गुगल सर्चमा पनि स्टोरिज

- नेपाल संवाददाता

फेसबुक, इन्स्टाग्राम र स्न्यापच्याटमा आएका स्टोरिज जस्तै फिचर अब गुगलले पनि राख्न लागेको छ । एपबाट फेसबुक खोल्दा सबैभन्दा माथि गोलो घेराभित्र आफ्ना साथीले सेयर गरेका स्टोरिज देख्न सकिन्छ । सेयर गरिएकामध्ये कुनै एकमा ट्याप गरेपछि पालैपालो सबैका स्टोरिज हेर्न सकिन्छ । 

यस्ता स्टोरिज कि त जीआईएफ इमेजजस्तै हुन्छन् कि त निकै छोटो (केही सेकेन्डको) भिडियो हुन्छ । दायाँ वा बायाँतिर स्वाइप गरेर एकपछि अर्काको यस्तो स्टोरिज हेर्न सकिन्छ । यो फिचर सबैभन्दा पहिले स्न्यापच्याटले सुरु गरेको थियो । त्यसपछि यो पहिला इन्स्टाग्राममा र पछि फेसबुकमा आयो । अहिले धेरैले रुचाएको र प्रयोग गरिरहेका कारण गुगलले पनि यस्तै फिचर ल्याउन लागेको हो । 

गुगलका अनुसार यस्तो फिचर प्रयोगकर्ताले स्मार्टफोनमार्फत गर्ने गुगल सर्चमा मात्रै उपलब्ध हुनेछ । गुगलले यसलाई एएमपी स्टोरिज नाम दिएको छ । प्रयोगकर्ताले गर्ने हरेक गुगल सर्चको सुरुमा यस्तो स्टोरिज देखिनेछ । गुगलले बढीमा दसवटा यस्ता स्टोरिज देखाउने बताइएको छ । र, यसमा पनि प्रयोगकर्ताले स्वाइप गर्दै एकपछि अर्को स्टोरिज हेर्न सक्छन् । एएमपी फिचरले गुगल सर्चलाई अझ रोचक र प्रभावकारी बनाउने अनुमान गरिएको छ ।  

 

प्रकाशित: फाल्गुन ९, २०७४