[अनुभूति] म कोदे

- हरिहर तिमिल्सिना

‘सरलाई एक दिन म एउटा विशेष परिकार चखाउन चाहन्छु ।’ ६ महिनाजति अघि गायक मित्र किसन गुरुङले ‘विशेष’ शब्दलाई विशेष जोड दिएर भने । त्यो विशेष परिकार के हुन सक्छ ? मनमा खुल्दुली मच्चिनु अस्वाभाविक थिएन । हालै उनले ठमेलको जेपी स्कुल सामुन्ने विदेशीलाई लक्षित गरी नेपाली परिकार खुवाउने पलेटी नामक रेस्टुराँ खोलेका छन् । गत मंसिरको एक मध्याह्नमा गायक शिशिर योगी र म काम विशेषले घुम्दै उनको रेस्टुराँमा पुग्यौँ । ‘ला, आज कस्तो कुसाइत परेको । केही दिनदेखि सकिएको छ, सरहरू आजै आइपुग्नु भयो ।’ त्यही दिन थाहा लाग्यो, उनले चखाउन चाहेको परिकार अरू केही नभएर फापरको रोटी या कोदोको ढिँडो रहेछ ।

उनलाई लागेको हुँदो हो ‘यो काँठमा जन्मेको मान्छेलाई कोदो र फापरको नेपाली मौलिक स्वाद चखाउन पाए कति दंग पर्दो हो ।’ वास्तविकता के हो भने यदि मानिसको पाचन प्रणाली वरिपरि या आन्द्रामा सयपत्र छन् भने मेरा नब्बेजति पत्र कोदोले भरिएको हुन सक्छन् । चाहेर या नचाहेर हो सानोमा ढिँडोसित हाम्रो विशेष नाता गाँसिन पुगेको थियो । सानो दृष्टान्त पेस गरुँ । मेरा कान्छा काकाको ससुराली काठमाडौँको आलापोट हो । काकाको छोरो जनार्दन सानोमा मामाको बिहेमा भोज खान गएछ । खाने बेलामा उसले त्यहाँ पुलाउ, तरकारी, मासु र अन्य विभिन्न खालका मिष्टान्नहरू त देखेछ । तर, भोज देखेनछ । ऊ अचानक रुँदै कराउन थालेछ, ‘मलाई ढिँडो चाहियो ।’

’४० को दशकतिरको कुरा हो । मंसिरको ठूलो जाँच सकिएपछि हाम्रो कोदोको यात्रा सुरु हुन्थ्यो । अर्थात्, कोदो टिप्ने, चुट्ने, सुकाउने, फल्ने अनि पिसेर ढिँडो–रोटी खाने । भक्तपुरको चाँगु, छालिङ, नगरकोट, बागेश्वरी, सुडालदेखि काभ्रेको घिमिरे गाउँ, नाला, टुकुचासम्मका पाखो बारीमा कोदो लगाइन्थ्यो । हामीजस्ता स्कुले केटाकेटीहरूको काम कोदो टिप्ने हुन्थ्यो । कोदो टिप्ने भनेको खासमा कोदो काट्ने हो । बाला–बालामा समातेर हँसियाले कोदोको मुन्टो काटेर डालोमा या फलामको टिनमा हाल्ने गरिन्थ्यो । अनि, बारीमा कोदोको नल, पिँडालु र सखरखण्डका सुकेका बोट मात्र बाँकी रहन्थे । कोदो रोप्नचाहिँ बहुत् कष्ट हुन्थ्यो तर काट्न या टिप्न भने सजिलो । हिउँदको मौसम, घाम ताप्दै आलु–पिँडालु पोलेर खाँदै केटाकेटीले पनि गर्न सक्ने काम थियो त्यो । त्यसैले ठूला मानिसहरू अरू काममा लागेर हामीलाई कोदो टिप्न पठाउँथे । हाम्रो पाखोबारी धेरै थियो । १०/१५ दिन कोदो टिपेपछि घरको आँगन र ओप्री (कड्कुलो) कोदोले भरिन्थ्यो ।

