गुरुङ सिनेमाको केन्द्र

  • राष्ट्रिय भाषाको चलचित्र निर्माणको ‘हब’ बनिरहेको छ, पर्यटकीय सहर पोखरा

- गोकर्ण गौतम

पोखरा ।। पोखरा त्यत्तिकै फिल्म नगरी कहलिएको होइन । काठमाडौँपछि नेपाली फिल्मको सबैभन्दा बढी व्यापार हुने सहर हो, पोखरा । सुटिङका लागि फिल्मकर्मीको पहिलो रोजाइ पनि पोखरा नै हो । कात्तिक तेस्रो साता धेरै फिल्मकर्मीको ध्यान यही सुन्दर सहरले तान्यो । कारण हो, मैंरिमो (सम्झिरहन्छु) नामको गुरुङ भाषाको फिल्म । यो फिल्म यहाँको बाराही हलमा नियमित प्रदर्शन मात्र भएन, उल्लेख्य व्यापार पनि गर्‍यो । जबकि, सँगै प्रदर्शन भएका रोमियो, झ्यानाकुटीजस्ता ठूला बजेटका नेपाली फिल्मले चाहिँ दर्शकको खडेरी सामना गर्नुपर्‍यो । तर, मैंरिमोले चर्चा बटुल्नुको कारण यत्ति मात्र होइन, सिनेमा घरमा नियमित प्रदर्शन हुने पहिलो गुरुङ फिल्मका रूपमा दर्ज भएकाले यसले राष्ट्रव्यापी ख्याति कमाएको हो । 

गुरुङ फिल्म निर्माणको २२ वर्षपछि बल्ल जुरेको अवसर न पर्‍यो । मैंरिमोका निर्देशक भोजबहादुर गुरुङ भन्छन्, “ढिला भयो । तैपनि, हामीले हलमा चलायौँ । पहिलो प्रयास सफल भयो । अब गुरुङ फिल्म च्यारिटी सोहरूमा सीमित हुनुहुन्न ।” 

पत्याउन मुस्किल हुन्छ, पोखरामा गुरुङ भाषा र संस्कृतिका बर्सेनि करिब २० फिल्म निर्माण हुन्छन् । केही वर्षअघिसम्म फिल्मको बजेट दुई–चार लाखमा सीमित हुन्थ्यो । अहिले ४०–४५ लाख पुगेको छ । महिनैपिच्छे नयाँ गुरुङ फिल्म हेर्न पाउँछन्, पोखरेली दर्शकले । जहाँ गुरुङ संस्कृति, भेषभूषा, रहनसहन अनि जीवनशैलीलाई पर्दामा उतारिएको हुन्छ । गुरुङ फिल्मकै श्रीवृद्धिका लागि आठ वर्षअगाडि स्थापना गरिएको गुरुङ फिल्म एसोसिएसन (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार पोखरा र आसपासका क्षेत्रमा नेपाली फिल्मलाई टक्कर दिन थालेका छन् गुरुङ फिल्मले । आधा दर्जन फिल्म निर्माण गरिसकेका गिरीप्रसाद भन्छन्, “पोखरा गुरुङ फिल्मको हब बनिसकेको छ । हामीले दु्रत गतिमा फड्को मार्दै छौँ ।” सत्य हो पनि, नेपालमा नेपालीपछि कुनै फिल्म अघिल्लो लहरमा छ भने त्यो गुरुङ नै हो । भलै, पहिलो आदिवासी जनजाति चलचित्र गुरुङ भाषाको होइन । विसं ०४४ मा बनेको नेपाल भाषाको सिलु हो । गुरुङ फिल्मको सुरुआत ०५२ मा भएको हो, पाते (माइली दिदी)सँगै । त्यसयता पोखरामा गुरुङ फिल्मको उपस्थिति दरिलो बन्दै गएको छ । 

