कांग्रेस : देउवासहित कि देउवारहित ?

  • यो ऐतिहासिक राजनीतिक दल अब के गर्ला ? कसरी पुनर्जागृत होला ?

- अच्युत वाग्ले

संघीय स्वरूपको पहिलो निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेपाली कांग्रेसभित्र अद्वितीय अन्योल छ । प्रमुख प्रतिपक्षको भूमिका बल्लतल्ल जोगिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाहरूको अंकगणितीय दृष्टिमा, प्रतिपक्ष पनि अत्यन्तै निम्छरो हैसियतको मात्र बाँकी रहेको छ । आधुनिक इतिहासको अत्यधिक समय नेपाली राजनीतिको निर्धारक शक्ति रह्यो कांग्रेस । विसं २००७ को क्रान्ति, ०१५ को पहिलो संसदीय चुनाव, ०१७ को ‘कू’, ०३६ को जनमतसंग्रह, ०४६ को प्रजातन्त्र पुनस्र्थापना, ०६२/६३ को जनआन्दोलन, ०६३ को बृहत् शान्ति सम्झौता, ०७२ को संविधान घोषणासम्मका सबै घटनामा यो दल आफैँ कारक नभए पनि निर्णायक कारण बनेको छ । भर्खरै सम्पन्न तीनवटै तहको चुनाव कांग्रेसकै नेतृत्वमा सफल हुनु पनि कम महत्त्वको उपलब्धि होइन । 

फसेको बहस

यतिखेर, कांग्रेस सुधारको बहस चलिरहेको छ । यो ऐतिहासिक राजनीतिक दल अब के गर्ला ? कसरी पुनर्जागृत होला ? आम चासोको विषय छ । प्रतिपक्षी र प्रतिस्पर्धी शक्तिहरू पनि कांग्रेसको सम्भावित पुनर्जागरणलाई खास रुचिका साथ नियालिरहेका छन् । तर, दुर्भाग्यवश, कांग्रेसको सुधार र पुनर्जागरणको सिंगो र विहंगम मुद्दा ‘देउवा कांग्रेस कि देउवारहित कांग्रेस ?’ भन्ने अत्यन्तै संकीर्ण चेपुवामा गएर फसेको छ । केन्द्रीय समिति बैठकमा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलगायतको सभापति देउवासँग भनाभन भएका समाचार बाहिर आएका छन् । सिंहले संसदीय दलको नेताको चुनावमा देउवालाई चुनौती दिने घोषणा गरेका छन् । र, देउवा आफ्ना समर्थकहरू गनेर लगभग अविचलित बसेका छन्, कम्तीमा संसदीय दलको नेता चुनिने कुरामा ।

देउवा विरोधीहरूको अहिलेको अभिव्यञ्जना हो, उनी पदबाट हट्नु कांग्रेस सुधारको एकल सर्त हो । अथवा, अहिलेको कांग्रेसको दुर्दशाको एकल दोषी उनी र उनी मात्रै हुन् । निश्चय नै, सभापति र  प्रधानमन्त्रीका रूपमा अहिलेको अवस्थाको नैतिक र राजनीतिक मूल भागिदारी उनकै हो । तर, उत्तिकै निश्चित के हो भने, उनी कथंकदाचित सभापतिबाट हट्न तयार भए भने पनि कांग्रेस सुधारको बाटोमा एक इन्च पनि अघि बढ्ने सम्भावना छैन । पौडेल, सिंह वा कुनै एक कोइरालालगायतका देउवा विरोधीहरूले कसैगरी (जुन अहिले सम्भव देखिँदैन) दलको नेतृत्व लिए पनि कांग्रेसको नियति अहिलेको भन्दा फरक हुने छैन । यसका लागि अलग र आधुनिक दृष्टिकोण नै चाहिन्छ । तर, सुधारको नाममा देउवालाई उछिट्याउन चाहनेहरूसँग पनि कांग्रेसलाई आधुनिक शक्तिमा रुपान्तरण गर्ने कुनै कार्ययोजना, श्वेतपत्र वा परिभाषित मार्गचित्र छैन । पौडेल, सिंह वा युवा पुस्ताकाहरूले आलोचनाको कुनै सैद्धान्तिक र बौद्धिक आधार प्रस्तुत गर्न सकेका छैनन् ।

