भारत–चीन युद्धको ‘काउन्टर न्यारेटिभ’

- लेखनाथ पाण्डे

भारत र चीनबीच सन् १९६२ को सीमा–युद्धका सन्दर्भमा दर्जनौँ पुस्तक, अध्ययन र लेख लेखिएका छन् । स्वीडिस पत्रकार बेर्टिल लिन्टनेरको पुस्तक चाइनाज् इन्डिया वार : कोलिजन कोर्स अन द रुफ अफ द वल्र्ड मूलत: उक्त युद्ध चीनको मिहिन तयारी र सुनियोजित आक्रमणको परिणाम थियो भन्ने निष्कर्ष निकाल्न केन्द्रित छ । लिन्टनेरले नेभिल म्याक्सबेलको सन् १९७२ मा प्रकाशित पुस्तक ‘इन्डियाज चाइना वार’को ‘काउन्टर न्यारेटिभ’ स्थापित गरेका छन् । बेलायती पत्रकार म्याक्सबेलले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सन् १९६१ नोभेम्बरमा अघि सारेको  ‘फरवार्ड पोलिसी’, सन् १९१४ मा ब्रिटिस इस्ट इन्डिया सरकार र तिब्बतबीचको ‘म्याकमोहन लाइन’ र अक्साई चीनमाथि भारतीय अडानका कारण ती दुई छिमेकीबीच युद्ध भड्किएको तर्क गरेका थिए, जसलाई लिन्टनेरले खण्डन गरेका छन् ।

लिन्टनेरले युद्ध भड्किनुमा मूलत: चार कारण उल्लेख गर्दै ती सबैजसोमा चीनलाई जिम्मेवार देखाएका छन् । पहिलो, चीनको आफ्नै ‘फरवार्ड पोलिसी’, जुन नेहरुले त्यस्तै रणनीति सार्वजनिक गर्नुभन्दा तीन वर्षअगावै अघि सारिएको थियो । दोस्रो, तिब्बती धार्मिक नेता दलाई लामालाई आश्रय दिने भारतलाई ‘देखाइदिने’ चिनियाँ सोच । तेस्रो, तिब्बतमाथि चिनियाँ कब्जालाई लिएर पूर्वी तिब्बतमा जारी खम्पा विद्रोह अमेरिका र बेलायतको सहयोगमा नयाँ दिल्लीले गराएको भन्ने बेइजिङको बुझाइ थियो, त्यस कारण पनि चीन भारतलाई ‘पाठ पढाउन’ चाहन्थ्यो । चौथो, साम्यवादी चीन एसिया र विशेष गरी तेस्रो विश्वमा प्रभाव विस्तार गर्न चाहन्थ्यो । र, असंलग्न राष्ट्रहरूको नेतृत्व भारतलाई सुम्पन चाहँदैनथ्यो ।

लेखकले सीमाको विषयलाई लिएर युद्ध रचिएको भए पनि खासमा त्यो सीमा युद्ध नभएको तर्क गरेका छन् । अर्थात्, त्यो साम्यवाद र प्रजातान्त्रिक विचारधारा तथा चिनियाँ र भारतीय सभ्यताको द्वन्द्वको उपज थियो । सन् १९५५ मा भएको बाङडुङ सम्मेलनबाट चीन एसियामा भारतीय सम्भावित नेतृत्वप्रति अत्तालिएको थियो, जुन माओ र चाउएनलाइलाई देख्न चाहन्नथे । तत्कालीन शीतयुद्घको समयमा माओ र नेहरुबीचको विश्वलाई हेर्ने दृष्टिकोण र विशेष गरी पहिलो, दोस्रो र तेस्रो मुलुकको अवधारणामा नै निकै पृथकता थियो । पुस्तकले कुनै पनि मुलुकले अर्को देशमा प्रभाव विस्तार गर्न र सौदाबाजीका लागि कसरी अर्को मुलुकका विद्रोहीलाई आश्रय दिन्छन्, प्रयोग गर्छन् र त्यसले भविष्यमा कस्ता चुनौती खडा गर्छन् भन्नेबारेमा पनि सन्देश दिन्छ । चीनले वर्माका विद्रोहीलाई, भारतले दलाई लामा र नेपालका माओवादीलाई आश्रय दिनाले सम्बन्धित मुलुकहरूबीच तिक्तता सिर्जना गरेका प्रशस्त सन्दर्भ उल्लेख छन् । लेखकको निष्कर्ष छ, पछिल्लो समय चीन र भारत कुनै सुदूर हिमालयका टापु, भञ्ज्याङ र उपत्यकाहरूलाई लिएर आमने–सामने भइरहेका छैनन् । बरू, हिन्द महासागरमाथि प्रभाव विस्तार गर्नका लागि भइरहेको छ । साथै, अहिले नयाँ शीतयुद्ध चलिरहेको छ । तर, विगतमा जस्तो अमेरिका र सोभियत संघबीच नभई अमेरिका, जापान र भारत एकातिर छन् भने अर्कोतर्फ चीन छ ।

