जोडी माननीयलाई लाभैलाभ

  • नेतृत्वसँग पहुँच बनाएकै कारण केहीलाई पटक–पटक अवसर

- माधव बस्नेत

‘उही स्तरका नेता/कार्यकर्ताको सवाल दालभातको व्यवस्थापन पनि हो । एकै घरका दुवै मान्छेलाई पटक–पटक मन्त्री, सांसद र लाभको पदमा पुर्‍याइरहने र तिमी/हामी फूल बोकेर बधाई दिन जाने हो भने हामी माओवादी आन्दोलनका असल कार्यकर्ता हैन, दलाल हौँ ।’

पत्रकार खिलबहादुर भण्डारीले ५ फागुन ०७४ को साँझ आफ्नो फेसबुकमा पोस्ट गरेको स्ट्याटस हो, यो । माओवादी आन्दोलनमा आबद्ध भएबापत जेल र भूमिगत जीवन बिताएका भण्डारीको यो टिप्पणीले एकै दम्पती, परिवार संसद्मा प्रवेशको उछितो काढेको प्रस्टै बुझ्न सकिन्छ । 

सबैलाई समान अवसर, समान व्यवहार, विभेदको अन्त्य, सीमान्तकृत क्षेत्र, वर्ग, लिंग, समुदायलाई मुक्तिको नारा दिएर तत्कालीन नेकपा माओवादीले १ फागुन ०५२ बाट सशस्त्र विद्रोह थालेको थियो । लामो घुम्ती पार गरेर अन्तरिम व्यवस्थापिका संसद्, ०६४ र ०७० को संविधानसभा अनि ०७४ को संघ/प्रदेश चुनावसम्म आइपुग्दा यो पार्टी विगतका बाचाहरूबाट पूरै विचलित भएको देखिन्छ । “उत्तिकै योगदान भएका एकाथरीले आफैँ नेतृत्वमा पुगेको, नेतृत्वसँग मजबुत पहुँच बनाएकै कारण अवसर पाएका पायै छन्,” उनी भन्छन्, “जनयुद्धमा लागेबापत झापाका भीमबहादुर–चन्द्रकला बस्नेतका दुई छोरा बेपत्ता छन् । तर, उनीहरूले कहिल्यै अवसर पाएका छैनन् । अर्काथरीले भने सीमान्तकृत, उपेक्षित, उत्पीडितका लागि छुट्याएको समानुपातिक कोटाबाटै भए पनि पटक–पटक लाभ लिइरहेका छन् । त्यसैले म त्यस्तो स्ट्याटस लेख्न वाध्य भएको हुँ ।” भण्डारीले दिएको झापाको उदाहरण त एक प्रतिनिधि घटना मात्र हो । यस्ता उदाहरण दर्जनौँ छन् । 

माओवादीले युद्धका बेला भन्ने गरेको थियो– कांग्रेस र एमालेमा नातावाद, परिवारवाद लागू हुन्छ, हामी त्यसका विरुद्ध लड्छौँ । बहुदलका १२ वर्षमा देखिएका कतिपय घटनाक्रमले यस्तो आरोपलाई पुटसमेत दिएका थिए । तर, त्यही माओवादीले यसपटकसमेत करिब आधा दर्जन दम्पतीलाई एकसाथ संसद्मा प्रवेश गराएको छ । १ माघ ०६३ मा अन्तरिम व्यवस्थापिका संसद्मा प्रवेश गर्दा तत्कालीन माओवादीले ८४ नेता/कार्यकर्तालाई सभासद् मनोनीत गरेको थियो । त्यसयता केही दम्पती निरन्तर अवसरका भागीदार छन् । 