पदबाट हुत्याउने र पदमा पुग्ने होडका बीच गाँड कोराकोर मात्र भइरहेको छ । प्रतिस्पर्धामा उत्रन चाहने पात्रहरूले मुलुकको राजनीति, संघीयता, अर्थतन्त्र, दल उत्थानको कार्ययोजना र प्रतिपक्षका रूपमा कांग्रेसको भावी भूमिका आदि कुनै पनि विषयमा आफ्नो एजेन्डा, दूरदृष्टि र कार्यशैली देउवाको भन्दा कसरी फरक हुन्छ, प्रस्ट्याउन पटक्कै सकेका छैनन् । यही कारण सभ्य र तार्किक बहस हुनुपर्ने ठाउँमा झगडा भइरहेको छ । र, यसको फाइदा वास्तवमा देउवालाई नै पुगेको छ ।

कांग्रेस जति नै खुम्चिएको किन नहोस्, यसको अस्तित्व शून्यमा नै झरिसकेको छैन । र, बाँकी रहेको कांग्रेसभित्र, कसैले रुचाए वा नरुचाए पनि, देउवा आफूलाई अझै निकै सुविधाजनक अवस्थामा राखिराख्न सफल छन् । उनले कसैलाई काखा वा कसैलाई पाखा गरे भन्ने लेखाजोखाको विषय बेग्लै हो । वैधानिक रूपले पनि सभापतिबाट हटाउन उनैले नचाहुन्जेल सहज छैन । सबै अव्यवस्थाको नैतिक जिम्मेवारी एक्लै लिएर उनले पद छाडिहाल्ने कुरा पनि अहिलेलाई कल्पना बाहिरकै हो । दललाई सम्पूर्ण रूपले आफ्नो नियन्त्रणभित्र ल्याउने र आलोचकहरूलाई ढिम्कनै नदिएर ‘देउवा कांग्रेस’ मात्र बचाइराख्ने सभापतिको योजना र ‘देउवारहित कांग्रेस’ बनाउने उनका विपक्षीहरूको विपरीत ध्रुवीय अभियान नै वास्तवमा कांग्रेस सुधारका मुख्य बाधक हुन् । यस्तो निषेधको राजनीतिले केही समय तरंग ल्याउला । तर, निकास पहिल्याउँदैन ।

निकासको कदम, फेरि पनि वैचारिक तहबाटै, सम्पुष्ट शास्त्रार्थका साथ सुरु नभई कांग्रेस अघि बढ्नै नसक्ने अवस्थामा आइपुगेको सत्य हो । खासगरी, कांग्रेसको राजनीतिक औचित्य समाप्त भएको बहस विपक्षी शक्तिहरूले पस्केका बेला उसले युगसापेक्ष वैचारिक आधारहरू परिभाषित नगरी उम्कन र उक्सन सक्ने अवस्था छैन । यही नैतिक/वैचारिक पक्षमा कांग्रेस सर्वथा खोक्रो देखिएको छ । अरू धेरै गैरलोकतान्त्रिक शक्तिहरू कांग्रेसको आधारभूत मान्यताको, बालिग मताधिकारमा आधारित संसदीय लोकतान्त्रिक पद्धति स्वीकार्न आइपुगेकाले उसको वैचारिक आधारको उपयुक्तता पुष्टि भएको तर्क गरेर रमाउन नसकिने होइन । तर, यो अहिलेसम्मको अवस्था हो । भोलिको पार्टी संगठन, राज्य सञ्चालन र जनताको समृद्धिका आवश्यकता सम्बोधन गर्न अद्यावधिक सूचना एवं ज्ञान, वैचारिक आधार, विवेक र नैतिक प्राधिकार नभई हुँदैन । कांग्रेसले यी अपरिहार्यतातर्फ बिल्कुलै ध्यान दिएको छैन । कुनै पनि तथाकथित पुस्ता यसमा अपवाद छैन ।

