[स्मरण] बीपी उपचारार्थ उड्नुअघि

  • राजालाई रोगको गम्भीरताबारे सम्झाउन मलाई झन्डै एक घन्टा लाग्यो । अन्त्यमा उहाँलाई चित्त बुझेछ क्यारे, एडीसीलाई बोलाएर ‘बीपीलाई लिएर आऊ’ भन्नुभयो ।

- डा मृगेन्द्रराज पाण्डे

१५ जेठ २०३४ को कुरा हो । वाग्मती अञ्चलाधीशको कार्यालयबाट बीपी कोइरालाको स्वास्थ्य परीक्षण गर्न जानु भनी फोन आयो । भोलिपल्ट दिनको १२ बजेतिर प्रहरी तालिम केन्द्र महाराजगन्जको बन्दी शिविरमा गएँ, जहाँ सुन्दरीजल जेलबाट बीपीलाई ल्याएर राखिएको थियो । त्यहाँ पुगेपछि थाहा भयो, आफ्नो मुटु धड्कँदा बीच–बीचमा रोकिने भएकाले मुटुरोग लागेको आशंकाले उहाँले नै बोलाउन लगाउनु भएको रहेछ । मुटुको चाल परीक्षण गर्दा खासै समस्या भएको पाइनँ । 

तर, म त्यहाँ पुग्नुभन्दा झन्डै एक घन्टाअघि एउटा घटना भएछ । आफ्नो देब्रे आँखामा निष्पट्ट अँध्यारो छाएको र झन्डै १५ मिनेटसम्म दृष्टि नै गुमेजस्तो भएको बीपीले सुनाउनुभयो । खासमा उहाँको शिरमा रक्तसञ्चार गर्ने धमनी ‘ब्लक’ भएको रहेछ । त्यो धमनी ब्लक भएपछि कुनै पनि बेला पक्षघात हुन सक्थ्यो । उहाँको यो समस्या अपरेसन नै गर्नुपर्ने खालको थियो । त्यसका लागि उहाँ जेलबाट छुट्नु जरुरी थियो । तर, जेलबाट छुटिहाल्ने सम्भावना तत्काल थिएन । त्यसैले ‘खासै केही भएको छैन, भोलि आउँला’ भनी महाराजगन्जबाट फर्कें ।

त्यस घटनाको तेस्रो दिन १८ जेठमा डा दिनेशचन्द्र गंगोल, डा विष्णुप्रसाद शर्मा, डा लक्ष्मीनारायण प्रसादसहित भएर बीपीलाई हेर्न जान्छौँ भनी अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठलाई भनेँ । त्यसअघि नै मैले उहाँको रोगको यथार्थ लेखी त्यसलाई ठाउँमा पुर्‍याइदिन अञ्चलाधीशलाई रिपोर्ट बुझाएको थिएँ । हामी चार जना डाक्टरले बीपीको परीक्षणपछि फेरि अर्को रिपोर्ट बनाएर ‘तुरुन्तै आवश्यक उपचार भएन भने जे पनि हुन सक्छ’ भनी पहिलो रिपोर्टमा लेखेको कुरा दोहोर्‍याएर अञ्चलाधीशकहाँ गयौँ र ‘माथि पुर्‍याइदिनुहोस्’ भन्यौँ । उहाँले पुर्‍याइदिने कुरा गर्नुभयो । 

साधारण बाटोबाट काम हुँदैन भन्ने लागेर राजा वीरेन्द्रसँगै भेट्ने निधो गरेँ । राजाका सचिव चिरन थापाकहाँ भन्न लगाएँ । अर्का प्रभावशाली सचिव नारायणप्रसाद श्रेष्ठकहाँ आफैँ गएँ । श्रेष्ठले त ‘डाक्टरै प्रधानमन्त्री भएका बेलामा तपाईंले किन यति जोड गर्नुभएको ?’ भनेर समेत भन्नुभयो । मैले भनेँ, ‘म त राजाकै पनि औषधि उपचार गरेको मान्छे हुँ । मैले राजालाई किन भेट्न नपाउने ?’ त्यसपछि उहाँले ‘तपाईंबारेको गुप्तचर रिपोर्ट पढ्दा त बहुलाइन्छ’ समेत भन्न भ्याउनुभयो । त्यसबेलाको गुप्तचर रिपोर्टमा ‘डा मृगेन्द्रराज पाण्डे बीपीको कोठामा पुगेर बिछ्यौनामा बस्यो, सान्दाइ भन्यो’ आदि लेखेर बुझाएका रहेछन् । त्यसपछि म राजाका अर्का सचिव रञ्जनराज खनालकहाँ गएँ । उहाँले पनि ‘मैले कुरा मिलाउनसकेँ भने तपाईंलाई बोलाउँला’ भनेर फर्काउनुभयो ।

