‘थिएटर बोरिङ लाग्न थाल्यो’

- मनबहादुर बस्नेत

अब्बल दर्जाका अभिनेताको सूचीमा पर्छन्, सुदाम सीके । रंगमञ्चमा कुशल अभिनय पस्किएपछि फिल्मी पर्दामा छाएका सीकेले करिब दर्जन फिल्ममा आफ्नो कला प्रदर्शन गरिसकेका छन् । सहायक भूमिकाबाटै दर्शकमाझ स्थापित भए पनि नाटकप्रतिको उनको मोह मरेको छैन । यतिबेला काठमाडौँ, थापागाउँस्थित कुञ्ज नाटकघरमा उनी अभिनीत एकल नाटक म्याड म्यान्स डायरी मञ्चन भइरहेको छ । यसै सेरोफेरोमा उनीसँगको कुराकानी : 

यसअघि पनि एकल नाटक खेलिसक्नु भएको छ । पहिलेभन्दा यसपालि के भिन्नता अनुभव गर्नुभयो ? 

सात वर्ष भयो, मैले नाटक खेल्न थालेको । प्रत्येक नाटकमा फरक अनुभव हुन्छ । जति धेरै अभिनय गर्‍यो, उति परिपक्वता बढेको महसुस हुन्छ । व्यावसायिक र सैद्धान्तिक दुवै हिसाबमा । यसले चेतनाको तहसमे त विकास हुँदै जान्छ । प्रत्यक्ष–अप्रत्यक्ष रूपमा फरक अनुभव हुन्छ नै । 

थिएटर पृष्ठभूमिका कलाकारले फिल्ममा ‘लाउड’ अभिनय गर्छन् भनिन्छ । तपाईंमाथि पनि त्यो आरोप छ । के भन्नुहुन्छ ? 

सबैको लाउड अभिनय नै हुन्छ भन्ने छैन । थिएटरमा काम गर्दा उपस्थित सबै अडियन्सको ‘रिच’मा एकसाथ पुग्नुपर्छ । त्यसका लागि अभिनयलाई स्वाभाविकता प्रदान गर्न ठूलो स्वरमा बोल्नुपर्ने हुन्छ । थिएटरका कलाकारमा यही बानीको विकास हुन्छ । थिएटरबाट फिल्ममा जाँदा कसरी काम गर्ने भनेर सिकाउने माध्यम छैन हामीसँग । एकैचोटि क्यामेरामा जाँदा थिएटरको बानी हावी भएकाले लाउड सुनिएको हो कि ? 

अभिनेताको यस्तो बानीले फिल्मको गुणस्तरमा त असर गर्ला नि ? 

यो त निर्देशकको हातमा हुन्छ । निर्देशकले कस्तो चरित्र चाहेको हो, त्यही अनुरूप अभिनय गराउनुपर्छ । 

अभिनेताका रूपमा एकल नाटक खेल्नुका चुनौती के के हुन् ? 

एकल नाटक खेल्नु मेरा लागि चुनौतीभन्दा अवसर बढी हो । 

कसरी ? 

एकल नाटक खेल्दा स्टेजको जम्मै ‘स्पेस’ आफ्नो हुन्छ । धेरै क्यारे क्टर हुँदा अरूले कस्तो हाउभाउ–अभिनय गर्छ, त्यही अनुसार आफू तयार हुनुपर्छ । एक किसिमले अरूसँग निर्भर हुनुपर्छ । तर, एकलमा स्वतन्त्रतापूर्वक अभिनय गर्न पाइन्छ । आफँैलाई ‘एक्स्पोलर’ गर्ने अवसर पाइन्छ । स्टेजलाई कसरी सदुपयोग गर्ने भन्ने आफैँमा भर पर्छ । त्यसै ले यसलाई मैले अवसर भनेको हो । 

थिएटरबाट फिल्ममा फड्को मार्दाको भोगाइ कस्तो छ ? 

सात–आठवटा नाटक खेलेपछि म फिल्मतिर गएको हुँ । पहिलो फिल्म रेड मनसुनमा अभिनय गर्दा चरित्रबारे लामो कुरा गरेपछि मात्रै क्यामेर ाअगाडि प्रस्तुत भइयो । अभिनयमा छिर्नुअघि वर्कसप भएको थियो । तर, त्यसपछाडिका फिल्ममा यस्तो आत्मसन्तुष्टिको आभास भएन । 

उसो भए तपाईं अभिनीत पछिल्ला फिल्ममा खट्केको विषय के हो ? 

‘लिड क्यारेक्टर’लाई मात्रै समय दिनु र ‘सब–क्यारेक्टर’लाई महत्त्व नदिनु । सिंगो फिल्ममा ‘सब क्यारेक्टर’हरूको उपस्थिति कस्तो छ भन्ने कुरा अभिनेतालाई समेत फिल्म बनेर आएपछि मात्र थाहा हुन्छ । जबकि, फिल्म राम्रो हुन सब–क्यारेक्टरहरूको उत्तिकै महत्त्व र भूमिका हुन्छ । सब–क्यारेक्टर लाई यी जम्मै कुरा थाहा भए मात्र उसले परिष्कृत अभिनय पस्कन सक्छ । 

फिल्ममा सब–क्यारेक्टरलाई किन महत्त्व नदिएको होला ? 

एकछिन वा सानो रोल त हो, गरिहाल्छ नि भन्ने निर्देशकको सोच हुन सक्छ । चरित्र–निर्माणको प्रक्रिया हुन्छ भन्ने ख्याल नगरेको जस्तो लाग्छ । 

यस्तो प्रवृत्ति कहिले परिवर्तन होला त ? 

लिड क्यारेक्टरकै लागि त समय पाउन मुस्किल छ भने सब–क्यारे क्टर का लागि तुरुन्तै यस्तो सम्भावना छैन । फेरि चरित्र–निर्माणमा लगानी चाहिन्छ, त्यो कसले गर्छ र ? 

फिल्ममा तपाईंको अभिनयको प्रशंसा हुन्छ । तर, सोही अनुरूप मुख्य भूमिका पाउनुभएको छैन । कारण ?

आजसम्म मैले चाल नपाएको कुरै यही हो । थाहा भएदेखि त्यसलाई सुधारेर मुख्य भूमिका पाउने गरी आफूलाई तयार गर्थें । 

फिल्म र नाटकको अभिनयमा के भिन्नता पाउनुहुन्छ ?

नाटकमा सूक्ष्म अभिनय गर्न सकिँदैन, जुन फिल्ममा सकिन्छ । औँला, खुट्टाका स–साना चाल आदिले फिल्ममा अभिनय गर्न सकिन्छ, जुन थिएटरमा सकिन्न । 

तपाईंका लागि फिल्म प्रधान कि थिएटर ? 

पहिले मलाई थिएटर मन पथ्र्यो । अहिले बोरिङ लाग्न थालेको छ । किनभने, यसमा ‘च्यालेन्ज’ सकिन थाल्यो । सूक्ष्म अभिनय गर्न सकिने हुँदा अब म आफूलाई मुभीमा एक्स्प्लोर गर्नेछु । फिल्म मेरा लागि बेस्ट अप्सन हो । 

 

प्रकाशित: फाल्गुन १६, २०७४