त्यसो त, गुरुङ फिल्म कस्तोलाई भन्ने विवाद पोखरामा नभएको होइन । हाल यहाँ दुई प्रकृतिका फिल्म बन्छन् । पहिलो, संस्कृति र संस्कार मात्र होइन, भाषा नै गुरुङ भएका । दोस्रो, भाषा नेपाली तर संस्कार, भेषभूषा र संस्कृतिचाहिँ गुरुङ । फिल्मको चिनारीको पहिलो आधार हो, भाषा । त्यसैले आदिवासी फिल्मका कतिपय अगुवाहरूले गुरुङ भाषामा बनेका फिल्मलाई मात्र गुरुङ फिल्म भनिनुपर्ने तर्क राख्दै आएका छन् । तिनैमध्येका एक हुन्, कलाकार तथा निर्देशक माओत्से गुरुङ । भाषा गुरुङ नभए त्यस्तालाई क्षेत्रीय फिल्म भनिनुपर्ने मत राख्छन् उनी । आधा दर्जन फिल्म निर्देशन गरिसकेका गुरुङ भन्छन्, “लोकेसन, गुरुङ जातिको संस्कार र सस्कृतिमा आधारित छ । तर, भाषा गुरुङ होइन भने क्षेत्रीय स्तरमा निर्माण भएका नेपाली फिल्म भन्नु उपयुक्त हुन्छ । गुरुङ फिल्म हुन भाषा गुरुङ हुनैपर्छ ।” यही विवाद चर्कंदै गएपछि दुई वर्षअगाडि जिफानले एउटा प्रावधान पारित गर्‍यो, कम्तीमा ७० प्रतिशत गुरुङ भाषा प्रयोग गरिएका फिल्मलाई मात्र गुरुङ फिल्मको मान्यता दिने । यसपछि विशुद्ध गुरुङ फिल्म बनाउन उत्साही हुने फिल्ममेकरको संख्या बढ्दै गएको जिफानका पूर्वअध्यक्षसमेत रहेका माओत्से बताउँछन् । 

भाषाको समस्या त छँदै छ, सँगै विषयवस्तु र शैलीमा विकृति मौलाउँदै गएको गुनासो सुनिन थालेको छ । त्यो भनेको, नेपाली फिल्म जसरी बलिउडको मसला सूत्रबाट प्रताडित छ, अधिकांश गुरुङ फिल्म ठ्याक्कै नेपाली फिल्मको ‘कपी’झैँ हुन्छन् । स्थानीय तहमा रहेका नवीन कथा र प्रस्तुतिलाई आत्मसात् गर्न फिल्ममेकरहरू चुकिरहेका छन् । आदिवासी फिल्मका अगुवा नवीन सुब्बा भन्छन्, “आदिवासी जनजातिहरूको संस्कार र जीवनशैली मात्र होइन, सोच्ने प्रक्रिया नै भिन्न हुन्छ । पर्दामा त्यही मौलिकता प्रतिविम्बित हुनुपर्छ । विडम्बना ! आदिवासी फिल्ममा पनि सूत्र र मसलाकै धङधङी छ ।” सुब्बाले पोखरामा २० माघमा भएको आदिवासी फिल्मसम्बन्धी बहसमा यही स्थानीयता र पहिचानको कुरालाई महत्त्व दिएका थिए । उनी मात्र होइन, जिफानका अध्यक्ष गिरीप्रसाद स्वयं गुरुङ फिल्मले सही बाटो समात्न नसकेको पीडा पोख्छन् । मौलिक फिल्म निर्माण अभियानलाई प्राथमिकतामा राखेका उनी भन्छन्, “कलाकारले गुन्युचोली, घलेक, भांग्रा, बख्खु लगाउँदैमा गुरुङ फिल्म भन्न सकिन्न । मुख्य कुरा भाषा गुरुङ र कथा हाम्रै वरपरको हुनुपर्‍यो ।” 

तर, व्यावसायिकताका नाममा तिलस्मी वा जीवनभन्दा पर भागेर फिल्म बनाउने प्रवृत्ति हाबी हुन थालेको छ । जबकि, भाषिक फिल्ममेकरको मुख्य दायित्व मौलिकता र पहिचानलाई प्रवद्र्धन गर्नु हो, यथार्थपरक कथा व्यावहारिक शैलीमा पस्किएर । जसले भाषिक सिनेमा विकासमा बृहत्तर भूमिका खेल्न सक्छ । त्यसमाथि गुरुङको त लेख्य भाषा छैन, बोलीचाली मात्र हो । त्यसैले भाषा बचाउने प्रभावकारी माध्यम सिनेमा भएको अगुवाहरूको भनाइ छ । तर, फिल्ममेकरमा यो चेत नभएकामा चिन्ता बढेको छ । हाल अधिकांश फिल्म लाहुर जाने कथामाथि बन्छन् । संस्कार र भाषालाई संवद्र्धन गर्नुपर्ने सन्देश दिने फिल्म पनि बन्न थालेका छन् । माया–प्रेम त हुने भइहाल्यो । केही अधिकारमुखी फिल्म बनिरहेका छन् । तरेवा र नुमाफुङजस्ता अब्बल फिल्मका निर्देशक सुब्बा भन्छन्, “मनोरञ्जन दिने मात्र होइन, विचार–निर्माण गर्ने अनि आदिवासी/जनजातिको पहिचान र फरक जीवनशैली झल्काउने फिल्म अहिलेको आवश्यकता हो ।” 

