[झटारो] मन कुँड्याउने मरूभूमिमा

- लक्ष्मण गाम्नागे

सिस्नुपानी नेपालको ‘दुईथोपा हाँसो’ अभियान लिएर मरुभूमिको देश संयुक्त अरब इमिरेट्स आइयो । आउन त आइयो तर बेकार आइयो जस्तो भइरहेको छ । जता हेरे पनि रिस उठ्ने र मनलाई बिसन्चो पार्ने दृश्य मात्र छन् । मरूभूमि पनि कस्तो भने बालुवामाथि जताततै निर्माण गरिएका फूलबारीहरूको झिलिमिलीले आँखै तिरमिराउँछन् । सडकका किनारा हरियो दूबो, रङ्गीचङ्गी फूल र अनेकथरीका बोट–बिरुवाले ढाकिएका छन् । अरबीहरूले साँच्चै मूर्ख काम गरेका रहेछन्, बिदेशबाट माटो आयात गरेर बालुुवामा मिसाएर बालुवालाई पनि यिनीहरूले माटो बनाएछन् र त्यसमाथि बगैँचा निर्माण गरेछन् । दिक्क लाग्ने दृश्यहरू ! खासमा हामीले घुम्न आउने ठाउँ यो होइन रहेछ । हँसाउन आएको आफैँ रुनुजस्तो लाग्ने गलत ठाउँमा आइएछ । 

सडकमा परेको एउटा सानो खाल्डो पुर्न ६ महिना लाग्ने देशबाट आएका हामीलाई केही वर्षको परिश्रमले समुद्रै पुरेर बनाएको सहर देख्नुपर्दा कस्तो भयो होला ! हामी नेपालीहरू राजधानीको जम्माजम्मी २७ किलोमिटरको चक्रपथ बनाउन दशकौँदेखि त्यहीँ घुमिरहेका छौँ । अझै दशकौँसम्म यस्ता चक्रपथमा चक्कराउने सम्भावना छ ।  यो मरूभूमिमा मान्छे बस्छन् कि भूत ? यिनीहरूले पाँच वर्षमा धर्तीकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफा बनाएर संसारलाई ‘पावर’ देखाइदिए । त्यसमा चढिरहेका बेला मनमा एउटा चस्का पस्यो, यिनीहरूले यो मरुभूमिमा सगरमाथाभन्दा अग्लो पहाड बनाए भने हाम्रो गति के होला !

हामीलाई सबैभन्दा बढी रिस उठ्ने कुरा यहाँका सडक रहेछन् । यहाँको सरकारको काम सडक बनाउने मात्रै हो कि के हो ? सडकै सडक । ती पनि उत्तिकै फराकिला, चिल्ला, सीधा र सफा । बालुवै बालुवामाथि कुदेका सडकमा बालुवाको एउटा कण पनि छैन । धूलो उडेको पनि देख्न पाइँदैन । एक हप्ता बस्दा हजारौँ किलोमिटर सडक नापियो, कहीँ कतै एकपटक घच्याक्कसम्म पारेन गाडीले । हाड करङ हल्लिनै पाएनन् । गाडीका झ्याल वा छतमा टाउको ठोक्किन पनि पाएन । गाडीमा बस्दा पनि सोफामै बसिरहे जस्तो शान्त भएर जीउ नै अररियो । नसाहरू खुम्चिए । शरीरलाई व्यायाम नपुगेर बिरामी पो भइयो । कस्तो ठाउँमा आइएछ जस्तो भयो । 

सडकमा कतै जाँदा जाँदै अर्कोतिर फर्किनु पर्‍यो भने झ्यालबाट हात निकालेर पछाडिबाट आउने गाडीलाई ‘पख् है मर्लास्’ भनेर हप्काउँदै स्वाट्ट अर्कातिर फर्काउन नपाइने रहेछ यहाँ ।  फर्किनुपर्‍यो भने नियमानुसार फर्किन पाउने ठाउँसम्म पुग्नैपर्ने, त्यो जतिसुकै टाढा किन नहोस् ! चालकहरूलाई कस्तो झमेला ! कतै चालकले गल्ती गरिहाल्यो भने ट्राफिक प्रहरीले लखेटेर गाडीको साँचो खोस्ने वा मोटरसाइकल, गाडीका पछाडि झुन्डिने पनि गर्दैनन् रे यहाँ । जरिवानाको चिट घरमै पठाउँदा रहेछन् । नियम उल्लंघन गर्नेलाई च्याप्प समातेर सडकमै उठबस नगराउने, कस्तो कमजोर ट्राफिक प्रशासन !  

यहाँका जनता पनि हामीजस्ता जाँगरिला रहेनछन् । सडकका बार नाघेर गाडीहरूलाई छेक्दै, घुर्चिँदै हुरुरु बाटो काटिरहेका भेटिँदैन रहेछन् । यस्तो बेला देशको खुब याद आउँदो रहेछ । धूँवा, धूलो, भीड, जाम र खाडलहरूको सम्झनाले सताउँदो रहेछ । 

ओहो, बहराइन र ओमानको यात्रा अझै बाँकी छ, त्यहाँ कस्ता–कस्ता मन कुँड्याउने दृश्यहरू देख्नुपर्ने हो ! मनमा यही चिन्ता छ । 

प्रकाशित: फाल्गुन १, २०७४