भर्खरै संघ/प्रदेश चुनावबाट एक दर्जन दम्पती सांसद बनेका छन् । यीमध्ये झन्डै आधा दर्जन माओवादी केन्द्रबाट छन् । दम्पती नै पूर्णकालीन राजनीतिमा होमिएकाले योगदानका आधारमा उनीहरू सांसद बनेका कतिपय माओवादी नेताको दाबी छ । तर, घटनाक्रमले त्यसलाई पुष्टि गर्दैनन् । किनभने, उही समयबाट राजनीति सुरु गरेका मध्ये पहुँचवाल पति नहुने महिलाहरू एकपटक पनि सांसद बन्न सकेका छैनन् वा उनीहरूलाई बढीमा एकपटक मात्र त्यो अवसर दिइएको छ । तर, पहुँचवाल पति हुनेहरूका लागि यो मौका दोहोर्‍याएर प्राप्त भएको छ ।

अवसरका खातैखात

कमजोर र सीमान्तकृतहरू अरू ‘सक्षम’हरूसँगै सहभागी हुन सकून् भनेर समानुपातिक प्रतिनिधित्वको प्रणाली स्थापित भएको हो । पहिलो मधेस आन्दोलनलाई यसको जस जान्छ, जसले मधेसी, जनजाति, दलित, महिला, मुस्लिम आदिलाई राज्य संरचनाको मूलधारमा समावेश गराउने मागलाई राज्यको एजेन्डा बनाउन सफल भयो । तर, पार्टीहरूले त्यस अवधारणालाई नै खिल्ली उडाइरहेका छन् । जस्तो कि, ओनसरी घर्ती, यशोदा सुवेदी, सत्या पहाडीलगायतले यसअघि नै समानुपातिकबाट त्यो अवसर पाइसकेका छन् । ओनसरी त प्रत्यक्षबाट समेत सांसद बनिसकेकी हुन् । 

झापाकी चन्द्रकला बस्नेत मात्र होइन, बेपत्ता विद्यार्थी नेता ज्ञानेन्द्र त्रिपाठीकी पत्नी शर्मिलासमेत यसै कोटिमा पर्छिन् । त्रिपाठीलाई राज्यले बेपत्ता बनाएको १४ वर्ष बितिसकेको छ । त्यसमाथि जेठाजुले अंश मुद्दा हालेर बुहारीलाई घर न घाटको बनाएका छन् । तापनि, माओवादी नेताहरूले उनलाई समानुपातिक सूचीमै सही, प्रदेश सांसद बनाउनसमेत जरुरी ठानेनन् । 

माओवादी केन्द्र किराँत राज्य समितिका सेक्रेटरी सावित्रीप्रसाद काफ्लेले राष्ट्रियसभामा प्रस्तावित चन्द्रकला बस्नेतको नाम फिर्ता लिएर जीवनसंगिनी बिना पोखरेललाई सांसद बनाए । यस्तो सूची एकाध होइन, लामै छ । माओवादी केन्द्रका नेता दिनानाथ शर्मा यसअघि ०६३/६४ मा दुईपटक समानुपातिकतर्फबाट सांसद र शिक्षामन्त्री भइसकेका छन् । तिनै शर्मालाई फेरि राष्ट्रिय सभा सदस्य बनाइयो । तर, द्वन्द्वकालमा राज्यबाट हत्या गरिएका अखिल क्रान्तिकारी उपाध्यक्ष बेनोज अधिकारीकी आमा वा त्यस्तै पीडित अर्को पात्रलाई अवसर दिनु माओवादी नेतृत्वले जरुरी ठानेन । 

माओवादीकै अर्का नेता हितमान शाक्य र अमृता थापा पनि भाग्यमानी जोडीभित्रै पर्छन् । भर्खरैको चुनावमा काठमाडौँ–१० बाट टिकट पाएका शाक्य पराजित भए । तर, अहिले उनकी पत्नी अमृता समानुपातिकबाटै माननीय भएकी छन् । यसअघि पनि उनी समानुपातिकबाटै सांसद र समिति सभापति भइसकेकी हुन् । 