सकारात्मक पाटोचाहिँ पोखरामा बन्ने गुरुङभाषी वा संस्कृतिमा आधारित फिल्मको बजार साँच्चै लोभलाग्दो छ । सबै फिल्मको नियमित प्रदर्शन नभए पनि च्यारिटी र भीआईपी सोबाट लगानी उठ्दैन मात्र, नाफा नै कमाउँछन् । पोखरा त भइहाल्यो, काठमाडौँ, लमजुङको बेसीसहर, चितवन, रुपन्देही, स्याङ्जा, पर्वत, तनहुँमा पनि गुरुङ फिल्मको च्यारिटी हुने गर्छ । अझ चितवन र लमजुङमा त कहिलेकाहीँ हलमै प्रदर्शन गरिन्छ । माओत्सेका अनुसार लगानी धेरै नहुने भएकाले च्यारिटीबाटै पनि फाइदा हुने गर्छ । आफ्नै भाषामा गाउँठाउँको कथा हेर्न पाइने भएकाले दर्शकको उस्तै ओइरो लाग्छ । अझ रोचक पक्षचाहिँ, गुरुङ फिल्ममेकरले जिफानमार्फत एउटा अवधारणाको विकास गरेका छन्, ग्रामीण बजार विस्तार । जहाँ सिनेमा हल छैन, त्यहाँ सामुदायिक भवनमा प्रोजेक्टरबाट देखाउँछन्, गाउँ–गाउँ पुगेरै । कास्कीको सिकलेस, घान्द्रुक, ताङतिङ, धम्पुसका स्थानीयलाई प्रोजेक्टरबाट गुरुङ फिल्म हेर्ने बानी परिसकेको छ । यसले निर्मातालाई आर्थिक रूपमा टेवा त पुर्‍याउँछ नै, फिल्म हेर्ने संस्कारको पनि विकास भएको गिरीप्रसादको अनुभव छ । भन्छन्, “गाउँमा प्रोजेक्टरबाट फिल्म देखाउँदा क्षेत्रीय वा गुरुङ फिल्मलाई मात्र फाइदा हुन्न, नेपाली फिल्मकै दर्शक बढ्छन् ।” 

यो त भयो, देशभित्रको बजार । विदेशको बजार अझ फराकिलो छ । हङकङ त केन्द्र भइहाल्यो । हङकङले गुरुङ फिल्मलाई बचाएकामा सायदै कुनै निर्माताको विमति होला । पछिल्लो पटक माओत्से निर्देशित भ्रे (पाहुना)ले हङकङबाट मात्र २५ लाख रुपियाँ कमायो । उनी अभिनीत म्हो (ज्वाइँ)का निर्माताका हातमा १८ लाख रुपियाँ पर्‍यो । हरेक गुरुङ फिल्मका निर्माताले घटीमा पनि १० लाख रुपियाँ हङकङबाट पाउँछन् । गुरुङ संघ–संस्थाले फिल्म प्रदर्शनको जिम्मा लिन्छन् । निर्देशक र कलाकार बोलाउँछन् । मैंरिमोले हङकङबाट झन्डै २० लाख कमाएको निर्देशक भोजबहादुर भन्छन्, “हङकङमा बस्नेले गुरुङ फिल्म हेर्दा आफ्नै गाउँठाउँमा पुगेको आभास गर्छन् । त्यसैले त्यहाँ हाम्रा फिल्मको माग चर्को छ । हाम्रो जिम्मेवारी मौलिक तथा गुरुङ संस्कार र जीवनशैलीलाई मूर्त रूपमा पस्किएका फिल्म निर्माण गर्नु हो ।”

हङकङबाहेक बेलायत, सिंगापुर, बु्रनाईलगायतका देशमा पनि गुरुङ फिल्मको बजार छ । तर, कलाकार तथा निर्देशक माओत्सेचाहिँ हङकङ वा अन्य देशमा मात्र भर पर्न नहुने मत राख्छन् । गुरुङ फिल्मका ‘स्टार’का रूपमा चिनिएका माओत्से भन्छन्, “च्यारिटी वा हङकङ र सिंगापुरमा मात्र निर्भर हुनु भएन । यो दिगो नहुन सक्छ । नेपालमै पनि बजार विस्तार गर्नुपर्छ । त्यसका लागि नियमित सिनेमा हलमा प्रदर्शन हुनुको विकल्प छैन ।” गैरगुरुङ भाषीमाझ पनि फिल्म पुग्नुपर्ने उनको तर्क छ । भाषा फिल्मको अवरोधक हुन्न । किनभने, फिल्म दृश्य भाषा हो । 

प्रकाशित: फाल्गुन २, २०७४