हजुरआमाले तामाको ठूलो भुजुंगोमा ढिंडो पकाउनुहुन्थ्यो । फलामको कराईमा तरकारी । पित्तलको कसौँडीमा भात र ढलोटको कसौँडीमा मासको दाल । गोठमा कहिल्यै पनि तीन–चारओटा भैँसीको कमी हुँदैनथ्यो । हामी संयुक्त परिवारमा थियौँ । हजुरबा, हजुरआमा, सानाबा, सानीआमाहरू, फुपूहरू अनि हामी तेस्रो पुस्ताका भान्टाङ–भुन्टुङ गरी १८–२० जनाका लागि एउटै भान्छामा खाना पाक्थ्यो । रायोको साग, काउली या गान्टेमुलाको तरकारीसित कोदोको ढिँडो धेरै मीठो हुन्थ्यो । तोरीको गुन्दु्रक या थिचेको मुलाको अचार र गलमट हालेको मासको दालसित झन् मीठो । गाईभैँसीको बाक्लो दूधसित अत्यन्त मीठो । तर, मासुको झोलसितचाहिँ अचाक्ली मीठो । मीठोको पनि सीमा हुन्छ, हद हुन्छ । अर्थशास्त्रको भाषामा, उपयोगिताको सिद्धान्त हुन्छ । 

बिहान कोदाको ढिँडो, बेलुका कोदाको ढिँडो । आज कोदाको ढिँडो, भोलि कोदाको ढिँडो । येनकेन प्रकारेण हप्ताँै, महिनाँै कोदाको ढिँडो । अनि, शनैशनै हामीमा कोदाको रोटी या ढिँडोप्रति वितृष्णा पैदा हुन्थ्यो । पाक्न त घरमा भात पनि पाक्थ्यो । भात पकाउने कसौँडी भने सानो थियो । त्यसमा पकाएको भात एक्लै खाइसक्छु जस्तो लाग्ने । व्रतबन्ध गरेका पुरुषहरूले खानुअघि देउतालाई औसनी चढाउनुपथ्र्यो । ढिँडोको औसनी हाल्न नहुने विश्वास या अन्धविश्वास व्याप्त हुनाले मात्रै अलिकति भात पाक्थ्यो ।

हामीलाई दिक्क लाग्थ्यो । पेटभरि भात खाने रहर हुन्थ्यो । पाहुना आउँदाखेरि कोदोको ढिँडो पकाउन लाज हुन्थ्यो । त्यसैले हामी प्रार्थना गथ्र्यौं, आज घरमा पाहुना आए पनि हुन्थ्यो । कोही बिरामी पर्दा पनि हजुरआमाले लोकल चामलको लयालु भात, मासको दाल र दूध खान दिनुहुन्थ्यो । कहिलेकाहीँ यस्तो पनि लाग्थ्यो, हे † भगवान् बिरामी हुन पाए पनि हुने । 

हजुरआमा कहिलेकाहीँ कथा पनि सुनाउनु हुन्थ्यो । एक जना मानिस घरमा कोदोको ढिँडो खाँदाखाँदा वाक्क भएर घिउ–भात खाने आशाले ससुराली गएछ । खाना खाने बेलामा सासूआमाले यामानको कोदोको ढिँडोको डल्लो पस्केर दिइछन् । त्यो मानिसले ढिँडोको डल्लोलाई हातले प्याट्ट हान्दै भनेछ, ‘मभन्दा पनि अगाडि आई पुगेछस् है काले ।’

हाम्रो खेत पनि थियो । भकारीमा धान, काठको ढुकुटीमा धान, बोरामा धान, बुइँगलमा धान । घरमा यति धेरै धान छ । तर, सधैँ किन ढिँडोको सकस ? हामी हजुरआमालाई भात पकाउन कनकन गथ्र्यौं । हजुरआमा हरतरहले फकाउनुहुन्थ्यो । ‘कोदो त ओखती हो । कोदोको ढिँडाले पेट बलियो पार्छ । तागत दिन्छ । तिघ्रा–पाखुरा बलिया हुन्छन् ।’ यी कुरा हामीलाई बकवास लाग्थे । अलि ठूलो भएपछि बुझियो । कोदोको खासै भाउ थिएन बजारमा । बजारमा राम्रो भाउमा बिक्री नहुने कुरालाई आफूले खाएर अनि गाइबस्तुलाई खुवाएर सक्नु परिहाल्यो । त्यसैले गाईवस्तुलाई खोले र मानिसलाई ढिँडो–रोटी उदरस्त गराउन हाजिर थियो कोदो । धानको भात हाम्रा लागि होइन रहेछ । दु:ख गरेर उत्पादन गरेको धानको ठूलो हिस्सा भक्तपुर सहरमा बस्ने तल्सिङको घरमा बोकेर पुर्‍याउनुपर्ने रहेछ । घरमा बाँकी धान बेचेर चाडबाड, लुगाफाटो, नुनतेल, स्कुलको फिस, ओखतीमुलो धान्नुपर्ने रहेछ । यसरी किसान परिवारको अर्थव्यवस्थाको प्रमुख हिस्सा धान थियो । अरू सारा समस्या समाधान गर्ने धानलाई भात खाएर सकाउने हो भने परिवारको अरू दु:ख केले धान्ने ? त्यसैले कोदो रहर नभई वाध्यता भएको रहेछ । 

