जनप्रतिनिधिहरूको अग्निपरीक्षा

  • हाम्रो विगत आशंका, गतिहीनता र अविश्वासले भरिएको छ । फेरि पुरानै बाटो जाने कि आशा, गतिशीलता र विश्वासको नयाँ बाटो समाउने ?

- केशव दाहाल

लामो अन्तरालपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन् । प्रदेशमा सरकार बनेको छ । संघीय व्यवस्थापिका र कार्यकारीले काम थालेको छ । अब चाँडै सयौँको संख्यामा राजनीतिक नियुक्ति हुनेछन् । सबै तहको जोड्दा यो संख्या झन्डै दुई हजार हुन सक्छ, जसको खर्च अर्बमा आउँछ । यत्रो जनशक्ति र खर्चको हिसाबकिताब गरेपछि प्रश्न स्वाभाविक हुन्छ कि के अब देश बन्छ ? के नेताहरूले सुशासन, सामाजिक न्याय र असल संस्कारको इतिहास बनाउँछन् ? कि उनीहरू तीव्र भ्रष्टाचार, गतिहीनता र अहंकारको कलंकमा जोडिएलान् ? हाम्रा जनप्रतिनिधिहरूको अग्निपरीक्षा सुरु भएको छ ।

इतिहासले हाम्रा नेताहरूलाई दुईवटा बाटा दिएको छ । एउटा बाटो छ, पौरखको । यो स्वर्गको बाटो हो । अर्को बाटो छ, बर्बादीको । यो नर्कको बाटो हो । नेताहरूलाई प्रश्न सोधौँ, तपाईं कुन बाटो जाने महाशय ? तपाईं गर्वयोग्य बन्ने कि चालू र भ्रष्ट ? 

नेपाली राजनीति यतिबेला आशा र आशंकाको बीचमा छ । जनप्रतिनिधिहरू पनि आशा र आशंकाकै बीचमा छन् । जनतामा सकारात्मक अपेक्षा त छन् । तर, सँगै पहाडजस्ता आशंका पनि छन् । कसरी आशंकालाई आशामा बदल्ने ? कसरी गतिहीनतालाई गतिशीलताले जित्ने ? कसरी अविश्वासलाई विश्वासमा फेर्ने ? यी प्रश्न यसकारण महत्त्वपूर्ण छन् कि यहीँबाट सफलता र असफलताका दुई बाटा छुट्टिन्छन् । सायद प्रत्येक मुलुकको इतिहासमा यस्ता दिनहरू आउँछन्, जहाँ विगत र भविष्यबीच पौँठेजोरी चल्छ । हाम्रो विगत आशंका, गतिहीनता र अविश्वासले भरिएको छ । फेरि पुरानै बाटो जाने कि आशा, गतिशीलता र विश्वासको नयाँ बाटो समाउने ? यो प्रश्न हाम्रा जनप्रतिनिधि, हाम्रा नेता र राज्यकोषबाट सुविधा लिनेहरूलाई हो । यो कुनै नकारात्मक टिप्पणी होइन, शालीन आग्रह हो ।

विगतको समीक्षा

निश्चय नै हामीसँग राजनीतिक आन्दोलनको गौरवपूर्ण इतिहास छ । तर, राजनीतिक परिवर्तनलाई हामीले जनताको समृद्धि, सुशासन र सामाजिक न्यायसँग जोड्न सकेनौँ । राजनीतिक परिवर्तनले जनताको अवस्था फेर्न सकेन । अत: भन्नैपर्छ, हामीसँग राजनीतिक बेथितिका दु:खद अनुभवहरू छन् । किन यस्तो भयो ? किनभने, हाम्रो राजनीतिसँग सत्य र निष्ठाको तागत रहेन । नेताहरूमा जिम्मेवारीबोध देखिएन । राजनीति अनेकौँ भ्रमहरूको खेतीपातीमा फस्यो । जस्तो कि : सिद्धान्तको भ्रम, व्यवहारको भ्रम, लोकतन्त्रको भ्रम, समाजवादको भ्रम । कुरा सबैले ठूला गरे । तर, स–साना आवश्यकतामा कसैको ध्यान पुगेन । साधारण मान्छेहरूलाई लाग्न थाल्यो कि कहिल्यै वचनमा नटिक्नु, हरेक दिन षड्यन्त्रमा रमाउनु, जनतालाई ढाँट्नु, छलछाम गर्नु र सधैँ कुर्सीको लागि लड्नु नेपाली राजनीतिको साझा चरित्र हो । नेपाली मध्यम वर्गले ठान्छ कि शक्ति र सम्पत्ति नेताहरूको कमजोरी हो । तीव्र विकास चाहनेहरू राजनीतिको गति, सिर्जनशीलता र शुद्धतामाथि शंका गर्छन् । हाम्रो युवा वर्ग पछिल्लो राजनीतिसँग विश्वस्त छैन । ऊ मूलत: परिणाम चाहन्छ । कुरा मात्र गर्ने राजनीति उसको छनोट होइन । सामाजिक न्यायको अपेक्षा गर्नेहरूलाई लाग्छ, यो विषयमा हाम्रा नेताहरू संवेदनशील छैनन् । यी जनताका आफ्नै अनुभव हुन् । यी अनुभवले भन्छन्, सुशासन र सदाचारका राजनीतिक दलिलहरू हावादारी हुन् । 

