[स्मरण] राजाका कुरा बुझ्नै मुस्किल

- डा मृगेन्द्रराज पाण्डे

वीर अस्पतालको सरकारी डाक्टर भएर दरबारका साथै राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रका विभिन्न व्यक्तिको स्वास्थ्य उपचारमा म निरन्तर सक्रिय भएँ । राजनीतिक दल र सामाजिक सेवासम्बद्ध व्यक्तिहरूको कुरा गर्दा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर, मनमोहन अधिकारी, कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण समजस्ता समाजमा आफ्नो नाम र पौरखले चिनिएका धेरै व्यक्तिको स्वास्थ्य उपचारमा म संलग्न रहेँ । 

राजनीतिक दलका व्यक्तिहरूको उपचारमा संलग्न हुने क्रममा कहिलेकाहीँ उनीहरूका बैठक–कक्ष हुँदै बेडरुमसम्म पनि पुगेँ होला । रोगसँग जुझिरहेको व्यक्ति र डाक्टरका बीचमा जे–जस्तो सम्बन्ध हुन्छ, उनीहरूसँग पनि मेरो त्यस्तै सम्बन्ध रह्यो । त्यसै कुरालाई लिएर मेरा विरुद्ध दरबारमा अनेक अफवाह पनि फैलाइयो । राजनीतिक दलहरूका उच्चपदस्थ व्यक्तिसँग मेरो राम्रो सम्बन्ध रहेकाले ‘दरबारका धेरै कुरा नेताहरूसम्म पुर्‍याउने व्यक्ति यही हो’ भन्ने ढंगले पनि राजा वीरेन्द्रका अगाडि मविरुद्ध धेरै कुराहरू पुर्‍याइएको रहेछ ।

राजा वीरेन्द्र विसं ०४६ को पूर्वाद्र्धमा राजनीतिक दलहरूसँगको सघन संवादमा थिए । त्यस क्रममा राजामा कहिले नैराश्य र छटपटाहट देखिन्थ्यो भने कहिले पूर्ण सन्तुष्टिभावका साथ प्रस्तुत भएका देखिन्थे । वार्ता शान्तिपूर्वक र सकारात्मक मोडतर्फ अघि बढ्दा उनमा खुसीका रेखाहरू दौडिएको देखिन्थ्यो भने संवादहरू बीचमै टुट्दा र कुरा नमिल्दा दु:खी भएको पनि देखिन्थ्यो । राजाको निजी चिकित्सक भएकाले यस्ता कुरा मैले पनि नजिकै रहेर देख्ने र अनुभव गर्ने मौका पाएँ । 

यत्तिकैमा मुमाबडामहारानी रत्न चितवनको दियालो बंगलामा गएर बस्ने कुरा भयो । र, मलाई पनि उहाँको स्वास्थ्यसम्बन्धी रेखदेखका निम्ति त्यहीँ खटाइयो । दियालो बंगलामा उहाँको सामान्य चेकजाँच गरेपछि मेरो पनि के नै काम हुन्थ्यो र ! यसो मानिसहरू भेट्ने, त्यहाँका मानिसमा रहेको स्वास्थ्य स्थिति, रोग र रोकथामका लागि सल्लाह दिने काममै समय बितिरहेको थियो । कुराकानी गर्दै जाँदा चितवनको देवघाटमा एउटा स्वास्थ्य शिविर सञ्चालन गर्ने र जनचेतना जगाउने काम गर्नुपर्‍यो भन्ने मनमा लाग्यो ।

देवघाटका जनतामा साधु–समाज, मठाधीश र महन्तहरूप्रति बेग्लै किसिमको आस्था र विश्वास रहेछ । त्यो कुराको आभास पाएपछि त्यहाँका तीनै जना महन्तलाई एउटै मञ्चमा ल्याएर एउटा स्वास्थ्य शिविर उद्घाटन गर्ने र त्यहाँका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउने अभियान सुरु गर्नुपर्‍यो भनेर ती महन्तहरूलाई भेट्न गएँ । विशाल आश्रम निर्माण गरेर ती महन्तहरू एउटा उचाइमा पुगेका थिए । उनीहरूको नाम र प्रतिष्ठा उच्च थियो । मैले तीनै जनालाई एकै ठाउँमा ल्याएर शिविर सञ्चालन गर्ने आकांक्षा राखेँ । तर, एक जना महन्त गएको ठाउँमा अर्को जानै नमान्ने रहेछन् । धन–सम्पत्ति र घर–परिवार सबै त्यागेर हिँडेका र लोभ–मोह केही नभएका भनिएका त्यस्ता व्यक्तिमा पनि यस किसिमको अहम् देख्दा भने अचम्म लागेर आयो । 

यसैबीच प्रकाशचन्द्र लोहनीका पिता वेदप्रसाद लोहनीसँग देवघाटमै भेट भयो । उहाँ त्यतिबेला त्यहीँ बस्नुहुँदो रहेछ । उहाँलाई त्यहाँका जनताको स्वास्थ्य समस्याप्रति मैले चासो दिएको देख्दा उत्साह पनि मिलेको रहेछ । उहाँले नै महन्तहरूसँग ‘एकपटक म कुरा गर्छु’ भन्नुभयो ।

उहाँले महन्तहरूलाई मीठो भाषामा सम्झाउनुभएछ । ‘राजाका निजी चिकित्सकले भनेको कुरा मान्दा जायज नै होला’ भन्ने ढंगले सम्झाएपछि महन्तहरू सामूहिक रूपमा स्वास्थ्य शिविरमा सहभागी हुन सहमत भएछन् । त्यसपछि त शिविर बडो सानदार ढंगले सम्पन्न भयो । देवघाटमा साधु–सन्त मात्र होइन, त्यस क्षेत्रका तीनै जिल्लाका मानिसहरूले मृगेन्द्र सम्झना चिकित्सा गुठीका तर्फबाट प्रदान गरिएको नि:शुल्क स्वास्थ्य सेवा लिने मौका पाए ।

तर, मैले त्यस्तो काम गर्न थालेको कुरा दरबारका केही मानिसलाई चित्त बुझेको रहेनछ । ‘स्वास्थ्य शिविर सञ्चालन गर्ने बहानामा डाक्टरले राजनीति गर्न खोजेको’ भनेर दरबारमा कुरा पुर्‍याएछन् । त्यति मात्र होइन, बडामहारानीको स्वास्थ्य रेखदेखका निम्ति खटिएको व्यक्ति सर्वसाधारणको स्वास्थ्य चिन्ता गरेर किन सडकमा उत्रिनु पर्‍यो !’ भन्ने ढंगले आलोचना र कुराहरू दरबारमा पुर्‍याइएछ । 

मलाई पनि कता–कता डर लागेर आयो, कहीँ राजाले ‘ आफ्नो र दरबारको नाम बेचेर यस्तो काम गर्नुपर्ने के जरुरी थियो र ?’ भनेर प्रश्न गरे भने के जवाफ दिउँला । यसैबीच बडामहारानी रत्नलाई भेट्न दियालो बंगलामा राजा वीरेन्द्र आएका बेला मेरो भेट भयो । राजा वीरेन्द्रले मेरो कामलाई लिएर न कुनै गाली गरे, न त कुनै प्रशंसा नै गरे । हाँस्दै यत्ति भने, ‘डाक्टर ! यू आर ह्याबिङ ए नाइस टाइम ?’ 

उनको यस आशयभित्र के रहस्य थियो, आजसम्म मैले बुझ्न सकेको छैन ।

प्रस्तुति: ईश्वरी ज्ञवाली

प्रकाशित: फाल्गुन १६, २०७४