शशी श्रेष्ठ पनि यसअघि स्वास्थ्य राज्यमन्त्री भइसकेकी छन् । उनका पति लीलामणि पोखरेल पनि दुईपटक सांसद र सार्वजनिक लेखा समिति सदस्य भएका थिए । तिनै शशी फेरि समानुपातिक सूचीबाट चुनिएकी छन् । युवावयमै आन्दोलनमा होमिएर क्षमता प्रमाणित गर्न बाँकी रहेका लेखनाथ न्यौपाने, युवराज चौलागार्इं, रमेश मल्ल, हिमाल शर्मा, रामचन्द्र शर्मा, रामप्रसाद सापकोटाजस्ता ‘युवा’हरूलाई प्रदेशसभा, संघीय संसद्, राष्ट्रिय सभामा मौका दिनुपर्छ भन्ने कुरालाई माओवादीका कुनै पनि नेताले प्राथमिकतामा राखेनन् । 

विकृति कतिसम्म भने जोडी नै माननीय बन्नुमा मात्र रहेन । वर्षमान पुनले सभामुखजत्तिको गरिमामय पदमा पुगिसकेकी पत्नीलाई तेस्रोपटक समानुपातिक सूचीबाटै सांसद मात्र होइन, बहिनी लालकुमारी पुनलाई ललितपुरको प्रदेशसभा सांसद बनाएका छन् । अर्की बहिनीलाई रोल्पा नगरपालिकाको उपमेयरको जिम्मेवारी दिलाएका छन् । पुन एक प्रतिनिधि पात्र मात्र हुन्, माओवादी केन्द्रका प्रदेश–३ का सेक्रेटरी झक्कु सुवेदी, जो काठमाडौँ–५ बाट उम्मेदवार भएका थिए, ले छोरीलाई प्रदेश सभासद् बनाए । माओवादीकै अर्का नेता दिलीपकुमार प्रजापतिले पत्नी प्रतिभा श्रेष्ठलाई प्रदेश–३ को सांसद र दलको सचेतक बनाएका छन् । श्रेष्ठ गत स्थानीय चुनावमा भक्तपुरको मध्यपुर ठिमीको मेयरमा हारेकी थिइन् । रौतहटबाट निर्वाचित माओवादी केन्द्रका अर्का नेता प्रभु साहले पत्नीलाई मेयर र आफ्ना स्वकीय सचिवलाई गाउँपालिका अध्यक्ष निर्वाचित गराएका छन् ।

जानकारहरूका अनुसार माओवादी केन्द्रमा कम्तीमा ६ शक्ति केन्द्र छन्, यतिबेला । जसमा पहिलो त अध्यक्ष प्रचण्ड हुन् नै, दोस्रोमा वर्षमान पुन, तेस्रोमा जनार्दन शर्मा, चौथोमा कृष्णबहादुर महरा, पाँचौँमा रामबहादुर थापा, छैटौँमा नारायणकाजी श्रेष्ठ पर्छन् । यी शक्ति केन्द्रलाई वरिपरिबाट घेर्न र रिझाउन सक्नेले मात्र अवसर/सुविधाका पदहरू प्राप्त गरिरहेका छन् । 

“माओवादीको स्कुलिङ त आफैँ मात्र खाउँm भन्ने पनि होइन,” पत्रकार भण्डारी भन्छन्, “तर, हामी मात्र पटक–पटक कति खानु/हुनु ? अरूलाई पनि पालो दिऊँ भन्ने सोच नेताहरूमा किन आएन ?” 

माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले १८ पुसमा केन्द्रीय समितिको बैठक डाकेर एकपटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भइसकेकाहरूलाई पुन: नदोहोर्‍याउन आग्रह गरेको थियो । तर, नेताहरूले एकपटक होइन, पटक–पटक भएकाहरूलाई समेत दोहोर्‍याए ।

वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा नेताहरूले आफ्नो आग्रहलाई लत्याएको बताउँछन् । भन्छन्, “हामीले आग्रह गर्ने हो । हामीले गरेको खबरदारी नेताहरूले सुनुवाइ गरेनन् । यसमा दु:ख लागेको छ ।”

दक्षिण एसियाली देशहरू भारत, श्रीलंका, पाकिस्तान र नेपालमा एउटा पार्टीभित्र निश्चित परिवारले मात्र पकड जमाउने गरेका उदाहरण प्रशस्त भेटिन्छ । भारतमा गान्धी, पाकिस्तानमा भुट्टो, श्रीलंकामा राजपाक्षे र नेपालमा कोइराला परिवारलाई यसको उदाहरणका रूपमा लिने गरिन्छ । तर, घटनाक्रमले माओवादी केन्द्र र एमालेले ती सबैलाई उछिन्ने प्रयास गरिरहेको देखिन्छ । बर्दियाबाट संघीय चुनावमा पराजित एमाले उपाध्यक्ष वामदेव गौतमले पत्नी तुलसा थापालाई समानुपातिक सूचीबाट संघीय संसद् सदस्य बनाएका छन् । ०७० को निर्वाचनमा रौतहटबाट विजयी एमाले नेता रामकुमार भट्टराई यसपटक पनि उम्मेदवार बनेका थिए । उनी पराजित भए । तर, उनकी पत्नी कल्याणी खड्का समानुपातिक सूचीबाट संसद्मा छिरेकी छन् । खड्का माधव नेपाल प्रधानमन्त्री हुँदा जनसम्बन्ध सल्लाहकार थिइन् ।

माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेका अनुसार पार्टी संस्थागत ढंगले चल्न नसकेकाले कसैलाई अवसरमाथि अवसर, कसैलाई बेवास्ता हुने गरेको हो । हुन पनि कमिटीका बैठक बसेर विगतमा पाएका अवसरको छलफल गर्ने पद्धति कुनै पनि पार्टीमा छैन । सबै पार्टीमा नेता–विशेषले टिकट वितरण गर्छन् । “अहिले राजनीति पेसामा बदलिएको हुनाले नाफा कमाउने ठाउँमा किन अरू लैजाने भन्ने निष्कर्षमा नेताहरू पुगे,” न्यौपाने भन्छन्, “एकपटक समानुपातिकबाट सांसद भइसकेपछि वा त्यसभन्दा माथिका पद प्राप्त गरेपछि पनि पटक–पटक तिनै मान्छेलाई त्यही पदमा दोहोर्‍याउनु राजतन्त्रकै प्रवृत्ति भयो ।” हुन पनि अवस्था कस्तो देखिँदैछ भने विगतमा तामाङका नाममा बुद्धिमान तामाङ, मगरका नाममा बालाराम घर्तीमगर, थारूका नाममा फत्तेसिंह थारू, लिम्बूका नाममा पद्मसुन्दर लावतीहरूले पटक–पटक लाभका पद लिएका थिए । पछिल्ला दिनमा आफूलाई लोकतान्त्रिक भन्ने दलले त्यही सिको गरिरहेका छन् । न्यौपाने थप्छन्, “हामीले पटक–पटक यस्ता कुरा उठाइरहेका छौँ । तर, यस्ता कुरा उठाउँदा पद नपाएर गुनासो गरेको भन्दै नेताहरूले विषयान्तर गरिरहेका छन् ।” 

माओवादीका लाल–जोडी

देव गुरुङ र यशोदा सुवेदी

माओवादी नेता देव गुरुङ र यशोदा सुवेदी दुवै सांसद बनेका छन् । दाङको ब्राह्मण परिवारमा जन्मे/हुर्केकी सुवेदीसँग गुरुङले जनवादी बिहे गरे । बिहेपछि अरू महिलाझैँ पतिको थर नलेखी माइतीकै थर निरन्तर राख्नुका पछाडि सुवेदीको तर्क थियो– अंश र वंश दुवै अधिकारका लागि महिला आन्दोलनमा हिँडेँ । तर, यसपटक भने उनै सुवेदी जनजाति कोटाबाट संघीय संसद्मा छिरेकी छन् । गुरुङले लमजुङबाट संघीय संसद्को निर्वाचन जितेका थिए । सुवेदीलाई समानुपातिकतर्फको जनजाति कोटाबाट सांसद बनाइएको हो । ०६४ को संविधानसभामा पनि उनी यही कोटाबाट सांसद भइसकेकी छन् । गुरुङ पनि पटक–पटक मन्त्री भएका छन् । 

