सरकार छाड्दै गर्दा देउवाले शिर ठाडो पार्ने वातावरण किन बन्न नसकेको ?

- सन्तोष आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित गगन थापा पार्टीभित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न मात्र होइन, पार्टी र राष्ट्रिय मुद्दाहरुमा खरो टिप्पणी गर्ने नेता मानिन्छन् । निर्वाचनमा पार्टीको पराजयपश्चात् नेतृत्वको कमी–कमजोरीप्रति उनले आफ्ना धारणा प्रस्टसँग राख्दै आएका छन् । थापासँग निर्वाचन परिणाम र पार्टी नेतृत्वका सम्बन्धमा केन्द्रित रही नेपालले ३ फागुन बिहान गरेको कुराकानीको सम्पादित अंश : 

शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारको पछिल्लो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दा बाँकी रहेको स्थानीय तहको निर्वाचन हुन्छ कि हँुदैन भन्ने स्थिति थियो । अझ त्यसमा पनि सहजतापूर्वक हुँदैन कि भन्ने आशंका थियो । एमाले अध्यक्ष केपी ओली चुनावको दिनसम्म पनि अलि तुच्छ ढंगले ‘देउवाले चुनाव गराउन सक्दैन, चुनावबाट भाग्न खोजिरहेको छ’ भनिरहेका थिए । जुन कामका लागि देउवाले सरकारको नेतृत्व गर्नुभएको थियो, त्यो सफलतापूर्वक सम्पन्न गर्नुभयो । हामीकहाँ सम्भवत: यसपटकको पहिलो चुनाव हो, जहाँ कसैले पनि धाँधली भयो भनेर आरोप लगाएको छैन । परिणामलाई सबैले स्वीकारेका छन् । राज्यसत्ताको दुरुपयोग भयो भनेर कसैले औँला उठाएको छैन । यसरी हेर्दा देउवाको नेतृत्वमा रहेको सरकारले अभूतपूर्व सफलता पाएकै हो । 

तर, यत्रो चुनाव गराएर पनि जनस्तरबाट देउवाले कुनै जस पाउनुभएन त ? 

चुनावलाई आमजनताले नियमित प्रक्रियाजस्तो र सहजतापूर्वक यो काम हुन्छ भन्ने ठान्ने हुनाले यसको ‘एप्रिसियसन’ कम हुन्छ । नेपाली जनताको वर्षौंदेखिको दिक्दारी भनेको सरकारले दिने ‘डेलिभरी’ र सुशासनसँग सम्बन्धित छ । यही आयाममा देउवा सरकार चुक्यो । कतिपय गर्नै नहुने काम सरकारले गर्‍यो । कतिपय गर्नैपर्ने कुरा गरेन । आचारसंहिताले बाँधिएको कामचलाउ सरकार भएकाले विवादमा पर्ने धेरैजसो काम नगरेको भए हुन्थ्यो । 

सरकार छाड्दै गर्दा देउवाले शिर ठाडो पार्ने वातावरण किन बन्न नसकेको ? 

चुनाव सफलतापूर्वक सम्पन्न गराएका कारणले देउवाले सरकार छाड्दै गर्दा ‘सेलिब्रेसन’को मुडमा हुनुपथ्र्यो । तर, त्यो वातावरण बन्न सकेन । सुशासनप्रति उहाँको कमजोर प्रदर्शनका कारणले यसो हुन गएको हो । देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेर संविधानलाई कार्यान्वयनको बाटोमा लगेको भनेर इतिहासमा मूल्यांकन होला । किनभने, नेपाली समाज त्यति क्रूर पनि छैन । 

कांग्रेसले यसपटकको निर्वाचनमा राजनीति मात्र जित्न चाहेको थियो, चुनावचाहिँ होइन ? 

