कोही सम्राट्, कोही शिरोमणि

  • प्रायोजित पदवीमै रमाएका साहित्यकार

- राजकुमार बानियाँ

स्वघोषित ‘गजल शिरोमणि’ हुन्, घनश्याम न्यौपाने ‘परिश्रमी’, ६० । सामाजिक सञ्जाल फेसबुकमा उनलाई हिजोआज ‘गजल विद्वत् शिरोमणि’समेत लेख्न थालिएको छ । गजलमा विद्यावारिधि गरेका यी गजलकारले त ‘शिरोमणि’ पदवीमा दाबी मात्रै गरेका छन्, अर्का गजलकार बुँद रानाले त केही वर्षअगावै झापामा ‘गजल शिरोमणि’ पगरी गुथिसकेका छन् ।

केही वर्षयता ‘गजल–सम्राट्’का रूपमा चिनाइएका छन्, ज्ञानुवाकर पौडेल । उनलाई पहिले गजल–सम्राट् कसले भन्यो ? यसबारे आ–आफ्नै दाबी छन् । कोही भन्छन्, डीपी भण्डारीले । कोही भन्छन्, धरानका प्राध्यापकले । बाहिर ‘गजल–सम्राट् मलाई चाहिँदैन’ भन्ने अनि भनिदिँदा चाहिँ भित्रभित्रै खुसी हुने अवस्था छ उनको ।

‘गजल–सम्राट्’ कसले दियो या के आधारमा दियो भन्ने अनेक प्रश्न उठ्न थालेपछि ज्ञानुवाकर आफूलाई ‘गजलको माली’ मात्रै मान्छन् । “ज्योतिष सम्मेलनमा जाने हरेक ज्योतिषीले एकुन्टा पगरी लिएर आएको हुन्छ, साहित्यमा अहिले दिइएका पगरी पनि त्यस्तै हुन्,” गजलकार मनोज न्यौपाने भन्छन्, “साहित्यमा गुट–उपगुटमार्फत यस्तै पगरी लिने चलन छ । हैसियतभन्दा बढीको पगरीले कुनै अर्थ राख्दैन ।” युवा समीक्षक घनेन्द्र ओझा पदवी दिने चलनलाई चाकरीबाजको काम मान्छन् । भन्छन्, “लेखक हुनलाई कुनै पगरी चाहिन्न, राम्रो साहित्य पो लेख्नुपर्‍यो त !”

 

लेखक ध्रुवचन्द्र गौतमले ‘आख्यान पुरुष’को पगरी झुन्डाउन थालेको साढे एक दशक भइसक्यो । गौतमलाई ‘आख्यान पुरुष’को पगरी महाराजगन्जको साहित्य कुनोले जुटाएको रहेछ । “कुनोमा बस्दाबस्दै, पिउँदापिउँदै तीनवटा टाइटल फुर्‍यो,” साहित्य कुनोका हर्ताकर्ता वियोगी बुढाथोकीको दाबी छ, “उपन्यास पुरुष डायमनशमशेर राणा, आख्यान पुरुष ध्रुवचन्द्र गौतम र यौन पुरुष पुष्कर लोहनी ।” त्यतिबेलै खुरुक्क माला झिकेर फालिदिएको स्मरण गर्छन्, लोहनी । भन्छन्, “मेरा बारेमा नलेख बाबु, म यौन पुरुष होइन ।” 

अरू पुरुष त बिर्संदै गए । आख्यान पुरुषले भने औपचारिकता पायो, आख्यान पुरुष ध्रुवचन्द्र गौतम अभिनन्दन ग्रन्थ ०६० का रूपमा । “कतै गएर लालमोहर, तोक लगाउनुपर्ने होइन, एउटाले भनेपछि सबैले त्यही पछ्याए,” वियोगी थप्छन्, “सम्मानै त हो, जे भने पनि के फरक पर्छ र ?”

साहित्यिक लेखनमा प्रायोजित–पदवी फालाफाल छन् । लेखकलाई फुक्र्याउनुपर्‍यो भने एउटा पदवी दिए पुग्छ । सय वर्ष पुग्न पाँच वर्ष बाँकी छँदै ‘शताब्दी पुरुष’मा दरिए, संस्कृतिविद् सत्यमोहन जोशी । सरकारी स्वीकृति पाउने बेला मात्रै उनको पदवीमा पूरक शब्द थपियो, ‘वाङ्मय’ । 

जोशी ‘शताब्दी पुरुष’ तोकिएपछि उनीभन्दा सात महिना जेठा ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेका पक्षमा पनि आवाज उठ्यो । जोशीलाई मात्र शताब्दी पुरुष घोषणा किन ? दुवैलाई एकसाथ किन नगरेको ? जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ र घिमिरेलाई ‘राष्ट्रकवि’को पदवी दिलाउने एकमुष्ट श्रेय भने नरेन्द्रराज प्रसाईंले लिए । 

