यी मान्यता धेरै लामो समयदेखि मान्न लायक नै छैनन् । तथापि नेपालका वामपन्थीहरू मानवीय समाजले खास किसिमको आर्थिक संरचनामा एकै किसिमको रेखीय यात्रा तय गर्छ भन्छन् । त्यस्तो आर्थिक संरचनाको रेखीय यात्रा जहाँ ‘सामन्तवादी’ देखि ‘पुँजीवादी’ आर्थिक संरचना अत्यावश्यक खुड्किलो मानिन्छ । यस्तो मान्यताले अर्थसंरचनामा निहित असमान, असुरक्षित र वहिष्कृत जीवनपद्धतिलाई हिजोका दिनमा जीवन्त रूपमा बुझेको देखिएन । परिवर्तन भइरहेका आर्थिक व्यवस्थाभित्र ल्याउन पनि सकेन । यस्तै दृष्टिकोण हावी रहे भुइँ तहका जीवनलाई सम्बोधन गर्ने सामाजिक–आर्थिक विकल्पको खोज भोलिका दिनमा समेत प्रभावशाली परिपाटीभित्र हराउनेछ । 

हामीले बाह्य ज्ञान होइन, ज्ञान परम्पराको सबल पक्षलाई टिप्ने हो । युरोपेली ज्ञान परम्पराको सामाजिक सिद्धान्तको प्रारम्भिक वर्षहरूमा पहिल्यै नै निर्दिष्ट गरिने ज्ञानलाई अस्वीकार गरियो । आधुनिक ज्ञान परम्पराको जगले समाजलाई बनिबनाउ रूपमा स्वीकार गरेन । समाज मानव निर्मित हो भनेर बुझायो । सामाजिक र सांस्कृतिक संरचना वरिपरि निर्मित सम्बन्धहरू समयसँगै स्थिर भएर बस्दैनन् भन्यो । परिवर्तनका गति द्वन्द्व र अवतरणबाट निर्देशित व्यावहारिक मूल्य–मान्यता एवं सामूहिक प्रयासका उपज हुन् भन्यो । समाजको गतिसँगै हाम्रा व्यक्तिगत र सामूहिक पहिचान तथा आकांक्षा खास किसिमले वर्चस्वशाली रहने व्यवहार र व्यवस्थाका बन्धक बन्छन् भन्यो । त्यस्ता व्यवहार र व्यवस्था परिवर्तन गर्न सकिन्छ भनेर देखायो । असमान बन्धनबाट मुक्त हुने क्रममा मानव समाजले सदैव जसका निम्ति परिवर्तन गर्न खोजिएको हो त्यसैअनुरूप नयाँ सम्बन्धहरूलाई पुन:व्याख्या गर्ने प्रयत्न गर्छ भन्यो । तर यो पछिल्लो कार्य गाह्रो छ । समकालीन समयमा परिवर्तन कसका निम्ति र त्यस्तो परिवर्तनले निर्माण गर्न सक्ने सामाजिक सम्बन्धहरू कस्तो हुनुपर्छ ? यस प्रश्नलाई लिएर वामपन्थ दिग्भ्रमित छ । त्यसैले ज्ञान–उत्पादनका विद्यमान व्यवस्थाहरूले सामाजिक–आर्थिक संरचना पहिल्याउने यत्नलाई वितरणमुखी कार्यमा सीमित छ जहाँ उत्पादनमुखी चिन्तन निषेधित नरहे पनि निरुसाहित छ । 

संवाहकविहीन अवस्था

वामपन्थसँग परिवर्तनको संवाहक छैन । परिवर्तनको संवाहक अर्थात् ठोस राजनीतिक आधार जसको हित र आंकाक्षालाई वामपन्थले प्रतिनिधित्व गरोस् । विश्वभर माक्र्सवादको सनातनी आधार संगठित श्रमिकको हित र आकांक्षा थियो । उनीहरू पुँजीवादी बजार व्यवस्थामा उपलब्ध थिए । चिनियाँ क्रान्तिपछि संगठित किसानहरू पनि परिवर्तनका संवाहक ठहरिए । तर, औद्योगिक मजदुर र ग्रामीण किसानलाई विद्यमान सामाजिक–आर्थिक संरचनाले समाजमा विद्यमान स्वार्थ समूहमध्ये एउटा समूहको रूपमा हेर्छन् । स्वयं सर्वहारासमेत आफूलाई त्यसरी नै हेर्छन् । त्यस्तो समूह जसको आफ्नै स्वार्थ छ– खास किसिमको सामुदायिक स्वार्थ । खास किसिमको स्वार्थ हुनेबित्तिकै त्यस्तो कुनै पनि समूहले समाजको सार्वभौम प्रगतिलाई प्रतिनिधित्व गर्ने सम्भावना न्यून रहन्छ । औद्योगिक अवस्था उन्नत रहेका देशहरूमा श्रमिकको नाजुक परिस्थितिलाई खस्कँदो उत्पादनसँग मात्र जोडेर हेरिँदैछ । अर्थतन्त्र उन्नत नरहेको नेपालजस्तो मुलुकका श्रमिक धेरै किसिमले पराश्रित रहेकाले सस्तो श्रमको खोजीमा नारकीय जीवन बाँच्न अभिशप्त छन् । 