नेतृत्व पुस्ता

देउवा र पौडेलको पुस्ता (प्रतिनिधि पात्रका रूपमा नाम लिइएको हो) वैचारिक र नैतिक दुवै दृष्टिले निकम्मा भइसकेको छ । पार्टी, मुलुक र समाजलाई अगाडि बढाउन आवश्यक इच्छासूची त उनीहरू कनिकुथी भन्न सक्लान् । तर, ती आकांक्षाहरू कसरी पूरा गर्न सकिन्छ भन्ने कुनै रणनीति उनीहरूसँग छैन । रणनीतिको के कुरा, सामान्य सूचना र जानकारी पनि छैन । वर्तमान विश्व व्यवस्था, संसारमा भइरहेका विकास र समृद्धिको बहसका बान्कीहरूदेखि मुलुकले अवलम्बन गरेको संघीय प्रणालीका वास्तविक सबलता वा जोखिम, चरम संकटोन्मुख भइसकेको मुलुकको अर्थ–सामाजिक संरचनाबारे यी ‘नेतृत्वकर्ताहरू’को कुनै धारणा, विचार वा समाधान छैन । ५० वर्षअघि सिकेका केही शब्दावलीहरूलाई दोहोर्‍याएर उनीहरूका भाषण, अन्तर्वार्ता जेनतेन धानिएका छन् । सिर्जनशीलता र सिक्ने जाँगर छैन ।

हप्काएर चल्छ भन्ने अनौठो मनोविज्ञान हावी छ । हिजोको त्यागका कथामा चरम पदलोलुपता, स्वार्थ र चलखेलको गहिरो खग्रास लागेको छ । दशकौँ यता यो सिंगो पुस्ताले आफ्नो ज्ञानलाई वर्तमान सुहाउँदो र भविष्यलाई उपयोगी बनाउने एउटा पनि पुस्तक वा आलेख छिचोलेको छैन । यस्तो नैतिकता वा वैचारिक क्षमताको प्रश्न उठाउनेहरूलाई व्यावहारिक राजनीति नबुझेको आफ्नो विरोधीको संज्ञा दिन उनीहरू संकोच मान्दैनन् । दाबीका साथ के भन्न सकिन्छ भने, यो पुस्ताले पछिल्ला पुस्ताले अनुसरण गर्न लायक ज्ञान, विचार र नैतिकताको एउटै मानक र उदाहरण पनि जोगाउन सकेको छैन । कांग्रेस अधोगतिको मूल कारण र समाधानको उपाय पनि यिनै कटु वास्तविकताको वरिपरि छ । तर, यो चुनौतीको नजिक कोही पर्न चाहेको छैन ।

राजकुमार पुस्ता

कांग्रेस स्थापनाकालका ठूला नेताका सन्ततिहरूबाट पार्टीभित्र र आम जनताको पंक्तिले ठूलो आशा गर्‍यो । विश्वास र भरोसा अझै गरिरहेको छ । खासगरी बीपी कोइरालाका छोरा शशांक (पहिले प्रकाशलाई पनि), गणेशमान सिंहका छोरा प्रकाश र महेन्द्रनारायण निधिका छोरा विमलेन्द्रले पार्टीलाई भविष्यमुखी नेतृत्व दिनसक्नु पर्ने हो । वैचारिक क्षितिज, नैतिक धरातल र सांगठनिक गतिशीलता, तीनवटै पक्षमा कसैको पिछलग्गु हुनुपर्ने कारण उनीहरूलाई थिएन । उनीहरूले पटकपटक आफूलाई प्रमाणित गर्ने अवसर पाए, पाइरहेका छन् । तर, ज्ञान, व्यवहार र परिणाम दिने कुरामा उनीहरू पनि देउवा–पौडेल पुस्ताभन्दा अलिकति पनि फरक देखिन सकेनन् ।