राजनीति मात्र होइन, कांग्रेसले सँगसँगै चुनाव पनि जित्न चाहेको थियो । तर, कांग्रेसले जसरी चुनावहरू गराएर अभूतपूर्व रूपमा राजनीतिक विजय प्राप्त गर्‍यो, त्यसैगरी विगतका पराजयहरूसँग तुलना नै गर्न नसक्ने गरी यसपटकको चुनाव हार्‍यो । हिमालमा पनि हार्‍यो, पहाडमा पनि हार्‍यो, मधेसमा पनि हार्‍यो । सहरमा पनि हार्‍यो, गाउँमा पनि हार्‍यो । हार्नलाई कुनै ठाउँ बाँकी राखेन । कांग्रेस हार्दा नागरिकमा पीडाबोध देखिनुपर्ने हो, त्यो पनि देखिएन । पार्टीका साथीहरूमा पनि पराजयका कारण देखिनुपर्ने जुन आक्रोश हो, त्यो पनि देखिँदैन । शिथिलजस्तो देखिन्छ । यसैले अब सानोतिनो प्रयासले कांग्रेस ‘रिभाइभ’ हुन सम्भव छैन ।

पार्टी नेतृत्वले ‘रिभाइभल’को प्रयास नै गरेको छैन ? 

पराजयपछि पनि हाम्रो नेतृत्वमा जुन किसिमको प्रवृत्ति देखिएको छ, त्यसबाट रिभाइभलको प्रयास हुन्छ भन्नेमा पनि विश्वास छैन । नेतृत्व केवल टालटुल गर्ने हिसाबले अघि बढिरहेको छ । पराजयलाई प्राविधिक कुरा मात्र भनिरहेको छ । दुईवटा ठूला पार्टी एक ठाउँमा आएपछि कांग्रेस हार्नु स्वाभाविक हो भन्दै त्यसलाई कार्यकर्तासम्म लगेर आफ्नो कमजोरी लुकाउने प्रयास नेतृत्वबाट भएको छ । नेतृत्व निकै कर्मकाण्डी छ । विगतमा जे गर्दै आएको हो, त्यही मात्र गर्ने, नयाँ कुरा केही गर्नै नखोज्ने प्रवृत्ति छ । यो प्रवृत्तिलाई अब पनि हामीले चिर्न सकेनौँ भने कांग्रेसका लागि यो सबैभन्दा ठूलो संकट हुनेछ । 

यो संकटको समाधान महासमितिको बैठक हो, जुन तपाईंहरू चाँडोभन्दा चाँडो बोलाउनुपर्छ भनिरहनुभएको छ ? 

प्राविधिक विषयहरूलाई महासमिति बैठकबाट टुंग्याउनुपर्छ । त्यसपछि विशेष महाधिवेशन बोलाउनुपर्छ । किनभने, पार्टीको एकात्मक संरचना छ जबकि मुलुक संघीय संरचनामा गइसक्यो । 

महासमिति र त्यसपछि विशेष महाधिवेशन पनि होला । यसबाट पार्टी अलिकति चलायमान पनि देखिएला । तर, के कांग्रेस साँच्चै तंग्रिन्छ त ?

कांग्रेस रिभाइभ हुनुपर्छ भन्ने कांग्रेसले मात्र सोचेर हुँदैन । जुन दिन आमजनताले मुलुकका लागि कांग्रेसको रिभाइभ आवश्यक छ भन्ने ठान्छन्, त्यतिबेला मात्र यो सम्भव छ । कांग्रेसले अबको निर्वाचनमा आफूले पाएको मत जोगाउनु त छँदैछ, यसपटक मत नदिएका १५ लाख मतदातालाई मत दिने कांग्रेस पनि हामीले बनाउनुपर्छ । अनि, बल्ल पाँच वर्षपछि सिंहदरबार र प्रदेश सरकार कांग्रेसले चलाउँछ । यसका लागि पार्टीलाई पुन:जागरणको महाभियान चाहिएको छ । त्यसले पार्टीभित्रको सिद्घान्तको पुन:व्याख्या गर्नुपरेको छ । संगठनको पुन:निर्माण गर्नुपर्नेछ । पार्टी नेतृत्वका चारित्रिक र आचरणमा सुधार खोज्नुपर्नेछ । 

कांग्रेसले स्थानीय सरकारका धेरै ठाउँमा जितेको छ, त्यहाँबाट जनताले अनुभूत गर्ने खालका काम किन गर्न सकिरहेको छैन ? 

