मौलिक कथा कलात्मक प्रस्तुति

- गोकर्ण गौतम

नेपाली फिल्ममा नयाँ परिवेश र पात्रका कथा देख्न पाउनु बालुवामा हिरा भेटे जस्तै हो । कतिपय निर्देशक भिन्न बाटो हिँड्ने प्रयास गर्छन्, तर ढंग पुग्दैन । गन्तव्यहीन हुन्छन् । दर्शक जिल्ल पर्छन् । सोही कारण फरक धारको नाममा गलत धारलाई प्रश्रय दिएको गुनासो व्याप्त छ । अमित श्रेष्ठ निर्देशित नाकाले चाहिँ कथित फरक धारको साख बढाएको छ । नेपाल–तिब्बत सिमानामा हुने तस्करीमा केन्द्रित यस फिल्ममा यस्ता दृश्यहरूको बाहुल्य छ, जुन यस अगाडि सायदै पर्दामा देखिएको थियो । अर्को सुखद पक्ष, दृश्यहरू ताजा मात्र होइनन्, मूल कथालाई बेजोड बनाउने सामथ्र्य पनि राख्छन् । अभिनेता विपिन कार्की फिल्मलाई उचाइ दिलाउने दर्बिलो

हतियार हुन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा गोल्डी (विपिन कार्की) र लाटा (रविन तामाब) को गुन्डाराज छ । दुवैको उद्देश्य तस्करी नै हो । लाटाबाका दुईजना मान्छे तिब्बतबाट आउँदा बाटोमा सम्पर्कविहीन हुन्छन् । उनीहरूलाई बाह्रबिसेसम्म ल्याएको पाँच लाख रुपियाँ पाउने भएपछि गोल्डी उकालो लाग्छ । गोल्डीले सकुशल उनीहरूलाई ल्याउला ? अनि, लाटाबाले भनेको जति पैसा देला ? फिल्म यिनै सवाल वरपर घुमेको छ ।

सीमाक्षेत्र प्राय: तस्करका लागि उर्बरभूमि हुन्छ । बाह्रबिसे र तातोपानी नाकामा त्यसकै छनक पाइन्छ । जहाँ तस्करसँग बर्दीधारी प्रहरी डराउँछन् । फिल्ममा यहाँको अपराधको संसारलाई मज्जैले उतारिएको छ । तर, फिल्म सबल हुनुको कारण यतिमात्र होइन । त्यो भनेको, मूल कथा र पात्रमार्फत होइन, सहायक पात्र र तिनका कथालाई उत्तिकै महत्त्व दिइनु हो, जसल अन्तत: केन्द्रीय कथालाई नै सबल बनाएको छ । कथा दुईजनालाई नाका कटाएर बाह्रबिसे ल्याउने मात्र हो । तर, लाटा ती दुईजनाको पछि लाग्नुको रहस्य न गोल्डीलाई थाहा छ, न त गोल्डी कुन हदसम्मको हिस्रंक हो, लाटाले भेउ पाएको छ ।

भलै दुवै पैसाकै पछाडि लागेका हुन् । निर्देशकले भिन्न प्रवृत्तिका दुई नकारात्मक चरित्रमार्फत रोचकता पस्कने प्रयास गरेका छन् । यसको जस पटकथाकार अर्जुन कार्कीलाई पनि जान्छ ।

सुरुमा फिल्मको गति धीमा छ । खासगरी गोल्डीको चरित्र स्थापित गर्न अनावश्यक दृश्य खर्चिएको छ । कहीं–कहीं त पट्यार नै लाग्छ । जंगलबाट एम्बुलेन्ससम्म शिव मुखियालाई ल्याएको दृश्यले पनि ध्यान तान्दैन । कथा उठानको सवालमा निर्देशक र पटकथाकारमा अलमल देखिन्छ । तर, गोल्डी

र लाटाको 'काउन्टर’ सँगै फिल्मले गति लिन्छ । गोल्डीका साथी हनुमान (प्रकाश गन्धर्व) र लाटालाई । 'बोस’ मान्ने एक चरित्रलाई निर्देशक श्रेष्ठले सन्तुलित रूपमा उभ्याएका छन् । मूल कथामा सहायक पात्रको यस्तो सुन्दर प्रयोगबाट अरू निर्देशकले पनि सिक्नुपर्छ । गुन्डाहरूको हुलिया, झगडा, झगडा गर्ने ठाउँ, बोलीचालीले मौलिकताको आभास हुन्छ । तर, प्रहरीको कमजोर र कमेडी पाराको उपस्थितिले हल्का बनाउँछ । गोल्डीका कतिपय हर्कत हसाउनैका लागि राखिएको भान हुन्छ ।

फेरि पनि फिल्मको मूल प्रवाहमा गोल्डी अर्थात् विपिन नै छन् । उनको चरित्र–चित्रण आकर्षक छ, ज्यादै सन्काहा तर बुद्धि नभएको । रातमा पनि चस्मा लगाउने, धोत्रो बोली, निर्दयी अनि धोकेबाज । विपिन पूरापूर गोल्डीकै अवतारमा रुपान्तरण भएका छन् । तर दर्शकको संवेदना जित्ने पात्र हुन्, गोल्डीका साथी हनुमान (प्रकाश गन्धर्व) जो आफैँ पनि गुन्डा भए पनि मनमा माया छ । सोनाम (थिन्ले लाह्मो) र उनको सम्बन्ध दर्शकले सम्झिरहन्छन् । फिल्मका असली 'हिरो’ प्रकाश हुन् । बोल्न नसक्ने तर सधैँ रिसाइरहने पात्रका रूपमा रविन तामाब फिट छन् । कथाको लय र मर्मअनुरूप क्यामेरा चलाएका छायाँकार चिन्तनराज भण्डारी प्रशंसाका बलियो हकदार हुन् । रोहित शाक्य र शैलेश श्रेष्ठको पृष्ठभूमि संगीत उस्तै सशक्त छ ।

पहिलो फिल्मबाटै अमित श्रेष्ठले आफूमा प्रचुर निर्देशकीय क्षमता भएको संकेत दिएका छन् । मौलिक कथा र पात्रको कलात्मक प्रस्तुतिले नाकालाई हेर्नलायक बनाएको छ । फिल्म परम्परागत सूत्रबाट बाहिर छ । र, दर्शकलाई 'इन्गेज’ गरिराख्छ । विपिनको जबर्जस्त अभिनय 'बोनस’ हो ।

प्रकाशित: फाल्गुन १८, २०७४