पार्टीको दर्शन, राज्य वा शासकीय प्रणाली, अर्थतन्त्र, कुटनीति आदि कुनै पनि विषयमा पाँच मिनेट सार्थक छलफल गर्न उनीहरूसँग पनि सकिँदैन । अध्ययन, विनम्रता र खुला बहसको सट्टा चुलिएको अहम्को पर्खालभित्र थुनिन उनीहरूलाई पनि प्रिय लागेको छ । आधुनिक पढलेखको त कुरै भएन, ‘अब कसैको कुरा नसुने पनि पुग्छ’ वा ‘हामीलाई सिकाउने त्यो को हो ?’ भन्ने भावभंगीमामा उनीहरू प्रस्तुत हुन्छन् । यसले कांग्रेसलाई भविष्यविहीन बनाउन ठूलै ‘योगदान’ गरेको छ ।

युवा पुस्ता

सबैभन्दा दयनीय अनुहार तथाकथित युवा भनिएको र अब नेतृत्व लिन तयार हुनुपर्ने पुस्ताले देखाएको छ । यो पुस्ता पनि अघिल्ला दुई पंक्तिभन्दा फरक हुन नसक्नु सर्वाधिक दु:खद हो । अध्ययन, ज्ञान, विचार र भविष्यको दृष्टिलाई आकार दिने मामिलामा पार्टीको मूलधारमै पुगेको र नेविसंघ वा तरूण दलजस्तो नेता उत्पादन हुने संरचनाहरूमा क्रियाशील युवाहरूको निर्णायक उपस्थिति र भूमिका देखिनुपर्ने हो । यो घडीमा युवा नेतृत्वले प्रस्तुत गर्ने पार्टी, राज्य र मुलुकी अर्थराजनीति सञ्चालनका वैकल्पिक खाका देउवादेखि विपक्षी शक्तिहरूसम्मले पन्छाउन र टार्नै नसक्ने बलशाली र सम्पुष्ट हुनुपर्ने हो । नैतिकता र आदर्शको कुरा त यो पुस्तासँग गर्नै निरर्थक हुन्छ । किनभने, यो विगत अढाई दशकयता जतिसक्दो छिटो सत्तामा पुगेर शासकीय सुखभोग गर्न राजनीतिमा आएको पुस्ता हो । अघिल्लो पुस्ताले त्यसै गरेको देखेर, र्‍याल काढ्दै हुर्किएको हो । तर, पदमै पुग्ने सपना पूरा गर्न पनि अब चाप्लुसी र बाहुबली राजनीतिले मात्र पुग्दैन भनेर नबुझ्नुचाहिँ मूर्खता नै हो ।

सारमा, तत्काललाई कांग्रेस सुधारका तीनवटा मात्र बाटा छन् । पहिलो, विरोधी आवाजलाई कुल्चेरै अघि बढ्ने देउवाको राजनीति र देउवालाई झुकाएर पार्टीबाहिर हुत्याउने दुवै प्रयासले कुनै परिणति ल्याउँदैन । त्यसैले, दुवै धारले सहअस्तित्वको रणनीति अपनाउनुको विकल्प छैन । दोस्रो, कांग्रेस सुधारको आवश्यकता, स्वरूप र मार्गचित्र साझा स्वामित्वको बनाउनुको विकल्प पनि छैन । यही क्रममा चरम अक्षम र अनैतिकहरू किनारा लाग्ने वातावरण क्रमश: निर्माण गर्नुपर्छ । र, तेस्रो कांग्रेसको ध्यान अब सदन र मुुलुकभरि कसरी प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्नेतर्फ केन्द्रित हुनु आवश्यक छ । यसले कांग्रेसको हित गर्छ नै, सिंगो लोकतन्त्र पनि लाभान्वित हुनेछ । 

प्रकाशित: फाल्गुन २०, २०७४