समलिंगी संसार

  • आफ्नो वास्तविक यौन पहिचान सार्वजनिक गर्ने साहसी

- विभु लुइटेल

मनीषा कोइराला, हुमा कुरेसी, सुशान्तसिंह राजपुत, अमाइरा दस्तुरजस्ता बलिउडका स्टाइलिस कलाकारले स्टाइलिङका लागि सम्झने पहिलो नाम हो, पराक्रमशमशेर जंगबहादुर राणा, २३ । विसं २०७० देखि मुम्बईमा सेलिब्रिटी स्टाइलिस्टका रूपमा काम गर्दै आएका राणाले सार्वजनिक रुपमै खुलासा गरे, “हो, म ‘गे’ हुँ र म आफ्नो पहिचानमा गर्व गर्छु ।” समाजले व्याख्या गर्ने ‘सामान्य मानिस’भन्दा आफू भिन्न छु भन्ने कुरा कक्षा ९ मा पढ्दै गर्दा उनले थाहा पाए । “आखिर ‘सामान्य’ शब्दको परिभाषा के त ?” उनी प्रश्न गर्छन् अनि उत्तर पनि आफैँ दिन्छन्, “म समलिंगी पक्कै हुँ । र, यो सामान्य हो ।”

कलिलै उमेरमा पराक्रमलाई आफ्नो लैंगिकताको आभास भयो । उनको व्यवहार कक्षाका अन्य विद्यार्थीको भन्दा भिन्न थियो । “साथीहरू छेड हान्थे, दु:ख दिन्थे । त्यो उमेरका केटाहरू त्यस्तै हुन् भन्ने लाग्थ्यो,” उनी सुनाउँदै गए, “पहिले एकदम नराम्रो लाग्थ्यो, म मात्र यस्तो हो कि भनेर ? तर, अरू पनि हुँदारहेछन् ।” उनी आफ्नो जीवन बदल्नमा अंग्रेजी गायक रिक्की मार्टिनको ठूलो हात रहेको बताउँछन् । ट्वीटरमा उनलाई मार्टिनले लैंगिक  पहिचानका महत्त्वबारे विभिन्न सरसल्लाह दिइरहन्थे । जति बुझ्दै गए, त्यति नै आफू आफ्नो प्यारो हुँदै गए । अहिले आफ्नै तरिकाले खुसी जीवन बाँचिरहेका छन् । 

पराक्रमले ‘गे’ भएको थाहा पाउनेबित्तिकै आमा स्नेह राणालाई भनेका थिए । आफ्नो परिवारसँग यस्तो कुरा लुकाउनेहरू डिप्रेसनको सिकार भएका, आत्महत्या गरेका वा केटीसँग विवाह गरी उसको जिन्दगीसँग नै खेलबाड गर्ने गरेको स्नेहले देखे–सुनेकी छन् । कुपन्डोलमा मेकअप स्टुडियो सञ्चालन गरिरहेकी स्नेह भन्छिन्, “म चाहन्छु, सबैजना पराक्रमजस्तै बाहिर आऊन् । म एकदम गौरव गर्छु, ऊजस्तो बहादुर छोराको आमा भनी चिनिन पाएकामा ।”

इन्टरनेटमा रम्ने नेपालीमाझ लेक्स लिम्बू प्रिय नाम हो । दस वर्षअगाडि ब्लगिङ सुरु गरेका लेक्सले हालै एक भिडियोमार्फत आफू समलिंगी भएको कुरा खुलाएका छन् । रुढिवादी मानसिकता भएका व्यक्तिसँग उनी प्रतिप्रश्न गर्छन्, “हामी कोसँग आकर्षित छौँ भन्ने कुरालाई लिएर किन टाउको दुखाउने ? हाम्रो चरित्रको आलोचना गरिहाल्ने ?” 

जीवनमा अरूका खुसी र संवेदनाभन्दा आफूलाई प्राथमिकता दिनुपर्ने धेरै क्षण आउँछन् । त्यस्तै भयो, अनुज राई (पिटर), ३०, को जिन्दगीमा पनि । २४ वर्षको उमेरमा विवाहका लागि उनको काम–कुरो छिनियो । त्यसको केही समयपछि उनी कामविशेषले नीलहिरा समाज पुगे । त्यहाँ उनले यौन अल्पसंख्यकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका पाए । सबैका संघर्षका कथा सुन्दै गए । हाल नीलहिरा समाजमा परामर्शदाताका रूपमा कार्यरत पिटर भन्छन्, “मैले यहीँ आएर आफू ‘गे’ भएको महसुस गरेको हुँ । ‘इन्गेजमेन्ट’ भइसकेको थियो । तापनि, ‘ब्रेकअप’ गर्नेबाहेक अरू कुनै विकल्प नै थिएन ।”

सुरुमा अरूले केटी र पिटर एकअर्काको अनुकूल नभएकाले विछोड भएको लख काटे । किनभने, उनी निकै पछि मात्रै खुलेर बाहिर आएका हुन् । ०७२ को भूकम्पपछि मात्र आफ्नो पहिचानको बारेमा घरमा भनेका हुन् । यो कुरा सुनिसकेपछि उनको घरमा पनि ठूलो भूकम्प गयो । सुरुमा परिवारले स्विकार्न गाह्रो माने । बिस्तारै सबै ठीक हुन थाल्यो । बेलाबेलामा छिमेकी आएर आमाका अगाडि गुनासो गर्छन् । आमाको चित्त दुख्छ, भक्कानिन्छिन् । उनलाई आशा छ, आमालाई बिस्तारै बानी पर्दै जान्छ । 

