[अनुभूति] सहरको दोस्रो कथा

- किशोर नेपाल

दिक्क छे । ऊ यो बिनसित्तिको सहर काठमाडौँको जिन्दगीसँग साह्रै दिक्क छे । सहर भन्नु पनि त केही छैन । तरकारी पसलमा हेर्‍यो, दुष्ट सासूले लछारपछार पारेकी बुहारीका जरखरिएका कपालजस्ता साग । खस्रा मुला र चाउरिएको इस्कुस । तरकारीको सेटिङ पनि कति घिनलाग्दो । अझ त्यो मासु, बोइलर र माछा पसलमा त टेक्न पनि सकिन्न । कति अविवेकी छ यहाँको जिन्दगी । साह्रै अविवेकी । कसैसँग आफूले बिनसित्ति दु:ख पाएको कुरा गरौँ, आफूभन्दा बढी दु:ख उसैले पाएको सुनाउँछ । ऊबाहेक यो संसारमा दु:ख पाउने कोही छैनजस्तो आभास आउँछ । ऊ आफ्ना आँखामा दु:खीका हुलिया र विवरणहरू त्यसरी नै प्रस्तुत गर्न चाहन्छे, जसरी आँखाहरूले तरेलीमा टिपेका छन् । ती विवरण हुन्छन् । यी विवरणमार्फत ऊ सबैको हृदयको भाखा सुन्ने प्रयत्न गर्छे । यस्तोमा अरू गर्न पनि के सक्छे र ऊ !

उसको आफ्नै हृदयको भाखा कसैले सुनेको हुँदैन । केही मानिसहरू यसलाई पनि आनन्ददायी अवस्था हो भन्छन् । हो भने कस्तो आनन्द हो त यो ?

ऊ बेहद राम्रो भाषा लेख्छे । तर, हतपति यो ‘बेहद’ शब्द पचाउन सक्दिनँ । मलाईचाहिँ राम्रो लाग्छ यो शब्द । बेहद अर्थात् कुनै सीमा नभएको बेहद । यो त प्रयोग हो बेहद । उसको भाषा बडो रमाइलो लाग्छ फन्नी टाइपको । पढ्दा कहिले वासना आउँछ चमेलीको । यहाँ चमेली भनेको ज्यास्मिन बुझ्नुपर्छ । चमेली फूल पनि हुन्छ भन्ने धेरैलाई थाहा छैन यो घरमा । उसका गद्यहरू पनि त्यत्तिकै रोचक लाग्छन् । किनभने, त्यसमा उर्दू भाषाका शब्दहरूमा प्रश्नैप्रश्न जेलिएका हुन्छन् । उहिले सुनेकी हो : ‘वात निकलेगी तो बहुत दूर तलक जायेंगी ।’ प्रश्नहरूले नै खुसी जन्माउँछन् । भाषामा जति प्रश्न समावेश भएका हुन्छन्, त्यति नै त्यसले दिने खुसीको वजन माथि उक्लिन्छ । 

तर, कहिले भने उसको भाषा उसकै अनुहारको प्रतिविम्बजस्तो लाग्छ । कर्कश, चिसो, बराँठिएको । किनभने, परार साल गएको भुइँचालोले उसका शब्दहरू भत्काएका थिए, घरको गारोसँगै । त्यसपछि ऊसँग कसैले पनि प्रश्न गर्दा भनिदिन्थी, खै के भनुँ र ? सातो गएको पनि होइन । तर, भुइँचालोभन्दा यता पानी खायो, टोइलेट गयो, भान्सामा पस्यो, यता हिँड्यो, उता हिँड्यो । कुनै काम नै छैन । समय नै त्यस्तै छ । 

अचेल उसलाई जतिबेला हेरे पनि ऊ दु:ख र सुखलाई एकै ठाउँमा राखेर गिजोलिरहेकी हुन्छे । उसको नियति त त्यस्तो हुनै सक्दैन ।

हिजो कसोकसो ऊ र म गएका थियौँ उपवनमा । एउटा कविता लेख्न मन थियो । कुरा उसैले उप्काई । पहिले कवि जोन मिल्टनको प्याराडाइज लस्टका केही पंक्तिहरू वाचन गरी । शब्दहरू सेता र नरम भुवाजस्तै उडे चारैतिर छरिएर । त्यसपछि मैले कविता लेखिसकेँ । उसले मैले लेखेका पंक्तिहरू सगर्व पाठ गर्ने इच्छा व्यक्त गरी । ऊ आफ्नो तृष्णा सहजै मेट्न सक्ने मानिस थिइन ।

