ढले तर उठे

  • ढिलै भए पनि भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक धरोहर फेरि ठडिँदै

- गोकर्ण गौतम

जब महाभूकम्पले ऐतिहासिक सम्पदाहरू ढले, पुरातत्त्व विभागले पाँच वर्षभित्र पूर्ववत् ठड्याउने लक्ष्य राख्यो । सम्पदाप्रेमीमा उत्साह सञ्चार हुने भइहाल्यो । भूकम्प गएको तीन वर्ष पुग्न दुई महिना मात्र बाँकी छ । विभागले बोलीलाई व्यवहारमा रूपान्तरण गरेको हुँदो हो त सम्पदा पुन:निर्माण आधा भइसक्थ्यो । तर, वास्तविकता तीतो छ । एक चौथाइ सम्पदाको पुन:निर्माणले पूर्णता पाएको छैन । जीर्णोद्घार थालनीसमेत नभएका सम्पदा त्यत्तिकै छन् । तर, यसको अर्थ सम्पदा पुन:निर्माण शून्य छ भन्नेचाहिँ होइन । गति सुस्त भए पनि भूकम्पअघिकै अवस्थामा फर्काइएका सम्पदाको संख्या बढिरहेको छ । विभागका महानिर्देशक भेषनारायण दाहाल भन्छन्, “विभिन्न व्यावहारिक कठिनाइले सोचेजस्तो छिटो सम्पदा पुन:निर्माण गर्न सकिएन । अब धेरै चाँजोपाजो मिलिसक्यो । त्यसैले तीव्रता पाइरहेको छ ।”

१२ वैशाख ०७२ को भूकम्प र त्यसपछिका परकम्पनले काठमाडौँ उपत्यकाका मात्र ४ सय ६० सम्पदामा क्षति पुगेको थियो । त्यसमै पर्छ, विश्वभर ख्याति कमाएको बौद्धनाथ । पाँचाैँ शताब्दीको ३६ मिटर अग्लो स्तूपालाई भूकम्पले चिराचिरा पारेको थियो । पुरातात्त्विक महत्त्व र विश्व सम्पदामा सूचीकृत स्थल हुनुको नाताले पनि बौद्धनाथतिर धेरैको ध्यान तानिएको थियो । सांस्कृतिक महत्त्वले भरिपूर्ण यस स्तूपालाई पुरानै स्वरूपमा फर्काइएको तीन महिना बित्यो । विश्व सम्पदामा सूचीकृत उपत्यकाका सातमध्ये सुरुमा पुन:निर्माण हुने सम्पदा पनि बौद्धनाथ नै हो, जसलाई विभागले ठूलो उपलब्धिका रूपमा पेस गर्दै आएको छ । यसको डोमदेखि त्रयोयश भुवन (१३ वटा खुड्किला)सम्मका भाग, मण्डला र छ्योर्तेनमा क्षति पुगेको थियो । बौद्धनाथमा ३१ किलो सुनको जलप लाग्यो । भारतको हिमाचल प्रदेशका ताईसितुपा रिम्पोछेले २६ किलो सुन र एक करोड रुपियाँ नगद दिए । पाँच किलो सुन स्थानीयबाट उठेको थियो । स्थानीयको अगुवाइ र विभागको निगरानीमा भएको पुन:निर्माणको लागत झन्डै २३ करोड रुपियाँ पुगेको छ । त्यस्तै, विशिष्ट पुरातात्त्विक महत्त्वको चाँगुनारायण मन्दिरको पुन:निर्माण सम्पन्न भएको छ । यो मन्दिर लिच्छविकालीन राजा हरिदत्त वर्माले ईसापूर्व ३२३ मा बनाएको विश्वास गरिन्छ । यसको जीर्णाेद्धार पुरातत्त्व विभागले गरेको हो भने नजिकैका दुईतले किलेश्वर मन्दिर जर्मन सहयोगमा बनाइएको छ । 