‘कोदे’ शब्दले पाखे, असभ्य र कोर्कालीको विम्ब बोक्छ । मेरा लागि सानोमा कोदो सर्वाधिक घृणामा परेको कुअन्न थियो । अहिले थाहा लाग्यो, कोदो प्रोटिन, भिटामिन र फाइबरयुक्त सर्वाधिक तागतिलो खाद्यान्न हो । मेरा लागि सेरलेक, हर्लिक्स, च्यवनप्रास, बुस्ट, कम्प्लयान र ग्लुकोजको भूमिका यही कोदोले निभाएको रहेछ । त्यसैले म कोदे हुँ । कोदो मेरो पहिचान हो । साहित्यिक माहोलमा हिँड्दा यदाकदा साथीहरू कोदोमाइसिन खाएर तृप्त भएको किस्सा सुनाउँछन् । कोही कोही यसलाई कोझो अर्थात् कोदोको झोल उपनाम पनि दिने गर्छन् । मेरो विचारमा कोझो बनाउनै पुग्नेगरी नेपालमा कोदो उत्पादन हुन छोडेको छ । यदि ती मित्रहरूले साँच्चै कोदोको झोल तन्काउन पाएका हुन् भने ती भाग्यमानी हुन् । तिनले कोदोको झोलका नाममा कुनै केमिकलयुक्त झोल पिएर कलेजोलाई सास्ती दिइरहेका हुन सक्छन् । यो मेरो जिकिर होइन, अनुमान हो ।

गत १ माघमा संक्रान्ति मनाउन म गाउँ गएको थिएँ । आमाले संक्रान्तिमा के खाने भनेर सोध्नुभयो । मलाई कोदोको ढिँडोको याद आयो । मैले अनुनय गरेँ, ‘बरू घिउचाकु चाहिएन । कोदोको ढिँडो पकाउनुहोस् न †’ आमाले पोहोरपरारकै उत्तर दोहोर्‍याउनुभयो, ‘ यतातिर कोदोको बीउ उग्लेको नै १०–१२ वर्ष भइसक्यो । पाए त मलाई पनि खान मन थियो ।’ यसपाला पनि आमाको यही उत्तर आउँछ भन्ने मलाई पूर्वानुमान थियो । कुनै कुनै प्रश्नहरू यस्ता हुन्छन्, जुन उत्तर थाहा भएर पनि पटक–पटक सोधिरहन मन लाग्छ । कम्तीमा सोधेर मात्रै भए पनि कोदोको स्मरणलाई ताजा गर्न मन लागेको थियो । कोदो अब गरिबका भान्साबाट विस्थापित भइरहेको छ । गरिबले तारे होटल र रेस्टुराँमा गएर खान सक्दैनन् । जे भए पनि ठमेललगायतका पर्यटकीय स्थलका रेस्टुराँमा कोदो र फापरले प्रवेश पाउनु सुखद कुरा हो । कुनै दिन मौका मिल्यो भने मित्र किसन गुरुङको रेस्टुराँमा गएर पुरानो स्वादको नवीकरण गरौँला ।

किसनका कोदो र फापरका किस्सा सुनेपछि मनमा केही खुल्दुली मच्चिए । ‘यिनले रेस्टुराँलाई चाहिने कोदो र फापरको जोहो कसरी गर्छन् होला ?’ उनले मलाई आश्वस्त पार्दै भनेका थिए, ‘स्पेसल अर्डर गरेर गोरखा र मनाङबाट झिकाउँछु ।’ तर सरी मित्र मलाई यो उत्तरमा भर लागेको छैन । यो उत्तर सही हो भने खुसी हुने ठाउँ पक्कै बाँकी छ । नत्र हाम्रा रेस्टुुराँमा खपत हुने कोदो र फापर पनि दुई दाजुहरू चीन र भारतबाटै आयात गर्नुपर्ने अवस्था आइसकेको हो भने यसभन्दा दुर्भाग्यपूर्ण कुरा अरू के हुन सक्छ ?

किसनजीले सम्झाइदिएपछि अचेल मलाई कोदोको बहुत याद आउन थालेको छ । मलाई एकचोटि फेरि कोदे बन्ने रहर जागेको छ । 

प्रकाशित: फाल्गुन २, २०७४