विश्व व्यवस्था : हिजो, आज र भोलि

- रमेश केसी

हेनरी किसिन्जर ती लब्ध प्रतिष्ठित कूटनीतिज्ञ र राजनेता हुन्, जसका प्रत्येक शब्द गाम्भीर्यका साथ लिइन्छ । राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रपति जेराल्ड फोर्डका विदेशमन्त्री रहिसकेका उनी ९३ वर्षमा पनि लेखन कार्यमा त्यत्तिकै सक्रिय छन् । केही वर्षअघि चर्चित पुस्तक डिप्लोमेसीपछि अन चाइना हुँदै अहिले वल्र्ड अर्डर पुस्तक लिएर देखा परेका छन् उनी । विश्व कूटनीतिका विश्वकोश अमेरिकी विद्वान् किसिन्जरले हार्वर्ड विश्वविद्यालयमा दुई दशकसम्म प्रध्यापन गरे । वल्र्ड अर्डर अर्थात् विश्व व्यवस्था अन्तर्राष्ट्रिय मामलामा पेचिलो विषय हो । राष्ट्रको व्यवस्था गर्न सरकार भएजस्तै विश्वको व्यवस्था गर्न अन्तर्राष्ट्रिय प्रणाली हुन्छ । 

समकालीन विश्वमा यही प्रणालीका अतीत, वर्तमान र भविष्यबारे किसिन्जरले यस पुस्तकमा व्यापक चर्चा गरेका छन् । यो विश्व व्यवस्था पहिलोपल्ट युद्धरत युरोपेली शक्तिहरूले ३० वर्षसम्म युद्ध गरेपछि आपसी शान्ति र सुशासनका लागि सन् १६४८ मा वेस्टफेलियन सन्धि गरे । यसले युरोपमा शक्ति सन्तुलन ल्यायो । यही शक्ति सन्तुलनले विश्वमा पहिलोपल्ट वैज्ञानिक र प्रणालीगत विश्व व्यवस्था बनायो । राष्ट्रहरू सम्प्रभुतालाई मान्दै आफ्नो अधिकार उपभोग गर्न पाउने भए । एकअर्काको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने सहमति भयो । यस सन्धिले युरोपको बहुलतालाई स्वीकार्‍यो, जसले शक्ति सन्तुलनलाई बिथोल्छ, त्यो अन्य राष्ट्रहरूको संयुक्त पहलमा निमिट्यान्न हुन्छ । जस्तो कि नेपोलियन बने । यही वेस्टफोलियन सन्धिपछि कंग्रेस अफ भियनाबाट परिमार्जित भयो । आधुनिक राज्यमा अहिलेसम्म यही विश्व व्यवस्थाका मान्यताहरूले स्थान पाएको छ । पहिलो र दोस्रो विश्वयुद्धपछि यस व्यवस्थालाई केही धक्का पुग्यो । त्यसपछाडिको विश्व व्यवस्थाको नेतृत्व अमेरिकाको हातमा गयो । यो पश्चिमी थियो ।

वेस्टफेलियन सहमतिकै निरन्तरता थियो । अहिले चीन, भारत, ब्राजिल, इरान र दक्षिण अफ्रिकाजस्ता राष्ट्रहरूको उदयले अमेरिकी विश्व व्यवस्थाको संरचना परिवर्तन गर्न खोजेको छ । विशेष गरी चीनको अभूतपूर्व उदय र आर्थिक, सैनिक शक्तिले अमेरिकाको नेतृत्वमा रहेका विश्व प्रणालीलाई चुनौती दिन सक्ने किसिन्जरको दृष्टिकोण छ । पुस्तकमा युरोप, भारत, चीन, जापान र मध्यपूर्वजस्ता शक्तिहरूले विकास गरेको विश्व व्यवस्थाबारे सूक्ष्म विश्लेषण गरिएको छ । 

यी विश्व व्यवस्थाहरूको इतिहास र वर्तमान केलाउँदै किसिन्जर पुस्तकमा समकालीन विश्व राजनीतिको उथलपुथलहरूका बारे चर्चा गर्छन् । शीतयुद्धको बेला पुँजीवादी अमेरिका र साम्यवादी सोभियत संघबीच विश्व प्रभुत्व र नेतृत्वको होडबाजी थियो । 

