अहिलेलाई बिदा ! फेरि भेटौँला !

- प्रशान्त अर्याल

पत्रकारिताबाट करिब डेढ वर्षको विश्राम लिएर एउटा गैरसरकारी संस्थामा नोकरी गरिरहेको थिएँ । तर, कामचाहिँ लगभग पत्रकारिताकै थियो, रिपोर्टिङ र सम्पादनको । पाक्षिक रुपमा प्रकाशन भइरहेको नेपाललाई साप्ताहिक बनाउने निधो भएपछि यसका तत्कालीन सम्पादक सुधीर शर्माबाट मूल प्रवाहको पत्रकारितामा फर्कन प्रस्ताव आयो । सहर्ष स्वीकारेँ । ०६० को चैत अन्तिम साता सहायक सम्पादकका रुपमा नेपाल प्रवेश गरेँ, पहिलो साप्ताहिक अंकको प्रकाशनसँगै । 

१४ वर्षमा जसरी वाग्मतीमा धेरै पानी बग्यो, त्यसै गरी नेपालमा करोडौँ शब्दहरुको लेखन, सम्पादन र प्रकाशन भयो । यो अवधिमा माओवादी हिंसाको चरमोत्कर्ष, १६ भदौ ०६१ को हिंसात्मक तोडफोड, दोस्रो जनआन्दोलन, संविधानसभाका दुई चुनाव, संविधान निर्माण र संघीय गणतन्त्र नेपालको तीन तहका चुनावसमेत भए । यही कालका मूलत: आफ्नो सम्पादकीय नेतृत्वको अवधिका केही उल्लेख गर्नैपर्ने प्रसंगबारे यहाँ लेख्ने जमर्को गर्दैछु । 

* * *

७ चैत ०६६ को प्रसंग हो, शुक्रबार दिनभरि र रातभरिजस्तो काम गर्दा शनिबार बिहानको करिब ३ बजिसकेको थियो । पत्रिका फाइनल गरेर प्रेसमा पठाइयो । त्यो अंकको आवरण सामग्री तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरूङको अभिव्यक्तिमाथि थियो । उनले माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने सम्बन्धमा महफ्वपूर्ण धारणा राखेका थिए । लडाकू समायोजनबारे उनी राजनीतिक सहमति र स्थापित मापदण्ड पूरा हुनैपर्ने सर्तमा प्रस्ट देखिन्थे । ६ महिनाअघि मात्र सेनापतिको पदभार ग्रहण गरेका गुरूङको यो अभिव्यक्तिले तत्कालीन राजनीतिमा तरंग पैदा गरेको थियो । ८ चैतमा प्रकाशित नेपालमा यसैको चिरफार गरेका थियौँ हामीले ।

उता प्रेसमा पत्रिका छापिइरहेको थियो । तर, यता शनिबार मध्याह्नको आसपासमा इतिहासकै एक ठूलो घटना भइदियो– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको देहावसान । यो खबर डढेलोझैँ फैलियो । यतिबेलासम्म प्रेसमा छापिँदै गरेको नेपाल असान्दर्भिक भइसकेको थियो । यो घटनालाई समावेश गर्न सकिन्छ कि भनेर प्रेसमा सम्पर्क गरेँ, असमर्थताको जवाफ आयो । भोलिपल्ट ८ चैतमा नेपाल बजारमा देखियो, जसमा कोइरालाको निधनसम्बन्धी कुनै सामग्री थिएन । हामी लाचार थियौँ । किनभने, हामीसँग त्यो अंकलाई सच्याउने विकल्प थिएन । 

* * *

आठ दशकको अन्तरालमा आएको महाभूकम्पले दसौँ हजारको ज्यान लियो, हजारौँ–लाखौँलाई घाइते र घरबारविहीन बनायो । १२ वैशाख ०७२ हाम्रा लागि सम्भिँmदा पनि कहाली लाग्ने दिन हो । त्यसको एक दिनअघि मात्र हामीले नेपालको आगामी अंक फाइनल गरेका थियौँ । पर्वतारोहणको याम भएकाले हाम्रा एक सहकर्मी सगरमाथा आधार शिविर पुगेर फर्किएका थिए । आधार शिविरमा पर्वतारोहीको भीडभाड र घन्चमन्चबारेको आवरण सामग्री थियो– ‘टेन्टको सहर’ । 