मुलुककै ‘जेठाबाठा’ यी अथक साधकलाई दिइएका पदवीमा टाउको दुखाउनैपर्ने दरकार त छैन । तर, चाहिने–नचाहिने मान, पदवी, सम्मान र पुरस्कार वितरण नरेन्द्रको खेतीपाती हो । उनले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राष्ट्रकविको पदवीका लागि आफ्नो ‘पहल, समर्पण र सिफारिस’ रहेको दाबी मात्रै गरेनन्, जोशीलाई त पहिले आफैँले पगरी दिए । र, पछि सरकारमार्फत अनुमोदन गराए ।

कतिसम्म भने यसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मुछिए । तीन सय जनाको सत्यमोहन वाङ्मय शताब्दी पदक लिने सूचीमा उनको पनि नाम थियो । प्रगतिशील लेखक संघको विरोधका कारण प्रचण्ड शताब्दी पदक लिन हच्किए । 

नरेन्द्रले थुप्रै हास्यास्पद पगरी बाँडिरहेकै छन् । कति दुनियाँलाई थाहा छ, कतिचाहिँ गुपचुपमै छन् । केही वर्षअघि मात्र नरेन्द्रले वानीरा गिरिलाई ‘विश्व नारी रत्न’ पगरी गुथाएर रथयात्रा गराए । कमलमणि दीक्षितलाई ‘आधुनिक मोतीराम’ दिए भने मदनमणि दीक्षितलाई ‘अक्षर शिरोमणि’ । यसैगरी, मोदनाथ प्रश्रितलाई ‘महाकवि’, उषा शेरचनलाई ‘मुक्तक साम्राज्ञी’ मदनदास श्रेष्ठलाई ‘नाट्यभूषण’ आदि–इत्यादि पगरी पनि उनैले दिएका हुन् । आखिर किन बाँड्छन् त उनीहरू पदवी ?

“मोती मण्डलीको सिको गरेर नरेन्द्रले समाट्, साम्राज्ञी, श्री, पुरुष, शिरोमणि आदि पदवी बाँड्ने लाइसेन्स लिएजस्तो गरेका छन्,” साहित्यकार पुष्कर लोहनीको टिप्पणी छ, “तर, उनको पदवी, पगरी, सम्मान र पुरस्कार पैसावाललाई मात्रै हो ।” लोहनीको प्रश्न छ– उनको संस्थालाई त्यो अधिकार सरकारले दिएको छ कि छैन ? त्यो निर्णय गर्दा सरकारको प्रतिनिधि बसेको छ कि छैन ?

भाषा–साहित्य–लेखनका क्षेत्रमा पदवीको लामै इतिहास छ । मोतीराम भट्टले रामायणकार भानुभक्त आचार्यलाई मरणोपरान्त ‘आदिकवि’ को पदवी दिए भने आफ्नै मण्डलीका सदस्य राजीवलोचन जोशीलाई ‘कवि शिरोमणि’ । मोतीरामले नै भानुभक्तलाई आदिकवि भनी चिनाएको वर्षौंपछि नेपाली साहित्य सम्मेलनले दार्जीलिङमा भानुभक्तको सालिक अनावरण गर्दा राणा प्रधानमन्त्री जुद्धशमशेरले ‘यस्ता प्रतिभासम्पन्न कविलाई आदिकवि मानिदिए हुन्छ’ भनेर राजकीय मोहर लगाइदिए । अल्पायु पाएका मोतीराम ‘युवक कवि’का साथै राष्ट्रिय विभूतिभित्रै परे ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले ‘सिंहदरबार’को कवितामा बयान गरेलगत्तै शम्भुप्रसाद ढुंगेललाई ‘आशुकवि’को पगरी गुथाएका थिए । ०११ मा सार्वजनिक रथयात्रा गरिएका लेखनाथ पौड्यालले राजा त्रिभुवनबाट ‘कविशिरोमणि’ पदवी पाएका थिए । कांग्रेसको सरकारका बेलामा पदवी पाएकाले उनको आलोचना पनि भयो । इतिहासकार महेशराज पन्तका अनुसार त्यसअघि प्रथम राणा प्रधानमन्त्री जंगबहादुरले नेपाल–भोट युद्धताका काव्य रचेका कारण विद्यानाथ (थर पत्ता नलागेको)लाई ‘कवि शिरोमणि’ दिइसकेका थिए । राणाकालमै माइला गुरुज्यू हेमराज शर्मा र कुलचन्द्र गौतमले पनि ‘विद्वत् शिरोमणि’ पाएका थिए ।

