हृदयघात जाँच्ने एआई

- नेपाल संवाददाता

गुगलले अहिले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेर एउटा यस्तो अल्गोरिदम तयार पार्दैछ, जसले जुनसुकै मानिसमा हुन सक्ने हृदयघात पत्ता लगाउन सक्छ । यस्तो अल्गोरिदम प्रविधिमा आधारित स्वास्थ्य विज्ञानका लागि निकै उपयोगी हुने निश्चित छ । 

सुन्दा अचम्म लाग्न सक्छ तर यसले हाम्रो आँखाका पछाडिको भाग जाँचेर यस्तो कुरा पत्ता लगाउँछ । हाम्रो आँखाका पछाडि रगत बग्ने मसिना नली हुन्छन् । र, मानव स्वास्थ्यमा अध्ययन गर्ने वैज्ञानिकले गरेका अध्ययनले यस्ता मसिना नलीको जाँचबाट हृदयघात पत्ता लगाउन सकिने तथ्य फेला पारेको थियो । 

गुगलले तयार पार्ने अल्गोरिदम पनि यही तथ्यमा आधारित रहनेछ । आँखाका नसाको अध्ययनबाट पाँच वर्षसम्ममा हुन सक्ने हृदयघात र उच्च रक्तचाप समस्याको सम्भाव्यता जान्न सकिनेछ । यही प्रविधिबाट मानिसको उमेर र उसले धुम्रपान गरे/नगरेको पनि थाहा हुन्छ । यी सबै तथ्यको अध्ययनबाट नै रक्तचाप र हृदयघातजस्ता समस्या आउनुअघि नै तिनका सम्भावनाबारे थाहा पाउन सकिनेछ ।

 

प्रकाशित: फाल्गुन १३, २०७४