मैले स्पष्ट सुन्ने गरी उसले मिल्टनको कविता फेरि सुनाई । दोहोर्‍याएर सुनाई । तेहेर्‍याएर सुनाई । मिल्टन भन्दै थिए, ‘सुगन्धित र सुन्दर स्वर्गमा राजा र उनका दासहरूको काम गरेर बस्नुभन्दा दुर्गन्धित र फोहोर भए पनि नरकको राजा हुनु नै श्रेष्ठ कुरा हो ।’

हो नि, दास त अन्त्यमा दास नै रहन्छ । नरक वा स्वर्ग– यी दुवैतिरका राजाले दायाँ–बायाँ जता फर्केर शासन गरे पनि शासित हुने त आखिर दास नै हुन् । दास स्वर्गमा पनि छन् र नर्कमा पनि । उर्वशी स्वर्गमा होली । तर, सुपर्णखा नरकमा नहुन पनि सक्छे । सखीहरूले युवराज लक्ष्मणको प्रशंसा गरेपछि उसले लक्ष्मणलाई मन पराएकी थिई : अहिलेसम्म त्यो ‘प्याराडाइज लस्ट’ भएको छैन भने । 

प्याराडाइज लस्ट । त्यसपछि उसले कविताका लाइन र लबज बिर्सिई । मैले विकिपेडियाको अन्त्यमा त्यो दुर्दान्त कविता भेटेँ र बिस्तारै पारायण गर्न थालेँ । त्यतिबेला मलाई लाग्यो, यो अंग्रेजी भाषा, जसलाई वेतपानी गाउँका काका–बा गाईखाने भाषा भन्छन्, गीता पाठ गरेजस्तो पारायण गर्न हुने हो कि नहुने हो ? किनभने, प्याराडाइज लस्ट ईश्वरप्रति मानिसको अवज्ञाको पहिलो कविता हो । ईश्वरको सत्तालाई पहिलो चुनौती । मिल्टनले ठीक भनेका थिए, हो नि † स्वर्गमा अनन्त सुखहरू भोग्दाभोग्दै पनि त्यहाँ देउताहरूको दास भएर बस्नुको विकल्प छैन । तर, सुखभोग एउटा सामान्य कुरा मात्र हो । ईश्वरको सत्ताले पापी ठहर्‍याएका मानिसले भोग्ने अनेक यातना र नृशंसताहरू हेर्दै नरकको शासक भएर राज्य सञ्चालनको आनन्द लिनु स्वर्गको शासन गर्नुभन्दा कति ठूलो कुरा हो कति † राजा त आखिर राजा नै हुन्छ । 

म विकीमा अलमलिएको थिएँ । उसले सुनाई, ‘लौ तिमी पुरुष हौ भने सुन । ज्याँ जेने पेरिसको एउटा सानो कोठामा जन्मिएको थियो । सरकारी अस्पतालमा जन्मिएको भए त ऊ अवैध हुने नै थिएन । ऊ एउटा बालघरमा हुर्किएको थियो । दस वर्षको उमेरमा बालघरमा नै चोरी गरेपछि उसलाई सुधारगृह पठाइयो । सुधारगृहबाट निस्किएपछि ऊ सर्टिफाइड अपराधी घोषित भयो । उसले युरोपका देशहरूमा पूरै ३० वर्ष भूमिगत जीवन बितायो । ज्याँ जेने युरोपको जुन–जुन देशमा पुग्यो, त्यही–त्यही देशको जेलमा बस्यो । फ्रान्सको जेलमा दसपटक बसेपछि उसलाई सरकारले जन्मकैदको एकमुष्ठ सजाय दियो । दसपटकसम्म  जेल  बस्नेलाई फ्रान्सको सरकारले एकमुष्ट सजाय दिने निर्णय गरेको थियो । 

तर, ज्याँ जेने सामान्य चोर, सामान्य डाँका र सामान्य हत्यारा थिएन । उसलाई फ्रान्सका बुद्घिजीवीहरूले आफ्नो कोक्रामा समेटेका थिए । सरकारको यो निर्णयका विरुद्घ फ्रान्सका बुद्घिजीवी र कलाकारहरूले राष्ट्रपति अरिओलसमक्ष निवेदन दिएपछि ज्याँ जेने छुटेको थियो । ज्याँ जेने प्रसिद्घ पुस्तक आवर लेडी अफ दी फ्लावरको लेखक थियो । त्यसबाहेक उसका नाटक दी बाल्कोनी, दी ब्ल्याकस र दी मेड्स प्रसिद्घ छन् ।

