ढेवा संकलक ढकाल

- वाटरगेट उपाध्याय

थ्रेसहोल्डले थला पारेर मात्र हो, नत्र नेपाल परिवार दल नामधारी पसल खोलेर बसेका एकनाथ ढकाल फेरि झन्डावाल गाडीमा सवार भएको देख्न पाइन्थ्यो । पहिलो संविधानसभा निर्वाचनमा ढकालको पार्टीले करिब २४ हजार मत पायो । ढकाल सभासद् मात्र होइन, गरिबी निवारणमन्त्री नै बने । दोस्रो संविधानसभामा दुईसिटे पार्टीबाट ढकाल फेरि सभासद् बने र शान्ति तथा पुन:निर्माणमन्त्रीसमेत हुन भ्याए । तर, अहिले थ्रेसहोल्डको व्यवस्था आएपछि उनले एक्लै चुनावी मैदानमा जाने आँट गर्न सकेनन् । ढकाल चुनावअघि एमालेकहाँ लम्पसार परे । समानुपातिक सूचीमा पस्न भ्याए । एमालेको खस/आर्य पुरुषतर्फको क्लस्टरमा पाँचाँै नम्बरमा परे पनि ।

तर, एमालेको खस/आर्य क्लस्टरबाट जम्मा एक जना सांसद मात्र चुनिए । फेरि एकपटक मन्त्री पड्काउने ढकालको अभियानमा ब्रेक लाग्यो । तर, ढकाल कतिसम्म देशप्रेमी भने उनले दक्षिण कोरियामा आर्थिक संकलन अभियान तीव्र पारेछन् । केही नेपाली युवाहरुलाई प्रयोग गरेर कोरियाको बाटो–बाटोमा पैसा माग्न पठाएछन् । त्यसो त यो सूत्र उनले नेपालमा पनि प्रयोग गरेकै हुन् । काठमाडौँका चोकचोकमा ‘दाइ सुन्नुहोस् न !’, ‘दिदी एकछिन समय दिनूस् न !’ भन्दै गरेका युवाहरु बेलाबेला भेटिन्छन् । ढेवा संकलकहरु भेला पार्‍यो भने मुलुक समृद्धिको बाटोमा पुग्छ भन्ने विचारधाराका प्रवद्र्धक जो हुन् ढकाल । उनले कोरियाबाट आउने विदेशी मुद्राले देशको विकासमा अझै गति लिन्छ भन्ने ठाने होलान् । आखिर नारा यस्तो पनि त छ नि, ‘अहिले नगरे कहिले ? ढकालले नगरे कसले ?’

प्रकाशित: फाल्गुन ६, २०७४