पुरातत्त्व विभाग अन्तर्गतको भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह संरक्षण क्षेत्रका इन्जिनियर मोहनकृष्ण श्रेष्ठका अनुसार दरबार क्षेत्रभित्रका खौमा गेट, रामेश्वर मन्दिर, दुईमाजु र बद्रीनारायणको पुन:निर्माणले पूर्णता पाएको छ । ५५ झ्याले दरबारको दक्षिण–पूर्वी कुनामा रहेको शिखर शैलीको नारायण मन्दिर र ऐतिहासिक मुख्यद्वार खौमा गेट भक्तपुर नगरपालिकाले जीर्णोद्घार गरेको हो । नगर प्रवेश गर्नासाथ देखिने अग्लो बद्रीनारायण मन्दिर र रामेश्वर मन्दिरमा विभागकै लगानी छ । यहाँ विभागको अगुवाइ र दाता तथा स्थानीयको सहयोगमा सम्पदालाई ऐतिहासिक शैलीमा ठड्याउने प्रयास भइरहेको छ । इन्जिनियर श्रेष्ठ भन्छन्, “भक्तपुरमा हरेक सम्पदा पुरानै साख र स्वरूपमा पुन:निर्माण गरिएको छ । हामी समय र सांस्कृतिक महत्त्व बचाउने हिसाबले लागिपरेका छौँ ।” दधिकोटको दक्षिण बाराही मन्दिर भूकम्पअघि जस्तै ठडिएको छ । दरबार क्षेत्रभित्रको शिलु महादेव, सिद्धिलक्ष्मी मन्दिर, तवसत्तलजस्ता भत्किएका सम्पदामा काम भइरहेको श्रेष्ठले जनाए । सूर्यविनायकको अनन्तलिंगेश्वरको जीर्णोद्घार अन्तिम चरणमा पुगेको छ । विभागको तथ्यांक अनुसार भक्तपुरमा मात्र ८० वटा सम्पदा आंशिक तथा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । तर, पुन:निर्माणको गति असाध्यै धीमा छ । 

तुलनात्मक रूपमा ललितपुर सम्पदा जीर्णोद्घारमा अगाडि देखिन्छ । यहाँ १ सय ३० सम्पदा ध्वस्त भएका थिए । पुन:निर्माणको मुख्य जिम्मेवारी काठमाडौँ उपत्यका संरक्षण ट्रस्ट (केभीपीटी)ले पाएको छ । पाटन दरबार क्षेत्रको शोभा बढाउने विभिन्न सम्पदामध्ये सुन्दरी चोक एक हो । सन् १६२७ मा सिद्धिनरसिंह मल्लले बनाएको यस चोकले पाँचवटा महाभूकम्प थेगिसक्यो । यसक्रममा कति क्षति भयो, लेखाजोखा छैन । तर, ’९० सालको भूकम्पमा पूर्वी मोहडा खसेको थियो । त्यतिबेलै मर्मत–सम्भार गरियो । यसपटक त्यही मोहडा फेरि खस्यो । जबकि, बाँकी तीनवटामा क्षति पुगेन । कारण, भूकम्पअगाडि उत्तर, दक्षिण र पश्चिम मोहडा ‘रिपियर’ गरिएको थियो । पूर्वी भाग बाँकी थियो ।

आर्किटेक्ट इन्जिनियरसमेत रहेका केभीपीटीका नेपाल निर्देशक रोहित रञ्जितकार भन्छन्, “पूर्वी मोहडामा मात्र क्षति पुग्नुले नियमित मर्मत नगर्दाको परिणाम आकलन गर्न सकिन्छ । अहिले भत्किएका सम्पदा पुन:निर्माण गरेर मात्र हुन्न, लामो समयसम्म जोगाउन बेलाबेला मर्मत गर्नुपर्छ ।” यसपटक सुन्दरी चोकको पूर्वी भाग ’९० सालअगाडिकै डिजाइनमा पुन:निर्माण गरिएको छ ।