किन यति धेरै नकारात्मक छ जनता–नेता सम्बन्ध ? राजनीतिप्रति किन यति धेरै अविश्वास छ जनतामा ? के हाम्रा गाउँदेखि केन्द्रसम्मका जनप्रतिनिधिले यस्ता आशंका हटाउलान् ? सबैलाई थाहा छ, जनता र नेता नै विकासका सहयात्री हुन् । सहयात्रीबीच जब आशंका रहन्छन्, यात्रा सुखद हुँदैन । सुखद सहयात्राबिना गन्तव्यमा पुग्न सकिँदैन । नभुलौँ, जनप्रतिनिधि बन्नु जनताको मत पाउनु मात्र होइन, मन पाउनु हो । के हाम्रा जनप्रतिनिधिले जनताको मन जित्लान् ? जुन विन्दुबाट हाम्रा जनप्रतिनिधिले जनताको विश्वास पाउलान्, सायद हाम्रो सुखद भविष्यतर्फको यात्रा त्यही विन्दुबाट प्रारम्भ हुन्छ ।

कामको केन्द्रविन्दु

कामको मलभूत केन्द्रविन्दु के हो ? हाम्रा जनप्रतिनिधिले सोच्नुपर्ने यो आधारभूत प्रश्न हो । आधारभूत प्रश्नको जवाफ खोज्न आधारभूत तहमै जानु राम्रो हुन्छ । पछिल्ला तथ्यांकहरूले भन्छन्, नेपालमा मात्र १२ प्रतिशत महिलाका नाममा जमिन छ । एकपटक राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख सबै पदमा महिला पुगे पनि हाम्रा ग्रामीण महिला आँसुको जिन्दगी जिउन बाध्य छन् । ग्रामीण किसानको जीवनमा कतै खुसीयाली छैन । बेदर्तावाल मोहीहरूको संख्या एक लाखभन्दा माथि छ । भूमि सदुपयोग नीति कार्यान्वयनमा छैन । मलको अनुदानले कृषि क्षेत्रका पीडालाई मह्लम लगाउँदैन । न बीउ, न त प्रविधि । आकाशे पानीमाथि भर पर्ने किसानको संख्या आधा छ । चर्को मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीनताले साधारण उपभोक्ता मारमा छन् । दलित, गरिब र कामदारहरूका सपना हरेक दिन जन्मन्छन् र मर्छन् । तर, समवेदना र सुविधा कतै छैन । यी हाम्रा जनप्रतिनिधिहरूले काम थाल्नुपर्ने आधारभूत मुद्दा हुन् ।

विद्यालयमा पढाइ छैन । हिजो निजी शिक्षण संस्थालाई बन्द गराउनेहरू आज त्यसैका मालिक छन् । न वैज्ञानिक शिक्षा, न त रोजगारी । अस्पताल महँगो छ । गाउँमा औषधि छैन । विदेशमा मजदुरी गरेर देश फर्किएका युवाहरू सरकारकै मान्छेहरूबाट लुटिन्छन् । हत्या, अपहरण र लुटपाट दिनदहाडै हुन्छ । बलात्कारका दोषीहरू बर्दीमा घुम्छन् र जनप्रतिनिधिहरू मिलापत्रमा साक्षी बस्छन् । बडेबडे समाजवादीहरू भएको देशमा ‘क्रोनी क्यापिटालिज्म’ । यो के हो ?

