फेरिएको इन्फिल्ड

- नेपाल संवाददाता

इन्जिनमा थोरै परिवर्तन गरेर रोयल इन्फिल्ड हिमालयन बाइक भारतीय बजारमा फेरि आएको छ । सन् २०१६ मा यो बाइक लन्च हुँदा यसलाई धेरैले मन पराएका थिए । तर, २०१७ मा प्रदूषण नियन्त्रणका लागि भारत सरकारले बीएस फोर लागू गरेपछि भने यो बाइकको उत्पादन बन्द भएको थियो । किनभने, यसको इन्जिन बीएस थ्री मापदण्डको थियो । 

अहिले आएको रोयल इन्फिल्ड हिमालयनमा चार सय सीसीकै इन्जिन छ । र, यो बीएस फोर मापदण्डमै पर्छ । स्टाइल र डिजाइनमा कुनै परिवर्तन नभए पनि इन्जिनको फ्युल इन्जेक्सन सिस्टम र गियरबक्समा थोरै अपडेट भने गरिएको छ, जसका कारण कच्ची पहाडी बाटोका लागि यो बाइक पहिलाको भन्दा बढी प्रभावकारी महसुस गर्न सकिन्छ । 

२४.५ ब्रेक हर्सपावरको अधिकतम पावर, पाँच गियरको बक्स आदि यसका मुख्य फिचर हुन् । यो बाइक बढीमा १ सय ६० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ । तर, रोयल इन्फिल्ड हिमालयनलाई पिच बाटोभन्दा पनि अफ रोडका लागि रुचाइएको छ । 

यसको मूल्य १ लाख ६८ हजार भारतीय रुपियाँ पर्छ ।

 

प्रकाशित: फाल्गुन १४, २०७४