आगामी पाँच वर्षमा स्थानीय सरकारमा कांग्रेसले नयाँ मानक कायम गर्न सक्नुपर्छ । त्यो भनेको कांग्रेसले सरकार कसरी चलाउँदो रहेछ भन्ने उदाहरण बन्नुपर्‍यो, हामीले जितेको स्थानीय सरकार । र, प्रतिपक्षको भूमिकामा पनि हामीले नयाँ मानक तयार गर्न सक्नुपर्छ । 

मतलब ?

यसअघि कांग्रेसले जसरी प्रतिपक्षीय भूमिका खेल्थ्यो, केवल प्रतिक्रियात्मक हुने गरी, अब त्यसरी हुँदैन । किनभने, यसबेला जस्तो सशक्त प्रतिपक्षी विगतमा कहिल्यै पनि चाहिएको थिएन । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न सक्यो भने संविधानले व्यवस्था गरेको प्रतिस्पर्धात्मक राजनीति संस्थागत भएर जान्छ । तर, प्रतिपक्ष कमजोर भयो भने भर्खर एकीकृत हुँदै  गरेको नेपाल कम्युनिस्ट पार्टीलाई अतिवादी बाटोतिर जानका लागि नकारात्मक ढंगले उत्प्रेरित गर्न सक्छ ।

यही नेतृत्वबाट कांग्रेस सशक्त पार्टी बन्ला र ? 

कतिपयलाई तीतो लाग्न सक्छ, पार्टी नेतृत्वमा यिनै बासी अनुहारहरू भएमा जनतासँग टुटेको जुन सम्बन्ध छ, त्यो जोडिँदैन । हाम्रा केही साथीहरू नेतृत्व भनेको उमेरले हुँदैन, एजेन्डा चाहिन्छ भनिरहेका छन् । यसमा दुईमत छैन । तर, नेतृत्व भनेको रातारात बन्ने पनि होइन । एकपटक नेतृत्वका बारेमा बनेको धारणा रातारात बदलिने पनि होइन । कांग्रेसका मुख्य–मुख्य नेताहरूका बारेमा आमजनताले जस्तो धारणा बनाएका छन्, त्यो हामीले बनाइदिएको होइन । त्यो धारणा अब बन्यो, बन्यो । त्यसैले यस्तो अप्ठ्यारो बेलामा यही नेतृत्वले कांग्रेसलाई माथि उठाउन सक्दैन । यो कठोर कुरा होला । तर, यसलाई कांग्रेसजनले मान्नैपर्छ । होइन, हामी आफ्नै नाफा–घाटाको हिसाब गरेर बस्ने हो भने बेग्लै कुरा हो ।

यसपटकको निर्वाचनमा एमालेले पाएको कुल मतभन्दा जम्मा ४० हजार मत मात्र कांग्रेसले कम पाएको हो, यसमा आत्तिनुपर्ने कुरा केही छैन भन्छ त तपार्इंको नेतृत्व । कुनै टिप्पणी ? 

हामीले एमालेको भन्दा ४० हजार मात्र मत कम पाएको होइन । हामीले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)भन्दा २२ सिट बढी पाएका हौँ । आजका दिनमा नेपाली कांग्रेस पार्टी भनेको नेमकिपाभन्दा २२ सिट बढी भएको पार्टी हो । 

पार्टी नयाँ पुस्तामा कसरी हस्तान्तरण होला त ?