केही वर्षअघि जस्तो भेदभाव अहिलेको समाजमा विरलै हुने पिटरको अनुभव छ । तापनि, केही मानिस उनलाई देख्नेबित्तिकै नाक खुम्च्याइहाल्छन् । त्यस्तो व्यवहारले सुरुका दिनमा सास्ती दिने गरेको उनी स्मरण गर्छन् । बिस्तारै त्यही कुराले उनलाई आत्मविश्वासी बनाउँदै लग्यो । आफूले आफैँलाई झन् धेरै माया गर्न सिकायो । “यसमा किन गर्व नगर्ने ?” ‘मिस्टर गे ह्यान्डसम’को पछिल्लो संस्करणमा तेस्रो भएका पिटर भन्छन्, “नेपालको तीन करोड जनसंख्यामा करिब ७ लाख हामीजस्ता समुदायका मानिस छौँ । हाम्रो संख्या कम छ, त्यसैले त हामी विशेष हौँ ।”

६ वर्षअगाडि ‘मिस्टर गे ह्यान्डसम’मा हेटौँडाका विश्वराज अधिकारीले उपाधि चुमेका थिए । प्रतियोगिता हुनुभन्दा ठीक एक दिनअगाडि अधिकारीले घरमा फोन गरी भाइलाई सबै कुरा सुनाएका रहेछन् । बाआमाले स्वीकार्दैनन् भन्ने थाहा थियो । त्यसैले उनीहरूबाट अलग्गिएर बस्छु भन्ने दृढ संकल्प गरिसकेका थिए । “धन्न ! त्यस दिन हिम्मत गरेँ । नत्र आफू जो होइन, अहिले उसको जिन्दगी बाँचिरहेको हुन्थेँ,” उनले लामो श्वास फेरे । 

भयले विश्वराज डिप्रेसनको सिकार पनि भए । डिप्रेसनको औषधि र परामर्श त दिनचर्या नै भइसकेको थियो । म आफैँसँग डराउँथेँ । नडराउनु पनि कसरी ? 

सबैभन्दा मिल्ने साथीले कटु शब्द बोल्दै मुखैमा थुकिदिएपछि । केही मिल्ने साथीहरूले फेसबुकमा ब्लक गर्दै गए । अरूले देख्लान् कि भनी मुख लुकाएर हिँड्नुपथ्र्यो । उनै अधिकारी आज नीलहिरा समाजको मानवअधिकार विभागमा अधिवक्ताका रूपमा कार्यरत छन् । खुसी पनि छन्, सुखी पनि । 

संसारले रुचाएका निल प्याट्रिक ह्यारिस, एल्टन जोन, एन्डर्सन कुपर, रिक्की मार्टिन समलिंगी पुरुष हुन् । सबैले उनीहरूको लैंगिकतामाथि प्रश्न नगरी उनीहरूको काम रुचाएका हुन् । मानिसको लैंगिक अभिविन्यास जस्तोसुकै होस्, आफूप्रति इमानदार हुनुपर्छ । पराक्रम, लेक्स, पिटर र विश्वराज सबै यही कुरालाई अनुशरण गर्छन् । र, सबै एकै स्वरमा भन्छन्, “लैंगिकताको सवालमा नेपाली समाज पनि प्रगतिशील हुनुपर्छ । एकअर्काप्रति सम्मान दर्शाउनु पर्छ ।” 

यहाँनेर रामायणको एउटा रोचक प्रसंग उल्लेख गर्नु सान्दर्भिक हुन्छ । श्रीराम वनबास जाने बेला अयोध्याका सबै मानिस चित्रकुट जंगल सुरु हुने ठाउँसम्म पुर्‍याउन गएका थिए । उनीहरूलाई बिदा गर्ने बेला रामले भने, “ल नरनारीहरू, अब आआफ्ना घर फर्कनुस् ।” त्यसपछि वनतिर लागेका रामले १४ वर्षपछि फर्कदा एक समुदायलाई त्यही स्थानमा बसेको देखे । कारण सोध्दा उनीहरूबाट उत्तर आयो, “हे राजन, हजुरबाट त नरनारीलाई मात्र घर फर्कने आदेश भएको थियो ।”

यो प्रसंग व्याख्या गर्दा विश्वराज केही भावुक देखिए । उनले भने, “कतिलाई यो अहिले व्याप्त विकृतिजस्तो लाग्छ । कसैले हाम्रा धर्मग्रन्थ एकचोटि पल्टाएर हेर्ने चेष्टा गरेको खोइ ?” यस विषयमा पराक्रम अलि झोक्किए, “रुढिवादीहरू आफ्नो कुण्ठा व्यक्त गर्नुअघि किन यस्तो किताब पढ्दैनन् ? अझ महाभारतको युद्धमा भीष्म पितामहलाई परास्त पार्न कृष्णले शिखण्डीलाई मैदानमा उतार्नुभएको होइन ?” 

यो पनि पढ्नुहोस्: उकुसमुकुसबाट उडान

प्रकाशित: फाल्गुन २०, २०७४