टीभीएसको नयाँ स्कुटर

- नेपाल संवाददाता

भारतमा टीभीएसले एनटर्क नामको नयाँ स्कुटर ल्याएको छ । एनटर्क १ सय २५ सीसीको इन्जिनबाट चल्ने टीभीएसको पहिलो स्कुटर हो । र, यसलाई टीभीएसको सबैभन्दा शक्तिशाली इन्जिन भएको स्कुटर पनि भनिएको छ ।

यसको इन्जिनले बढीमा ९.३ ब्रेक हर्सपावर बराबरको शक्ति निकाल्न सक्षम छ । र, यसको अधिकतम टर्क १०.५ न्युटन–मिटरको हुन्छ । यसको परफर्मेन्स र माइलेज पनि उत्तिकै राम्रो रहेको दाबी गरिएको छ । यो स्कुटर बढीमा ९५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ । शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति त यसले नौ सेकेन्डमै समात्न सक्ने दाबी गरिएको छ ।

१ सय ५५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । भारतमा यसको मूल्य ५८ हजार ७ सय ५० भारतीय रुपियाँ तोकिएको छ । र, यो स्कुटर विभिन्न चार रङमा उपलब्ध छन् ।

प्रकाशित: फाल्गुन ६, २०७४