हाम्रा नेताहरूमा अझ पनि डर, लोभ र हिचकिचाहट देखिन्छ । यसविरुद्घ हामी बोल्नैपर्छ । उहाँहरूलाई आदर गरौँ, मान–सम्मान गरौँ । तर, पार्टीको मूल्यमा होइन । 

म पुस्ताको कुरा गर्दिनँ । कांग्रेसभित्र एउटा उमेरको नेता काबिल, अर्को उमेरको नेता बेकाबिल भन्ने कुरा न वैज्ञानिक हुन्छ, न त त्यसले हामीलाई कहीँ पुर्‍याउँछ । हाम्रो पार्टीभित्र नेताहरूको एउटा यस्तो समूह छ, जो ०४६ सालदेखि पार्टीको मुख्य–मुख्य स्थानमा हुनुहुन्छ । सरकारमा बसेर काम गर्न पाउनुभएको छ । उहाँहरू ‘एक्जहस्टेड’ हुनुहुन्छ, थाकिसक्नुभएको छ । उहाँहरू ‘एक्सपोस्ज्ड’ पनि भइसक्नुभएको छ । उहाँहरूको सीमा जनतालाई थाहा छ । जतिसुकै लोलोपोतो गरे पनि अब हामी नयाँ रङ लगाइदिन सक्दैनाैँ । फेरि पनि हामीले उहाँहरूलाई नै जिम्मेवारी दिन थाल्यौँ भने पार्टी त जसोतसो चल्ला तर जनतासँग बढेको दूरी मेटिँदैन ।

उहाँहरूको ठाउँ कसले लिने त ?

जोसँग क्षमता छ, उसैले लिन्छ । उहाँहरूले कसैलाई हस्तान्तरण गर्नुहुन्न । पार्टी राजनीतिमा कसैलाई गुहारेर, निवेदन लेखेर नेतृत्व हस्तान्तरण हुँदैन  । 

तपार्इं स्वयंले पनि पार्टी नेतृत्वको दाबी गरिरहनुभएको छ, होइन ?

हामीले माहौल बनाउन खोजिरहेका छौँ । हामीले हाम्रो ‘स्टेटमेन्ट’ भनिरहेका हौँ । उहाँहरूलाई पार्टीको नेतृत्व पंक्तिबाट छोडाउने अब हाम्रो कोसिस हुन्छ नै । अहिले पार्टी सभापतिलगायत वरिष्ठ नेताहरू जो–जो हुनुहुन्छ, उहाँहरूलाई अब तपार्इंहरू पार्टीको नेतृत्व पंक्तिमा रहिरहनु हुँदैन भनेर विनीत भएर आग्रह गरिरहेका छौँ । यसका लागि मैले आफूले सक्ने सबै काम गर्छु भनेको हो । 

नेतृत्वलाई यसरी चुनौती दिनेको संख्या पार्टीमा कति नै छ र ?

हो, यो संख्या थोरै भयो भने यही नेतृत्व पार्टीमा रहिरहन्छ । उहाँहरू जति धेरै समय नेतृत्वमा रहिरहनुहुन्छ, पार्टीलाई थप क्षति हुन्छ । अब अरू साथी पनि यसका लागि तयार हुने कि नहुने भन्ने प्रश्न मुख्य हो । निवेदन दिएर वा मागेर हुने कुरै होइन यो । पार्टी नेतृत्वमा रहेकाहरूलाई अब अभिभावकका रूपमा बस्नूस् भनेर भन्ने बेला आयो । उहाँहरूलाई ‘ग्रेसफुल एक्जिट’ नै गरौँ, चाहे त्यो विशेष महाधिवेशनबाट होस् । त्यहाँ उहाँहरूले पेलेर लानुभयो भने आगामी दुई वर्षपछि त महाधिवेशन छँदैछ । 

यस्तो भएन भने नि ?

यदि धेरै साथी यसका लागि तयार भएनन् भने नेतृत्वमा उहाँहरू नै रहिरहनुहुन्छ । त्यसपछि फेरि नेपाली कांग्रेसले केन्द्र र सातवटै प्रदेशमा सरकार बनाउने अपेक्षा छोड्नुपर्‍यो । नेपाल कम्युनिस्ट पार्टीलाई तपाईंहरू नै चलाउनूहोस् भनेर दिनुपर्‍यो । यसैले अब ०७९ सालको निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै हिँड्नका लागि नेतृत्व परिवर्तन नगर्ने हो भने कांग्रेसका साथीहरूले हात उठाए हुन्छ । 

प्रकाशित: फाल्गुन ८, २०७४