भूकम्पमा पाटन दरबार क्षेत्रभित्रकै तलेजु मन्दिरको छाना पूरै तल खसेन, त्यहीँ पल्टियो र स्वरूप बिग्रियो । मूल चोक र सुन्दरी चोकको छानाबीचमा खस्यो, जसले तलका दुई छानामा असर गर्‍यो । अहिले यी सबैलाई पुरानै अवस्थामा फर्काइएको छ । पाटनलाई सम्पदाले भरिपूर्ण बनाउन महत्त्वपूर्ण भूमिका खेलेका राजा योगनरेन्द्र मल्लको सालिक भुइँमा झर्‍यो । स्तम्भ त भाँचियो नै, सालिक पनि कच्याककुचुक भयो । केभीपीटीका रञ्जितकारका अनुसार फेरि सालिक नखसोस् भनेर स्तम्भको बीचमा स्टिलको डन्डी राखेर जोडियो र पुरानै शैलीमा सालिक स्तम्भमाथि राखेर ठड्याइएको छ । त्यस्तै, भीमसेन मन्दिरअगाडिको सिंह स्तम्भ पनि भाँचिएको ठाउँमा स्टिल राखेर जोडिएको छ । स्टिल राखेकामा टीका–टिप्पणी नभएको होइन । तर, रञ्जितकार भन्छन्, “पुरानो चीज बचाउन अवस्था हेरेर नयाँ प्रविधि र शैली प्रयोग गर्नुपर्छ । अर्को विकल्प हुन्न ।” भूकम्पमा क्षति पुगेको बहादुर शाह बैठकको पछाडिको भाग र मणिमण्डपको उत्तरी भागको पुन:निर्माण सँघारमा पुगेको छ ।

विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूका विभिन्न सम्पदा पुन:निर्माणको पर्खाइमा छन् । केहीले पूर्णता पाएका छन् । जस्तो : शान्तिपुरको पूर्वपट्टिको पार्टी र मञ्जुश्री सत्तललाई भूकम्पअघिकै संरचनामा लगिएको छ । विशिष्ट सांस्कृतिक महत्त्व बोकेको टासीगुम्बाङ चैत्य, बशुबन्धु चैत्य र अनन्तपुरको जीर्णोद्धार गरिएको छ । पुरातत्त्व विभागका अनुसार प्रतापपुर र महाचैत्यको पुन:निर्माणलाई प्राथमिकतामा राखिएको छ । त्यसपछि स्वयम्भूको पुन:निर्माण करिब–करिब सकिन्छ । त्यसो त वसन्तपुर दरबार क्षेत्रमा सम्पदा जीर्णोद्धारको सवालमा केही प्रगति नभएको होइन । भूकम्पले विनाश गरेका पञ्चमुखी हनुमान, मोहनकाली चोकको पश्चिमी मोहडा, तलेजु मन्दिरअगाडिको महादेव मन्दिर पहिलेझैँ ठडिएका छन् । सिंहसत्तल, लक्ष्मीनारायण मन्दिर, देगुतलेजु, नगरा भवन, सुन्दरी चोकको पूर्वी मोहडाको काम सकिएको छ ।

उपत्यकाका तीन दरबार क्षेत्रबाहेक गोकर्ण उत्तरगयाको पञ्चमुखी हनुमानसँगैको सत्तल, नागार्जुन नगरपालिकाको जमाचोस्थित सत्तल, बुङमतीस्थित प्रथमपुर महाविहार, गोदावरी धुनीधर, त्रिपुरेश्वर महादेव मन्दिरको चारकुनाको सत्तलको पनि पुन:निर्माण सम्पन्न भएको छ । विभागका पुरातत्त्व अधिकृत दामोदर गौतम भन्छन्, “बाहिर हल्ला गरेजस्तो कामै नभएको वा विवादमा अल्झिएको होइन । प्रक्रिया र सांस्कृतिक महत्त्व बचाएर पुन:निर्माण गर्दा केही ढिला हुनु स्वाभाविक हो ।” 

ढिलासुस्तीका अनेक बहाना

सम्पदा पुन:निर्माण कछुवा गतिमा भइरहेको तथ्य कसैबाट छिपेको छैन । पुरातत्त्व विभागले दाता, स्थानीयवासी, संस्कृतिविद्, इतिहासकार र दक्ष जनशक्तिसँग प्रभावकारी समन्वय गर्न चुकेको अर्को सत्य हो । तर, विभागसँग उम्कने बहाना अनेक छन् । परिणाम एउटै छ, पुरातात्त्विक सम्पदा फेरि पहिलेझैँ ठडिन पाएका छैनन् । मापदण्डविपरीत र ऐतिहासिक महत्त्वलाई आत्मसात् नगरिएला भन्ने चिन्ता छँदैछ । रानीपोखरीमा त्यसको छनक मिलिसकेको छ । सम्पदाप्रेमी रवीन्द्र पुरी भन्छन्, “काम गर्नेभन्दा यताउता बहाना गरेर ढिलासुस्ती गर्ने प्रवृत्ति हावी भयो । यही गतिले पाँच वर्षमा आधा काम सकिन मुस्किल पर्छ ।” 