राजा महेन्द्रको पालामा पनि राणाकालीन धङधङी कायमै रह्यो । राजाकै निगाहमा सिद्धिचरण श्रेष्ठले ‘युगकवि’, धर्मराज थापाले ‘जनकविकेशरी’ र नेपाल भाषाका कवि चित्तधर ‘हृदय’ले ‘कविकेशरी’ पदवी पाए । समयको खेल कस्तो भने महेन्द्रले चित्तधरलाई दुई सय रुपियाँ र मासिक भत्तासहित ‘कविकेशरी’को दर्जा दिए । ०६२/६३ को आन्दोलनपछि कालीमाटीमा रहेको राजा महेन्द्रको सालिक हटाइएपछि चित्तधरको सालिक विराजमान छ । कविले त्यस्तो सुरम्य कल्पना सायदै गरेका थिए ।

लक्ष्मीप्रसाद देवकोटा महाकवि–महाकवि भन्दाभन्दै महाकवि भए । उनलाई कहिल्यै सरकारले अनुमोदन गर्नुपरेन । उनको ‘महाकवि’ पदवी जनताको सिंहासनमै सुरक्षित छ । ८५ वर्ष पुगेको अवसरमा ११ असोज ०६० मा ‘राष्ट्रकवि’को पदवी पाएका घिमिरे आफूलाई राजाले पदवी दिएको आक्षेप लाग्दा त्यतिका साहित्यकारहरूको आवाज र देशका प्रधानमन्त्रीको इज्जत ख्याल नगरिएको ठान्छन् । भन्छन्, “सरकारले दिने पदवीको बेग्लै प्रक्रिया हुन्छ । सरकारले दिने पदवी पहिले संसद्मा पास गर्नुपर्छ, सम्बन्धित कविलाई भत्ता पनि दिनुपर्छ ।”

इतिहासकार पन्त सम्राट् र शिरोमणि लेखन क्षेत्रमा सस्तो हुन थालेको टिप्पणी गर्छन् । उनका अनुसार सरकारले बाबुराम आचार्यलाई ‘इतिहास शिरोमणि’ र यज्ञराज शर्मालाई ‘संगीत शिरोमणि’ दियो । पछि जनस्तरमा हरिराम जोशीले ‘संस्कृति शिरोमणि’ पाए । बालकृष्ण समले ‘नाट्य सम्राट्’ र नारायणगोपालले ‘स्वर सम्राट्’ पाए । त्यसरी पदवी दिँदा व्याकरणको समेत ख्याल गरिएन ।

“इतिहासकारको पो शिरोमणि हुन्छ, इतिहासको पनि शिरोमणि हुन्छ र ? नाट्यको पनि सम्राट् हुन्छ र ? नाटककारको सम्राट् पो होला,” पन्त भन्छन्, “हामी साहित्य सम्मेलन भन्छौँ । तर, हुनुपर्ने साहित्यिक सम्मेलन हो । हामी कवि सम्मेलन भन्छौँ, कविता सम्मेलन त भन्दैनौँ ।” संशोधन–मण्डलले आचार्यलाई ‘ऐतिहासिक शिरोमणि’ र ईश्वर बरालले ‘इतिहासज्ञ शिरोमणि’ लेख्दै आएका छन् ।

बेलायतमा ‘पोएट लरेट’ (श्रेष्ठ कवि) दिने चलन छ । त्यसको समकक्ष कवि शिरोमणि हुन्छ नेपालमा । कवि शिरोमणि दिइसकेका हुनाले घिमिरेलाई ‘राष्ट्रकवि’ दिइएको हुन सक्ने उनको अनुमान छ । तर, राष्ट्रकविको गरिमा घिमिरेले धान्न नसकेको पन्तको धारणा छ । “१० हजार पुरस्कार खान पनि दौडेका छन्, १० लाख खान पनि दौडेका छन्,” उनी भन्छन्, “अध्ययनको कमी भएपछि सामान्य कुरा पनि महान् लाग्छ । पढाइ भएको भए साहित्यमा मात्रै नभएर देशमै यस्तो अवस्था आउँथेन ।” 

छिमेकी देश भारतमा समेत सम्राट् या शिरोमणि दिने चलन छैन । “प्रेमचन्दजस्तो उपन्यासकारलाई पनि सम्राट् भनिएको छैन । मिर्जा गालिबलाई शिरोमणि भनिएको छैन,” बनारसको पुरानो पत्रिका उदयका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ टिप्पणी गर्छन्, “नेपाली साहित्यमा अनावश्यक फुक्र्याउने प्रवृत्ति छ । लेखनाथ, देवकोटा या सिद्धिचरणलाई पनि सम्राट् भन्न मिल्दैन । उनीहरू आ–आफ्ना ठाउँमा महान् छन् ।” सम्पादक श्रेष्ठ त कतिसम्म भन्छन् भने आफूलाई चित्त बुझ्यो भन्दैमा ‘सम्पादक शिरोमणि’, ‘प्रकाशक शिरोमणि’ या ‘पाठक शिरोमणि’ दिन मिल्छ ? त्यस्तै जतिसुकै ठूलो लेखक भए पनि सम्राट् भन्न मिल्दैन । देशमा सम्राट् नचाहिने, साहित्यचाहिँ सम्राट् नभए नचल्ने ? 

प्रकाशित: माघ २९, २०७४