२५ जेठका दिन खनालजीले फोन गर्नुुभयो, ‘डाक्टरसा’ब, तुरुन्त पश्चिम ढोकामा आउनूस् ।’ म पश्चिम ढोका पुगेँ । उहाँले मलाई राजा वीरेन्द्र भेट्ने कोठामा लगेर राख्नुभयो । एकछिनपछि राजाले भित्र बोलाउनुभयो । राजाले कौतूहलतापूर्वक मसँग सोध्नुभयो, ‘होइन ए डाक्टर ! तिमीसँग आधुनिक साधनै नभईकन बीपीलाई यति कडा रोग छ भनी लेखेछौ । त्यही एउटा स्टेथेस्कोपको भरमा यति कडा रोग छ भनेर कसरी थाहा पायौ ?’

मैले उहाँका जिजुमुमा, राजा त्रिभुवनका रानीको पनि त्यस्तै किसिमका विशेष समस्या पत्ता लगाएर डायग्नोसिस गरेको कुरा उहाँलाई स्मरण गराएँ र भनेँ, ‘त्यसैले मलाई विश्वास गरिबक्सियोस्, बीपीको रोग धेरै नै कडा छ, चुप लागेर बस्ने बेला छैन ।’ त्यसपछि राजाबाट सोधनी भयो, ‘तिमी कति प्रतिशत निश्चित छौ ?’ मैले भनेँ, ‘९९ प्रतिशत ।’

राजालाई रोगको गम्भीरताबारे सम्झाउन मलाई झन्डै एक घन्टा लाग्यो । अन्त्यमा उहाँलाई चित्त बुझेछ क्यारे, एडीसीलाई बोलाएर ‘बीपीलाई लिएर आऊ’ भन्नुभयो । मलाई अर्को कोठामा गएर बस्न भनियो ।

बीपी राजा भएको ठाउँमा गएको एकछिनपछि मलाई पनि भित्रबाट बोलावट आयो । राजाबाट बीपीलाई ‘तिमीलाई राजनीतिक कुरा गर्न बोलाएको होइन, तिम्रो स्वास्थ्यको कुरा गर्न बोलाएको हुँ’ भनेर कुराको सुरुआत भयो, ‘तिम्रो स्वास्थ्य तिमीले सोचेभन्दा खराब छ ।’ त्यसपछि राजाले मलाई बीपीको रोगबारे जानकारी दिन भन्नुभयो र मैले जानकारी दिएँ, ‘तुरुन्त उपचार हुन सकेन भने जे पनि हुन सक्छ ।’ मैले त्यसो भन्दा पनि बीपीको अनुहारमा कुनै परिवर्तन आएन । राजा र बीपीबीच करिब एक घन्टा कुरा भयो ।

कोठाबाट बाहिर निस्केर बीपीले मलाई ‘डाक्टरसाब धन्यवाद, मेरो उपचारका लागि कहाँ के मिलाउनुपर्छ, मिलाइदिनुहोस्’ भन्नुभयो र जानुभयो । राजाबाट मलाई भित्र बोलाइयो र केही समय कुरा भयो । त्यस कुराकानीमा मैले ‘अहिले बीपीलाई थुनामा राख्दा केही भयो भने उनको लासले सरकारलाई सिध्याउन सक्छ भने उपचार गरिदिएमा अनुग्रृहीत भएर सधैँ मिलेर बस्न सक्छन्’ भनेर सुनाएँ । 

२७ जेठ ०३४ मा बीपी रिहा हुनुभयो र त्यसै दिन उपचारार्थ अमेरिकातर्फ लाग्नुभयो । बीपी रिहा भएपछि तत्कालीन प्रधानमन्त्री डा तुलसी गिरीले मलाई बोलाउनुभयो र भन्नुभयो, ‘तपाईंले भनेजस्तो रोग निक्लेन भने तपाईं बीपीको ठाउँमा पुग्नुहुन्छ ।’ मैले भनेँ, ‘बीपीको ठाउँमा म त के, तपाईं पनि कहिल्यै पुग्नुहुन्न ।’ यसपछि प्रधानमन्त्री गिरीको मुख भने हेर्नलायक भयो ।

(डा पाण्डे मुटुरोग विशेषज्ञ हुन् ।)

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: फाल्गुन ९, २०७४