यस्तो राजनीतिक अवस्थाले वामपन्थी नेताहरूलाई धेरै हदसम्म सताउनुपर्ने हो । तिनका बोली र व्यवहारमा त्यस्तो झल्किँदैन । तिनका व्यवहारमा एउटै विकल्प देखिन्छ, सामाजिक वर्गको आधारमा परिभाषित राजनीतिलाई एक वा अर्को तरिकाले निस्तेज तुल्याउने । बरु समाजमा विद्यमान सबै मतदातालाई आकर्षित गर्ने । यसरी वामपन्थी नेताहरू सर्वहारासँग विशिष्ट किसिमको कामकाजी सम्बन्ध स्थापित गर्न असफल रहे । माओवादीमा देखिएको रुपान्तरण यसको सबैभन्दा सशक्त दृष्टान्त हो । यस्तो असफलताका दुईटा पाटा छन् । एकातर्फ सार्थक परिवर्तनसँग मोह भंग भएको छ भने अर्कोतर्फ नापतौलमा गरिने राजनीतिक निर्णयहरू हावी छन् । सार्थक परिवर्तनप्रति मोह भंग हुनु र सतर्क रूपमा गरिने राजनीतिको सारतत्त्व भने एउटै हो । तल्लो तप्कासँग संगठित सम्बन्ध स्थापित गरेर आमूल परिवर्तनको नाममा गरिने राजनीति मूलत: मनोगत विचारबाट उत्पन्न असफल परम्पराको उपज हो भन्ने । अर्थात्,  आमूल परिवर्तन सम्भव छैन भन्ने ।

संकटको खोजी

वामपन्थसँग उनीहरूले चिताएजस्तो संकट छैन । इतिहासका ठूल्ठूला सामाजिक परिवर्तन मूलत: युद्ध वा बृहत्तर आर्थिक संकटको जगमा भएका छन् । आन्तरिक द्वन्द्वमात्र परिवर्तनका कारण होइनन् । भनौं, आन्तरिक द्वन्द्वलाई वाह्य युद्ध र बृहत्तर आर्थिक संकटले प्राण दिन्छ । विद्यमान राजनीतिक र आर्थिक संस्थाहरूको सहयोगमा हाम्रा परिस्थिति सुरक्षित बनाउने कार्य र असामान्य तवरमा आफ्नो वातावरणलाई रुपान्तरित गर्ने सामाजिक प्रक्रियाबीच ठूलो दूरी छ । त्यसैले अधिकांश रुपान्तरण आकस्मिक संकटको पृष्ठभूमिका हुने गर्छ । जसरी दोस्रो विश्वयुद्धको केही वर्षमा नेपालमा प्रजातन्त्र आयो । जसरी दरबार हत्याकाण्डको जगमा गणतन्त्र स्थापना सहज भयो । 

संकटले प्राय: राजनीतिक वातावरणलाई तताउँछ । कतिपय अवस्थामा जमेको पहिचान र त्यस वरिपरिका स्वार्थ–सम्बन्धलाई पगाल्दै परिवर्तनको आधारलाई फराकिलो बनाउँछ । संकटबेगर राजनीति अपेक्षित रूपमा चिसिन्छ । तौलिएर गरिने अभ्यासमा परिणत हुन्छ । राजनीति कर्मकाण्डमा सीमित हुन्छ । स्थापित स्वार्थ–सम्बन्ध र मूल्य–मान्यतालाई प्रश्रय दिन्छ । विगत केही दशकमा वामपन्थले संकटबाट अपेक्षित लाभ लिन भने सकेन । तर, संकटको अभावमा वामपन्थले गर्न सक्ने पनि धेरै छैन । वामपन्थले गर्न सक्ने भनेको प्रतिपक्षीको राजनीतिक कार्यक्रमलाई आफ्नो सम्झेर लागू गर्ने । हाल वामपन्थीमा देखिएको समृद्धिप्रतिको आकांक्षा र त्यसमा निहित चिन्तन त्यस्तै राजनीतिक कार्यक्रम हो, जसले नेपाली कांग्रेस वा साझा विवेकशीलले चाहेजस्तो सामाजिक–आर्थिक संरचनालाई प्रश्रय दिन्छ । यो वामपन्थको स्थितिभ्रमित अवस्था हो । 

प्रकाशित: फाल्गुन २०, २०७४