‘ओलीका अडान मौसमी नै हुन्छन्’

- सन्तोष आचार्य

नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा हुन्, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल । इलाम–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी पार्टीभित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्ने सबल नेताहरुमध्ये एक मानिन्छन् । तिनै खनालसँग पार्टी एकीकरण प्रक्रिया र राष्ट्रपति पदमा उनले देखाएको चाहनामा केन्द्रित रही नेपालले २५ माघ बिहान गरेको कुराकानीको सम्पादित अंश: 

माओवादी केन्द्रसँग हुने भनिएको एकीकरण प्रक्रिया कहाँ पुग्यो ?

पार्टी एकीकरणका लागि हामीले एकता संयोजन समिति निर्माण गर्‍याँै । यो समितिको बैठक अपेक्षा अनुरूप भइरहेको छैन । एकीकरणका लागि हामीले कार्यदल पनि बनायौँ । तर, यसले पनि साकार रूप लिएको छैन । केही ढिलाइ भएको हो । तर, कुनै पनि बेला पार्टी एकीकरणको घोषणाचाहिँ हुन्छ ।

हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अकस्मात् भएको नेपाल भ्रमणका कारण पनि पार्टी एकीकरण प्रक्रिया ‘अब टाढाको विषय’ हो भन्ने एकथरीको आशंका छ, के हो ?

यसमा बिलकुल सत्यता छैन । किनभने, हामीबीचको एकतालाई प्रभावित पार्ने सबैभन्दा महत्त्वपूर्ण र केन्द्रीय कडी भनेका हाम्रा पार्टीका कार्यदिशा, नीति र सिद्घान्त हुन् । यसमा दुवै पार्टी निकै निकट आइसकेका छन् । एकाध विषय होलान्, टुंगो लगाउन बाँकी ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको पदीय बाँडफाँटचाहिँ कसरी हुन्छ ?

पार्टी एकीकरण गर्दा कार्यदिशा, नीति र सिद्घान्तमा एकरूपता भयो भने अरू सबै कुरा गौण हुन्छन् । संगठनात्मक संरचनाका बारेमा पनि लचिलो ढंगले हेर्नुपर्ने हुन्छ । पार्टीको नेतृत्वको संरचना कसरी बन्ला भन्ने सन्दर्भमा अनेकौँ विकल्प छन् । जस्तो : एक जना प्रधानमन्त्री र दुई जना पार्टी–अध्यक्ष, एक जना प्रधानमन्त्री र अर्को अध्यक्ष, एउटा प्रधानमन्त्री र अर्को अध्यक्ष मण्डल । यसमा हामी छलफलका क्रममा छौँ, एउटा निष्कर्षमा पुग्छौँ । दुवै पार्टीको भावनालाई एक ठाउँमा ल्याउने गरी हामी मिलाउँछौँ । 

तर, एमालेभित्रको संस्थापन पंक्ति भने ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद दिनुपर्छ भन्ने पक्षमा छ । यो पंक्ति माओवादी अध्यक्ष प्रचण्डलाई पार्टी बुझाउन सकिँदैन पनि भन्छ नि, होइन ?

पार्टीको एउटा पद कसैलाई दिनेबित्तिकै पार्टी बुझाइएको भन्ने हँुदैन । कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वका आधारमा अघि बढ्छ । र, अहिले जो हाम्रो पार्टी अध्यक्ष हुनुहुन्छ, उहाँ एक्लैले मात्र सिंगो पार्टी हाँकेको होइन । अहिले पनि सामूहिक नेतृत्वका आधारमा यो पार्टी चलिरहेको छ । त्यसैले जोसुकै नेतृत्वमा भए पनि पार्टी सामूहिक निर्णयका आधारमा चल्छ । तसर्थ, पदकै निम्ति कुनै ठूलो हंगामा मच्याउनुपर्ने मलाई लाग्दैन ।

तपाईंले ओली र प्रचण्ड दुवैलाई नजिकबाट चिन्नुभएको छ, एकीकृत पार्टीको कार्यदिशा, नीति र सिद्घान्तलाई कसले राम्ररी हाँक्न सक्छ भन्ने लाग्छ ?