वर्षमान पुन र ओनसरी घर्ती 

माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभामा चुनिए, पत्नी ओनसरी घर्ती समानुपातिकबाट । ०७० को निर्वाचनमा घर्ती रोल्पा–२ बाट चुनिएकी थिइन् । त्यसअघि ०६४ को संविधानसभा चुनावबाट समानुपातिकतर्फ चुनिएकी उनी त्यसअघि ०६३ को अन्तरिम व्यवस्थापिकामा पनि मनोनीत थिइन् । ०६८ मा युवा तथा खेलकुद मन्त्री बनिन् । ०७० पछि संविधानसभाको उपाध्यक्ष र अध्यक्ष दुवै बनिन् । ३ असोज ०७२ मा संविधान जारी भएपछि उनी सभामुख चुनिइन् । 

शान्ति प्रक्रियामा आएयता माओवादी चार पटक संसद् छिर्‍यो । भाग्यमानी हुन् घर्ती, जसलाई यी सबै संसद्मा प्रवेश मिल्यो । १ फागुन ०५२ मा रोल्पाको होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामध्ये घर्ती एक हुन् । त्यो लडाइँमा सहभागी हुने अर्की महिला तारा घर्ती मगर थिइन् । तर, कमजोर पहुँचकै कारण ताराले भने एकपटक मात्र संसद्मा खुट्टा राख्ने अवसर पाइन् ।

शक्तिबहादुर बस्नेत र सत्या पहाडी

शक्तिबहादुर बस्नेत जाजरकोटबाट संघीय संसद्मा निर्वाचित भएका छन् । स्थानीय तहको मत परिणाम अनुसार जाजरकोटमा माओवादी तेस्रो थियो । त्यहाँ एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो थिए । तर, बस्नेतलाई संसद्मा प्रवेश गराउनकै लागि एमाले पछि हट्यो । उनी यसअघि गृह र स्वास्थ्यमन्त्री भइसकेका छन् । पत्नी सत्या पहाडी समानुपातिक सूचीबाट संसद्मा छिरेकी हुन् । ०६३ र ०६४ मा पनि उनी यही सिटबाट सांसद भएकी थिइन् । र, शान्ति तथा पुन:निर्माणमन्त्री बनिसकेकी छन् । ०७० को निर्वाचनमा भने उनी डोल्पाबाट पराजित भएकी थिइन् । 

रमाइलो के छ भने माओवादीले खस/आर्य कोटाबाट उनको नाम सिफारिस गरेको थियो । यसपछि आयोगले पिछडिएको भूगोलबाट नाम सिफारिस नभएको भन्दै अर्को नाम पठाउन माओवादी केन्द्रलाई भनेको थियो । तर, माओवादी केन्द्रले पिछडिएको भूगोलबाट समेत उनै हुनुपर्ने जिकिर गरेपछि आयोगले सत्याको नाम संसद् सदस्यका लागि अनुमोदन गर्‍यो ।

कृष्णध्वज खड्का र रेखा शर्मा 

दाङकी रेखा शर्मा ०७० को संविधानसभामा पनि समानुपातिक सूचीबाटै सांसद भएकी थिइन् । उनी सामान्य प्रशासनमन्त्रीसमेत भइन् । उनका पति कृष्णध्वज खड्का प्यूठानको प्रदेशसभा १ बाट निर्वाचित भएका छन् । र, प्रदेश–५ को मन्त्रीसमेत बनिसकेका छन् । 

