साँच्चै साढे सातको शनि

- गोकर्ण गौतम

साम्तेन भुटियाको तान्द्रोमा टन्नै खाटाहरू नभएको होइन । तैपनि, निर्देशकका रुपमा उनले एक खालको सम्भावना देखाएका थिए । खासगरी सानो क्यानभासको कथालाई सूक्ष्म शैलीमा दृश्यमा बुन्न । तर, दोस्रो फिल्म साढे सातले साम्तेनप्रतिको आशा पूरापुर निराशामा बदलेको छ । कथा, पटकथा र प्रस्तुति हरेक कोणबाट यसप्रति सद्भाव र शुभेच्छा राख्न सकिन्न । जबकि, कथाको पृष्ठभूमि आफैँमा ताजा थियो । र, मन छुने पनि ।

दुई वर्षअघिको नाकाबन्दीका दौरान मधेसमा मौलाएको आन्दोलनको राप हो । तर, विषयको संवेदनशीलता अनुसार पात्र, तिनीहरूको द्वन्द्व र घटनाक्रम विकास गरिएको छैन । परिणामत: फिल्म हेर्ने जोकोहीको मुटु कुटुकुटु खान्छ । मधेसमा आन्दोलन हिंसात्मक बन्दैछ । यसैलाई कभर गर्न राजधानीको एक दैनिक पत्रिकाका सम्पादकले फोटोपत्रकार संयोग (सत्यराज आचार्य) लाई मधेसमा खटाउँछन् । गर्भवती पत्नीलाई पोखरा पठाएर संयोग मधेस हुइँकिन्छ । त्यहाँको अवस्था उनले सोचेभन्दा दर्दनाक छ । केही फोटोहरू खिच्छ । तर, परिस्थितिवश उनको भेट नगरबधु सरला (मेनुका प्रधान)सँग हुन्छ । त्यसपछि के होला ? यत्ति हो, फिल्मप्रति विरक्ति पैदा गर्न क्लाइमेक्सको अहम् भूमिका  छ ।

सुरुआतमा साढे सात फोटो पत्रकारको कथा जस्तो लाग्छ, जसलाई परिवारभन्दा पेसा प्यारो छ । त्यही भएर त दुई जीउकी पत्नी छोडेर मधेस जान्छ । यहाँसम्म आइपुग्दा फिल्ममा केही त पक्का छ भन्ने लाग्छ । कष्टकर हुँदै गएको मधेसको जीवन, टायर बालिएका बन्द सडक, लाठा लिएर सडकमा बसेका आन्दोलनकारीका दृश्यले नाकाबन्दीताकाको मधेसलाई सम्झाउँछ । तर, जब अचानक नगरबधुको प्रवेश हुन्छ, कथामा थपिनुपर्नेमा तनाव दर्शकतिर आइलाग्छ । किनभने, ‘स्पेसल असाइन्मेन्ट’ लिएर मधेस पुगेको फोटो पत्रकार असाध्यै झिना र अविश्वसनीय कुरामा अल्झन्छ । एउटा ड्राइभरले उक्साएको र दु:ख पोखेकै भरमा स्वभाव र चाहनाविपरीत नगरबधुलाई भेट्छ । पटकथाकारसमेत रहेका निर्देशक आफ्नो कथा र पात्रहरूप्रति कति द्वविधाग्रस्त छन् भन्ने त्यसपछिका दृश्यहरूले देखाउँदै जान्छ । सरलासँग भेट नै प्रधान कथामाथिको घोर अन्याय हो ।  मध्यान्तरअघि त तैबिसेक, मध्यान्तरपछि फिल्मले पूरै लय गुमाएको छ । दर्शकलाई मधेसमा दन्किरहेको आगो, त्यसका परिणाम, संयोगकी पत्नी, उसको अफिसप्रतिको जिम्मेवारीलगायतका पक्षको चिन्ता हुन्छ, जुन स्वाभाविक हो । तर, निर्देशक जबर्जस्ती संयोग र सरलामै सीमित राख्छन् । उनीहरूको हर्कत घिसिपिटी छ नै, मूल कथासँग कुनै सरोकार राख्दैन । दुवै गोदामभित्र थुनिएका छन्, बाहिरी दुनियाँलाई पूरै बेवास्ता गरिएको छ ।

क्लाईमेक्स नजिकिँदै गर्दा पात्रद्वयमा नाटकीय र अपत्यारिला व्यवहार देखा पर्छन्, त्यस्तै घटना घट्छन् । फिल्मप्रति अझ मोहभंग हुँदै जान्छ । अन्तिममा बिनाप्रसंगको आर्दशात्मक ‘भ्वाइस ओभर’ ले कन्पारो तताउँछ । काठमाडौँमा संयोगले खिचेका फोटाहरू हेर्दा ऊ फोटो पत्रकार होइन, फोटोग्राफरजस्तो लाग्छ । अर्कातिर फोटोग्राफरकै रुपमा पनि उसको चरित्र स्थापित हुन्न । घाँटीमा क्यामेरा भिर्दैमा फोटोग्राफर मान्नुपर्छ भने त अलग कुरा । आजको जमानामा दैनिक पत्रिकाको सम्पादकलाई फोटोप्रिन्ट गरेर दिने हास्यास्पद दृश्य यही फिल्ममा देख्ने ‘मौका’ पाइन्छ । सत्यराजका बग्रेल्ती ‘क्लोजअप सट’को अर्थ निर्देशक स्वयम्लाई थाहा होला ।   कलाकारको अभिनय पनि खट्कने पक्ष हो । मध्यान्तरअघि आफ्नो भूमिकामा औसत प्रस्तति दिएका सत्यराज गोदाममा थुनिएपछि अस्वाभाविक लाग्छन् । यस्तो चरित्र र अभिनयले गायकका रुपमा कमाएको साख गुमाउने खतरा हुन्छ । कामेश्वर चौरासियाको मुख एक छिन बन्द हुन्न, बोलेको बोल्यै ।

जसले दिक्दारी पैदा गर्छ । आफूलाई ‘मार्क’ गराउन ‘लाउड’ हुनैपर्छ भन्ने भ्रमबाट कामेश्वर मुक्त हुनुपर्छ । तुलनात्मक रुपमा मेनुकाको चरित्रप्रति संवेदना पैदा हुन्छ । तैपनि उनको अभिनय अघिल्ला फिल्ममा झैँ अब्बल छैन । सुप्रिया कटवाल, शिशिर वाङदेलजस्ता सहायक कलाकार ठीकठाक छन् । पृष्ठभूमि संगीत दृश्यको भावभन्दा टाढा र कर्कश छ । बरु सिनेमाटोग्राफर अनिश तामाङसँग गुनासो गर्ने खास ठाउँ छैन । निर्देशक कथावाचक हो । यसलाई आड लिएर भन्दा साम्तेन यसपटक फेल भएका छन् ।  यस्ता सिनेमा बन्नु नेपाली फिल्मवृत्तकै लागि साढे सातको दशा लाग्नुजस्तो हो । दर्शक भड्कने र समग्र फिल्मकै छवि धुुमिलिने भय हुन्छ ।  

प्रकाशित: फाल्गुन ११, २०७४