हाम्रो विकासका प्राथमिकता र मोडेल के हुन् ? स्थानीय तहका नेता पनि ठूलठूला कुरा गर्न माहिर छन् तर साना मान्छेलाई स–साना परिवर्तन चाहिन्छ । लोकतन्त्र र विकासलाई जोड्ने प्राथमिक कडी नै जनता हुन् । अत: विकास प्रक्रियामा जनताको सहभागिता कसरी सुनिश्चित हुन्छ ? जनप्रतिनिधिहरूले यस्ता प्रश्नमा केन्द्रित हुनुपर्ला । भर्खर मात्र गरिएको कालोपत्रे अर्को महिना उप्किन्छ । १० महिना निदाउने र असारमा विकासको खेती गर्नेहरूले निरन्तर भ्रष्टाचारको रोपाइँ गरिरहेका छन् । सडकमा धूलो, खाल्डाखुल्डी र अराजकता व्याप्त छ । पूर्वाधारहरू अलपत्र छन् । कहाँ गए, सार्वजनिक थितिका कुरा ? कहाँ गए सुशासनका प्रतिबद्धता ? सरकारी तथा सार्वजनिक सेवा क्षेत्रमा अनगन्ती बेथितिहरू छन् । दुर्भाग्य † हरेक बेथितिका पछाडि साना–ठूला नेताको आडभरोसा छ । त्यसैले प्रश्न स्वाभाविक हुन्छ कि हाम्रो राजनीति यस्ता अनेकौँ बेथितिहरूबाट कसरी माथि उठ्ला ? हाम्रा जनप्रतिनिधिको निष्ठाको संकल्प के हो ? कि त चुनावका वाचाहरू सबै भ्रम थिए भन्नुपर्‍यो कि व्यवहारबाटै जवाफ दिनुपर्‍यो । के पार्टी खोल्ने, जनतालाई सपना देखाउने र सत्ताको खेती गर्नेबाहेक राजनीतिको अरू कुनै दायित्व हुँदैन ? अवश्य हुन्छ । त्यसैले त राजनीतिमा गुमेको दायित्व पुन:स्थापित गर्नु आजको मुख्य काम हो । के हाम्रा सबै तहका सरकारहरूले विगतका कमजोरी सच्याउँछन् ? उही शैली, प्रवृत्ति र प्रयोगले नयाँ गन्तव्यमा पुग्न सकिँदैन । नयाँ गन्तव्यमा पुग्न नयाँ बाटो हिँड्नुपर्छ । सफलताको यो सूत्र हाम्रा जनप्रतिनिधिलाई पक्कै थाहा छ ।

 

उत्प्रेरणाको स्रोत

हाम्रा जनप्रतिनिधिको उत्प्रेरणाको स्रोत के हो ? धन, दौलत, सस्तो लोकप्रियता र कुर्सी हो कि विचार, मूल्य, मान्यता, परिवर्तन र समृद्धि ? इतिहासका शिखर मान्छेहरूको जीवनले भन्छ, उत्प्रेरणाको मुख्य स्रोत जनता हो । यहीँनेर केही प्रेरणादायी नामहरू स्मरण गरौँ । जस्तो कि, महात्मा गान्धी । उनी आफ्नो सिद्धान्तका आफँै अभ्यासकर्ता थिए । उनको जीवन शान्ति, लोकतन्त्र, सदाचार र स्वराजका लागि समर्पित थियो । उनी तपस्वी थिए । सादा जीवन र उच्च आदर्श उनको जीवनसूत्र थियो । निश्चय नै गान्धी ठूलो नाम हो । र, आज हाम्रा धेरै नेतालाई आ–आफ्नो तहको गान्धी बन्ने सुअवसर प्राप्त छ । के हाम्रा स्थानीय तह, प्रदेश र देशका नेताहरू आ–आफ्नो तहको गान्धी बन्लान् ?