महेश्वर गहतराज र उषा पुन

माओवादी केन्द्रका अर्का नेता महेश्वर गहतराज बाँके–१ बाट संघीय संसद्मा निर्वाचित भएका छन् । उनकी पत्नी उषा पुन प्रदेश–५ बाट प्रदेशसभामा समानुपातिक सांसद चुनिएकी छन् । यद्यपि, गहतराज र पुन दुवै जना पहिलोपटक सुविधाको पदमा पुगेका हुन् ।

एमालेमा पनि उस्तै

शंकर पोखरेल र सुजिता शाक्य

एमाले स्थायी समिति सदस्य शंकर पोखरेल जुन दिन प्रदेश–५ को मुख्यमन्त्री चुनिँदै थिए, पत्नी सुजिता शाक्य पनि त्यही दिन संघीय संसद्मा समानुपातिक सांसद बन्दै थिइन् । पोखरेल यसअघि नै माधवकुमार नेपाल मन्त्रिपरिषद्मा सञ्चारमन्त्री भइसकेका छन् । संखुवासभाकी सुजिता भने पहिलोपटक संसद्मा छिरेकी हुन् । पति मुख्यमन्त्री भइरहेको र उनीहरूको घरमा खर्च व्यवस्थापनको समस्या नरहेकाले शाक्यले अरूलाई मौका दिऊन् भन्ने एमाले नेताहरूकै चाहना थियो । तर, उनका अघि कोही टिक्न सकेनन् । अन्तत: पति मुख्यमन्त्री र पत्नी सांसद बनिछाडे ।

 

शेरबहादुर तामाङ र उषाकला राई

एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई दुवै सांसद बनेका छन् । तामाङ सिन्धुपाल्चोक–२ बाट संघीय संसद्मा निर्वाचित भएका हुन् । राई प्रदेश–१ बाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा चुनिएकी छन् । ०६४ को संविधानसभामा राई समानुपातिकबाट सांसद भएकी थिइन् । तामाङ ०७० मा सिन्धुपाल्चोक–३ बाट संविधानसभामा निर्वाचित भएका थिए । यसपटक पुन: यस जोडीलाई सँगै सांसद हुने अवसर जुरेको छ ।

विरोध खतिवडा र मुनु सिग्देल

एमाले पोलिटब्युरो सदस्य विरोध खतिवडा चिनाइरहनुपर्ने नाम होइन । उनी ०४८ मै मकवानपुरबाट निर्वाचित भएका थिए । यसपटक पनि उनी मकवानपुर–२ बाट संघीय संसद् सदस्यमा विजयी भएका छन् । खतिवडाकी पत्नी तथा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल समानुपातिकबाट प्रदेश–३ को प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । 

रघुवीर महासेठ र जुलीकुमारी महतो

यसअघि नै एमालेबाट रघुवीर महासेठ र पत्नी जुलीकुमारी महतो दुवै सांसद बनिसकेका छन् । एमालेले महासेठलाई त मन्त्रीसमेत बनाइसकेको छ । महासेठले धनुषा–४ बाट निर्वाचन जितेका हुन् । यता महतोचाहिँ संघीय संसद्को महिला/मधेसी कोटाबाट समानुपातिक सूचीबाट संसद् सदस्य बनेकी हुन् ।

कृष्णगोपाल श्रेष्ठ र बिना श्रेष्ठ

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौँ–९ बाट संघीय संसद्मा निर्वाचित भएका छन् । उनकी पत्नी बिना श्रेष्ठ समानुपातिक सूचीबाट संघीय संसद्मा प्रवेश गरेकी छन् । पति श्रेष्ठ यसअघि पनि पटक–पटक सांसद र मन्त्री भइसकेका छन् ।

 

प्रकाशित: फाल्गुन १६, २०७४