सन् १९९० मा साम्यवादी धुरीको पतनपछि अमेरिका विश्वको एक मात्र महाशक्ति बन्यो । अमेरिकाविरुद्ध इस्लामिक आतंकवाद चुनौतीका रूपमा देखापर्‍यो । स्यामुयल हन्टिङ्टनले यसलाई सभ्यताको द्वन्द्व भने । हुन त इस्लामिक विश्व व्यवस्था अट्टोमन साम्राज्यको पालामा युरोपसम्म पुगेको थियो । गैरइस्लामलाई इस्लामिक बनाउने वा नष्ट गर्ने ध्येय भएको यो व्यवस्था धार्मिक उन्माद र उद्देश्यले प्रेरित थियो । ‘सभ्यताको द्वन्द्व’ सतहमा हेर्दा हो जस्तो लागे पनि राज्यहरू आ–आफ्नो मौलिक स्वरूप र स्वार्थबाट सञ्चालित हुन्छन् । यसर्थ, सभ्यताको द्वन्द्वभन्दा किसिन्जर राज्य–राज्यबीचको प्रतिस्पर्धा र विविध स्वार्थमा जोड दिन्छन् । मध्यपूर्वमा नै इस्लामिक भए पनि क्षेत्रीय प्रभुत्वका लागि आज इरान र साउदी अरेबिया प्रतिस्पर्धामा छन् । उत्तरशीतयुद्धकालमा अहिले नयाँ विश्व व्यवस्थाका लागि प्रयत्नरत रहेको राष्ट्र चीन नै हो । चीन अहिले शीतयुद्ध, भियतनाम युद्ध, दुईवटा इराक युद्ध, अफगानिस्तानको युद्ध र अलकायदाको आक्रमणपछि घाइते बनेको अमेरिका आतंकवादविरुद्धको युद्धपछि थकित छ । यस थकानबाट कमजोर बनेको अमेरिकाबाट विश्व व्यवस्थाको समुचित प्रयोग हुन नसक्ने देखिन्छ । 

अमेरिकाले दोस्रो विश्वयुद्धपछि विश्व बैँक, संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय अपराध अदालतको सिर्जना गरेर विश्वमा आफ्नो प्रभुत्व जमाएको थियो, दोस्रो विश्वयुद्धपछि तहसनहस युरोपको पुन:निर्माणमा सहयोग गरेको थियो भने सामूहिक सुरक्षा र सोभियत साम्यवादी चुनौतीलाई सामना गर्न उत्तर एटलान्टिक सैनिक संगठनको गठन गरेर बीसौँ शताब्दी अमेरिकी शताब्दी बनाएको हो । इतिहासकारहरू भन्छन् कि उन्नाइसाँै शताब्दी युरोपको थियो भने बीसाँै शताब्दी अमेरिकाको थियो, अबको एक्काइसौँ शताब्दी चीनको हुनेछ । गीता र महाभारतजस्ता हिन्दु धार्मिक ग्रन्थबाट विकसित भएको भारतको विश्व दृष्टिकोणका बारेमा चर्चा गर्दै किसिन्जर भविष्यमा भारत एक महाशक्ति बन्ने टिप्पणी गर्छन् । अन्तर्राष्ट्रिय राजनीतिमा यथार्थवादी विचारधाराका प्रवक्ता हेनरी किसिन्जरको यो पुस्तक इतिहास रणनीति र राज्य कौशलको निचोड हो ।

पुस्तकमा किसिन्जरले त्यहाँ एउटा मात्र विश्व व्यवस्थाभन्दा क्षेत्रपिच्छे विभिन्न विश्व व्यवस्थाको अवधारणा सक्रिय रहेको स्पष्ट पार्छन् । इरानको आणविक कार्यक्रमले ल्याएको संकट र त्यसपछि सम्झौता, उत्तर कोरियाको आणविक परीक्षणले ल्याएको युद्धको खतरा आदि विश्लेषण गर्दा किसिन्जर पुस्तकमा आधुनिक विज्ञान, प्रविधि, सूचना, क्रान्ति र कृत्रिम बुद्धिको आविष्कारले विश्व व्यवस्थामा ल्याउने परिवर्तनबारे चर्चा गर्छन् । 