एकातिर ढिला हुँदा क्षतविक्षत सम्पदाको भौतिक सामग्री थप बिग्रन्छ, अर्कातिर भत्किएका संरचनाले सम्पदा क्षेत्रकै सौन्दर्यमा ह्रास ल्याउँछ । त्यसले भूकम्पको त्रास बल्झाइरहने र पर्यटक आवागमनमा अप्रत्यक्ष असर पार्ने पिरलो छ । सबैभन्दा डरचाहिँ युनेस्कोले हाम्रा सम्पदालाई खतराको सूचीमा राख्ला भन्ने हो । धेरैलाई थाहा नहुन सक्छ, भूकम्पपछि तीनपटक युनेस्कोको खतराको सूचीबाट बचिसकेको छ नेपाल । भूकम्पपछि भत्किएका सम्पदाको पुन:निर्माण सुस्त रहेको, नेपालले कतिपय सम्पदा हुबहु पुन:निर्माण गर्न नसक्ने, स्रोतको जोहो हुन नसकेको लगायत कारण देखाउँदै गत असारमा पोल्यान्डमा सम्पन्न विश्व सम्पदा समितिको ४१औँ सम्मेलनमा काठमाडौँ उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव पेस भएको थियो । युनेस्कोको ‘रियाक्टिभ मनिटरिङ’ टोलीले यहाँका सम्पदाको अध्ययन गरेपछि यस्तो सुझाव दिएको थियो । तर, अधिवेशनले सूचीमा नराख्ने निर्णय गर्‍यो । यसअगाडि सन् २०१५ र २०१६ मा यस्तै भएको थियो । तैपनि, पुन:निर्माण सन्तोषजनक नभए र पुरातात्त्विक मापदण्ड मिचेर पुन:निर्माण गरिए सम्पदा सूचीबाट सदाका लागि हट्ने डर छँदैछ । तर, विभागका पदाधिकारीलाई सम्पदा पुन:निर्माणमा भइरहेको ढिलासुस्तीको चिन्ताभन्दा तीनपटक खतराको सूचीबाट जोगाएकामा बढी उत्साह छ । 

’९० सालको भूकम्पले पनि यसैगरी सम्पदामा क्षति पुर्‍याएको थियो । तर, तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले सम्पदा पुन:निर्माणलाई महत्त्व दिएका थिए । वसन्तपुर दरबार स्क्वायरलाई उच्च प्राथमिकतामा राखियो । एनालाइसिस अफ रेस्टोरेसन वर्कमा विद्यावारिधि गरेका आर्किटेक्ट इञ्जिनियर रोहित रञ्जितकार भन्छन्, “प्रधानमन्त्रीले आदेश दिएपछि रातारात काम हुने अवस्था थियो । कति सम्पदाको पुन:निर्माण स्तरीय भए भने कति बिग्रिएका पनि छन् । तर, गतिचाहिँ अहिलेको भन्दा छिटो थियो ।” पुन:निर्माणलाई राजनीतीकरण गरिएको र अनावश्यक सैद्धान्तिक विवादमा अल्झिएको ठम्याइ छ उनको । हुन पनि, महानगरपालिका, पुरातत्त्व विभाग, पुरातत्त्वविद्, स्थानीय अगुवाबीच समन्वयभन्दा प्रतिशोध मौलाएको जोकोहीले देखेका छन् । भलै विभागका महानिर्देशक भेषनारायण दाहाल अरू संरचना र सम्पदा पुन:निर्माणलाई तुलना गर्न नमिल्ने दाबी गर्छन् । उनका अनुसार काष्ठमण्डपको अध्ययन–अनुसन्धानमै दुई वर्ष लाग्यो । नयाँ तथ्य र शैली पत्ता लागेजस्तै पौराणिक शैलीमा बनाउन दक्ष कालीगढदेखि अन्य काठ, माटो, इँटाजस्ता निर्माण सामग्री जुटाउन मुस्किल पर्छ । भन्छन्, “ढिला भयो भनेर मात्र भएन, यसभित्रका जटिलता पनि बुझ्नुपर्छ ।”

 

 

प्रकाशित: फाल्गुन १६, २०७४