‘सुन्यौ ?’ मलाई ज्याँ जेनेको जीवन कथामा भन्दा उसले आफ्ना शब्दले कोरेका युरोपका सहरहरूको रेखात्मक चरित्रमा बढी चाख थियो । ऊचाहिँ ती ठाउँको कल्पना गरेरै उन्मादमा थिई । ज्याँ जेनेले कतिलाई आफ्ना कथा र उपन्यासको पात्र बनायो होला, अहिले ऊ आफैँ पात्र बन्दैछ । यो त झन् रमाइलो कुरा हो नि !

लालबाबुको किताबमा आँखा पर्‍यो । कति राम्रो । साइकिलमा ठड्याइएको सूर्य–चन्द्र अंकित चमकदार राष्ट्रिय झन्डा । साइकिल खिचेर हतारमा चलाउँदै गरेका लालबाबु । देश बन्छ भन्थे । लालबाबुले साइकिल चढेपछि देश त बन्छ नै । बन्ने नै भयो । त्यसमा केको बुद्घिविलास ? लालबाबुले संस्कृत भाषालाई त्यत्तिकै कठिन बताएका पक्कै होइनन् । स्थानीय एक जना हेडमास्टर रुसी सांस्कृतिक केन्द्रमा संयोजक हुनुहुन्थ्यो । स्वप्नजीवी लालबाबुको जीवन आफैँमा चाखलाग्दो छ । किताबका प्रकाशकले यसै भनेका छन् । खुसी यसमा कि राजनीतिमा लागेका मानिसहरूको रुचि बढेको छ, किताब पढ्ने कुरामा । उसले भनी मसँग, एक त म लालबाबु पण्डितको सिंहदरबार बदल्ने संघर्ष पढ्ने हो । अर्को महको म पढेर बाँकी बिदा सिध्याउने हो । 

समाज हाम्रो राम्रो हो कि ज्याँ जेनेको ? परार हाम्रोमा भुइँचालो गयो । धरहरा त भाँच्चियो, भाँच्चियो, रानीपोखरी पनि धस्सियो । दुई वर्षदेखि हजारौँ–हजारलाई वैतरणी नदी तार्न सघाउने रानीपोखरीका देवता भोकै छन् । त्यसका किनारामा हात्तीमाथि हौदा कसेर आफ्नी महारानीसँग बसेका छन्, महाराजा प्रताप मल्ल । उनलाई कसैले खुवाउनु पर्दैन ? मलाई लाग्यो, हामी ताडनामा बाँचिरहेका छौँ । प्रताडित । सधैँ प्रताडित । 

एक समय थियो, जतिबेला देशमा शासन गर्ने राजाले हरेक वर्ष राजाको जुवा फुकेको घोषणा गराउँथे । दसैँदेखि तिहारसम्म कोही निदाउँदैनथे । पञ्चकमा भात पनि नखाई लम्पट कसेर जुवा खेल्ने जुवाडेको देश हो यो । त्यो चलन नरहेको सय वर्ष पनि भएको छैन । अचेल समृद्घि भन्न थालेका छन् । केही वर्षअघिसम्म विकास भन्थे । साले, जुवाडे घमन्डीहरू । एकथरीले खेलेर खाने अर्कोथरीले झेलेर खाने । कति रमाइलो । 

साँच्चै बिनसित्तिको सहर भएको छ काठमाडौँ । भुइँचालोपछि यो सहरको सातो उडेको छ । मानिसहरूले बुझ्नु पर्छ– केटाकेटीको मात्रै होइन, बूढाबूढीको पनि सातो जान्छ । सातो जाने मात्रै होइन, सातो उड्ने पनि गर्छ । बन्ने र बनाउनेभन्दा लुट्ने र लुटाउनेको हाईहाई धेरै भएपछि सहरमा कण मात्रै बाँकी रहन्छ– धूलोको कण । अहिले कणको प्रभावले नकाव उद्योग (मास्क इन्डस्ट्रिज)को दिग्विजय भएको छ । कसको नाकमा छैन नकाव ? एउटा रानीपोखरीको पुन:स्थापना गर्न नसक्नेहरू राज्य प्रशासनको सञ्चालनमा लागेपछि के हुन्छ ?

पानी पलाउने सम्भावना टर्छ । 

प्रकाशित: फाल्गुन १४, २०७४