यो प्रश्नको जवाफका लागि मथिंगल धेरै दुखाउनुपर्छ जस्तो मलाई लाग्दैन । किनभने, हामीले सामूहिक नेतृत्वको अभ्यासलाई अगाडि बढाउनुपर्छ । अहिले एकीकृत पार्टीको अध्यक्षता गर्न सक्ने व्यक्तिहरू एमाले र माओवादीमा धेरै जना छन् । उहाँहरू दुई जना मात्र होइन । महासचिव र अध्यक्ष भएर मैले पार्टीको नेतृत्व गरिसकेको छु, मै पनि फेरि आँट गर्न सक्छु, पार्टी अध्यक्षका लागि । माधव नेपाल, वामदेव गौतम पनि हुनुहुन्छ । अरू नेताहरू पनि छन् ।

तपाईंलाई सम्झना होला, विसं ०७० को संविधानसभाको निर्वाचनपछि भएको एमालेको संसदीय दलको नेता छनोटका क्रममा हालका पार्टी अध्यक्ष केपी ओलीले ‘एक व्यक्ति एक पद’ को अडान लिनुभएको थियो । अहिले पनि उहाँ त्यही अडानमा हुनुहुन्छ कि फेरिसक्नुभयो ?

उहाँका अडान मौसमी नै हुन्छन् । उहाँले त्यतिबेला जे आवश्यकता देख्नुभयो, त्यही अडान राख्नुभयो । अहिले पनि त्यही अडानमा हुनुहुन्छ भन्ने मलाई लाग्दैन । धेरै नेताहरू भएको अवस्थामा ‘एक व्यक्ति एक पद’ पनि एउटा सूत्र हो । 

तपार्इंले एमालेले अहिले अंगीकार गरेको राजनीतिक कार्यदिशा ‘जनताको बहुदलीय जनवाद’ (जबज)लाई ‘दक्ष प्रजापतिको टाउकोजस्तो’ भनेर टिप्पणी गर्नुभएको थियो । अब एकीकृत पार्टीको राजनीतिक कार्यदिशा के हुन्छ ? के जबजले नै निरन्तरता पाउने हो ?

मैले जबजलाई दक्ष प्रजापतिको टाउकोजस्तो भनेको होइन । नयाँ जनवादलाई छोडेर जनताको बहुदलीय जनवाद किन बनाउने भन्ने मात्र प्रश्न गरेको हुँ । नयाँ जनवाद भनेको नै जबज हो भनेर प्रस्ताव राख्ने नै म हुँ । जबजबाट जसरी एमाले मार्गनिर्देशित भएर आएको छ, अहिले सिंगो देश नै त्यो ठाउँमा पुगेको छ । माओवादी पार्टी पनि जबजबाटै निर्देशित हुने ठाउँमा छ । आगामी दिनमा एकीकृत पार्टीले पनि जबजलाई मान्नु अनिवार्य छ । 

फेरि एकपटक भारतीय विदेशमन्त्रीको सन्दर्भ, उहाँको भ्रमणले तपार्इंहरूको पार्टी एकीकरण मात्र होइन, समग्र राजनीतिक समीकरणमै फेरबदल हुने अनुमान पनि गरिँदैछ, के भन्नुहुन्छ ? 

म भारतीय विदेशमन्त्रीको भ्रमणलाई धेरै उछालपछाल गर्ने पक्षमा छैन । यसभन्दा अघि नेपाल–भारत सम्बन्धमा चिसोपन आएकै हो । भारतले हाम्रो देशका विरुद्घ नाकाबन्दी गरेकै हो । यी तथ्यको पृष्ठभूमिमा जुन महानिर्वाचन भयो, त्यसबाट नयाँ परिस्थिति जन्मिएको छ । वामपन्थी शक्तिहरूले बहुमत प्राप्त गरेका छन् । यो शक्तिले कस्तो नीति लेला ? भारतसँगको सम्बन्ध कसरी अघि बढाउला ? यी प्रश्नहरू हाम्रो छिमेकीकहाँ पनि उत्पन्न भएका छन् । स्वाभाविक रूपमा नयाँ परिस्थिति अनुरूप समझदारी निर्माण गर्नका लागि, वातावरण बनाउनका लागि पनि छिमेकीहरूले प्रयत्न गर्नु 

अस्वाभाविक होइन । 

अबको प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै प्रारम्भ हुने वातावरण निर्माणसँग पनि यो भ्रमणलाई हेर्न सकिन्छ ?