कस्तो अशुभ संयोग ! आधार शिविर टेन्टको सहर भएको फोटोसहितको पत्रिका प्रेसमा पठाएकै भोलिपल्ट भूकम्पले सिंगो राजधानीलाई नै टेन्टको सहरमा बदलिदियो । आइतबार पत्रिका बजारमा आउनुपर्ने दिन । भूकम्पले सहरका अधिकांश पसल खुलेका थिएनन्, जनजीवन अति भयभीत र असामान्य थियो । यस्तोमा ‘टेन्टको सहर’ आवरण भएको पत्रिका बजारमा पठाउँदा गलत सन्देश जान्थ्यो । त्यसैले १३ वैशाखमा सार्वजनिक हुनुपर्ने नेपाल बजारमा वितरण गरिएन । पत्रिका छापिएर पनि पाठकको हातमा नपुगेको त्यस अंकका केही सामग्री हामीले पछिका अंकमा दोहोर्‍याएर प्रकाशन गरेका थियौँ । सम्भवत: नेपाली पत्रकारिताको यो एक दुर्लभ घटना हो र नेपाल त्यसको अंग बन्यो । 

* * *

भर्खरै मीनासिंह खड्काका बारेमा केही सञ्चारमाध्यममा समाचार आएका थिए । मदर टेरेसासँगको प्रसंग, डोरबहादुर विष्टको संगत, हार्वर्ड युनिभर्सिटीकी प्राध्यापक, विश्वका नामुद ३४ विश्वविद्यालयसँगको आवद्धता, दुई–दुईवटा पीएचडी डिग्री र एकै लेक्चरको पाँच हजार अमेरिकी डलर लिने आदि–इत्यादि किंवदन्ती सुनेपछि हामीलाई पनि लाग्यो, यिनको प्रोफाइल छाप्नैपर्छ । आखिर २७ भदौ ०७२ को नेपालमा उनको तीन पृष्ठ लामो व्यक्तिचित्र छापियो पनि, शीर्षक थियो– ‘दलदलमा कमल’ । दुई सहकर्मीको बाइलाइनमा प्रकाशित यो लेखनी यति सशक्त थियो कि यसले गतिलो चर्चा बटुल्यो ।

खासमा हामीले जे लेख्यौँ, उनी त्यो थिइनन् । यो सामग्री छापिएकै साता हार्वर्ड विश्वविद्यालयकै एक पूर्वविद्यार्थीले मलाई टेलिफोनमार्फत उल्लिखित नाम गरेकी प्राध्यापक त्यहाँ नभएको बताइसकेका थिए । तर, हामी विश्वस्त भएनौँ । केही महिनापछि भने सार्वजनिक रुपमै उनको वास्तविकता खुल्यो । अझ, छताछुल्लै भयो । 

काठमाडौँको एक नाम चलेको कलेजले महिनाको पाँच लाख रूपियाँ पारिश्रमिक दिइरहेको आधारमा हामीले उनको प्रोफाइल उतारेका थियौँ । यत्रो रकम पारिश्रमिक दिने कलेजले उनको पृष्ठभूमि परीक्षण गरेकै होला भन्ने ठान्यौँ हामीले । पोल खुलेपछि कलेजले पनि उनलाई सेवाबाट निवृत्त गरिदियो । हुँदै नभएको मान र पगरी भिराएर बढाइचढाइ प्रकाशन गरिएको त्यस सामग्रीबारे हामी पाठकहरुसँग माफी माग्न चाहन्थ्यौँ । त्यसका निम्ति उपयुक्त समयको पर्खाइमा थियौँ । 

सायद, त्यो समय यसपटकलाई जुरेछ । त्यो पनि १४ वर्ष काम गरेको नेपालबाट बिदा हुने क्षणमा । तसर्थ, प्रिय पाठकहरुसमक्ष त्यस गल्तीका लागि म क्षमायाचना गर्दछु । 

नेपालको यही अंकबाट मैले साढे दुई दशकको प्रकाशन पत्रकारितालाई बिट मारेको छु । अबको यात्रा प्रसारण पत्रकारिताको हुनेछ । 

अहिलेलाई बिदा ! फेरि भेटौँला ! 

प्रकाशित: फाल्गुन १३, २०७४