आठ खण्डमा समेटिएको पुस्तकमा एउटा खण्ड नेपाल र विशेष गरी नेपाली कम्युनिस्ट आन्दोलन र चीनसँग तिनको साइनो केलाउन केन्द्रित छ । भरपर्दो शक्ति खोज्ने क्रममा चीनले नेपालका कम्युनिस्ट पार्टी, विशेष गरी एमाले, माओवादी, मालेका वरिष्ठ नेता र तिनका आफन्त, पार्टीका भ्रातृ संगठन, प्रतिष्ठान र गैरसरकारी संस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएको उल्लेख गरिएको छ पुस्तकमा । भारत निकट भनिएका ‘जीपी कोइराला फाउन्डेसन’ र ‘हिमानी ट्रस्ट’ले समेत चिनियाँ सहयोग प्राप्त गर्नु बेइजिङको नेपालमा प्रभाव विस्तार गर्ने रणनीति हो । सँगसँगै चिनियाँ प्रभाव यहाँसम्म विस्तार भइसकेको छ कि मधेसी दलहरूसमेत संविधान संशोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई दबाब दिन चिनियाँ दूतावासमा ज्ञापनसहित पुगेका थिए ।

लेखकले माओवादीलाई एसियाको सबैभन्दा धनी विद्रोही संगठनमध्ये एक रहेको दाबी गरेका छन्, पुस्तकमा । माओवादीहरूले कसरी प्रत्येक गाउँ, सहर र विदेशमा समेत ‘क्रान्तिकारी कर’ भन्दै गरिब किसानहरूसँग पैसा असुले अनि सन् २००२ मा करिब पाँचदेखि १० अर्ब रुपियाँ जम्मा गर्न सफल भए भन्ने सन्दर्भ चाखलाग्दो छ । माओका नाममा हिंसात्मक ‘जनयुद्ध’ मच्याई माओलाई नै बदनाम गर्ने नेपालका माओवादीप्रति चीन सकारात्मक तब बन्यो, जब यसले सशस्त्र संघर्ष त्याग्यो, राजनीतिक मूलधारमा प्रवेश गर्‍यो, सबैभन्दा ठूलो दल बन्यो र प्रचण्ड स्वयं माओवादबाट देङवाद (देङ स्याओपिङको आर्थिक दर्शन)मा प्रवेश गरे । पुस्तकमा भारतीय तीनवटा नाकाबन्दीले नेपालको अर्थतन्त्र र विकासमा पुर्‍याएको बाधा पनि उल्लेख छ । सन् १९७० को पहिलो नाकाबन्दीले नेपालको आर्थिक बृद्धिदर ९.८ प्रतिशतबाट कसरी १.७ प्रतिशतमा झर्‍यो भन्दै नेपालमा भारतविरोधी भावना बढ्नु र चीनसँग नजिकिनुमा भारतीय व्यवहार जिम्मेवार रहेको पुस्तकमा औँल्याइएको छ । नेपालमा बारम्बार हुने राजनीतिक अस्थिरताका कारण भारत र चीन नेपालमा आमने–सामने हुन पुगेको उल्लेख छ ।

लेखकले एसियाको भूराजनीति र शक्ति संघर्षलाई लिएर झन्डै डेढ दर्जन पुस्तक प्रकाशित गरेका छन् । यो पुस्तक पढ्दा पत्रकारको डायरीजस्तो लाग्छ । तर, समग्रमा पुस्तक भारत, चीन, नेपाल र भुटानको सीमा आसपास विश्वका दुई उदीयमान आर्थिक तथा सामरिक शक्तिहरू एसिया तथा विश्वमा प्रभाव विस्तारका लागि कसरी युद्धमा होमिए र अहिले उनीहरूबीचको टकराव के–कस्ता मुद्दामाथि छ भन्ने बुझ्न निकै सहयोगी छ । 

चाइनाज् इन्डिया वार: कोलिजन कोर्स अन द रुफ अफ द वल्र्ड

लेखक : बेर्टिल लिन्टनेर

प्रकाशक : अक्सफोर्ड युनिभर्सिटी 

पृष्ठ : ३२०

मूल्य : ६७५ भारु

प्रकाशित: फाल्गुन ९, २०७४