नेपालमा जब नयाँ सरकार बन्छ, नयाँ प्रधानमन्त्रीले भारतकै भ्रमण पहिला गर्नुपर्छ भन्ने अवधारणा रहिआएको छ । यसलाई हामीले परम्पराको रूप दिनु हँुदैन । यसलाई नीतिको रूप पनि दिनु हँुदैन । र, यसलाई सधैँभरि पालना गर्नैपर्ने नियमका रूपमा त झनै लिनु हँुदैन । नेपाल एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र राष्ट्रिय अखण्डतायुक्त मुलुक हो । हामी आफ्नो आवश्यकता अनुरूप, हाम्रो विदेश नीति अनुरूप हाम्रो प्रधानमन्त्रीले कुनै पनि देशको पहिलो भ्रमण गर्न सक्छन् । यो कुरालाई ध्यानमा राखेर अबदेखि हामी अगाडि बढ्नुपर्ने हुन्छ । त्यसमा कुनै मोलतोल नहोस् भन्नेप्रति हामी सबै सचेत हुनुपर्छ । आउने सरकारले त अझै बढी नै सचेत हुनुपर्छ ।

अब हुने प्रधानमन्त्रीले यस्तो साहस गर्नुहोला र ?

अब आउने प्रधानमन्त्रीले कतिपय शंकाजन्य परम्परा जुन छन्, तिनलाई तोड्ने, दुईवटा देशका बीचमा ऐनाजस्तै छर्लंग देखिने गरी सम्बन्ध विकास गर्नुपर्छ । मुलुक सानो होस् वा ठूलो तर सार्वभौमसत्ता कहिल्यै पनि सानो वा ठूलो हुँदैन । संसारका प्रत्येक देशको सार्वभौमसत्ता बराबरी हुन्छ । यी कुराहरूलाई स्थापित गर्ने ढंगले अगाडि बढ्यौँ भने त्यो राष्ट्रका निम्ति दीर्घकालीन रूपले कल्याणकारी हुन्छ ।

फरक प्रसंग, तपाईंले राष्ट्रपति पदमा चाहना देखाउनुभएको बुझिन्छ । के आफ्ना लागि पार्टी अध्यक्ष वा प्रधानमन्त्रीको बाटो सधैँका लागि बन्द भएको बुझेर त्यतातिरको इच्छा प्रकट गर्नुभएको हो ?

म जुनसुकै बेला पार्टी अध्यक्ष बन्न सक्छु, प्रधानमन्त्री पनि बन्न सक्छु, ढोका बन्द छैनन् । म ७० वर्ष पनि पुगेको छैन । दुई वर्षपछि मात्र पुग्छु । तर, अहिलेको अवस्थालाई हेर्दाखेरी राष्ट्रपतिको पद, जो गौरव र गरिमामय पद छ, पार्टीमै काम गरेको मूर्धन्य व्यक्तित्वलाई त्यो जिम्मेवारी दियो भने संविधान कार्यान्वयन गर्न र देशकै निम्ति पनि राम्रो हुन्छ भन्ने मेरो अवधारणा हो । यो अवधारणाको बीचबाट सोचेर कतिपय साथीहरूले मलाई राष्ट्रपति बन्ने कि भनेर पनि सोध्न थाल्नुभएको छ । मैले पनि पार्टीले उचित मूल्यांकन गरेर राष्ट्रपतिको पद दिन्छ भने अस्वीकार गर्दिनँ भनेर साथीहरूलाई भनेको छु ।

वर्तमान राष्ट्रपतिले आफूलाई दोहोर्‍याउन चाहनुभएको छ नि त ? 

राष्ट्रपतिको पद भनेको एकै व्यक्तिलाई दोहोर्‍याइरहनुपर्ने पद होइन । नयाँ–नयाँ राष्ट्रपतिको खोज हुन्छ । र, सिंगो राष्ट्रले पनि त्यस्तो चाहना व्यक्त गरिरहेको हुन्छ । यो कुरालाई ध्यानमा राखेर निर्णय लिइयो भने त्यो बढी महत्त्वपूर्ण होला । 

व्यक्तित्व र राजनीतिक पृष्ठभूमिका कारण राष्ट्रपतिका रूपमा तपार्इं सर्वस्वीकार्य हुनुहोला । तर, के स्वयं तपार्इंका पार्टी अध्यक्ष तपार्इंलाई राष्ट्रपति बनाउने पक्षमा हुनुहुन्छ ? त्यस्तो केही संकेत पाउनुभएको छ ?

यसबारेमा कतै पनि छलफल भएको छैन । नेतृत्व पंक्तिसँग पनि कुरा भएको छैन । हामीले कुनै सोच पनि बनाएका छैनौँ । यो केवल चर्चा–परिचर्चाका रूपमा आइरहेको कुरा हो । यसभन्दा बढी केही छैन । 

प्रकाशित: माघ २९, २०७४