यहीँनेर नेल्सन मण्डेलाको प्रसंग जोडौँ । मण्डेला आजको विश्वका सर्वाधिक उच्च पुरुष हुन् । उनले जातीय समानता, मानव अधिकार र लोकतन्त्रका लागि अविश्वसनीय त्याग गरे । मूलत: उनी मान्छेलाई जातभन्दा माथिबाट हेर्थे । उनकै नेतृत्वमा दक्षिण अफ्रिका गोराहरूको समेत मातृभूमि बनेको छ । के हाम्रा नेताहरू आफ्नो गाउँठाउँका मण्डेला बन्लान् ? मार्टिन लुथर किंगले जीवनभर सामाजिक न्यायका लागि बोले । उनले निर्धाहरूमा आशाको सञ्चार गरे । उनको जीवन गरिमापूर्ण थियो । के हाम्रा नेताहरू गरिमापूर्ण जीवनका लागि अविचलित रहलान् ?

माक्र्सवादीहरूले पटक–पटक पढेकै हुनुपर्छ, कार्ल माक्र्ससँग आफ्नी छोरीको मृत्युमा कात्रो किन्ने पैसा पनि थिएन । तर, चरम गरिबीमा पनि उनले आफ्नो आस्थालाई धर्मराउन दिएनन् । नेपालमै पनि बीपी कोइराला, पुष्पलाल, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गणेशमान सिंह, मदन भण्डारीका नामहरू पटक–पटक लिइन्छन् । उनीहरूले शानदार जीवन बाँचे । किनभने, उनीहरू ढोँगी थिएनन् । जे भने, त्यही गरे । उनीहरूको अर्थमा राजनीति त्याग, समर्पण र परिवर्तनको महायज्ञ थियो । राजनीतिलाई तिनले सत्यको लडाइँ बनाए । के हाम्रा नेताहरू आफ्नै राजनीतिका आदर्शहरूबाट सिक्ने सामथ्र्य राख्छन् ?

स–साना काम गरेर आदर्श स्थापित गर्न सकिन्छ । हरेक जनप्रतिनिधिलाई आफ्नो तहको गान्धी, मण्डेला, बीपी, पुष्पलाल, मनमोहन बन्ने अवसर छ । निश्चय नै केही फरक, सानै सही तर महत्त्वपूर्ण काम गर्ने संकल्प भयो भने सफलता टाढा छैन । अन्यथा हाम्रा जनप्रतिनिधिहरूको असफलतालाई कसैले रोक्न सक्दैन । 

सिद्धान्त पढ्नु, सिद्धान्त भन्नु र सिद्धान्तमा टिक्नु अलग कुरा रहेछ । नेपाली राजनीतिका पछिल्ला घटनाहरूले सिद्धान्त र व्यवहारका अनेकौँ असंगतिलाई उदांगो बनाएका छन् । हाम्रा नेताहरू सिद्धान्त भन्न सक्छन् । तर, हामीलाई सिद्धान्तको जनमुखी प्रयोग चाहिएको हो । राम्रो बोलेर के हुन्छ, जब व्यवहारमा कोही सबैभन्दा दुष्ट छ भने ? यसर्थ नै जनता समग्र राजनीतिप्रति आशंका गर्छन् ।

नेताहरूलाई जाँच्ने जनतासँग सजिलो उपाय छ । उनीहरू छलछाम, सौदाबाजी र तिकडमबाट नभई आफ्नै जीवनसँग जोडेर नेताहरूको परीक्षा लिन्छन् । जनता स–साना खुसी चाहन्छन् । जनता दैनिक जीवनमा परिवर्तन चाहन्छन् । शान्ति, सुरक्षा, स्कुल, अस्पताल, रोजगारी, खेत खलियान, पानी, मल, सिँचाइ । यस्ता विषय हुन्, जसका लागि जनताले निरन्तर सपना देखेका छन् । जनता आफ्ना सपनाहरू पूरा हुने दिन गनेर बसेका छन् । अब पर्खिने समय छैन । यसको अर्थ हो, यो परीक्षामा पास हुनुबाहेक हाम्रा जनप्रतिनिधिहरूलाई अरू कुनै सुविधा प्राप्त छैन । 

चुनाव सकियो । नेताज्यू, तपाईं सत्तामा हुनुहुन्छ । अब सम्झनायोग्य काम गर्नुहोला । अन्यथा, भोलि फेरि चुनाव आउँछ, त्यो बेला आफ्नै कर्मले तपाईंको शिर नझुकोस् । प्रिय नेताज्यू, तपाईंको राजनीतिक जीवनकै महापरीक्षा सुरु भयो । 

कृपया पास हुनुहोला । 

प्रकाशित: फाल्गुन १५, २०७४