अमेरिकाको वर्तमान संकटका बारेमा उनी लेख्छन्, ‘शक्ति र कूटनीतिको दुविधा समाधान गर्न नसक्नु, यथार्थवाद र आदर्शवाद, शक्ति र वैधानिकताबीच दोधार मेट्न नसक्नु हो ।’ उदार विश्व व्यवस्था भनिएको वर्तमानको संरचनाबारे चीन, रुस र भारतका आ–आफ्ना धारणा छन् । तर, बदलिँदो विश्व राजनीतिको पर्यावरणमा यो प्रश्न पनि छ कि के अमेरिकी युग समाप्त भएको हो ? हो भने अहिले अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको एकलकाँटे र अन्तर्मुखी नीतिबाट नै अमेरिकी विश्व व्यवस्थालाई खतरा छ । आधुनिक कालखण्डमा राष्ट्रपति विड्रो विल्सनद्वारा विकसित गरिएको अमेरिकी विश्व व्यवस्थालाई सबै राष्ट्रपतिहरूले निरन्तरता दिए । अहिले आएर राष्ट्रपति डोनाल्ड ट्रम्पको मौसम परिवर्तनसम्बन्धी पेरिस सम्झौता, ट्रान्सप्यासिफिक व्यापार सम्झौताबाट पछि हट्ने निर्णयले अमेरिका विश्वको नेतृत्व गुमाउँदै गएको छ । यो खाली ठाउँमा चीनले फाइदा लिन खोजेको छ ।

अमेरिका अझै पनि आफ्नो नेतृत्वको विश्व चाहन्छ भन्ने कुरा ट्रम्पले हालै सुरक्षा नीति घोषणा गर्दा चीन र रुसलाई दुई प्रमुख शत्रु राष्ट्रका रूपमा चित्रित गरेबाट स्पष्ट हुन्छ । रुस अहिले आफ्नो गुमेको साख फेरि फर्काउन चाहन्छ । चीन भने अहिले बहुध्रुवीय विश्व तर एसियाको एक्लो नेतृत्व लिन चाहन्छ । भारत भने बहुध्रुवीय विश्व र बहुध्रुवीय एसियाको पक्षमा छ । राष्ट्रहरूको चरित्र र इतिहासको बाटोबारे मिहिन ढंगले विश्लेषण गरिएको यो पुस्तक अन्तर्राष्ट्रिय मामलामा जानकारी राख्ने जो कोहीले पढ्न आवश्यक छ । 

वेस्टफेलियन अवधारणाबाट सञ्चालित विश्व व्यवस्था पश्चिमीहरूको पकडबाट जान सक्ने संकेतहरू देखिएका छन् । केही कालअघिसम्म अमेरिका विश्वलाई निर्देशन दिन्थ्यो भने अहिले मुस्किलले नेतृत्व गरिरहेको प्रिन्सटन विश्व विद्यालयका सिजोन एकेनवरी बताउँछन् । विश्व अर्थतन्त्रमा उपनिवेशवादी काल, साम्राज्यवादी काल र मुक्त पुँजीवादी कालमा प्रभुत्व जमाउँदै आएका पश्चिमाहरू अहिले गैरपश्चिमा राष्ट्रहरूको उदयबाट सशंकित बनेका छन् । विशेष गरी चीनको उदयबाट सशंकित बनेका छन् । किनभने, एउटा महाशक्तिको पतनका लागि अर्को महाशक्तिको उदय हुन जरुरी छ । राष्ट्रहरूलाई संयमित र सन्तुलित राख्न गरिएको विश्व व्यवस्था शक्तिले नै निर्धारित गर्ने विषय हो । चीनको विश्व व्यवस्थासम्बन्धी अवधारणा अहिलेसम्म धारणात्मक छ भने अमेरिकाको व्यवहारमूलक छ । १७औँ शताब्दीमा युरोपको युद्धरत राष्ट्रहरूको परिस्थितिले जन्माएको वेस्टफेलियन विश्व व्यवस्था नयाँ विश्व परिस्थितिमा कति सान्दर्भिक हुन्छ भन्ने प्रश्न नै अहिलेको अनिश्चयको युगको प्रमुख प्रश्न हो । 

वल्र्ड अर्डर

लेखक : हेनरी किसिन्जर

प्रकाशक : एलेन लेन

पृष्ठ : ४२०

मूल्य : २५ डलर

प्रकाशित: फाल्गुन १३, २०७४